चारवटा गाडी, एघार जना यात्रु र चार जना
चालकले हाम्रो यात्रा टोलीको सँरचना बनेको थियो । यात्राको गन्तव्य सूचिमा
थिए, मर्स्याङ्दी नदीमा बनेका तीन र खुदी खोलाको एक गरी चार वटा जलविद्युत
केन्द्रहरु । यस्तै बाटामा पर्ने अध्ययनको चरणमा रहेको बहुचर्चित
बुढीगण्डकी जलविदयुत परियोजना स्थलको पनि अवलोकन गर्ने योजना थियो ।
कलङ्कीमा भेटेर चारैवटा गाडी सँगै जाने
सल्लाहले मूर्तरुप लिन सकेन । यसको एक मात्र कारण थियो- कलङ्कीदेखि
नैकापसम्म सहज तरिकाले गाडी रोकेर पर्खने ठाँउ कतै नभेटिनु । यस्तो बेलामा
मोवाइल फोनले गज्जबको काम दिन्छ । को-कता पुग्यो ? कसलाई कतिबेर पर्खनु
पर्छ ? कसैलाई केही समस्या पर्यो कि ? तुरुन्त थाहा हुन्छ ।
एघार जनाले एक अर्काको अनुहार हेर्दै
वोल्ने अवसर प्राप्त गर्न नौविसेबाट केही किलोमिटर अगाडि रहेको ह्याम्लेट
रेष्टुरेण्ट नै पुग्नु पर्यो । आफैले परिकार पस्केर आफैले चाहेको परिमाण
लिन मिल्ने तरिकाको खाजा र तातो चियाले हाम्रो भोक शान्त पार्ने र बिहानको
तलतल मेटाउने काम गरे। चमेना गृह भरिभराउ थियो । विदेशीहरु पनि प्रशस्तै ।
यो गतिविधिले पृथ्वी राजमार्गमा पर्यटन सेवाको व्यवसायिकता बढेको सँकेत
गरेको भान भयो । तर यो सोच धेरै वेर पाल्न सकिएन ।
ह्याम्लेटबाट अघि बढ्ना साथ 'पहिलो गाँसमा
नै ढुँगा' लागेको अनुभूति हुने एउटा अनौठो घटना सिर्जना भयो । हाम्रो एउटा
गाडिलाई ट्राफिक जवानले सिटी फुकेर रोके । सिधै चालकको लाईसेन्स मागे र
उनलाई सडक किनारामा रहेको ट्राफिक कार्यालयमा केरकार गर्न लगे ।
"किन विदेशीलाई गाडीमा बोकेको ? जरिवाना नतिरी जान पाईन्न ।" केरकार गर्ने प्रहरी अधिकृतले निर्णय सुनाए ।
"वहाँ विदेशी होईन । नेपाली नागरिक हो ।" चालकले सफाई दिए ।
विदेशीलाई नीजि गाडीमा लान नपाईने ?
विदेशीले हवाई यात्राको भाडा बढी तिर्नु पर्ने ? विदेशीले शौचालय प्रयोग
गरेको बढी शुल्क तिर्नु पर्ने ? यी अलौकिक नियम र प्रचलनहरु सर्वमान्य
सिद्धान्तमा आधारित छैनन् । तर विगतमा गरिएको कुनै अदुरदर्शी निर्णयको आडमा
केही स्वार्थ केन्द्रको फाइदाका लागि यी जड भएर बसेका छन् । तर सही
नेतृत्वको फेला परे परिवर्तन गर्न असम्भव छैन । आफ्नो अघि उत्पन्न प्रतिकुल
परिस्थितिमा हामीले कुनै प्रतिकृया जनाएनौ तर मन थामेर सकारात्मक सोचको
कित्ता सिर्जना गर्ने तिर लाग्यौ ।
पक्राउ परेको गाडीको अग्रसीटमा यात्रा
सँयोजक रुपाजी थिइन । उनको व्यक्तित्व, रुप र लावण्य गैर-नेपालीको जस्तो
भएकोले ट्राफिकको शँकाको बाकस उघ्रिएको थियो । तर बाकस रित्तो देखेर
उनीहरुले 'दिनभरीको शिकार कान्छा बाउको अनुहार' भन्ने उखान सम्झिए होलान् ।
हामीलाई भने आश्चर्य र हाँसोले भरिएको वार्तालाप गर्ने टेको प्राप्त भयो।
"ल ! हाम्रो यात्राकी हिरोइनको त टुँगो ट्राफिकले लगाई दियो ।" रुपालाई लक्षित गर्दै कुनै मित्रले टिप्पणी गरे ।
"हिरोको टुँगो भने त्यति सजिलै नलाग्ला ? कडा प्रतिस्पर्धा हुने छाँट छ ।" अर्का मित्रले थपे ।
हाम्रो एघार जनाको टोलीमा दुई जना मात्र
महिला थिए । ट्राफिकको ठम्याइलाई आधार नबनाए पनि दुईबाट एक छान्ने काम धेरै
कठिन थिएन । अर्कातिर पुरुषहरुको बीचमा पनि 'को भन्दा को कम' को स्थिति
थियो । विज्ञता, अनुभव, र व्यक्तित्व को हिसाबमा एउटा माछापुच्छ्रे जस्तो
लाग्थ्यो भने अर्को अन्नपूर्ण । यसरी यात्रा टोलीको सहभागिताको विशिष्टता
एकातिर थियो भने अर्कातिर नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यकारी
निर्देशक डा. जयकुमार गुरुङ्को प्रत्यक्ष निर्देशनमा तय गरिएको उच्चकोटिको
यात्रा-प्रबन्धको स्तर । यसैले यो यात्रा हरेक दृष्टिले अविष्मरणीय हुनेछ
भन्नेमा हामी विश्वस्त थियौँ ।
वेनीघाटमा पुगेपछि हाम्रा सवारी साधनहरु
त्रिशुली नाघेर गोर्खा जिल्लाको आरुघाट जाने सडक तिर लागे । बुढीगण्डकी र
त्रिशुलीको दोभानको निकट गल्छीमा नै निर्माण गर्ने योजना भएको जलविदुत
परियोजनाको सेतुबन्ध अर्थात ड्याम निर्माण हुने स्थलको अवलोकन गरियो ।
"उ त्यो झ्याम्म परेको रुखसम्म पानीको सतह
पुग्ने अनुमान छ ।" बुढीगण्डकी जलविद्युत परियोजनाका अध्यक्ष डा.
लक्ष्मीप्रसाद देवकोटाले बताउनु भयो ।
"यो त पत्याउनै हम्मे पर्ने विषय पो भयो त ।" कसैले टिप्पणी गरे । देखाइएको रुख हामी उभिएको ठाँउबाट एक सयमिटर जति माथी थियो ।
'त्यसै ईन्जिनियर । कुलेखानीमा पनि ड्याम
वन्नु अघि यसै भन्थे होला ।" अर्का मित्रले सटीक तरिकाले जवाफ दिए । अब पनि
नपत्याउनुको कुनै अर्थ थिएन ।
कुरिनटारको मनकामना दर्शन गर्ने केबुलकार
स्टेशन पुग्नु भन्दा अघि सडकको दायाँ किनारामा रहेको रिभरसाईड रिसोर्टमा
हाम्रो दिवा-भोजनको प्रबन्ध गरिएको थियो । सुन्तला पाईने मौसम । गोर्खा
जिल्लाको सामिप्यता । रिसोर्ट परिसरमा खुला आकाश भएको कौशीमा बसेर पारिलो
घाम ताप्दै सुन्तलाको ताजा जुसले भोजनको शुरुवात गरियो । पृष्टभूमिमा
त्रिशुली बगेको दृष्य र नदी सुसाएको आवाज थिए । यसरी मिहिन रुपले समायोजन
गरिएका कृयाकलापका कारण आनन्द र हर्षको मर्करी आकाशिएको थियो ।
दिवा भोजन पश्चात हाम्रा सवारी साधनहरु
पृथ्वी राजमार्गको सीमारेखामा नै जोडिएर रहेको मर्स्याङ्दी जलविद्युत
केन्द्र परिसरमा पुगेर रोकिए । यो जलविद्युत केन्द्रको सिरानतिर अन्य
दुईवटा नयाँ जलविद्युत केन्द्रहरुको निर्माण भएकाले यसले अहिले 'तल्लो' को
उपमा पाएको छ । तर त्यहाँका पदाधिकारीहरुको सँगको अन्तर्क्रिया पश्चात
हामीले निचोड निकाल्यौ-यो त मर्स्याङ्दी नदीको 'जेठो' मात्र होईन अहिले
सम्म अनवरत रुपमा अत्यधिक सामर्थ्यले विद्युत उत्पादन गर्ने सर्वोत्कृष्ट
पूर्वाधारको नमूना पो रहेछ ।
"बाघ बुढो र स्याल तन्नेरी मिल्दैन ।" मैले लोकोक्ति स्मरण गरेँ ।
कारण नभई कारक हुँदैन । केन्द्रको सफलताको
एक कारण रहेछ-पदाधिकारी र कर्मचारीको दृढ मनोबल र उच्च आत्मविश्वास ।
वर्तमान परिप्रेक्ष्यमा जलविद्युत केन्द्रलाई विभिन्न प्राविधिक कठिनाईका
वावजुद पूर्ण क्षमतामा सन्चालन गर्न सक्नु नै साहसिक र प्रशँशनीय काम भएको
हाम्रो ठम्याई रह्यो । यो कार्यमा जुटेका त्यहाँका कर्मचारीको
कर्तव्यपरायणता र हामीलाई प्रदान गरिएको आथित्य सत्कारको मुक्त कण्ठले
प्रशशा गर्यौ ।
नदीको पानीको धार परिवर्तन गरी सुरुङ्मा
पठाउन निर्माण गरिएको सेतुबन्ध र थिग्य्राउने पोखरीको अवलोकन सक्दा नसक्दा
साँझ पर्नै लागेको थियो । हामीले केन्द्रका कर्मचारीवर्गसँग बिदाईका हात
मिलायौ र वेँसीशहरको लागि प्रस्थान गर्यौ ।
डुम्रे पुग्नु अघि नै हाम्रा गाडिका
हेडलाइट बलिसकेका थिए । डुम्रे - बेँसीशहर सडक खण्डको चार पाँच स्थानमा
मदिरा पिएर लठ्ठ भएका व्यक्तिहरुले हात उठाएर गाडि रोक्ने प्रयास गरे ।
मापसेको राष्ट्रिय रोग बडो बिचित्रको छ । रोजगारी, जीविकोपार्जन,
वृतिविकास, बन्धुत्व, पारिवारिक सामान्जस्यता र देश निर्माण आदि सबै
विषयलाई मापसे प्रवृतिले गौण बनाई दिएको छ । सम्भवत: नेतृत्वपङ्तिका लागि
कौशलता देखाउन मिल्ने अथाह अवसर भएको अर्को महत्वपूर्ण क्षेत्र मापसेको
नियमन गर्ने काम हो ।
रात्रीको साढे सात बजे बास बस्ने होटलमा
पुगियो । पहाडको भित्तालाई हलुका हिसाबले सम्याएर ठूलो क्षेत्रफलमा बनाईएको
होटल आकर्षक थियो । हामी मध्ये अधिकाँशलाई बेँसीशहरले पहिलो पटक स्वागत
गर्ने शौभाग्य पाएको थियो । तर होटल व्यवस्थापनको लापरबाही र आतिथ्य
सत्कारमा देखिएका कमीकमजोरीले हाम्रो मन जित्न सकेन ।
मलाई कोठा देखाउने ठिटाको रुप सामान्य
थिएन । उसले होटलमा काम गर्दा लगाईने औपचारिक पोशाक लगाएको थिएन । उसको
अघिल्तिरको कपाल फेदै लगाएर काटिएको थियो भने पछिल्तिर जुरेलीको जस्तो
पुच्छर पालेको थियो । मेरो कोठामा बत्ति बलेन । मेरो गुनासोलाई ठिटाले
सम्बोधन गर्ने बाचा त गर्यो तर उ मलाई उभ्याएर दश मिनट जति हरायो । कोठाको
बत्ति बाल्ने क्रममा म उसको नजिकै पुगेँ । मुख ह्वास्स गनायो । मापसे गरेको
यो पात्र सँगको मुठभेडले सावधानीको छैटौ इन्द्रिय जागरुक भयो ।
खानाको परिकार छनौट गर्ने क्रममा अर्को
आश्चर्यको पदार्पण भयो । रेष्टुरेन्टमा कागती थिएन । होटलको बारमा
अन्तराष्ट्रिय स्तरका महँगा चार पाँच थरीका मदिरा बिक्रिमा थिए । तर लमजुङ्
जस्तो पर्यटनको बिँडो थामेको पहाडी जिल्लामा अवस्थित होटलमा जाबो कागती
थिएन । मेनुमा लेखिएका र हाम्रो टोलीको पहिलो छनौटमा परेका केही परिकार
नबन्ने सूचना बोकेर जुल्फे र उसका साथीहरु उभिएका थिए । त्यहाँ
प्रतिकृयात्मक हुनुको कुनै अर्थ थिएन । यसैले मैले कुशल व्यवस्थापनको
सिद्धान्त अनुरुप उवलब्ध साधन र श्रोतमा टेको लगाउने निधो गरेँ । विहान
चाँडै उठेर ध्यान गर्ने र सूर्य उदय सँगै सूर्य नमस्कार गर्ने धोको थियो । मैले जुल्फेलाई हौस्याएर छतमा ओछ्याउने म्याटको व्यवस्था गर्न अराएँ ।
नभन्दै म विहान साढे चार बजे छतमा पुग्दा
म्याट बेरेर राखिएको पाएँ । खुसीले गदगद हुँदै जुल्फेलाई मन मनमा धन्यवाद
दिएँ । आधा घण्टा सम्म मौन ध्यान गरेँ । आकाशमा तारा स्पष्ट देखिएका थिए ।
दृष्टिरेखाको अन्त्यमा भीमकाय पर्वत श्रृखँला थिए । दिशाबोध हुन सकेन ।
अनुमानित पूर्व दिशातिर फर्केर बसेँ । यो जीवनकालमा नै अनुभुति गरिएको एक
विशिष्ट मिर्मिरे बिहान थियो । चिसो हावाको स्पर्श । परवाट आएको
मर्स्याङ्दीको स्वा: को प्राकृतिक आवाज । आकाश छोएर उभिएका डाँडाले मनलाई
रोमान्चक बनाए । विस्तारै उज्यालोको मात्रा बढ्दै गयो । साढे पाँच तिर डा.
दिवस मेरो कित्तामा मिसिन आउनु भयो । हामी दुईले ध्यान सम्बन्धित एक अडियो
सुन्यौ । हर्षको सगरमाथा त्यसवेला सिर्जना भयो जब एकाएक दुई पहाडको बीचमा
हिमालको सेतो चुलि देखियो । म हत्तपत्त मोवाईल ठीक पारेर हिमालको दृष्य कैद
गर्न लागेँ ।
यो अवर्णणिय मनोहर दृष्यको तस्विर लिने
क्रममा मेरो मोवाईलको क्यामेराको सीमा थाहा भयो । हिमालमा फोकस गरे नजिकको
वस्तु स्पष्ट नदेखिने । नजिकको वस्तुमा फोकस गरे हिमाल नदेखिने।
"भेटिस आज भने । बडो राम्रो तस्विर खिच्छु
भनि फुर्ति लगाउँथिस नि ।" मैले कल्पना गरेँ । यदि मोवाईल चेत भएको जिवित
प्राणी भएको भए म यस्तै भन्थे होला ।
कतै पढेको स्मरण भयो-
"आँखाले देख्ने पनि एउटा दायरा हुन्छ ।
यीनले धेरै टाढाको वस्तु देख्दैनन । यसैले हेर्दै गरेको हवाईजहाज एकाएक
हराउँछ । आँखाले धेरै नजिकको पनि देख्दैन । न त परेला देख्छ न त गाजल ।"
आफ्नो तस्विर खिच्नुको खासै अर्थ थिएन ।
यसर्थ हिमाल र सूर्योदयको अघाउन्जेल खिचियो । उदाउँदो सूर्यलाई निशाना
बनाएर सूर्य नमस्कार पनि गरेँ ।
हाम्रो खाजा खाएर आठ बजे निस्कने सल्लाहा
थियो । तर धारामा पानी नै आएन । धारो बल्ल बल्ल रसायो । तर पनि तातो पानी
आएन । बाल्टीमा जम्मा गरेर नुहाउने विचार गरेँ । स्नान कक्षमा बाल्टी थियो
तर मग थिएन । आगन्तुक कक्षमा फोन गरेर मग मगाएँ । जुल्फेको साथीले स्टिलको
कचौरा लिएर आयो । यस्तो चर्तिकला देख्दा मलाई होटल व्यवस्थापन प्रति दया
लागेर आयो । यस्तो ठाँउमा पनि ग्राहकलाई सेवा दिन नसक्नु भनेको लाजमर्दो नै
हो । कल्पना गरेँ-झन पर्यटकहरुको हालत के हुन्छ होला ?
विहानको खाजामा सुन्तलाको ताजा जुस पिउने
मेरो विचार थियो । तर होटलको ताल देखेर त्यो पाईएला भन्ने कुरामा शँका
लाग्यो । नभन्दै त्यही भयो । ताजा जुस हुने कुरो थिएन । तर जुसको सट्टा दुध
भने पाईयो ।
हाम्रो टोली निर्धारित समयमा मित्र
राष्ट्र चिनको सिनो हाईड्रो कम्पनिले हालै निर्माण सम्पन्न गरेको "उपल्लो"
अर्थात "कान्छो" मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत गृहमा पुग्यो ।
एक नेपाली ईन्जिनियरले हाम्रो स्वागत गरे । मर्स्याङ्दी लगायत नेपालका
प्राय नदीमा द्रुत गतिमा जलविद्युत केन्द्रहरुको निर्माण भई रहेको छ । यस
हिसाबले यो केन्द्रको "कान्छो" उपाधि खोसिएर केही समय पछि नै 'साँहिलो'
हुने यथार्थ हाम्रा अघि थियो । मेरो मनमा भने साबिकको "कान्छो" केन्द्रको
बारेमा कौतुहलको रुपमा एक प्रश्न रहेको थियो ।
"पचास मेगावाट क्षमताको यो आयोजनाको
निर्माण तिन बर्षमा नै कसरी सम्पन्न भयो ? जबकी अरुले जस्तै यस्ले पनि
भुँईचालो र नाकाबन्दीको सँकट ब्योहोर्नु परेको थियो ।"
विद्युत गृहको कन्ट्रोल रुममा चिनिया
प्राविधिकहरुको सहयोगीको रुपमा भेटिएका नेपाली प्राविधिकले मुस्कुराउँदै
मेरो प्रश्नको उत्तर दिए ।
"यसको चुरो कुरो एउटै छ । नेपालीहरु पहिला विवाद गर्छन काम पछि । चिनियाहरु भने पहिला काम गर्छन विवाद पछि ।"
विद्युत उत्पादन गृह पश्चात सेतुबन्ध र
नौलो प्रविधि प्रयोग गरिएको थिग्य्राउने पोखरीको निरिक्षण गर्न गयौँ ।
पोखरीको डिजाईनमा नौलो प्रविधि प्रयोग गर्ने डा. हरि पण्डित हाम्रै यात्रा
टोलीमा हुनुहुन्थ्यो । भर्खर मात्र सन्चालनमा आएको आयोजनाको तात्तातो भ्रमण
गर्न पाँउदा हामी सबै मन्त्रमुग्ध भएका थियौँ ।
त्यस दिनको दोस्रो गन्तव्य थियो चार
मेगावाट क्षमताको खुदी जलविद्युत केन्द्र । विद्युत गृहको अवलोकन पश्चात
हामी करिब २ किलोमिटर पैदल हिँडेर यसको सेतुबन्ध स्थलको निरिक्षणमा गयौ ।
खुदी खोलाको झोलुगे पुल तरेर पारिलो घामको मजा लिँदै खोला किनारमा पेनस्टक
पाईपको समानान्तर भएर हिँड्यौ ।
कन्चन पानी बगिरहेको खोलाको मनमोहक दृष्यले मोहित भएर डा. जयकुमारले एक विशिष्ट परिकल्पना गर्नु भयो ।
"जापानमा तातो पानीमा नुहाउने ओनसिन जस्तै हामीले पनि खोलामा नुहाउने क्रिडा स्थल बनाए के होला ?"
मलाई वहाँको परिकल्पना सिर्जनात्मक र
अर्थपूर्ण लाग्यो । वास्तवमा हामीले पर्यटकहरुलाई लोभ्याउने र आनन्द दिने
आधुनिक सुविधायुक्त क्रिडास्थलहरु नगण्य मात्र बनाएका छौ । डा. जयकुमारको
यो अवधारणाको मैले उच्च मुल्याङ्कन गरेँ । भोलिपल्ट बन्दिपुरको दृष्यावलोकन
स्थलवाट सूर्योदयको आनन्द लिँदा पर्यटकहरु खासै देखिएनन । जबकि हामी बसेकै
होटेलमा उल्लेखनीय सँख्यामा पर्यटक थिए । शायद सूर्योदयको रस्वास्वादन
गर्ने आनन्ददायक सुविधा नभएर हो कि ? भन्ने शँका मेरो मनमा उब्जियो ।
टोकियोको समुद्रिकिनारमा एक टावरको टुप्पामा २ सय ७० डिग्रिको दृष्यावलोकन
गर्न सकिने रेष्टुरेन्टमा पुगेको थिएँ । बन्दिपुरको टाकुरामा त २ सय ७०
मात्र होईन ३ सय ६० डिग्री कै दृष्यावलोकन गर्न मिल्ने अवलोकन कक्ष वा
रेष्टुरेन्ट बनाउन सकिने सँभावना मैले देखेँ ।
यो यात्रामा नेपालमा द्रुत गतिमा आर्थिक विकास हुन नसक्नुका कारणहरु बारे यात्रा सहभागीका खारिएका अवधारणा सुन्न पाईयो ।
"थोडा खान बनारसमे रहना ।" जे पाईएको
त्यसैमा सन्तोष गर्ने हाम्रो सँस्कार नै विकासको अवरोधको रुपमा रहेको छ
भन्ने सागरजीको सुत्रवाक्य थियो ।
रत्नमणीजीले "किन सोधिएको प्रश्न गलत पनि
हुन सक्छ?" भन्ने मान्यताको विकास हाम्रो समाजमा हुन सकेन भन्ने प्रश्न
माथी आफ्नो विचार यसरी राख्न भयो-
"कनिष्ठ कर्मचारी, कारिन्दा, विद्यार्थी
वा शिष्यले प्रश्न गर्ने हैसियत राख्दैनन । हाम्रो सँस्कारले प्रश्न गर्ने
प्राधिकार अर्थात अथोरिटि भएको व्यक्तिलाई मात्र दिएको छ ।"
चार मेगावाटको खुदी जलविद्युत केन्द्र
पश्चात "माहिलो" अर्थात "मध्य" मर्स्याङ्दी जलविद्युत आयोजनाको पनि
निरिक्षण गरेका थियौ । त्यस दिन बास बस्न बन्दिपुर पुगेका थियौ ।
बेँसीशहरको तुलनामा बन्दिपुरले पस्किएका गाँस र बास दुवै उत्कृष्ट थिए । तर
बिहान सुन्तलाको जुस पिउने मेरो रहर भने बन्दिपुरले पनि पुरा गर्न सकेन ।
एघार जनाको हाम्रो टोलीलाई तीनवटा भवनमा
राखिएको थियो । हामीले ढिलो खबर गरेका हुनाले यसमा हाम्रो गुनासो थिएन । तर
ताज जुसको उपलब्धी लगायतका अन्य केही कमजोरी भने बन्दिपुरको होटलले पालेको
पाईयो । सागरजीको कोठाको ताला खुलेनछ । वहाँले मोवाईलको टर्चले उज्यालो
बनाएर ताला खोल्ने कोशिष गर्दा मोवाइल खसेर नराम्रोसँग चर्किए छ । त्यसपछि
वहाँ मद्धतका लागि आगन्तुक कक्षमा आउनु भएछ ।
"कुन ४ सय ११ नै को कोठाको हो ? त्यसको हत्तपत्त खुल्दैन ।" होटलकी एक महिला कर्मचारीले टिप्पणी गरिछिन् ।
यसको मतलब व्यवस्थापनलाई समस्याको अग्रिम
जानकारी थियो । मुश्किलले एकसय रुपैयाँ पर्ने तालाका कारण वहाँको हजारौ
पर्ने मोवाइल दाउमा परेको थियो ।
बन्दिपुर बजारका दुई मौलिक दृष्यले भने
मेरो गहिरो ध्यानाकर्षण गरे । पहिलो, मध्यबजारमा सवारी साधनको आवागमनमा
लगाईएको रोक । दोस्रो, २००१ सालमा स्थापना गरिएको बन्दिपुर पद्म पुस्तकालय ।
पुस्तकालय अहिले पनि सन्चालनमा रहेको यथार्थले मेरो मन भरङ्ग भयो ।
बन्दिपुरवाट प्रस्थान गर्ने साईत विहानको
नौ बजे प्रस्ताव गरिएको थियो । काठमाण्डौ फर्किदाँ भने हाम्रो साथमा तीनवटा
मात्र गाडि थिए । मलेखुमा केही कोसेली किनेर अघि बढ्यौ । म चढेको गाडिमा
हामी तीनजना यात्रु थियौ । हाम्रो चुलिएको गफगाफलाई मोवाईलको घण्टीले
बिथोल्यो । मेरा अनन्य मित्र सूर्यमान सरको कल रहेछ । मैले हाम्रो यात्रा र
सहभागी टोलीको विवरण सुनाएँ । अरुको नाम सुन्दा सामान्य प्रतिकृया जनाए
पनि सागरजीको नाम सुने पछि वहाँ एकाएक चर्को स्वरमा बोल्न थाल्नु भयो ।
"ए सागर जी पनि हुनुहुन्छ । फिल्ममा हिरो खेल्न जानु पर्ने मान्छेलाई तपाईहरुले अलमल्याउनु भएको सुन्दा विस्मात लाग्यो ।"
सूर्य सरलाई विस्मात लागे पनि हामीलाई भने
त्यसले हौस्यायो । यात्रा चलचित्रको अन्त्यमा भए पनि हिरोको छनौट भएको
थियो । हिरोईनको छनौट गर्न ट्राफिक प्रहरीले सघायो भने हिरोको छनौट गर्न
सूर्य सरले । मैले नागढुङ्गा नजिकैको रिसोर्टमा दिवा भोजन गर्दा यो प्रसँग
निकालेर सबैलाई हसाएँ । यसले यात्रा टोलीको क्यामेराको काम सम्भालेका बिजय
भाई र गीता बहिनीलाई हौस्याएछ । उनीहरुले चलचित्रकै सूटिङ् जस्तो गरि
हाम्रो यात्राका अन्तिम दृष्षहरु क्यामेरामा कैद गरे ।
रिसोर्टमा पनि होटलको सेवा प्रदायकको
व्यवहारले हामीलाई हर्षित बनाउन सकेन । बेशीशहरको होटलको जुल्फे औपचारिक
पहिरनमा थिएन । मापसे गरेको थियो तर उसको व्यवहार असभ्य थिएन । तर
रिसोर्टमा भने एक सेवकले असभ्य व्यवहार समेत देखाए । तर परिकारको गुणस्तर
देखि रिसोर्टका अन्य सुविधाहरु प्रशँशनीय थिए । सम्भवत: पर्यटन
व्यवसायीहरुले सेवा प्रदान गर्दा मूल्य अभिवृद्धि गर्नु पर्नै यस्तै
विषयहरु हुन । नेपालको द्रुत आर्थिक विकासका बाधकहरुको सन्दर्भमा कतै मैले
नै उल्लेख गरेको एक सूत्रवाक्यको स्मरण भयो ।
"शीशा छ तर अलिकति फोहोर छ ।"
त्यो शीशा ढाकेकी कसिँगर हरेक क्षेत्रमा छ
। हामीले यसपालीको भ्रमण ताका जलविद्युत केन्द्रहरुबाट उल्लेखनीय रुपमा
उत्पादित उज्यालोको सहाराले शीशामा थुप्रिएको तर अन्धकारमा रहेको कसिँगरलाई
नियाल्ने सम्भावना देख्यौँ । यो नै मर्स्याङ्दी यात्राको सबैभन्दा
महत्वपूर्ण उपलब्धी भयो ।
No comments:
Post a Comment