Saturday, December 24, 2016

ईन्जिनियरको परीक्षा



विज्ञान र ईन्जिनियरिङ् जस्ता विषयहरुको पठन-पाठन र मुल्याङ्कन पद्धति अन्य गैर-प्राविधिक विषयहरुको भन्दा धेरै अर्थमा भिन्न हुन्छन । प्राविधिक विषयहरु सिद्धान्तपरक हुन्छन भने गैर-प्राविधिक विषयहरु विचारपरक।  सिद्धान्तपरक विषयहरु एक हिसाबले श्रृङ्खलाबद्ध हुन्छन । विद्यार्थीले ज्ञानको एउटा एक पत्र छिचोले पछि मात्र अर्कोमा प्रवेश गर्न सक्छ । अर्थात भवन निर्माण गर्दा जग निर्माण नगरी तला थप्न नसकिए जस्तो हुन्छ । विज्ञान र गणितको आधारभूत ज्ञानमा टेक्नु पर्नै भएकाले प्राविधिक विषय विद्यार्थीलाई बुझाउन पनि अरु विषय जस्तो सहज हुँदैन ।

कसै गर्दा पनि 'पृथ्वीको आकार गोलो हुन्छ' भन्ने तथ्य बुझ्न नसकेका विद्यार्थीको प्रश्नबाट आजित भएका नेपाली हास्य-व्यङ्ग्य जगतका लोकप्रिय लेखक भैरव अर्यालले भनेका छन- म भित्रको गुरुत्व कक्षा थर्काएर टेबुलमा बजारिन पुग्छ ।

यसैले उनको आक्रोस घतलाग्दो जवाफको रुपमा प्रस्फुटन हुन्छ ।

'पृथ्वी तेरो टाउको जस्तो छ ।'

सम्भवत: विद्यार्थीकै शरीर वा उनका साथमा भएका सर-सामानलाई उदाहरण वनाउँदा विज्ञान र गणितका केही पाठहरु बुझाउन सजिलो हुन्छ । यस्ता उदाहरण मार्फत सैद्धान्तिक ज्ञान र व्यवहारिक प्रयोगलाई एकै साथ जोड्न सकिन्छ । कुनै बाह्य साधन र श्रोतको आवश्यकता नपर्ने र कक्षा कोठामा सजिलै प्रस्तुत गर्न सकिने यस किसिमका दृष्टान्तले विद्यार्थीहरुले उनीहरुको ज्ञानभण्डारमा अनिवार्य प्रवेश गर्नु पर्ने नौला विषयहरुलाई सजिलै बुझ्न र सँझिन सक्छन । अनि आर्जित ज्ञानलाई कालान्तरमा व्यवहारमा प्रयोग गर्न सक्छन् ।  अर्यालले खेपेको समस्याकै दाँजोमा केही समय अघि पङ्तिकारको कित्तामा पनि एक रोचक र उल्लेखनीय प्रसँग सिर्जना भयो । विषय ईन्जिनियरिङको स्नातक तहको द्वित्तिय सेमेष्टरको अन्तिम परिक्षामा सोधिएको एक सामान्य तर महत्वपूर्ण प्रश्न सँग जोडिएको थियो ।

"तिम्रो क्यालकुलेटरको आयतन अन्दाजी कति होला ?"

परीक्षा अवधि तीन घण्टाको भएको हुनाले अँकभारको हिसाबमा यो प्रश्नको उत्तर विद्यार्थीले दुई मिनटमा दिईसक्नु पर्ने थियो । क्यालकुलेटरको लम्बाई, चौडाई र मोटाई अन्दाज गर्न सक्नेहरुका लागि यो केही सेकेण्डमा नै सही जवाफ दिन सकिने प्रश्न हो । अन्दाज गर्ने अभ्यास नभएका र मापनको पनि अल्पज्ञान भएका विद्यार्थीहरुका लागि भने आफूसँग भएको स्केल र क्यालकुलेटर प्रयोग गरी लगभग एक मिनटमा उत्तर पत्ता लगाउन सकिने समस्या हो यो । तर यो प्रश्नका तीन किसिमका उत्तर पाईए ।

लगभग तीन चौथाई परिक्षार्थीले सहि उत्तर लेखे । उनीहरुले अन्दाज गरेको क्यालकुलेटरको आयतनको परिमाण र ईकाई दुवै सहि थिए ।

केही परिक्षार्थीहरुले प्रयास गरे तर कसैले आयतनको सही परिमाण लेखेनन भने कसैले ईकाई गलत लेखे ।

तेस्रो समूहका परिक्षार्थीले प्रश्नको उत्तर लेख्ने जमर्को नै गरेनन ।

यो प्रसँगले प्रकरणको रुप त्यसवेला लियो जब केही विद्यार्थीले यो लगायतका यस्तै व्यवहारिक प्रयोगमा आधारित अन्य केही प्रश्नहरु पाठ्यपुस्तक वा लेक्चर नोट भन्दा वाहिरवाट आएकोमा रोष प्रकट गरे । उदेक लाग्दो घटना त त्यसवेला भयो जब विद्यार्थीका यस्ता गुनासा मनासिव ठानेर केही सरोकारवालाहरु परीक्षा नियन्त्रण कार्यालय पुगे र परीक्षा नियन्त्रक समक्ष उजुरी दिए ।

उच्च शिक्षाको पठन-पाठनको तौरतरीका, परीक्षा लिने र दिने शैली र परीक्षार्थी मुल्याङ्कन पद्धतिको गुणस्तर अनुमान गर्न सकिने गर्ने एक प्रतिनिधि उदाहरणको रुपमा 'वस्तुको आयतन निकाल्ने' माथीको प्रश्न र प्रकरणलाई लिन सकिन्छ ।
एकतर्फ ईन्जिनियरिङ् विषय लिएर स्नातक तहमा भर्ना हुने आवेदकहरुले विद्यालयको घटिमा दश र कलेजको दुई गरी एक दर्जन बर्ष अध्ययन गरिसकेका हुन्छन् । अर्को तर्फ गणित र विज्ञान विद्यालयका मूल पाठ्यक्रममा समावेश गरिएका अनिवार्य विषयहरु हुन । विज्ञान विषय लिएर कलेजमा दश जोड दुई तहमा अध्ययन गर्नेहरुले त भौतिक शास्त्र र गणितका धेरै गहन पाठहरु पढेका हुन्छन । उनीहरुका लागि "वस्तुको आयतन अन्दाज गर्ने" भन्ने विषय त एक साक्षार व्यक्तिलाई क ख लेख्ने जस्तै सामान्य हुनु पर्ने हो । तर विडम्बना अहिले ईन्जिनियरिङ् विषय लिएर स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको उल्लेखनीय सँख्या गणित र विज्ञानका आधारभूत ज्ञानमा न्युनतम मापदण्ड समेत पुरा गर्ने स्तरमा छैन ।  

एउटै व्याचका एक सय जना मध्ये एक दुई जना विद्यार्थीहरुलाई अपवादको रुपमा लिन सकिन्छ । उनीहरु बार्षिक परीक्षामा समेत क्यालकुलेटर, स्केल वा एक भन्दा वढी सँख्यामा लेख्ने साधन नलिईकन आउँछन । आवश्यक पर्यो भने र अवसर पाए भने छिमेकी साथीसँग मागेर काम चलाउँछन । पाएनन भने उत्तर नै लेख्दैनन् । यसो गर्दा उनीहरुको अनुहारमा कुनै ग्लानीबोध नभेटिन पनि सक्छ । यसको मनोविज्ञान भने छुट्टै छ । तर यो आलेखमा उल्लेखित प्रकरणको अहम प्रश्न लापरवाही वा अल्छीपनाको कित्तालाई छोडेर विद्यार्थीको उल्लेखनीय सँख्याले किन सामान्य प्रश्नको पनि उत्तर दिन सकेन त ? अथवा जसले गलत उत्तर दिए, किन त्यसो हुन गयो ? भन्ने हो ।

यस गहन सवाललाई विश्लेषण गर्दा समस्याको केन्द्रमा रहेका केही सम्भाव्य वस्तुनिष्ठ कारणहरु भेटिए ।
पहिलो, विद्यार्थीले आयतन भनेको के हो बुझेको छैन । रेखा, सतह र त्रि-आयमिक धरातल लाई लम्बाई, क्षेत्रफल र आयतनले परिभाषित गर्न सकिन्छ भन्ने वैज्ञानिक विश्लेषण उसलाई थाहा छैन ।  विद्यार्थीहरुले बुझ्ने गरि "आयतन वा क्षेत्रफल निकाल्ने" विधि अघिल्ला कक्षाहरुमा या त सिकाईएन । या सिकाईए पनि यथेष्ट अभ्यास गराईएन । सम्बन्धित विद्यार्थीले विद्यालयमा सैद्धान्तिक ज्ञान पाएको भएता पनि परीक्षा पछि त्यो विर्सियो ।

दोस्रो, दोस्रो उसले क्यालकुलेटरको लम्वाई, चौडाई र उचाई अन्दाज गर्न सक्दैन । वा आफूसँग भएको स्केल प्रयोग गरेर नाप्न जान्दैन । दिईएको वस्तुको निश्चित आकारलाई सेन्टिमिटर, मिटर वा अन्य कुन ईकाईले नाप्ने ? स्केल प्रयोग गर्ने कि फिता ?  स्केल वा फिताले नाप्ने सही तरिका के हो ?  विद्यालयमा हुँदा नापो सम्बन्धित यी सामान्य सवालहरुको कित्तामा उसले या त प्रवेश नै गरेन या त अमूर्त खेलाडी भएरै खेल जित्ने अवसर प्राप्त गर्यो । 

तेस्रो, विद्यार्थीलाई सेन्टिमिटर वा मिटर र घन सेन्टिमिटर वा घन मिटरको ज्ञान छैन । विद्यार्थीले नसिके पनि कक्षा चढ्ने अवसर पायो । जग तयार नभै पहिलो तल्ला थप्ने काम भयो । कुनै विद्यार्थीले उसको उमेरको हिसाबमा वा कक्षागत हिसाबमा सिक्नु पर्ने वा जान्नु पर्ने विषय जानेको छैन वा सिकेको छैन भन्ने कुरा सम्बन्धित शिक्षकलाई वा अभिभावकलाई थाहा छ तर लोकलाजको कारणले वा स्कूलको प्रतिष्ठामा आँच आउने भयले  त्यो गौण बनाईयो । विद्यार्थीलाई घिसारेरै भए पनि कक्षा चढाईयो ।

यी सम्भाव्य कारणहरुलाई थप विश्लेषण गरी विद्यार्थीको शैक्षिक जीवनको सिरान नियाल्दा टडकारो रुपमा देखियो-विद्यार्थीले बिद्यालयमा गुमाएको सिक्ने अवसर । यस विषयमा थप विचार विमर्श गर्न केही विद्यालयका प्राचार्यहरुसँग फोन सम्पर्क समेत गरियो । उनीहरुका पनि आफ्नै गुनासा र स्पष्टिकरण सतहमा आए । तिनमा केही थिए-बजारको मागलाई सम्बोधन गर्नु पर्ने बाध्यता, अभिभावकले चासो नराख्ने परिपाटी, कक्षामा सबै विद्यार्थीको तह एउटै नहुने र बार्षिक परीक्षामा अनुतिर्ण भए विद्यार्थीले विद्यालय परिवर्तन गर्ने समस्या । तर प्रस्तुत विषयमा एक प्राचार्यले दिएको एक विशेष कारण भने रोचक थियो ।

"रोष प्रकट गर्ने विद्यार्थीहरुको भनाई मनासिव छ । परीक्षामा त्यस्ता पाठ्य-पुस्तक बाहिरका प्रश्न सोध्ने होईन । परीक्षा भनेको कण्ठस्थ पारेका वा सर्वाधिक अभ्यास गरेका विषयवस्तुलाई दिईएको समयमा सम्झेर लेख्ने हो । हाम्रा विद्यार्थीको त्यसरी परीक्षा हलमानै सोचेर वा मनन गरेर उत्तर लेख्ने अवस्था छैन । हाम्रो बुझाईमा परीक्षामा स्मरण शक्तिको जाँच गर्ने हो चिन्तन-मनन को होईन ।"

यसरी अहिलेको पढाई, सिकाई र मुल्याङ्कन गर्ने परिपाटी "तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु" भन्ने उखान जस्तो मात्र भएको छ । यो समस्या खाली स्नातक तहमा मात्र होईन । 'शिक्षक' पत्रिकाले केही समय अघि ४ कक्षा देखि नै गाईड र गेस पेपरको प्रयोग व्यापक भएको तथ्य उजागर गरेको थियो । यस्तै कान्तिपुर दैनिकको एक स्तम्भमा प्रकाशित एक लेखकमा केही समय अघि त्रिभुवन विश्वविद्यालय अन्तर्गत लिईने बार्षिक परीक्षामा विद्यार्थी सँगठनका नेताहरु समेत निरिक्षक बस्ने प्रचलन रहेको कुरा उल्लेख थियो ।

नेपालमा हाल सँचालनमा रहेका स्नातकोत्तर र विद्यावारिधि तहको परिक्षार्थी मुल्याङ्कन गर्ने परिपाटी झन नाजुक स्थितिमा रहेको छ । स्नातक तह पुरा गरेका अब्बल दर्जाका विद्यार्थीहरु अरु नै राम्रा विश्वविद्यालयमा पढ्न जान्छन । यसैले स्नातकोत्तर तहमा भने पढ्ने विद्यार्थी नै नपाईने स्थिति छ । यसैले जसले आवेदन दिन्छ उसले विना प्रतिस्पर्धा भर्ना हुन पाँउछ। जो भर्ना हुन्छ उ अनुतिर्ण नभई सरासर उपाधि लिएर जान्छ । यस्तै जसले कक्षामा पढाउँछ प्रायजसो उसैले प्रश्नपत्र बनाउने हुनाले कतिपय अवस्थामा विद्यार्थीले डिग्री तहमा कुनै नौलो ज्ञान लिन सकेको समेत आरोप लाग्ने गरेको छ। 

विद्यावारिधी तहमा भने उम्मेदवारले विभिन्न चरणमा गर्ने प्रस्तुती मार्फत मुल्याङ्कन गर्ने प्रचलन विश्व भरि नै रहेको छ । अन्तिम परीक्षा अर्थात प्रस्तुतीमा बाह्य परिक्षक पनि बोलाईने परिपाटी छ । नेपालमा पनि विद्यावारिधिको उपाधि प्रदान गर्ने कतिपय शैक्षिक सँस्थाहरुले अन्य मुलुकहरुवाट परीक्षक झिकाउने वा सोध प्रतिवेदन बाहिर पठाउने प्रचलन रहिआएको छ । उम्मेदवारले आफूले निचोड निकालेको ज्ञानमा के नौलोपन छ भनेर विश्वास दिलाउन सक्नु पर्छ । र त्यो नौलोपन अन्तराष्ट्रिय मापदण्डको पनि हुनु पर्छ । केही समय अघि ईन्जिनियरिङ् विषयमा लिईएको विद्यावारिधीको एक अन्तिम परीक्षामा छिमेकी मुलुकको विश्वविद्यालयका बाह्य परिक्षकले उम्मेदवारलाई यसरी चेतावनी दिएको सुन्नमा आएको थियो ।

"तँपाईको अहिले सम्मको प्रस्तुतीको सार गैर-वैज्ञानिक  हुनुका साथै सतही विषयमा मात्र केन्द्रित भएको छ । यिनले तँपाईको अयोग्यतालाई मलजल मात्र गर्छन । कृपया वैज्ञानिक विश्लेषणमा र मौलिक विषयमा मात्र केन्द्रित हुनु होला । तपाईले उपाधी पाउने भनेको वैज्ञानिक र वस्तुगत विश्लेषणमा आधारित मौलिक निष्कर्षले हो ।"

यसरी प्राथमिक तह देखि उच्च शिक्षा सम्म सकेसम्म चोरवाटो प्रयोग गरी परीक्षा उत्तिर्ण गर्ने र उपाधि लिने परिपाटीको विकास भएको छ । पठन-पाठन मार्फत विद्यार्थीको 'सामर्थ्यको चुरो' अर्थात 'कोर कम्पिटेन्सी' विकसित गर्ने कुरालाई शैक्षिक सँस्थाहरुले किन मूलमन्त्रको रुपमा लिँदैनन त? यस विषयमा 'द ईकोनोमिष्ट'ले केही समय अघि उल्लेख गरेको एक कारण थियो- शिक्षकहरु भनेका सबैभन्दा अपहेलित बिद्यार्थी हुन गएका छन । निमेष भरमा नै ज्ञानको रुप फेरिने अहिलेको समयमा शिक्षकहरुले नयाँ कुरा सिक्ने औपचारिक परिपाटी नहुँदा सिकाईको स्तर निम्छरो हुनु अस्वभाविक होईन । अर्को तर्फ शैक्षिक जडताको भरणपोषणले सत्तामा अडिग रहन पाईने विकल्पलाई लत्याएर विपरितधर्मी सँस्कारलाई चिरफार गर्ने ताकत भएका भ्रमभन्जक वा मूर्तिभन्जक विचार वा गतिविधि भित्र्याउने ईच्छा शक्ति भएका नीति निर्माता वा पदाधिकारी विरलै पाईन्छन ।  आफैले पहल नगरे पनि "क्यालकुलेटरको आयतन निकाल्ने" जस्ता विद्यार्थीले जीवनपर्यन्त नबिर्सने प्रश्न निकाल्ने शिक्षकलाई प्रोत्साहन गर्ने वा भैरब अर्यालको जस्तो 'आफ्नो सलवलाएको गुरुत्व'को हवाला दिँदै आफूले बिद्यार्थीलाई पाठ बुझाउन नसक्को अनुभवलाई निबन्धमा रुपान्तरण गर्ने ईच्छा शक्ति त झनै परको कुरो भएन र ?

No comments:

Post a Comment