सिसियु वार्डमा एघार जना
विरामी राख्न मिल्ने सुविधा रहेछ । ह्विलचेयरमा राखेर मलाई आकस्मिक कक्षवाट त्यहाँ
ल्याईयो । म पुग्दा मुटुको समस्या भएका रोगीहरुलाई राखिने त्यो सँवेदनशिल उपचार
कक्षमा दुई जना मात्र विरामी थिए । मेरो लागि बेड नँ २०३ तोकियो । त्यहाँ विरामी हेर्ने
आफन्त वा कुरुवाले 'एकै छिन मात्र उभिन मिल्ने' नियम रहेछ । त्यसकारण अन्यत्र जस्तो बेडको छेउमा वस्ने कुर्सीको सुविधा हुने
त कुरै भएन । विहानको चार बजेको थियो । मेरो अवस्था अरुको जस्तो असामान्य भने थिएन
। यसैले म कम्बल ओडेर निदाउने कोशिशमा लागेँ ।
विहान ६ बजेतिर म आफै
विउँझिए । केही विरामी थपिएका थिए । ड्युटिमा रहेका चिकित्सक र नर्सहरुको चहलपहल
बढेको थियो । अड्कल काटे-उनीहरुको पालो अदलबदल हुने समय भएको हुनु पर्छ ।
"न्यु पिन्च छ है सबैलाई ।"
रातो स्वीटर र निलो
पाईन्टमा सजिएर आएकी एक आगन्तुकले ड्युटिमा रहेका सवै नर्सको ध्यानाकर्षण गरिन ।
नयाँ लुगा लगाउनेलाई खास गरी दौतरीहरुले चिमोटेर यस्तो अभिव्यक्ति 'दिने' बुझेको थिएँ । तर यहाँ
लुगा लगाएकाले चै अरुलाई पो 'न्यु पिन्चको बधाई दिएको' सुनियो ।
मेरो काम बेडमा पल्टिनु सिवाय
केही थिएन । यसर्थ मष्तिष्कले मात्र पनि गर्न सक्ने विकल्पहरु सिमित थिए । अब फेरी
निदाउने सक्ने कुरै थिएन । उपचार कक्षमा भित्तामात्र थिए, झ्याल थिएनन । यसकारण प्राकृतिक
उज्यालो भित्र पस्ने सभाँवना समेत शुन्य थियो । यसले गर्दा झ्यालवाट वाहिर हेरेर
समय कटाउने विकल्पमा दर्हो विर्को लागेको थियो । तर पनि मैले धैर्य गर्दै केही
सोच्नु पर्ने बाध्यातमक परिस्थिती थियो । तीनवटा उपाय सुझे- छिमेकी विरामीलाई हेर्ने, नर्सहरुको गतिविधि नियाल्ने वा केही चिन्तन
गर्ने । तेस्रो कठिन थियो । पहिलोले दु:ख थप्ने मात्र जोखिम थियो । जे जस्तो भए पनि दोस्रो गतिविधि
अर्थात नर्सहरुकै कृयाकलापमा ध्यान केन्द्रित गर्नु नै मेरो लागि सर्वोत्तम विकल्प
थियो । किनभने त्यसमा 'निरोगी कृयाकलाप' प्रशस्त देखिन्थे ।
वार्डमा पस्ने ढोकामा
चहलपहल बढ्यो । एउटा नयाँ विरामी ल्याईयो ।
"कुन बेडमा राख्ने होला ?" कसैले उभिएर रमिते भएकाहरु माझ प्रश्न हुत्यायो
।
"तिनलाई चारमा सार्ने । अनि तीनमा यसलाई राख्ने ।"
यो निर्णय गर्ने अधिकारी
थिईन- रातो युनिफर्म
लगाएकी एक महिला । त्यसो त पहिरनको रँगका आधारमा त्यहाँ विरामीलाई सेवा दिने
कर्मचारीलाई चार भागमा बाँड्न सकिन्थ्यो । खैरो, रातो, निलो र सेतो लगाउने । खैरो लगाउनेहरु सबैभन्दा कनिष्ठ थिए । उनीहरु भुँई
पुछ्ने वा शौचालयको रेखदेख गर्ने जस्ता कार्यमा खटिएका देखिन्थे । रातो लगाउनेहरु
विरामी ल्याउने, लैजाने र तन्ना
फेर्ने जस्ता काम गर्थे । नर्सहरुले निलो लुगा लगाएका थिए भने चिकित्सकहरुले सेतो
कोट ।
"तँलाई" भन्ने शब्द आदरार्थीको कित्तामा सबैभन्दा तुच्छ मानिन्छ । यो प्राय आफूले
हेपेका, उमेरले साना वा गाली
गर्दा प्रयोग गरिन्छ । यसकै हाराहारीमा निर्जिव वस्तुलाई सम्बोधन गर्दा "यसलाई" भनिन्छ । रातो लुगा लगाएकी
महिलाले प्रयोग गरेको यो शब्दले मलाई आश्चर्यको दु:खद कित्तामा पुर्यायो ।
"किन मलाई ४ नँ मा सार्ने ? के बेड नँ ३ मा नयाँ बिरामीलाई सहज हुन्छ ? कि ४ नँ मा मलाई सजिलो
हुन्छ ?"
सँभवत: यी प्रश्नहरुको त्यहाँ कुनै
अस्तित्व थिएन । म यी प्रश्नको जिवन्तता भन्दा पनि नयाँ विरामीलाई प्रयोग गरिएको
"यस" भन्ने सर्वनामको
सेरोफेरोमा हराएँ ।
"तँपाईलाई ४ नँ मा सार्नु पर्ने भो ।" मलाई निर्णय सुनाईयो । त्यसो
गर्नुको कारण सुनाईएन । मैले पनि कुनै चासो राखिन । आदेश पालना गरेँ । निचोड
निकालेँ-कसलाई कुन बेडमा
राख्ने भन्ने निर्णय कनिष्ठ कर्मचारीले हचुवामा गर्दा रहेछन ।
चार नँ बेड सबै भन्दा
कुनामा थियो । मेरो लागि भित्तो अझ नजिक भएको थियो भने ढोका र नर्सहरु भेला हुने
स्टेशन झन टाढा । अब भने नर्सहरुको हो हल्ला बाक्लिएको थियो । उनीहरुको आफ्नै हल्लाले 'त्यो क्रिटिकल केयर युनिट अर्थात
सिसियू हो' भन्ने यथार्थ
ओझेलमा परेको थियो । सघन उपचार कक्षमा वा चिरफार गर्ने ठाँउमा कति आवाज वा उज्यालो
हुनु पर्छ भन्ने मापदण्ड पक्कै हुनुपर्छ । जाडो मौसममा शीत-ताप यन्त्र चलाएर तापक्रम
कति डिग्रीमा स्थिर राख्ने भन्ने पनि हुन्छ । सेवा दिनेहरु नै विरामी वा उपचार सम्बन्धि भन्दा
पनि आफ्ना व्यक्तिगत कुराहरु वा "हिजो के भयो?" वा "फेसबुकमा फलानाले
राखेको फोटो हेरिस ? भन्ने जस्ता गन्थनले गाँजिएका देखिन्थे । घरिघरि त "वाँसघारीमा रुप्पी कराएको
जस्तो" भान हुन्थ्यो
। केही बेर पछि नर्स स्टेशनको
कल्याङ्मल्याङ् बेड तिर सर्यो । उनीहरु दुई दुई जना भएर हरेक विरामीको छेउमा फाईल
लिएर आए । आफ्नो जिम्माको विरामीलाई अर्को लाई सार्न थाले ।
"डा. फलानाको पेसेन्ट । विहान चार बजे चेस्ट पेन भएर ईमरजेन्सीमा ल्याएको । औषधी यो
चलाएको छ।" यस्तै वार्तालापले
वार्ड भरियो ।
दुई जना नर्सले मेरै
अघिल्तिर मेरै वारेमा कुरा गरे । तर यस्तो लाग्थ्यो- उनीहरुलाई मेरो उपस्थितिको कुनै पर्वाह छैन । उनीहरु तृतिय
पुरुष अर्थात "तँ" वा "त्यो" को भाषा प्रयोग गरिरहेका
थिए । मलाई भने 'अड्डासार' भन्ने शब्दको स्मरण भयो ।
जसरी प्रहरीको जिम्मामा भएको कैदीलाई एक ईलाका वाट अर्कोमा सरुवा गर्दा यसो गरिन्छ
। त्यहाँ भने सही छाप र साक्षीको समेत प्रावधान हुँदो हो ।
"पाँच नम्बरको मान्छेलाई बोलाईदे ।" अर्कीले झन अर्कीलाई भनेको
सुनियो ।
पाँच नम्बरमा एक बुढी आमा
थिईन । एकै छिनमा एक अधवैसेँ महिला आईन ।
"नरुनु आमा । किन रुनू भएको ? केही हुँदैन । म जान्न । हजुर सँगै बस्छु ।" आगन्तुकले भनिन् ।
शायद जीवनवाट हरेश खाई
सकेकी थिईन । या त कुनै कारणले धेरै नै सँवेदनशिल भएकी थिईन । एकातिर बिरामीको
यस्तो रोदन थियो भने अर्कातिर नर्सहरुको एक आपसको रमाईलो र हँसिमजाक ।
चिकित्सकहरुको टोली आयो ।
"नमस्ते दाई । हजुरलाई के भएको हो ?" मलाई हेर्ने चिकित्सकले
गरेको यो सम्बोधन भने शालिन थियो । मैले सकारात्मक हुने एउटा सिँढी भने फेला
पारेको थिएँ । हुन ता नर्सहरुले कामै पर्दा वा कुनै जानकारी दिँदा "बुवा" या 'अङ्कल' ले सम्बोधन नगरेका होईनन ।
तर कुनै विरामीका बारेमा एक आपसमा कुरा गर्दा भने तृतिय पुरुषकै प्रयोग गर्थे । सेवाप्रदायक
र सेवाग्राही सँग जोडिएको एउटा रोचक विषय छ-दुई पक्षका विच विद्यमान सूचनाको असन्तुलित रुप । मेडिकल
विधामा त यो झन प्रखर हुन्छ । चिकित्सक र विरामीको विचमा एकहोरो सूचना प्रवाह हुन्छ
। रोग वा अव गर्नु पर्ने उपचारका विषयमा चिकित्सकसँग भएको ज्ञान वा सूचना विरामी
सँग हुँदैन । यस अर्थमा चिकित्सकले पेशागत
आदर्शको कित्ता नाघेर नियतमा कुनै विचलन ल्याएमा विरामीले त्यसको अथाह मूल्य
चुकाउनु पर्दछ ।
मेरो समस्या मुटु सम्बन्धित
नभएको निचोड निस्कियो । तर दुईवटा परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने निधो भयो ।
चिकित्सकहरुको टोली मेरो
बेडवाट प्रस्थान गरेपछि मैले ड्युटिमा रहेकी नर्सलाई मेरो हातमा रोपिएको सुई
निकाल्न भने । मलाई असामान्य तवरमा दु:खाईको अनुभुति भएको थियो । सुई लगाउँदा प्रशस्त उज्यालो चाहिन्छ । नशा फेला
परेन र जथाभावी घोचियो भने विरामीलाई पिडा हुन्छ । नर्सले मलाई घोच्दा सुन्दा सामान्य
लाग्ने तर यस महत्वपूर्ण विषयमा ध्यान नपुगेको जस्तो लागेको थियो । न त आकस्मिक
कक्षमा न त सिसियुमा नै नशा देखिने सक्ने उज्यालो थियो । म त्यही परिस्थितिको
शिकार भएको थिँए । मेरो दु:खाईले त्यही वताएको थियो । उनले सुई निकाल्न नमिल्ने तर्क राखिन । मैले
धैर्यता गुमाईन ।
केही समय पश्चात नर्स
स्टेशनमा अलि चर्कै स्वरको आवाज सुनियो ।
"एन्जिओप्लाष्ट गरेको विरामीलाई त्यस्तो लापरवाही गर्ने हो ? यही पारा हो भने तिमीहरुले
केही पनि सिक्दैनौ । राम्रो डाक्टर बन्ने त सपना मात्र हुन्छ ।"
एक युवा जस्तै देखिने
फूर्तिला चिकित्सक ड्युटिमा रहेका उनको मातहतका प्रशिक्षार्थीहरुलाई हप्काउँदै थिए
। उनी हिँड्नासाथ विहान रातो स्वेटर लगाएर आउने तर अहिले सेतो कोट लगाएकी युवतीको
आक्रोसयुक्त वोली सुनियो ।
"यो डाक्टर आयो भने ईरिटेशनको सगरमाथा नै बोकेर आउँछ । हरेक
कुराको सीमा हुन्छ नि !"
मेरै आँखा अघि ति युवा
चिकित्सकको अर्ति प्रशिक्षार्थीलाई विष भएको थियो । विद्यार्थीको हैसियतमा रहेका
उनीहरुको रोषले स्पष्ट सँकेत गरेको थियो- आफ्ना अग्रजको अभिव्यक्तिले उनीहरुमा न कुनै ग्लानीबोध
पलाएको थियो न त सिक्ने तिर्सना नै। अहिले मेडिकल शिक्षामा देखिएको ठूलो समस्या नै
यहि हो । पैसा पेलेर डाक्टर हुने परिपाटी विकसित भएको छ । नसिकिकन र नजानिकन
हचुवाका भरमा चिकित्सक बनिदैन । आगामी पुस्ताको लागि यो एउटा ठूलो चुनौति पहाड
बनेर प्रस्तुत हुने कुरा अवस्यम्भावी छ ।
"समोसा खाने वेला भएन । एक छिन त आफुले चाहेको कुरा पनि गरौन
। कति यो भुमरीमा मात्रै रुमल्लिरहनु ?"
अर्ति तितो मानीरहेकीले
प्रशिक्षार्थी चिकित्सकले मिठो समोसाले तितो मेट्ने रणनीति अपनाईन ।
एक अर्को आक्रोशयुक्त
गुनासोले मौनता भँग भयो ।
"बाँदर्नीले चाबी कहाँ राखेर हिडी ?"
जिम्मेवारी हस्तान्तरण गरेर
गएकी नर्स उपर उनकी दौतरीको आरोप थियो त्यो । आर्तनादको कित्तामा उम्रिएको यो हँसिमजाकको
सेरोफेरोमा मैले एउटा निचोड निकाले । एक आपसमा कुरा गर्दा या नर्स स्टेशनमा भएका
बेला उनीहरुको कुरा गर्ने शैली, अनुहारको भाव या व्यवहारको रुप अर्कै हुन्थ्यो । उनीहरु प्रसन्न मुद्रामा
हुन्थे । अनुहारमा कान्ती हुन्थ्यो । जब उनीहरु विरामीका वार्डमा आँउथे त्यो
कान्ती कालो छाँया मा परिणत हुन्थ्यो । त्यहाँ भने औपचारिकताको ध्वाँस पिट्थे । अनुहारको
प्रसन्नताको धर्को एकाएक गायब हुन्थ्यो । कतिपय अवस्थामा विरामी वा उनका आफन्तलाई
हप्काउँथे । निषेधात्मक आदेशहरुको फरमान जारी गर्थे । यस्तो लाग्थ्यो-पेट्रोल पम्पमा पेट्रोल
भरेर उर्जावान भएको सवारीसाधन जस्तो उनीहरु पनि नर्स स्टेशनमा विरामीलाई आतङ्कित
पार्ने उर्जा भर्न जान्थे ।
शौचालय प्रयोगमा पनि
नर्सहरुको नियमन थियो । सिसियुका विरामीले धेरै शौचालय प्रयोग गर्न पाईन्न भन्ने
मान्यता पालेको देखियो । तर उनीहरु 'धेरै शौचालय प्रयोग नगर्नु" भन्ने आदेश जारी मात्र गर्थे । तर विकल्पको बारेमा बताउँदैन थिए । मेरो शारिरिक
स्थिति सामान्य भएकोले म आफै हिँडेर शौचालय जान्थे । एक पटक त्यहाँ पुगेर फर्किदै
गर्दा रातो पहिरनमा रहेकी महिलाले भनिन्-
"किन शौचालयको ढोका बन्द गर्नु भएको ?"
"किनभने अघिल्लो पटक म भित्रै हुँदा एक महिला विरामी पनि भूलवश
भित्र आईन । अरुको अघि शौच गर्दा तपाईलाई लाज लाग्दैन र ?"
मेरो स्पष्टिकरण मिश्रित
मुखभरिको जवाफले पनि उनलाई बुझो लागेन ।
"तपाईको ड्युटि नर्सले यहाँ पहरा दिनु पर्ने हो नि त ।"
"खै त नर्स ? तपाईँ बेफ्वाँकको भाषण किन छाँट्नु हुन्छ ? उनलाई काम लगाउने पनि तपाईको जिम्मेवारी भए किन रातो लुगा
लाउनुहुन्थ्यो होला र ?"
अब भने उनी चुप लागिन । शौचालयमा
टिस्यु पेपर पनि थिएन । कतिपय विरामीहरुको दिसा गरेपछि सफा गर्न पुछ्ने पनि बानी
हुँदैन । उनीहरु दिसा गरेपछि पानीले धुन्छन् । बेड नँ २०३ का विरामीले दिसा धुन पानी
र मग माग गरेको मैले स्पष्ट सुने । खासगरी कतिपय महिला वा बृद्धबृद्धाहरु शौच
सम्बन्धि र आफ्नो सँस्कार सम्बन्धिका केही चलनहरु खुलेर व्यक्त गर्न पनि सक्दैनन ।
यस्तो स्थितिमा सेविकाहरुको आक्रोसले आगो निभाउने भन्दा दन्काउने काम गर्छ ।
केही समय अघि वीर अस्पतालमा
एक हजुरआमाले गरेको विद्रोह सुन्नमा आएको थियो । उनको भित्री अङ्गको चिरफार गर्नु
पर्ने काम थियो । सबै तयारी भयो । नर्सले बिरामीलाई अपरेशन गर्नका लागि लुगा फेर्न
भनिन्।
"म बरु त्यसै मर्न तयार छु । तर अहिले सम्म नलगाएको यस्तो
फ्याँग्लो लुगा लगाउँदिन ।" हजुरआमाको थरथर काँपेको आवाज सुनियो ।
सम्भवत यो दृष्टान्तले
हाम्रो परिवेशमा मेडिकल फिल्डमा गर्नु पर्ने अनुसन्धानका विषयहरुलाई सँकेत गर्छ । हाम्रै
सँस्कार र सँस्कृति अनुकुल चिकित्सा पद्धतिलाई हिँडाउन सकिन्छ । खाली चिन्तन र
अनुसन्धानको मात्र खाँचो छ ।
सिसियुवाट मेरो प्रस्थान
हुँदा वातावरण तनावग्रस्त बन्यो । विहान देखि म भित्र घाउको पिपजस्तो जमेका मलाई
प्रदान गरिएको सेवामा देखिएका विसँगति र लापरवाहीका अवशेषहरुको वेलुन एकैपटक
विस्फोट भयो । लगभग बारह् बजे तिर मेरा
दुईवटा परिक्षणहरु भए । तीनका रिपोर्टले पनि मेरो स्थिति सामान्य देखायो । मैले
फेरी ड्युटिकी नर्सलाई मेरो हातमा रोपिएको सूई निकाल्न अनुरोध गरेँ । उनले
अपत्यारिलो तर्कले त्यसलाई अस्विकार गरिन ।
असह्य पिडाका बिच मैले दुई
वटा निचोड निकालेँ- पहिलो, सिसियुको विरामीलाई
त्यहाँ राखुन्जेल स्थिति गम्भिर भएको सँकेत दिनका लगि सूई रोपेरै राखिन्छ । दोस्रो- विरामी उपचार शुल्क नतिरि
भाग्न नसकोस भन्ने आशय हो ।
आखिर बेलुकाको पाँच बजे
मात्र शुल्क बुझाएको कागजात देखाएपछि नर्सले मेरो हातमा टेपले बाँधिएको सुई निकालिन
।
"चिकित्सकको निर्णय अनुरुप यस्को काम त दिउँसोको १२ बजे नै
सकिएको थियो । त्यसै वेला यसलाई निकालेको भए
मैले पाँच घण्टा दु:खाई सहनु पर्ने थिएन, हैन र ?"
मैले रोष प्रकट गर्दै मेरो आलो
घाउमा अलिकति भए पनि मल्हम लगाउने कोशिष गरेँ । तर कुनै ठोस तर्क उनीहरुले दिन
सकेनन ।
विदा हुनु अघि मैले वार्डमा
रहेका सारा विरामी, तिनका कुरुवा र ड्युटिमा रहेका नर्स र चिकित्सकहरुको ध्यानाकर्षण गर्दै
अभियन्ताको रुप निकालेर ठूलो स्वरमा भने-
"यी सबै विरामीहरु जिउँदा मान्छे हुन, मरेका लाश हैनन । यिनीहरु अहिले
विरामी मात्र हुन । मरे भने मात्र लाश हुन्छन । यिनीहरु मरे भने मात्र
चितामा पोलिन्छन। तर बाँचे भने घर जान्छन । मरेको लाश मात्र वस्तु हो, जिउँदो मान्छे वस्तु होईन ।
यो 'पानी राख्ने भाँडो' बस्तु हो । त्यो 'कुर्सी' वस्तु हो । तर म वस्तु
होईन विरामी मान्छे हुँ । तपाईहरुले मलाई 'वस्तु' को व्यवहार गर्नु भयो, जिँउदो मान्छेको हैन। यसकारण म तपाईहरुको सेवावाट असन्तुष्ट छु ।"
एक छिन सन्नाटा छायो ।
उनीहरु सबैका आँखा बलेका थिए । म चाहान्थे यो उनीहरुको जागीरे जीवनकालकै सम्झिन
पर्ने सुत्रवाक्य वनोस । मैले गुनासो-पत्र मागेँ र भारी मन लिएर सिसियुवाट प्रस्थान गरेँ ।
घरमा आएपछि सबैले मैले
बिद्रोहको बिगुल फुकेको कुरा सुने । तनावग्रस्त पटाक्षेपकी साक्षी मेरी बहिनीले
पटक पटक अभिनय शैलिमा परिवार सदस्यहरुलाई घटना विवरण सुनाईन ।
"सिसियुमा बसेर १२ घण्टामा बत्तिस हजार तिरेको असुल पनि त
गर्नु पर्यो नि ।" मेरी धर्मपत्नीको प्रतिकृया आयो ।
म भने निभेको आगोले छोडेका
कोईलाको कल्पना मात्र गरिरहेको थिँए ।
पौष ०८, २०७३
कोटेश्वर, काठमाण्डौ
No comments:
Post a Comment