रोटरी क्लबको बैठक सकेर हिँड्दा साँझको सात
बजिसकेको थियो । पुसको महिना । अघिल्लो दिन परेको हिँउदे झरि । कठ्याङग्रिएको
काठमाडौं उपत्यका । म पुत्ररत्न सिरिनसँग कारमा पुल्चोकबाट युएन पार्कको बाटो
हुँदै कोटेश्वरतिर जाँदै थिएँ । चालकको सिटमा ऊ थियो । ‘हामी दुवैलाई
कति बेला घर पुगौं भन्ने लागिरहेको छ’ भन्ने मलाई लागेको थियो । तर त्यस्तो
भएन । भाटभटेनी सुपरमार्केट पुगेपछि गाडी रोक्दै उसले भन्यो ।
‘मलाई पाटन ढोकाको किताब पसलमा दुईवटा छन्दका
कविताको किताब किन्नु छ । एटियमबाट पैसा निकाल्ने हो कि ?’
दिउँसो मेरो खल्ती रित्तिएको उसले बुझेको थियो
। यसर्थ एटियमबाट पैसा निकाल्ने काममा मेरो विमति थिएन । तर त्योभन्दा पनि एकाएक
उदाएको ‘कविताको किताब खरिद योजना’ ले मेरो ध्यानाकर्षण भएको थियो ।
मुम्बईमा अर्थशास्त्रमा स्नातकोत्तर गर्ने विद्यार्थी जसले राम्रो कम्पनीमा स्थायी
जागिर पनि पाइसकेको छ, उसको यो छन्द कविता मोह ?
मैले यस विषयमा केही अनुमान गर्न सकेको भए
तापनि भोलिपल्ट बिहान फेसबुक खोलेर हेर्दा सबै कुरा छर्लङ्ग भयो ।
‘हजुरले नै मलाई नेपाली कविताबाट कसरी आनन्द
लिने भन्ने तरिका सिकाइ दिनुभयो । तपाईं सम्झनामा सदैव रहिरहनु हुनेछ ।’
यस्तो सन्देशसँग जोडिएर भानुभक्तिय रामायणको
सुन्दरकाण्डका श्लोकहरू वाचन गरिएको भिडियो सिरिनको फेसबुक पेजमा अपलोड गरेको पाएँ
। शार्दुलविक्रिडित छन्दमा लय मिलाएर गाइएका श्लोकहरूमा तलका हरफहरू पनि थिए ।
राक्षसका
बीचमा बसी जिउनु धिक् मर्नु निको मर्दछु ।
चुल्ठो
लामु छ झुन्डिनाकन यहाँ डोरी त यै गर्दछु ।।
भिडियोको पुछारमा ‘छन्दफरदादा’
भन्ने
शीर्षक हृयास ट्याग गरिएको थियो । रातो बंगला स्कुलका अन्य पूर्व विद्यार्थीले
फेसबुक सञ्जालमा दादाजी अर्थात् कमल दीक्षितको सम्झनामा यसरी कविता वाचन गरी
सम्प्रेषण गरेका रहेछन् ।
त्यही दिन दिउँसो समकालीन सृजनात्मक लेखनको
मियो घोष्ट राइटिङ् नेपालको समूहमा मिसिएर म र सिरिन पाटनढोकास्थित दीक्षित निवास
पुगेका थियौं । समवेदना प्रकट गर्न आउने आगन्तुकहरूका लागि निर्धारित गरिएको
स्थानमा अटाईनअटाई मान्छे थिए । दादाजीकी छोरी रूपा जोशीले केही रचना वाचन गरेर
किरियापुत्रीलगायत अन्य श्रोतालाई सुनाइरहेकी थिइन । त्यो सामग्री दादाजीले नै
लेखेको संस्मरणात्मक निबन्ध रहेछ । हरेक दिन तीनवटा रचना वाचन गर्ने निधो गरिएको
रहेछ । घोष्ट राईटिङ्का हामी एक बीस संख्याका सदस्यहरू पनि श्रोता गणमा मिसिएका
थियौं । रूपाजी पछि प्राडा माधवप्रसाद पोखरेलले पनि एउटा अर्को निबन्ध वाचन गरेर
सुनाउनुभयो । पछि थाहा भयो ती निबन्धहरू कदीको ‘सम्झेको
बिर्सेको’ पुस्तकबाट लिइएका रहेछन । मृत आत्माको चिरशान्तिको कामना गर्न र
आफन्तजनलाई शोकाकुल स्थितिबाट सामान्य अवस्थामा फर्कन सघाउनका लागि यस्तो बेलामा ‘गरुड
पुराण’ श्रवणको प्रचलन नेपाली समाजमा विद्यमान छ । तर संसार छोडेर गएका
व्यक्तिले नै लेखेको रचना वाचन गरेर दीक्षित परिवारले अझ विशिष्ट काम गरेको
अनुभूति मलाई भएको थियो ।
तर यो दृष्टान्तले मेरो मनमा एउटा तर्क भने
जन्मियो–
‘आफ्नो जीवनकालमा साहित्य लेखन नगरेका वा अन्य
पेशामा लागेका व्यक्तिहरूको काज क्रियामा त यो सम्भव नहुने भयो । वाह ∕ कलमको
शक्ति ∕ वाह ∕ साहित्य लेखनको कमाल ∕’
कमल दीक्षित स्रोत व्यक्ति भएको घोष्ट
राईटिङ्ले आयोजना गरेका दुईवटा कक्षामा विद्यार्थी भएर बस्दाका अविष्मरणीय
अनुभूतिहरू छन् । उहाँको जाज्वल्यमान अनुहार, प्रत्युत्पन्न
मति र भैपरि आउने परिवेशलाई रोमाञ्चक बनाउने अद्वीतिय कलाको अहिले पनि झलझली
सम्झना आइरहेको छ ।
‘यो जाडोको समयमा यति बिहानै हजुरलाई दुःख दियौं
हामीले ।’ कक्षा सुरु हुनै लाग्दा आयोजकले भनेका थिए ।
‘यस्ता चन्द्रमा जस्ता मुहार भएका छात्राहरू
अगाडिको बेन्चमा बसेका छन् । यस्तो रौनक भएको कक्षामा पढाउन पाउनु नै ठूलो कुरो हो
। बिहान, दिउँसोको के कुरा भयो र ?’
कतिको प्रत्युत्तरले हामी सबै मन्त्रमुग्ध भएका
थियौं ।
साहित्य लेखन र पुस्तक सङ्ग्रह नै कदीको जीवनको
अनुराग रहेछ । कक्षामा उहाँले अमेरिकामा आयोजना गरिएको रोटरी ईन्टरनेशनलको
सम्मेलनमा सहभागी हुन जाँदाको एक प्रसंग सुनाउनुभयो ।
‘कामल ∕ हृवाट यु डु ईन फ्याक्ट ?’ एक
अमेरिकनले कदीको पेशाको बारेमा यसरी रैथाने उच्चारण शैलीमा सोधेका रहेछन् ।
‘आई लिभ बुक्स ।’ मुस्कुराउँदै
कदीको जवाफ आएछ ।
‘हृवाट ?’ उत्तर सुनेर ती
विदेशीले विस्मय भावमा जिब्रो काडेछन् ।
‘आई रिड बुक्स । आई राईट बुक्स । आई पब्लिस
बुक्स । आई कलेक्ट बुक्स । मिनिङ् आई लिभ बुक्स ।’
आफ्नो कर्मसाधनाको ईन्द्रासनमा दशकौ बिताएर
अथाह अनुभव सगाँलेका पेशाधर्मीको जस्तो अत्यन्तै शालीन जवाफ पाएर विदेशी मित्र दँग
परेछन् ।
साहित्य लेखनमा भर्खर शिशु कक्षामा प्रवेश
गरेका तर उमेरले नेटो काटिसकेका हामी वृद्ध विद्यार्थीलाई उहाँका केही सुझाव र
टिप्पणीहरू मननयोग्य थिए । टिपोट गर्न भ्याइएका केही यस प्रकार थिए–
‘श्रीमद्भागवत गीतामा भनिएको छ– स्वधर्मो
निधनम श्रेयः परधर्मो भयाभयः । यसकारण तपाईंको बारेमा अथाह जानकारी भएको व्यक्ति
तपार्इं आफैं हो । आफ्नो विषयमा लेख्नु होस् ।’
‘मदन पुरस्कार स्थापना नभएको भए कमलमणि
साहित्यकार हुने थिएन ।’
‘साहित्य लेखनका विगत १५० वर्षको महान् शिल्पी
बालकृष्ण सम हुन् ।’
‘कमल दीक्षितलाई बुझ्न ७७ वटा पुस्तक पढ्नुपर्छ
।’
‘साहित्यकारमा एउटा अहं हुनुपर्छ । म लेख्न
जान्दछु । मेरो लेखनमा पूर्णता छ । मैले लेखेको हुन्छ । पक्कै पठनीय हुन्छ । मेरो
लेख पढ्ने भोक समाजमा छ । मेरो लेखनले स्थान पाउँछ । लेखकले यस्तो ठान्नुपर्छ ।’
मैले धेरै अघिदेखि पालेर राखेको एक प्रश्न थियो
। आफू प्राविधिक कित्ताको विद्यार्थी भएकोले साहित्यका कतिपय कथनहरू अजिबका लाग्थे
र अझै पनि लाग्छन् । मैले मौकामा चौकाको दाउ हान्ने सुर झिकेँ ।
‘मेरो गणितमा एकमा एक घटाउँदा एक नै बाँकी रहन्छ
। यो कसरी हुन्छ ?’
महाकवि लक्ष्मीप्रसाद देवकोटाको पागल कवितामा
उल्लेखित गणित र विज्ञानका स्थापित मान्यताहरूलाई नै हाँक दिने यो अभिव्यक्तिलाई
कसरी बुझ्ने ? म अन्योलमा थिएँ । प्रश्नको तीर दीक्षित
गुरुतिर फ्याँकेर म अधैर्य भएर उत्तरको पर्खाइमा बसेँ ।
‘तपाईंको थर के हो ?’
‘खतिवडा । ब्राहृमण पुत्र हुँ ।’
‘उसो भए संस्कृत केही बुझ्या होला । ‘ॐ
पूर्णमदं पूर्ण मिदं’ भन्ने मन्त्र थाहा छ ?’
‘थाहा छ । ॐ पूर्णमदः पूर्णमिदं
पूर्णात्पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।’
मैले न्वारानदेखिको बल निकालेर भने ।
‘बस ∕ एकमा एक घटाउँदा एक हुन्छ भनेको यही
मन्त्र हो ।’
म खुशीले पागल जस्तै भएँ । अनि ‘पूर्णता’
को
अर्थ लगाउने त्यो मन्त्रको सरल व्याख्या सम्झे– नदीमा लोटा लिएर
जानु होस् । नदीको पानीले लोटा भर्नु होस् र भन्नुहोस्–
‘यो लोटामा पानी भरिएको पूर्णता त्यो नदीको
पूर्णताबाट आयो । तर यस्तो भए तापनि नदी अझै पूर्ण नै छ ।’
मेरो इन्जिनियरिङको विद्यावारिधिसम्मको पढाइले
छुन नसकेको ज्ञान पाएको अनुभूति भएको थियो । त्यसै दिन मैले मेरा गुरुको समूहमा
आदरणीय कमलमणि दीक्षितलाई राखेँ । कक्षाको केही दिनपछि म हानिएर ढोकैमा क्याफे
परिसरमा रहेको उहाँको कार्यालयमा पुगेँ । अभिवादन गरेँ ।
‘मलाई यतिले पुग्दैन । कृपया शिरमा हात राखेर
आशीर्वाद दिनु ।’
सम्भवतः मेरो माग अनौठो थियो । उहाँलाई
सम्झाउनु परेन ।
‘त्यो पूर्णता विषयमा प्रश्न गर्ने घोष्ट
राईटिङ्को मेधावी छात्र होइन त तपाईं ?’
म धन्य भएको थिएँ । उहाँले मलाई सहजै चिन्नु
भयो ।
हामीले गुरु पूर्णिमाको दिनमा नेपाल विकास
अनुसन्धान प्रतिष्ठान (नेविअप्र) मा एउटा कार्यक्रमको आयोजना ग¥यौं
। कदी गुरुलाई प्रमुख अतिथिको निम्तो दियौ ।
‘यो त आश्चर्य भयो । अहिलेसम्म नभएकै काम भयो ।
कमल दीक्षितलाई गुरु पूर्णिमाको अतिथि ?’ उहाँले नेविअप्रको सभाकक्षमा प्रवेश
गर्दै भन्नुभयो ।
‘शिष्यात इच्छेत पराजयम् । हजुरको गुरुत्वले यो
वाक्यको मर्म चरितार्थ गरेको जस्तो लागेकोले निमन्त्रणा गरेका हौँ ।’ नेविअप्रका
प्रमुख डा. जयकुमार गुरुङले भन्नु भएको थियो ।
उहाँले हामीलाई फेरि एकपटक राम्ररी हेर्नुभयो ।
म लगभग टोलाएको स्थितिमा थिएँ । मैले दिन नसकेको नेपाली भाषा साहित्यको संंस्कार
मेरो छोराले उहाँको रातो बङ्ला स्कूलको नेपालीको एउटा कक्षाबाट पाएको थियो । मैले
मेरा जिबालाई सम्झिए । मेरा ६५ वर्ष पनि नकटेका पिताश्रीलाई सम्झिए । म त्यति
भाग्यमानी नाति थिइन, जो हजुरबुवासँग लामो समयसँगै बिताउन पाओस् ।
मेरो छोरा सिरिन पनि त्यति भाग्यमानी नाति भएन, जसले उसका
हजुरबुबासँग विधाताले सबैलाई दिएका केही समानान्तर दशक बिताउन पाओस् । तर म यस्ता
धरोहरको अघिल्तिर उभिएको थिएँ–जसले रातो बङ्ला स्कुलमा अध्ययन गर्ने
सयौं नाति नातिनालाई हजुरबाले दिने संस्कार पस्किदिएका थिए । संस्कार सिक्ने उमेर
हुन्छ । सम्भवतः हजुरबा र हजुरआमाले नाति नातिनालाई सिकाउने संस्कार नै सबैभन्दा
ओजस्वी र दिगो हुन्छ । एकल परिवार र सीमित सन्तानमा चित्त बुझाउनुपर्ने अहिलेको
समाजमा बाल्यकालमा पाउनुपर्ने माया ममता र हाँसखेलको रमाइलोबाट हामीले अधिकांश
बालबालिकालाई वञ्चित गरेका छौं । यस्तो कालखण्डमा ‘शिष्यात इच्छेत
पराजयम’ अर्थात् ‘शिष्यबाट पनि पराजयको ईच्छा गर्नु’ भन्ने
अभिप्रायले शिक्षा र दीक्षा दिनु । कस्तो उदारता ? कस्तो महानता ?
‘पुत्रात् इच्छेत पराजयम् । अर्थात् पुत्रबाट
पनि पराजयको इच्छा गर्नु । यो पनि शास्त्रमा छ । थाहा छ ?’ कदी गुरुबाट
फेरि हाम्रो परीक्षा लिएझंै सोधनी भयो ।
‘अहिलसम्म थाहा थिएन । अब थाहा भयो ।’ मैले
सबैभन्दा सजिलो जवाफ दिएँ । मलाई पुत्र वा पुत्रीलाई पनि यस ढंगले शिक्षा वा
संस्कार दिनुपर्छ भनेर शास्त्रले भनेको छ भन्ने थाहा थिएन ।
नेपाली वाङ्मयको उत्थान र समृद्धिका लागि आठ
दशक बज्रझै ंआफ्नो उपस्थिति देखाएर एउटा नमुना जीवनयापन गर्न दादाजी सफल भए ।
स्रष्टा र साहित्यको अभिभावकत्व ग्रहण गरे । नेपाली भाषालाई पनि कम्प्युटरमैत्री
बनाउन योगदान गरे । आगोझैं सल्किएर फेसबुकमा भाइरल बनेको ‘छन्दफरदादाजी’
को
हृयास ट्यागले त्यही बताएको छ । ‘छन्दका १०१ कविता’ ले
त्यही बताएको छ । भूकम्पले भत्किए पनि बाँस र माटोको गारोको सहारामा पुनः ठडिएको
मदन पुरस्कार पुस्तकालय भवनले त्यही संकेत गरेको छ । कमल दीक्षित डटकममा खुला
किताबको रूपमा राखिएका ७५ वटा पुस्तकहरूले त्यही बताएका छन् ।
यो आलेखको आरम्भमा उल्लेखित श्लोकमा रामायणकी
नायिका सीताले विकट परिस्थितिमा पनि आफ्नो आदर्श र सत्यनिष्ठाबाट विचलित हुन नहुने
सन्देश दिएकी छन् । कुनै उपाय नभएको परिस्थितिमा बरु मृत्युवरणको विकल्प उत्तम हो
भन्ने भाव पनि उनले उल्लेख गरेकी थिइन् । यही उपमा युवा कमलमणिमा पनि पाउन सकिन्छ
। विद्या पुरस्कार निबन्ध प्रतियोगितामा रचना पठाएर गोरखापत्रमा छाप्ने काम नै मदन
पुरस्कार स्थापना गर्ने रणनीतिअनुरूप गरिएको थियो । राणाशासनकाल जस्तो साहित्य र
वाङ्मयको समृद्धिका लागि प्रतिकूल परिस्थितिमा पनि कालो बादलमा लुकेर रहेको
चाँदीको घेरालाई देख्न सकेका थिए अर्जुन दृष्टिका धनी कमल दीक्षितले ।
राणाशासनकालदेखि साइबरकालसम्म अनवरत नेपाली भाषा साहित्यको सेवा गरी भविष्यका
सन्ततिलाई समेत मार्गदर्शन गरिदिने सरस्वती साधकलाई नमन र हार्दिक श्रद्धाञ्जलि
।
पुस २१, २०७३
- See more at:
http://ehimalayatimes.com/bichar-sahitya/6697#sthash.Cpvid25Q.S3TpAcdt.dpuf
No comments:
Post a Comment