त्रिशुलीको भूगोल । जालपादेवीको सानिध्यता
। एक पटक भत्काईएर पुनर्निर्माण गरिएको इतिहास बोकेको पृथ्वी राजाको शालिक
। अपरान्हका सूर्यनारायण । वर्तमानको मेरो सेरोफेरो ।
म भने अथाह जलप्रवाह बोकेर अविरल वगेकी
नदीमा परेको प्रकाश र पृष्टभूमिमा देखिएको फाँट र पहाडको मनोरम दृष्यपान
गर्न थालेँ । मोवाइल निकालेर तस्बिर खिच्नै लागेको थिएँ । मेसेज आएको आवाज
आयो । तस्बिर खिच्ने काम छोडेर म मेसेज पढ्न थालेँ ।
‘के को फोटो खिच्न लाग्नु भो’
कसैले मेरो ध्यानाकर्षण गर्यो । आवाज आए
तिर हेरेँ । भगवान शिवकै साक्षात रुप । दायाँ हातमा तामाको सानो हत्तर ।
बायाँमा सर्प जस्तै देखिने लौरो । गेरु वस्त्र । दानाको मालाले बाँधिएको
नाडी । निधारमा खरानीको पोतो । घाँटीमा नागको माला भएको भए महादेवसँग भेट
भएको भन्न मिल्ने । एकाएक पदार्पण भएका बाबा देखेर म अचम्ममा परेँ ।
‘एक छिन है, बाबाजी ।’
उनीसँग वार्तालाप गर्न ईच्छा भएको संकेत दिएर म हतार हतार मेसेजको जवाफ दिन लागेँ । बाबा उभिएर मेरो क्रियाकलाप नियाल्न थाले ।
‘ए बाबाजी ! कहाँ हो नि घर ?’
मेसेजको चटारोले उनको प्रश्न मैले
बार्सिएछु । सम्भवत पेशा या व्यवशायको हिसाबमा उनको लागि मेरो यो प्रश्न
भने सही थिएन । किनभने जोगीको कुनै कित्ता हुँदैन । वास हुन्छ तर घर हुँदैन
।
‘जहाँ गयो त्यही घर । अहिले त्रिशुलीकिनारमा हो ।’
नभन्दै जवाफ त्यस्तै आयो । लोकको भनाई चरितार्थ भयो । उठ जोगी फड्कार छाला, जहाँ जाला उहीँ खाला ।
‘जन्मेको ठाउँ त होलानी ?’
‘जन्मेको ठाउँ त होलानी ?’
मैले मेरो प्रश्न सच्याउने जमर्को गरेँ । जोगी पनि मान्छे हो । यसकारण मेरो
मान्यता हो । मान्छे भए पछि घर हुन्छ, घर भए पछि मान्छे हुन्छ ।
‘बारा हो ।’
‘के थरी हुनु भयो ?’
उनको हाउभाउले सँकेत गर्यो । साधु महाराज
फेरी अर्को गलत प्रश्नको शिकार भएका छन् । म भने अन्जानमा नै जोगी र अन्य
मान्छेका समान र असमान विशेषताहरु खोजिरहेको थिएँ । एक मनले भन्यो अरु
सामान्य जनलाई सोध्ने मेरा यी खिया लागेका प्रश्नले बाबालाई जिस्क्याई
रहेको छ । तर बाबा भने आधुनिक लुगा लगाएको सन्यासधर्मको भाषा नबुझ्ने यो
हरिलठ्ठक भोगी मनुवाको चक्करमा परेर भित्र भित्रै चकराईरहेका थिए, शायद ।
बाहिर भने उनी विचलित नभएको पेशी गरिरहेका थिए ।
‘जोगीको कुनै थर हुँदैन ।’
‘आफन्त होलान । जन्मदिने बा आमा होलान् । मान्छे भए पछि किन हुँदैन नि थर ?’
म मेरो प्रश्नको पृष्टभूमि अझ मजबुत
पार्छु । उनी बेघरबारका जोगी तर म घरजम भएको मान्छे । उनी र ममा के फरक छ ?
आज म यो भिन्नता बुझ्दै थिएँ । एकातिर नाम, थर, पद, पैसा र पहिचानको
गह्रौँ भारी बोकेर हिँड्ने तथाकथित कर्मयोगी । अर्कोतिर वैराग्यको विरासतमा
डुबेका सन्यासी ।
कपास जस्तो हलुका भएर हिँडेका छन् । तर
मनमा शंङ्का पनि पलाउँछ, के यी साधु महाराज पनि तथाकथित हुन सक्छन ? किन
नसक्नु ? आखिर अहिलेको जमानामा को पो पूर्ण पात्र छ र ? कसले पो स्वधर्म
बोकेर हिँड्छ ? कसले पो आदर्शको दोसल्ला ओडेर हिँड्छ ?
‘मेरो एक आफन्त तपाई नै हो । बितिसकेका बा आमाको के कुरा भयो र ? भन्नुहोस न, तस्बिर के को खिच्न लाग्नु भो ?’
यसो भन्दै उनी मुस्कुराए । हाम्रो सवाल
जवाफ सुरताल नमिलेको सँगित जस्तो भएको थियो । उनले तस्बिरको कुरा निकालेर
वार्तालापको सुरताल मिलाउने प्रयास गरे ।
मेरा गलत प्रश्नहरुले हैरान भएका बाबाले
आफ्नो उत्तरमा गजबको विराम लगाए । उनी मेरो तस्बिरको हुलिया जान्न चाहान्थे
। मेरा आँखाले खोजेको प्रकृतिको खजानाको बारेमा जान्न चाहान्थे ।
तस्बिर खिच्न लागेको मान्छेलाई सोध्ने यो
प्रश्न पनि अनौठो नै होला । आखिर उसले खिच्नलागेको दृष्यतिर हेरे त भै गयो
नि । किन पो सोधिरहनु ? के को तस्बिर खिच्न लाग्नु भो ? क्यामेरा फर्केको
दृष्यतिर हेरेर आफैँ अनुमान गरे त भै गयो नि । उनको चासो मलाई नौलो लाग्यो ।
‘यो फाँटमा लागेको घाम र यो भीमकाय सिन्धुको ।’
सवाल जवाफमा मैले ‘सिन्धु’ शब्दको पहिलो
तर नौलो प्रयोग गरेँ । आखिर जवाफ अर्काले बुझ्नु पर्छ नै भन्ने के छ र ?
त्यो पनि समाजको पल्लो कित्तामा चर्ने यी डामेर छोडेको साढेँ जस्ता फिरन्ते
मनुवासँग ।
‘कति पर्छ यो मोवाइलको ?’
सुनेको थिएँ, अर्थशास्त्रको शब्दकोषमा
जोगी शब्दको प्रविष्टि हुँदैन । किन भने अरुको जस्तो न त उसको आयको हिसाब
हुन्छ न त व्ययको । न त कुनै बैँकमा यिनको खाता हुँदो हो । न कुनै एटियम
कार्ड, न त कुनै कारोबार । पासपोर्ट, नागरिकता र लालपूर्जा त झन दुर दराजका
कुरा भए ।
ऋण तिर्न नसके पछि साहुकहाँ पुगेर कुनै आसामीले भन्छ
‘व्यवहार विग्रेर मेरो जोगीको हालत भयो । म्याद अरु केही समयका लागि थपि पाँउ ।’
साहु ‘जोगी’ भन्ने शब्द सुन्दा शायद
पग्लिन सक्छ । यसरी ‘जोगी हुनु’ भनेको अर्थशास्त्रको कित्ता बाहिर पुग्नु
हो भन्ने निचोड निस्कन्छ भन्ने मलाई लाग्छ ।
कवि शिरोमणी लेखनाथ पौडेलले मुसा, मानिस र
मौरीमा गजबको समानता भेटे । यी तीनै प्राणीहरु आफूलाई चाहिने भन्दा बढी
सम्पति सन्चय गर्छन् । अनि जीवनभरी चिन्ता र पीडा बोकेर हिँड्छन । विधाताले
प्राणी जगतलाई दिएको प्रेसक्रिप्सन पनि गजबको छ । आखिर जोगी पनि त
प्रेसक्रिप्सनको एउटा अपवाद पात्र न हो ।
केही वर्षअघि मेरी पत्नीले शनी ग्रहको
स्वस्ति शान्ती गर्न जप गरेकी थिइन् । जपकार्य पश्चात केही तिल, फलामका
हतियार र कालो कपडा लगायतका काला रगँ भएका सामाग्रीहरु दान गर्नु पर्ने भयो
। कारणवश हामी पशुपति जान सकेनौँ । यसैले कोटेश्वर महादेवस्थान परिसरमा
सिदा दान गर्न गयौँ । शनीको नाम सुन्ना साथ पुरेतहरु डराए । कसैले पनि सिदा
लिन मानेनन् ।
‘यस्तो दान त जोगीले मात्र लिन्छ ।’ हाम्रो समस्या सुनेका कुनै शुभचिन्तकले सुनाए ।
नभन्दै एक जोगीले ती सामाग्री सहर्ष
स्वीकारे । त्यसदिन मलाई लाग्यो, जोगी भनेको यस्तो पात्र हो जसले अरुले लिन
अस्वीकार गर्ने सिदा पनि स्वीकार गर्न सक्छ । सभँवत यो पात्र भनेको
प्रशान्त महासागरको वर्मुडा त्रिभुज जस्तै हो जहाँ जस्तो जहाज वा भौतिक
वस्तु पनि अलप हुन सक्छ । उसलाई कालोको डर हुँदैन । अन्धकारको भय हुँदैन ।
मसानघाटको मलिनता उस्को शालिनता हुन्छ । अरुको ‘कालो’ जोगीको लागि ‘रङ्गिन’
वस्तु हो । उ सँग त्यो ग्रहण गर्ने अतुलनीय सामर्थ्य छ जो अरु सामान्यको
वश भन्दा बाहिर छ ।
चरा, जोगी र अजिगँरको आहारा दैवले
पुर्याउँछन रे । यस अर्थमा जोगी भनेको मान्छे जातको समूहमा ‘हाँसको बिचमा
बकुल्लो’ हो । तर बहस गर्दै गए निचोड निस्कन सक्छ । शायद जोगी नै सबैभन्दा
सुखी मान्छे हो । किन भने उ शोक न सुर्ता भोक न भकारी चरितार्थ हुने उखान
कित्ताको केन्द्र भागमा हुन्छ
कालो दान पनि सहर्ष स्वीकार गर्छ । जहाँ
गए पनि घुलमिल हुन्छ । एक्लो जीवन बाँच्छ । जगेर्ना गर्न जान्दैन तर भोकै
पनि मर्दैन । आधुनिक अनुसन्धान विज्ञानका विधि लगाएर कसैले शोध गरे पक्कै
मेरो अड्कलको पुष्ट्याईँ हुने थियो होला ।
मेरो सामसुङ् मोवाइलको मूल्इ प्रसँगमा फर्कन्छु । बाबा कौतुहलता बोकेर मेरो जवाफ सुन्न आतुर देखिन्छन् ।
‘पच्चिस हजार ।’
‘वाफरे ! पच्चिस हजार पर्छ।’
एक सामान्य जोगीका लागि पच्चिस हजार भनेको
मेरा लागि पच्चिस करोड जस्तै होला । यसैले उनको आश्चर्य भाव उजागर हुनु
स्वभाविक होला । मैले केही प्रत्युत्तर दिनु जरुरी थियो । उनले हातमा
बोकेको तामाको भाँडोमा ध्यान गयो । त्यसैलाई देखाउँदै मैले भने ।
‘यसको दाम कति पर्छ नि ? हेर्दा तामाको जस्तो देखिन्छ ।’
‘पच्चिस सय ।’
‘पच्चिस सय ! के भन्छन नि यसलाई ?’
मैले पनि मेरो पहिलो अभिव्यक्तिलाई
विस्मयाधिवोधक बनाएँ । पक्कै पनि अर्थशास्त्रको कित्ता बाहिरको ‘अवित्तिय’
पात्रले बोकेको वस्तुको त्यत्रो मूल्य हुनु मेरा लागि पनि त अनौठो नै हो ।
‘अँखोरा ।’
‘अँखोरा त सानो पो हुन्छ । हुन ता ठूलो अँखोरा या सानो गाग्रो जे भने पनि भयो ।’
मैले कुरोको किनारा लगाएँ ।
‘आउनुहोस बाबाजी । एउटा फोटो खिचौँ । आखिर सेल्फीको जमाना छ ।’
उनले मेरो प्रस्ताव सहर्ष स्वीकार गरे ।
मैले मेरो र उनको सेल्फी खिचेँ । मोवाइलमा भर्खर खिचेको हाम्रो तस्बिर
उनलाई देखाई दिएँ । यो रोचक तस्बिरका पहिला दुई दर्शक नै हामी दुई थियौँ ।
तस्बिरमा दाहिने तिर म थिएँ, देब्रे तिर उनी । उनको कद मेरो भन्दा होचो ।
मेरो सर्ट र उनको गेरु वस्त्रको समान रातो रङले तस्बिरमा मूल्य थपेको थियो
।
‘खै तपाईको मोवाईल दिनु त । म पनि एउटा सेल्फी खिचौ ।’
साधु महाराजको अनपेक्षित उदघोषले यदि
ज्यान भएको भए मेरो मोवाईलको सातो जान्थ्यो होला । मेरो निदाएको छैटौ
ईन्द्रियले एकाएक सतर्क भएको सूचना दियो । बाबाले लक्ष्मण रेखा काटेको
अनुभुति मलाई भयो । उनी अब भने अर्थशास्त्रको खलोमा प्रवेश गर्ने जमर्को
गर्दै थिए । उनको हातमा मेरो मोवाईल दिनु ? मैले उनको ईच्छाको आशय बुझ्न
सकिन । के उनी अर्थशास्त्रको कित्तामा या फोटोग्राफिको कित्तामा रमाउन
चाहान्छन ? मैले उनको हत्तर या सर्प-लठ्ठी हातमा लिए बराबर हुन्छ ।
उनका यी सामाग्रीको न मलाई कुनै औचित्य
हुन्थ्यो । न म चाहान्थे । अहिलेको जमानाको मेरो प्राण प्रिय वस्तुको उनलाई
कुनै औचित्य होस । के ठेगान उनी पनि साँच्चिकै तथाकथितको कित्तामा रहेछन
भने । मेरा मनमा एक निमेषमा यी शँका र उपशँकाका बादल मडारिए ।
सच्चा जोगीको बारेमा एक मित्रले भनेको कथा
स्मरण भयो । कुनै शहरमा एक नाम चलेकी वेश्या थिईन । उनको कर्मथलो नजिक एक
युवा जोगीले कुटी बनाए । जोगीको जीउडाल र व्यक्तित्व राजकुमारको जस्तो थियो
। युवतीले ती युवा जोगीलाई आफूले प्रदान गर्ने यौन सुखको आनन्द लिनका लागि
निम्तो दिईन ।
‘निमन्त्रणाको लागि धन्यवाद, देवीजी । तर म त्यो स्वीकार गर्न असममर्थ छु ।’
‘तिमी साँच्चि नै मेरो निम्तो अस्वीकार गर्न सक्छौ त ?’
युवतीको आह्वानले युवकको मनमा आवेगको आगो
बाल्न सकेन । आखिर ओसिएको बारुदले आगो बल्दैन, सलाईको खोलको मसला जतिसूकै
तेज किन नहोस । फूल जति सुकै सुन्दर भए पनि भमरामा चाह नभए ती दुईको मिलन
हुँदैन । आफ्नो पुरुषत्वलाई दाउमा पार्न खोज्ने युवतीलाई युवा जोगीले यसरी
जवाफ दिए ।
‘म कुनै दिन यो प्रश्नको उत्तर तिमीलाई अवश्य दिनेछु ।’
समयको चक्र धेरै घुम्यो । युवा वृद्ध भए ।
उनलाई जीवनको अन्तिम अवस्थामा पुगेको अनुभुति भयो । आफ्ना एक शिष्यलाई
आफ्नो पुरुषत्वलाई चुनौति दिने वेश्यालाई खोज्न पठाए । तीनी शहरकै एक
बृद्धाश्रममा भेटिईन । शिष्यले उनलाई जोगी आश्रममा लिएर आए ।
‘देवीजी ! मैले सकेँ ।’
बृद्ध जोगीले आफ्नो जीवनकालकै सबैभन्दा कठिन प्रश्नको सटिक तर छोटो उत्तर दिए ।
म फेरी त्रिशुलीकिनारमा फर्किएँ । मेरो
मोवाइलमा आँखा लगाएका जोगीतर्फ मेरो ध्यान गयो । उनले दाम पनि सोधेका थिए ।
उनले न त मेरो परिचय मागे । न त मेरो त्यहाँ जानुको उदेश्य नै सोधे ।
यसैले मैले आफूले
आफूलाई प्रश्नमाथी प्रश्न गरेँ ।
‘जोगीको सेल्फी मोह किन ?’
‘कहीँ मेरो प्रिय मोवाईल हातमा पारेर सुँईकुच्चा ठोक्ने दाउ त होईन ?’
त्यसो भयो भने त्यो निर्जन ठाँउमा म के
गर्न सक्थेँ । अर्थशास्त्र र पुर्जाप्रमाणबिहीन अपरिचित व्यक्तिसँगको
व्यवहार मेरो ‘नदुखेको कपाल बाँध्ने डोरी’ को रुपमा विकसित हुन सक्थ्यो ।
‘त्यो चै नगरौ होला ।’
मैले निर्णय सुनाएँ । उनको ‘किन ?’ भन्ने
प्रश्न आउनु अघि म उनी सँग विदा भएँ । किनभने सबै निर्णयको कारण सार्वजनिक
गर्नु पनि त जरुरी छैन ।
तर अहिले सम्म पनि एउटा अन्यौल भने यथावत छ । त्रिशुली किनारका जोगीलाई मोवाइल छुन नदिएर के मैले ठीक गरेँ ?
Beautifully written :) hope to get more to read. I think you were right and that was your right too. It is not necessary to share our belongings with strangers as their wish at unknown place.
ReplyDelete