Monday, November 21, 2016

विराटनगर हवाई यात्राको साजी नियात्रा : लुगा छोप्न लाज लगाइन्छ

त्रिभुवन विमानस्थलको नवनिर्मित आन्तरिक टर्मिनल भवनमा निर्धारित समयभन्दा पन्ध्र मिनट जति अगावै पुगेँ । कात्तिकको पहिलो हप्ताको पारिलो घामसँग प्रत्यक्ष भेट भयो । यो साल मनसुनी वर्षा ढिलोसम्म टिकेको थियो ।  यसैले भर्खरै ज्यान पाएका घामका सुनौला किरणहरु लोभलाग्दा हुने नै भए ।

नयाँ टर्मिनल भवन पश्चिम मोहोडाको बनाइएको हुनाले प्रतिक्षालय न्यानो र घमाइलो हुने रहेछ । म घाम मज्जाले लागेको कुर्सी खोजेर बसेँ ।  तर तिम्ल्याहा कुर्सीहरु एक आपसमा जोडिएकाले छुट्टै कुर्सीमा एक्लै बस्ने अवसर मिलेन ।  लक्षित कुर्सीको देब्रेतिर पहाडे मूलका दुई पुरुष बसेका थिए । दाहिने तिरको कुर्सी भने खाली थियो । म चुपचाप ल्यापटप खोलेर लेख्न थालेँ ।

आज मेरो अनलाइन लेख्ने योजना छ । जे देखिन्छ, जे भेटिन्छ त्यसलाई जस्ताको तस्तै शब्दमा तात्तातै परिणत गरिहाल्ने । लेखनमा सकेसम्म वर्तमान काल नै प्रयोग गर्ने । यसलाई मैले अनलाइन लेखन अर्थात साजी लेखनको सँज्ञा दिएको छु । यात्रामा सिर्जना हुने भनेका कि त नौला दृष्य हुन,  कि त परिचित वा अपरिचित व्यक्तिसँग बोलिने सम्वादहरु ।

मेरो ध्यान बिथोलियो । दाहिने तिरको कुर्सीमा भने एक मधिसे मूलका व्यक्ति हातमा बोर्डिङ् पास र नागरिकता च्यापेर बस्न आई पुगे ।   

"आप किधर जा रहे हैँ ?" उनले हामीतिर लक्ष्य गरी हिन्दीमा प्रश्न सोधे ।
हाउभाउ र प्रश्नले उनी कुनै सूचनाको खोजीमा छन् जस्तो लाग्यो । बसको खलासीले यात्रुको शिकार गर्दा सोध्ने प्रश्न यही हो । उसँग 'बस कहाँ जान्छ' भन्ने सूचना हुन्छ तर उ यात्रुलाई सोध्छ- 'कहाँ सम्म हो' ? तपाईँ जुन सुकै ठाउँ जानुहोस् वा उसको बस जुनसुकै ठाउँमा जाने होस् । उसले सकेसम्म रुट मिलाएर तपाईलाई लैजाने सपना पालेको हुन्छ ।

"कसलाई ? मलाई भन्नु भएको ?"  मैले हिन्दीको सट्टा नेपाली वोलेँ । जवाफ दिइन । प्रश्न नै सोधेँ ।
उनी अकमकाए ।  

"आप कहाँ जा रहा है ?"  मेरा देब्रेतिर बसेका मित्रले आगन्तुकलाई सोधे ।

"हातमा नेपाली नागरिकता भएपछि नेपाली बोल्न सम्म त जानेका होलान्" भन्ने मेरो अनुमान थियो । आगन्तुकले भने 'त्यहाँ भेटिएका सबै यात्रुले हिन्दी बुझ्दछन्' भन्ने अनुमान गरेका थिए होला । मेरो सोचाई ठ्याक्कै मिल्यो । उनी सिमरा जानेरहेछन् । प्रस्थान कक्षको सूचनाको खोजीमा रहेछन् । हामीले प्रस्थान कक्ष देखाईदियौ ।

अहिले म मुख्य प्रतिक्षालयमा दक्षिणतिर फर्केर बसेको छु । अब के को बरेमा लेख्ने भनेर नौला दृष्यहरु खोज्दै छु । कोही ईष्टमित्र भेटिन्छ कि भनेर आँखा डुलाउँदै छु ।  एकाएक दृष्टिपटको रँगमन्च जाज्वल्यमान हुन्छ ।  खैरो रगँको बुट लगाएर अर्को लहरमा तर ठ्याक्कै मेरो सामुन्नेमा कुर्सीमा बसेकी एक युवती पर्छिन् । म सकेसम्म उनको रुप,  बसाई र व्यक्तित्वलाई शब्दमा उतार्ने प्रयासमा गर्छु । तर हौसिएको मनको महल गर्ल्यामगुर्लुङ् ढल्छ । सास अलि फुलेको जस्तो हुन्छ । उकुस मुकुस बढ्छ । शरीरको तापक्रममा बृद्धि भएको जस्तो हुन्छ । पसिना आएको जस्तो पनि अनुभूति हुन्छ ।

"खुब साजी खजाना बटुल्ने भएको । भेटिस ! तथाकथित नियात्राकार । आयो निदुली अब तेरो काल !" म भित्रको लेखकलाई कसैले साउती गरे जस्तो लाग्यो ।

"नक्कलीले आजै त्यस्तो भिर्नु परेको । अनि त्यही सामुन्नेको लहरमा बस्नु परेको । मलाई दशा लागेका । आज अनलाईन लेख्ने बाचा बाँधेको अनि यही सिटमा अन्मरिन परेको ।" अर्को मनले भैपरिआएको परिवेशलाई अस्वीकार नगर्नका लागि केही सान्त्वना बटुल्यो । 

तर नियात्राकारले हिम्मत हार्ने कुरो भएन । बरु लेखाईको गियर परिवर्तन गर्ने निधो गर्यो ।

मेरो दृष्टिपटलमा रहेकी युवतीले एक थान मात्र लुगा लगाएकी छन् । उनको जीउ र खुट्टा गरी दुई तिहाई मात्र ढाकिएको छ। रातो रगँको लुगा भएकोले उनको व्यक्तित्व त्यसमा राम्रैसँग खुलेको छ । गर्धनदेखि घुँडा सम्मको शरीर ढाक्ने यो लुगालाई के भन्दा हुन थाहा भएन । नेपालीमा त नाम पनि नहुँदो हो । कम्मरमा बाँधेर गोलीगाँठा सम्म ढाक्नेलाई जामा भनिन्छ । जामा जस्तै तर ती भन्दा छोटा वस्त्रलाई स्कर्ट भनिन्छ ।  उनका हातका बाहुला भने घडी बाँधिने ठाउँसम्म आईपुगेका छन् । लुगाले घुँडाबाट पाँच अँगुल जति माथी सम्मको भाग ढाकिएकोले बाँकी प्रष्ट देखिएका छन्।

"धन्य प्रभु ! तिम्रो कृपाले यिनले बस्दा एक आपसमा गोडा जोडाएकी छन् । नत्र यो प्रतिज्ञारत लेखकको आज हविगत के हुने थियो । यी हातले लेख्ने आधुनिक कलमले अनेकथरी चिजबिजको वर्णन गर्नु पर्ने थियो ।" मैले विधातालाई सम्झिएँ ।

स्कर्ट लाउने जो कोही लाई भैपरिआउने यो ठूलो फसाद होला । कुर्सीमा वा सोफामा बसेका बेला गोडाको भाग एक अर्कामा नजोड्ने हो भने भित्री लुगासमेत देखिन सक्छ । कतिपय गोडा खप्ट्याएर छड्के पारी बसेका हुन्छन । 

"भित्री लुगा पनि नलगाउने वेसोमतिहरु हुन्छन रे ।" कहिँ पढेको सम्झन्छ नियात्राकार ।

"आज यिनको पनि बुद्धि बिग्रेको भए ।" उसको मनको ढुकढुकी अझै बढ्छ ।

"विदेश होइन । नेपाल हो । यस्तो पराकाष्टा हुँदैन ।" मन थामथुम पार्छ ऊ । 

उनको मझौला कद र अलि मोटो शरीर भएर पनि होला गोडा जोड्न सजिलो भएको ।  लामतिघ्रेलाई त यति गर्न पनि कठिनै हुँदो हो । तिघ्रा जोडाउनुको अर्थ पनि पनि जे नदेखिनु पर्ने हो त्यही नदेखियोस् भनेर होला । सार्वजनिक स्थलमा भन्दा औपचारिक बैठकमा झन सकस पर्दो हो ।

"गर्नेलाई भन्दा देख्नेलाई लाज ।"  मैले लोकोक्ति सँझिए ।

यसैले स्कर्टको अझ त्यसमा पनि छोटो स्कर्टको पहिरन मलाई अनौठो नै लाग्छ । म भने त्यही दृष्यमा केन्द्रित भएर ल्यापटपमा लेखिरहेको छु । म त्यता निरन्तर हेर्न सक्दिन । घरि घरी चोरी दाउले मात्र हेर्छु ।
"बाबै ! शाकाहारी भएर सबै स्थानमा कहाँ व्यवहार चल्छ र ?" मैले नियात्राकार महोदयलाई सान्त्वना दिएँ । 
यिनै हरफहरु लेख्दा लेख्दै उनी उठेर गइन । मेरो प्रेतरुपी नियात्राकारलाई ठूलो राहत मिल्यो ।
युवती हिँडेको केही क्षणमा भने कथाले अर्को नाटकीय मोड लियो । त्यही सिटमा एउटा मोटो मान्छे आएर बस्यो । उसले जिन्सको पाइन्ट लगाएको छ । उस्का भने तिघ्रा जोडिएका छैनन् । मलाई अचम्मको अनुभूति भै रहेको छ ।  स्वभाविक हो उस्को भित्री लुगा र लाजको अस्त्र छोपिएको छ । तर उसको बारेमा लेख्दा भने मलाई अघिको जस्तो कुरी कुरी लाग्दैन । म निर्धक्क भएर त्यस व्यक्ति लाइ हेर्छु । नियात्राकार निर्धक्क मात्र होइन छाती फुलाएर लेख्छ । म पुरुष भएको हुनाले यसो हुनु स्वभाविकै होला । यहाँ निर म नियात्राकारको कमजोरी फेला पार्छु । वास्तवमा एउटा लेखक भनेको तटस्थ हुन सक्नु पर्ने हो । शाकाहारी होस् या माँशाहारी होस् । तरुनी होस् या तरुनो होस् ।  वेश्या होस् या अप्सरा । कुनै विषयको लेखनमा पनि आग्रह या पुर्वाग्रह नहुनु पर्ने हो ।

यस विषयको एउटा उल्लेखनीय पक्ष छ । महिलाको तुलनामा पुरुषका भने अङ्ग प्रदर्शन गर्ने खालका पहिरन खासै भए जस्तो लाग्दैन । शरीरको आकार वा माँशपेशी प्रदर्शन गर्ने भन्ने छुट्टै कुरो हो । वास्तवमा गुन्यु वा जामाकै छोटो रुप स्कर्ट हो । कट्टुको लामो रुप सुरुवाल । यी दुई खालका लुगामा भएको तात्विक भिन्नता भनेको भुँई हुनु र नहुनु हो । गुन्यु, साडी वा फरियाको भुँई हुँदैन, ह्वाँगै हुन्छ,  तर कट्टु, सुरुवाल र पाईजामाको भुँई हुन्छ । चाहे त्यो सिरानमा नै किन नहोस् ।  

यो लुगा लगाउने कुरा पनि गजबकै हो । अनुहार देखाउन हुने । टाउको, हात, खुट्टा सार्वजनिक गर्न हुने ।  तर केही सँवेदनशील अङ्गहरु छोप्नु पर्ने । कथमकदाचित सार्बजनिक भै हालेमा शरम लाग्ने । नदेखिनु पर्ने अङ्ग देखिन्छ कि भनेर सतर्क हुनु पर्ने । हुन त मुस्लिम समुदायमा अझै पनि युवतीहरुले अनुहार पनि सार्वजनिक स्थलमा छोपेर हिँड्नु पर्ने परिपाटी छ । हाम्रै नेपाली समाजमा पनि केही समय अघि सम्म शरिरका अङ्ग पुरै छोपेर लुगा लगाउने चलन थियो । तर अहिले साडी लगाउने महिलाहरुले पनि चोलोको पछाडिको भाग आधा ह्वाङ्गै पारेको देख्छु । पाईन्ट लगाउने युवा युवतीले च्यातिएर प्वालै प्वाल पारिएको लगाएको देख्छु । सार्वजनिक स्थलमा पनि पृथ्वीका अप्सरा र परीहरुले पारदर्शी लुगा लगाएर तिघ्रा टल्काएको वा बक्षस्थलको आकार प्रष्ट्याएको वा तिनलाई छोप्ने ढकनी र तुना देखाएको पाँउछु ।

अनि कसैले भनेको सम्झन्छु-


उहिले बाजेका पालामा
लाज छोप्न लुगा लगाइन्थ्यो ।
हाम्रा बाआमाका पालामा
लाज उघार्न लुगा लगाइन थाल्यो ।
अहिले हाम्रा पालामा
लुगा छोप्न लाज लगाइन्छ ।

जानी जानी लाज उघार्ने लुगा लगाउनु र कहिलेकाहि अन्जानमा दुर्घटना भएर भित्री अङ्ग देखिनुमा फरक छ । बैँकक विमानस्थलमा घटेको मेरो आफ्नै जिपर काण्ड सम्झिएँ । वेसुरे भएँछु, पाइन्टको जिपर त खुलै रहेछ । अध्यागमनको काम सकेर सुरक्षा जाँचको लागी पेटी आदी फुकाल्ने क्रममा कसो कसो जिपर पनि खुलेछ । एउटी औपचारीक पहिरन लगाएकी हातमा शरीर जाँच्ने लट्ठी बोकेकी अग्ली सुरक्षाकर्मीले हातले ईशारा गरेर देखाइदिई । म त लाज र शरमले पानी पानी भएँ । हत्तपत्त अरु कसैले पनि देख्ला कि भनेर जिपरको व्याकरण मिलाएँ । जहाज भरी त्यसको मात्रै सम्झना आयो । अरु  चिनजानका साथीभाइका अघि 'यो हरिलठ्ठकको जिपर खुलै थियो' भनेर त्यही युवतीले भन्दिने कुयोग आइलागेको भए अझ कति लाज लाग्थ्यो होला । कन्त बिजोगै हुन्थ्यो होला ।

त्यसो त यस्तो बेलामा केटाहरु मात्र भएको स्थिति भयो र परिस्थितिको सामना गर्न जान्यो भने रमाइलो पनि सिर्जना हुन्छ । मेरो जागिरे जीवनको दोस्रो खुट्किलोमा पाइला राखेको बेला जाजरकोटमा एउटा रोचक प्रसँग सिर्जना भएको थियो । मेरा हाकिम बडो रौसे थिए । एक पटक जिल्लाका प्रमुखहरु समेत भएर बाटामा हिँडेको बेला बुढाको जिपर खुलै रहेछ ।

"सरको पोष्ट अफिस पो खुलै रहेछ ।" कसैले उनलाई सतर्क गराईदियो ।

"के भन्छ यो खोपजङ्ग ?" उनले अलि आत्तिएको स्वर निकाले  । उनी आफ्ना दौँतरी र कनिष्ठलाई ठट्टा गरेर "खोपजङ्ग' भन्थे ।

तर तुरुन्तै आफूलाई सम्हाले अनि स्वभाविक भएर भने- 
"पोष्ट अफिस खुलेर के भो त ! आखिर चिट्टी पत्र आएका छैनन् क्यारे ।" कान्लो छुने गरी बाटामा हाँसो पोखिएको थियो।

त्यसो त नग्नतालाई सार्वजनिक गर्न मिल्ने र नग्न जमात भए पनि एकले अर्कालाई क्वारक्वार्ती नहेर्ने स्थानहरु नभएका होईनन् । समुद्रिकिनारमा बालुवामा पल्टिँदा वा छालसँग खेल्दा लगौटी आकारका न्युन क्षेत्रफल भएका वस्त्रले सँवेदनशील अङ्ग ढाक्ने चलन छ । थाईल्याण्ड र जापानका समुद्रितटमा घुम्न जाँदा यस्ता पर्यटकीय स्थलहरुमा शरिरका सँवेदनशील अङ्ग मात्र ढाकेका नारीपुरुष नदेखिएको होईन । अझ जापानमा त तातोपानीका दहहरुमा निवस्त्र भएर मजा लिने चलन छ । प्राय यस्ता दहहरुमा स्त्री र पुरुषका लागि अलग अलग कक्षहरु हुन्छन् । तर केही यस्ता दहहरु पनि छन् रे जहाँ नरनारी दुवै निवस्त्र भएर तातोपानीमा डुबुल्की मारेर आनन्द लिन्छन रे । तर आफूलाई भने तीन-तीन वर्ष जापानमा बस्दा यस्तो अवसर जुरेन ।

पराईजनको नङ्नतालाई नचाहँदा नचाहँदै हेर्नु पर्ने बाध्यता भने बैँककमामा रहँदा अनुभुति गरिएको छ ।  स्वीमिङ् पुलमा पौडि खेली सकेपछि स्नानघरमा नुहाएर लुगा फेर्दा यो अनौठो दृष्य देखिन्थ्यो । स्नानघरमा पुरै भित्ता ढाक्ने गरि ऐना राखिएको थियो । खासगरी चिनिया मित्रहरु एक धरो पनि लुगा नलगाई ऐना तिर फर्केर आफ्नो शरिर नियाल्ने वा तौलियाले जीउ पुछ्ने गर्थे । आफू भने स्नानकक्षमा नै जीउ पुछेर कट्टु लगाई बाहिर निस्कने ।

"हरामी त पशुपतिनाथ परिसरका कालभैरवले जस्तो अस्त्र ठड्याएर बसेको । कस्तो कु-साईत पर्यो ।" ऐनामा देखिएको दृष्य देखेर यसरी मुरमुरिएका सम्झना ताजा छ ।

शायद आफ्नो नग्नताको गोपनियतालाई सार्वजनिक नगर्ने सँस्कार भएर नै यसो भएको होला । किनभने केही समय अघिसम्म पनि र अहिले पनि गाउँघरमा सार्वजनिक धारामा वा नदी खोलामा नुहाउने चलन छ । यस्तो वेला पुरुषले कट्टु लगाएर वा स्त्रीले पेटीकोट माथी सारेर वक्षस्थल समेत छोप्ने चलन छ ।  अरुको अघि नाङ्गै नुहाउने काम भनेको स-साना नानीहरुको हकमा बाहेक ठूलाले गर्दैनन् ।
बुद्ध एयरको काठमाण्डौ-विराटनगरको उडानमा दुईवटा भने उल्लेखनीय घटना घटे । मैले टिकट जाँच कक्षमा देब्रे तिरको झ्यालको सिट मिलाउन भनेको थिएँ । नभन्दै मैले रोजेकै सीट पाएँ । तर म पुग्दा एक भलादमीले मेरो सीटमा आसन जमाएको पाँए । सँयोगवश एक एयर होस्टेज अर्थात हवाई सुन्दरी नजिकै थिईन । मैले उनलाई बोर्डिङ् पास दिँए । उनले मेरो सीट देखाईदिईन । भलादमी मलामी-गाम्भिर्यताको काँचुली ओड्दै ओल्लो सीटमा सरे । तर बसीबसी मलाई झ्यालको सीटमा जाने ईशारा गरे । त्यसरी जान सँभव थिएन । उनलाई मैले उठ्ने आदेश नै दिनु पर्यो ।

"यो मान्छे भलादमी होईन । तन्तु नभएको जन्तु हो । यो सँग मेरो भाषा मिल्दैन । कुरो गर्नु वेकार छ । तर अन्तिम मौका दिन्छु । हेरौ यसले चकलेट कति लिन्छ । मुठ्ठीभरी लियो भने पक्कै यो गड्यौल्यान्छे नै हो । म यो सँग बोल्दै बोल्दिन ।" मेरा छिमेकी सह-यात्रीका बारेमा मष्तिष्कमा यिनै भावनाहरु उम्रिए ।
नभन्दै उसले एक मुठी चकलेट हडप्यो । मैले हवाई सुन्दरी सँग आँखा जुधाउँदै दुईवटा लिएँ । सुन्दरी पनि तन्तु नभएकै परिछिन कि क्या हो !  या त उनको हिँड्ने वेलामा लोग्नेसँग झगडा गरेकी थिईन । मलामी गाम्भिर्यताको काँचुली भिरेको मुस्कानरहित अनुहार । नत्र मैले दुईवटा मात्र चकलेट लिएर उनी तिर हेर्दा मुस्कुराउनु पर्ने !

सेवा प्रदायक र सेवाग्राहीको स्नायू मिल्यो भने रमाईलो सिर्जना हुन्छ । दुवैको काम पनि सहजताका साथ सम्पन्न हुन्छ । त्रिभुवन विमानस्थलको टिकट जाँच कक्षमा सिर्जना भएको एक रोचक प्रसँगको स्मरण ताजा भयो ।

म र सूर्यमान सर गोमा एयरको उडानवाट सुर्खेत जाने क्रममा थियौँ ।

जाँच कक्षमा वहाँ भन्दा अघि थिएँ । मेरो काम सकियो । वहाँको पालो आयो ।

"श्रीमतिको मोवाईल नम्बर दिनु त, सर ।" सूर्य सरलाई टिकट जाँच गर्ने युवतीले भनिन । म सँग पनि नजिकका आफन्तको रुपमा श्रीमतिको सम्पर्क नम्बर मागेकी थिईन ।  
"कुन चहीँको दिँउ ?" वहाँले बडो सहजताका साथ प्रतिप्रश्न राख्नु भयो । युवती र उनका सहकर्मीहरु डल्लो परेर हाँसे ।

वास्तवमा कुनै पनि पेशाकर्मी वा सेवा प्रदायकको लागि यो बडो महत्वको विषय हो ।
मेरो शँका यथार्थमा परिणत भयो जब तिनै हवाई सुन्दरीले विराटनगर विमानस्थलमा जहाज थामिए पछि अन्तिम सन्देश सुनाईन ।

"लोड ब्यालेन्सको कारणले पहिला पछाडिबाट ओर्लि दिनु होला ।"
मलाई उनको भाषिक त्रुटि भएको अभिव्यक्ति भन्दा उनको खुम्चिएको खाप्चो र आक्रोस मिश्रित बोलीमा चासो थियो । उनले गाम्भिर्यताको मखुण्डो यथावत राखिन । 

रोड शेषको एक होटलमा मेरोलागि बासको ब्यवस्था गरिएको थियो । कोठामा पुगेर मलाई काजमा खटाउने कार्यालय प्रमुखलाई फोन गरेँ ।

"तपाईँको यात्रा ईभेन्टफुल त भएन ?" वहाँको आशय थियो-कुनै अप्ठ्यारो त आईलागेन ।

"मेरो यात्रा ईभेन्ट नै ईभेन्टले भरिपूर्ण भयो सर !" मैले भने ।

यदि यात्रामा रोचक घटनाहरु भए । कोही अपरिचितसँग कुरा गर्ने मौका पर्यो । हवाई सुन्दरीहरु पनि उस्तै फरासिला र मुस्कानको धर्को तनक्क पार्ने वर्गका भेटिए भने त्यो यात्रा ईभेन्टफूल हुन्छ । अर्थात पट्यारलाग्दो हुँदैन । यो विद्या सिकाउने मेरा गुरु थिए-जर्ज टेलर । अमेरिकी सहयोग नियोगको एउटा परियोजनामा म उनी सँग काम गर्थे । उनले आफ्नो नेपाली नाम राखेका थिए- गोर्गे दर्जी ।

विराटनगरमा मेरो एक दिनको मात्र बसाई थियो । भोलिपल्ट अपरान्हकै उडानवाट फर्किने योजना थियो । लगभग एक घण्टा अगावै विमानस्थल आईपुगेँ । टिकट जाँचकक्षमा फेरी एउटा रमाईलो सिर्जना भयो ।
"मलाई दाहिने तिरको झ्यालको सिट दिनु होला ।" मेरो हिमाल हेर्ने रहरलाई मैले यथावत राखेँ ।
"डा. साहेबले पनि वाहिर हेर्न मजा मान्नु हुँदो रहेछ ।" जाँच-कक्षका कर्मचारी बोले । उनले टिकटमा मेरो नामको अघि लेखिएको "डाक्टर" को उपाधिलाई उधिन्न भ्याए । मलाई यिनीसँग भने स्नायू मिल्ला जस्तो लाग्यो ।

"यस्तै हो । कसैलाई बाहिर हेर्दा मजा लाग्छ । कसैलाई नहेर्दा मजा लाग्छ ।" मैले अलि ठूलै स्वरमा प्रत्युत्तर दिएँ ।

मेरा पछिल्तिर म भन्दा पाका व्यक्ति लाममा थिए । उनी भन्दा पछि एक युवती थिईन । बुढालाई मेरो कुराले छोएन । युवती भने एकाएक खित्का छोडेर हाँसिन । मेरो जवाफ उनलाई जँचेछ । मैले उनलाई माथी देखि तल सम्म हेरेँ । जीउ पुरै ढाकिएको लुगा लगाएकी थिईन । भुँई भएको पाईन्ट र कोट । मलाई भने स्कर्टको धँगधगीले छोडेको थिएन । 

"तपाई पनि बाहिर हेर्दा मजा मान्ने व्यक्ति पर्नु भो ?" मैले मौकामा चौका हाने ।

"हो नि । मलाई पनि दाहिने तिर झ्यालकै सिट चाहियो ।" उनले माग प्रस्तुत गरिन । 

काठमाण्डौ आईपुग्दा झमक्कै साँझ पर्यो । म सँग कागजातले भरिएको एउटा बोरा पनि भएकोले ट्रलीको खोजीमा निस्किएँ । ट्याक्सी पार्किङ् क्षेत्र सम्म आउँदा बल्ल एउटा फेला पर्यो ।
ट्रलिमा सामान राख्दै थिएँ । मेरै छेउमा सम्भालिनसक्नु सँख्यामा झोलाझ्याम्टा भएका सहयात्रीहरुको कल्याङ्मल्याङ्ले ध्यानाकर्षण गर्यो । उनीहरु मध्येका तीनजना मेरै उडानमा थिए ।  विराटनगरमा जहाज चढ्दै गर्दा उनीहरुलाई फोटो खिच्दै गरेको देखेको थिँए ।

"यो ट्रलिमा राखे हुन्छ केही सामान ।" मैले उनीहरुको ध्यानाकर्षण गराएँ ।

"हुन्छ नि । ल यो ठूलो चै राख त ।" अधवैसै महिलाले उनीहरुको समूहको एक युवकलाई अराईन ।

"नानी अङ्कललाई ट्रली ठेल्न सघाउ त ।" उनैले युवतीलाई पनि अराईन । शायद युवती उनकी छोरी थिईन ।
एक अर्थमा हाम्रो यात्रा की नायिका यिनै थिईन । उनको पहिरन र हाउभाउले मैले निचोड निकालेँ । एकै छिन भए पनि नायिकासँग सँगै हिँड्न आईलागेको यो मौकालाई उपयोग गर्ने सुर निकालेँ । तर प्रेतको रुपमा म सँग हिँडेको नियात्राकार भने उनको पहिरन नियाल्न थाल्यो ।

"लौ! यिनले पनि भुँई ह्वाँगै भएको घुँडा भन्दा माथी सम्म मात्र छोप्ने वस्त्र लगाएकी छन ।" नियात्राकारको निचोड निक्लियो ।

"यात्रामा पनि स्कर्ट जस्ता छोटा वस्त्र लगाउनुको अर्थ के हो ?" मेरो मनमा प्रश्न जन्मियो तर उनलाई सोध्न सकिन ।

तर मैले मेरा हाकिमलाई मेरो यात्रा वृतान्तको निचोड यसरी सुनाउने निधो भने गरेँ ।
"सर ! मेरो यात्रा ईभेन्टफूल मात्र हैन स्कर्टफूल पो भयो ।


यात्रा गरिएका दिनाङ्क : कार्तिक ०६ र ०७ गते
नियात्रा विट मारिएको दिन : कार्तिक १४, २०१६
कोटेश्वर, काठमाण्डौ ।
साभार : http://ujyaaloonline.com/news/65781/niyatra/

2 comments:

  1. Such minute observation and almost live portrayal in simple lucid and cryptic language by a most erudite engineering talent adding some milestones in such a travelogue so scarce in our literature...I feel enriched indeed thanx much Bhai for your most amusing and interesting literary art.......!

    ReplyDelete
  2. Thank you Damodar Dai for your kind and encouraging words.

    ReplyDelete