Saturday, August 5, 2017

जिँउदो मान्छे: मरेको प्रहर




हामी लगभग एक दर्जन जतिको समूहमा थियौ । कोही केही बोलेको थिएन । नाटक-नेपथ्यकै झझल्को लाग्ने गरि कोठा वाहिरका मान्छेको कोलाहल, चराको चिरविर र मन्दिरको घण्टा मिसिएको आवाज जवरजस्ति झ्यालवाट पसेको थियो । पृष्टभुमिको त्यो आवाजलाई मिचेर हामीले चाहिए जति आयतनको सन्नाटा सिर्जना गर्ने प्रयास गरेका थियौ । कोमल सरले भूमिका वाँध्नु भयो-अव म यहाँहरुलाई एउटा विशेष गीत सुनाउँछु जसले केही दिन देखि असामान्य रुपमा मेरो ध्यानाकर्षण गरेको छ । मोवाईलमा सानो स्वरमा वजेको गीतलाई वेतारको आधुनिक प्रविधीले स्पीकर मार्फत घन्कायो ।

मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको कुनै प्रहर हुँदैन ।
भागेर जाँउ कुन ठाँउ जाँउ, मान्छे नमर्ने शहर हुँदैन । ………………

मैले पनि यो गीत सुनेको धेरै भएको थिएन । तर यसले पहिलो पटकमा नै मेरो पनि ध्यानाकर्षण गरेको थियो । मान्छेहरुको नयाँ गीतसँग प्राय रेडियो, टिभी, चलचित्र वा ईन्टरनेटमा भेट हुन्छ । तर मेरो भने यो कर्णप्रिय गीत सँगको भेट घोष्ट राईटिङ् नामक सँस्थाले आयोजना गरेको सृजनात्मक लेखनको प्रशिक्षण-कक्षामा भएको थियो । त्यो पनि चानचुने भेट थिएन । किनभने गीत कसरी लेख्ने भन्ने विषयको चर्चा हुँदा त्यै गीतले उदाहरण वन्ने मौका पाएको थियो । प्रशिक्षक थिए- डा. कृष्णहरी वराल । यो उनैले लेखेको र धेरैले मन पराएको गीत थियो । मैले घरमा आएर यु ट्युववाट डाउनलोड गरेको थिँए र एक दुईवटा यस्तै समूहमा विशेष प्रसँगमा सुनाएको थिँए ।
गीत सुनिसकेपछि मेरो मनमा एक प्रश्न उब्जियो ।

गीतको पहिलो हरफको तर नमरेको कुनै प्रहर हुँदैनभन्ने वाक्याँशको अर्थ के होला ?“ मैले धेरै नसोचि समूहमा प्रश्न हुत्याईदिँए ।

सँसारमा अरबौ मान्छे छन् । कुनै पनि वेला कोही न कोही मरेकै हुन्छ । त्यही होला ।कोमल सरले आफ्नो विचार राख्नु भयो ।

मान्छे एक दिन अवश्य नै मर्छ । प्रत्येक पलले त्यो जीवनको अन्तिम दिन वा क्षणलाई नजिक तान्छ । अर्थात हरेक दिनको अवसान सँगै हाम्रो आयु २४ घण्टाले कम हुन्छ । यही होला ।देवी सरको मत विल्कुल फरक धारमा थियो । त्यस परिभाषामा व्यक्ति मौलो थियो समूहको हवाला थिएन ।
प्रत्येक पलमा हामी कुनै न कुनै रुपमा नवाँचेको अनुभुति गरिरहेका हुन्छौ । वाहिर देख्दा जिँउदो देखिए पनि भित्री मान्छे मरेको हुन सक्छ ।मैले भने तेस्रो धार समातेँ ।
यो प्रसँगले दुईवटा हालैका घटनाहरु ताजा भएर आए । केही समय अघि सरोकारवालाहरु समावेश भएको एक गोष्ठीमा मैलै प्रस्तुति गरेको थिँए । त्यहाँ राजनीतिक दलका जिल्ला स्तरका नेता पनि थिए । प्रस्तुतिक्रममा पूर्वयोजना विना एक प्रतिकको प्रयोग गर्न पुगेँ- भान्साघर लाई शिक्षालयको रुपमा लिन सकिन्छ भने शौचालयलाई राजनीति । किनभने भान्साघरमा चाहिएको पाक्छ र मीठो खान पाईन्छ । शौचालय भने जतिसुकै ननिको लागे पनि प्रयोग नगरी धरै छैन । राजनीति भनेको पनि त्यस्तै हो ।गोष्ठीको विषय थियो नगर स्तरिय सरसफाई योजनाको तर्जुमा
सुनेको थिँए-केदारमान व्यथितले पनि केही समय राजनीतिमा मुछिए पछि यस्तै आशयको अभिव्यक्ति दिएका थिए रे । गोष्ठीमा मेरो तर्क सुने पछि एका एक माहौल चिसियो । स्थानिय नेताहरुको पारो निकै चढेछ । पाखुरा सुर्कँदै उफ्रन थाले । अस्वभाविक स्थिती सिर्जना हुने जस्तो लागेर मैले क्षमा माँगे र मेरा शब्दहरु फिर्ता लिँए ।
मलाई पछि लाग्यो- मैले त्यो अभिव्यक्तिको प्रयोग नगरेको भए स्थिति असामान्य तर्फ मोडिने थिएन । मेरो व्यक्तित्व र ओजपूर्ण प्रवचनले जुन उचाई लिई रहेको थियो । त्यो एकाएक भिरवाट खसेको ढुँगो जस्तो भएको थियो । मेरो व्यक्तित्व र पहिचान आक्रोस र मनोमालिन्यको चक्रव्युहमा फसेको थियो । मेरो शिर झुक्यो । गाला रातो भयो । शान्त वातावरणलाई विथोल्ने गरि आँधी आयो । चट्याङ् पर्यो । मलाई लाग्यो आज वातावरण विज्ञ डा. नवराज खतिवडा को एक अँश मरेको छ ।
हुन ता अर्को मनले भनेको थियो- तैँले भन्न खोजेको उनीहरुले बुझेनन । तँ गलत थिईनस । समकालिन राजनीति सार्वजनिक शौचालय वरावर नै त भएको छ नि । दुर्घन्धित । जता पनि दिसै दिसाको रास । पिसावै पिसावको आहाल । न टेक्ने ठाँउ छ । न उभिने छ । तर के गर्ने आपत परे पछि जसरी पनि त्यो सुविधा प्रयोग गर्नै पर्छ । सरोकार राख्नै पर्छ । राजनीतिमा पनि त मन नपरे पनी सँलग्न हुनै पर्छ । चासो राख्नै पर्छ । राजनैतिक जामको निकास खोजिनै पर्छ । तर त्यो सभामा बहस गर्नु भनेकोराजाको काम छोडि फलानाको देवालीभने जस्तो हुने थियो । एकाएक मेरो अभिव्यक्ति निरिहि वा निष्प्राण मात्र भएको थिएन त्यसले विपरित धारको मुल्य अभिवृद्धि गरेको थियो । शायद! साँच्चिनै म एक अँश मरेको थिँए । सार्वजनिक थलोमा सिर्जिएको जीवनको त्यो एक तितो अनुभव थियो ।
चुनाव हारेको वा कुनै कारणवश एकाएक राजनैतिक पुँजी स्वाहा पार्न पुगेको नेताको चर्चा हुँदा भनिन्छ- यिनको राजनैतिक मृत्यु भएको छ । अक्षमताका कारण वा अन्य कुरै कारणले कुनै परिस्थितिमा दुरगामी निर्णय लिन नसकी सामाजिक रुपले परित्याक्त अगुवाको पनि अवसान भएकोभन्ने सुनिएको छ । साहित्य आकाशमा भने मृत्युले अलि फरक पहिचान वनाएको हुँदो रहेछ । हरेक कृतिको प्रकाशन पछि स्रष्टाको मृत्यु भएको ठाँनिदो रहेछ । गीतको एल्वम सार्वजनिक भए पछि गायकको अस्तित्व पनि मृत्युकै धारमा वग्दो रहेछ । लोकका सामुन्ने आफूले भनेको जस्तो भएन वा लोकप्रियतामा ह्रास आउने कुनै काम भएमा सामान्य जनजिव्रोले पनि भन्छ- आज मरेकै दिन भयो ।
एक अर्को घटना पनि त्यस्तै रह्यो । साहित्यानुरागी समाज र घोष्ट राईटिङ्ले केही समय अघि एक वनभोज कार्यक्रमको आयोजना गरेको थियो । म र वनभोजमा सहभागी एक युवती मिलेर मायाको सँवादशिर्षकमा एक गिति नाटकको मन्चन गरेका थियौ । रँगमन्चमा एकाएक एक जोडि नाच्न थालेका देखेर दर्शकदिर्घामा रोमान्च सिर्जिएको थियो । नारायण गोपाल र मिरा राणाले गाएकोमेरो जोवन लैजाउवोलको गीत नेपथ्यमा वजेको थियो । वनभोजका सहभागीहरुका अघि एकाएक हिँउदको वर्षा जस्तो आश्चर्य फलेको थियो । सडकमा केही खैलावैला हुँदा जसरी मान्छे एकत्र हुन्छन । त्यहाँ पनि त्यही भएको थियो । वरीपरीको जनलहरले पनि उर्लिएको भेल झैँ दर्शकको सँख्या वढाएको थियो । हाम्रो प्रस्तुतीको अन्त्यमा गडगडाहट तालीको वर्षा भयो । वाह ! क्यावात !का अभिव्यक्ति सुनिए । वनभोज वाट फर्कदाँ वाटोमा पनि त्यो नौलो कार्यक्रमको चर्चा भयो । फेसवुकका भित्तामा अभिनयका अँशहरु प्रेषण गरिए । धेरै जना साथीभाईले वाह ! वाह !गरे । अति निकटस्थ मित्रहरुले फोन समेत गरे । एक जना अनन्य मित्रले घुमाउरो पारामा प्रशँशा गर्नु भयो- मित्रवर ! यो उमेरमा के यस्तो हर्कत गरेको । तँपाईका घरका मान्छे त वकिलको खोजिमा निस्केका छन भन्ने सुनिन्छ नि ।
नभन्दै वनभोजको त्यो गतिविधि परिवारजनले मन पराएनन । नाच्नु मात्र होईन पछ्यौरा समेत ओडाईदिएको । कस्तो अचम्म ।भन्ने सम्मका प्रतिकृयाहरु सुनिए । अभिनयको पनि थाहा नभएको व्यक्तिले सार्वजनिक रुपमा परस्त्री सँग नारिएर माया पिरतिको अभिनय गर्नु के जरुरी थियो त ? गम्भिर प्रश्न पहाड वनेर ठडिएको थियो । आधा जुनी पार गरी नाति नातिना खेलाउने उमेरमा एका एक वैँस भरिएर सार्वजनिक रुपले पोखिनु अनौठो घटना भएको थियो । मेरा परिवारका सदस्यहरुको नजरमा त्यो कार्यले मेरो कद केही घटाएको थियो । नवराजको श्रीडगमगाएको थियो । मलाई लाग्यो- उनीहरुको दृष्टिकोणमा यो कारणले पति नवराज वा बाबु नवराजको केही अँश मरेको छ । वनभोज नगएको भए वा त्यहाँ गएर त्यो उपद्रो नगरेको भए चन्द्रमामा कुनै दाग देखिने थिएन । शँकाको कालो वादल मडारिने थिएन । तर सिक्कामा अँकित गाई र त्रिशुलको सँसारको वीचमा झिनो साँध भए झै मेरो लागि त्यो प्रकरणमा गाईको दुनिय पनि पूर्ण रुपले जीवित थियो । वनभोजका सहभागी लगायत अन्य साथीभाईले प्रशँशा गरेका थिए । कल्पना गरेँ । अभिनयको यो प्रकरण नाटकका अभियन्ता अशेष मल्ल लाई सुनाउने हो भने शायद भन्नु होला वाह नवराजजी ! तँपाईको कल्पना, निर्देशन र अभिनय प्रशँसनिय छ । यसले तँपाईको अभ्यन्तरमा कलाको त्यो मूल छ भन्ने प्रमाणित गर्छ । कम्मर कस्नु होस । भविष्य उज्जवल छ । परिवार जनले कुरा काट्नु भनेको त तपाईको सफलताको सँकेत हो । केही जन्मनका लागि केही मर्नु पर्छ । विधाताको विधान यहि हो ।
मैले नमरेको कुनै प्रहर हुँदैन को अर्थ त्यसरी लगाँए । हामी कुनै न कुनै रुपमा कुनै पनि वेला मरिरहेका हुन्छौ । कहिले आफ्नै नजरमा त कहिले अरुको नजरमा । भौतिक रुपमा मर्नु भनेको त प्राण पखेरु उड्नु हो । शास्त्रले यसलाई आत्मा र शरिरको वियोग भन्छ । रुखवाट पात झरेको जस्तो । पहिरोले ढुँगा उछिट्याए जस्तो । तर व्यक्तित्वको स्खलन हुनु । एकाएक अलोकप्रिय हुनु । अपमानित हुनु । हिनतावोध हुने प्रकरणमा फस्नु । कसैको नजरमा गिर्नु । हिँसा, हत्या वा वलात्कारमा सँलग्न भएर पछि पश्चातापले पाक्नु । आदि । जिँउदै मर्नु का स्वरुपहरु हुन ।

देशप्रेमको कवितामा लेखिएको छ
मर्यो जिँउदै त्यो जसले विर्स्यो देशको माटो ।
यि सवै अभौतिक मृत्युका रुप हुन । अर्थात हामी जिँउदै पनि मरिरहेका हुन्छौ । यहाँ स्थान, काल र पात्र आकस्मिक हुन सक्छन । जो कसैलाई पनि कुनै पनि वेला कुनै पनि स्थानमा भवितव्य पर्न सक्छ । अर्थात अभौतिक मृत्युको अनुभूति भईरहेको हुन सक्छ । जिँउदै मर्नु को उल्टो शायद जिँउदै जाग्नु हुन्छ । जो जिँउदै जाग्न सक्दैन त्यो जिँउदो लाश हुन्छ ।

झमक घिमिरेले लेखेकी छन-
यदि मैले मेरा हातका औलाहरु नचल्ने थाहा भए पछि खुट्टाले लेख्न नसिकेको भए आज म एउटा जिँउदो लास हुने थिँए ।

आदिकवि भानुभक्तले प्रश्नत्तोरमा भनेका छन-
ज्युँदै मर्याको भनि नाम कस्को?
उद्यम विना वित्तछ काल जस्को ।
मलाई यतिले चित्त वुझेन । एका विहानै डा. बराललाई फोन सम्पर्क गरेँ र सोधेँ-

नमरेको कुनै प्रहर हुँदैन को अर्थ के होला ? यहाँले के प्रसँगमा त्यो लेख्नु भयो ? ”

सामान्य मान्छे मर्न चाहँदैन । तर जीवनको अन्तिम सत्य मर्नु हो । त्यो गन्तव्यमा पुग्नका लागि यात्रा गर्नै पर्छ । हरेक प्रहरको त्यो लघु यात्रा पनि मृत्यु नै हो । कपाल फुल्नु, दाँत झर्नु वा रोग लाग्नु भनेका पनि स-साना मृत्युहरु हुन । यि सवै खोला मिलेर एक दिन नदी हुँदै महासागर वन्छ । नाई नभन्नु ल २ चलचित्र को कथा वस्तु यसैमा आधारित छ ।

शुरुमा उल्लेखित हाम्रो बहसमा तर्क गर्ने देवी सरको विचारको पोयो डा. वरालको उत्तरले समाएको थियो । मैले त्यसै दिन वेलुका यु ट्युवमा उल्लखित चलचित्र हेरेँ । यसरी मेरो लागि कुनै विशेष गीतमा यति चर्चा भए पछि हेरिएको चलचित्रको रुपमा नाई नभन्नु ल २ ले कृतिमान राख्यो । नभन्दै चलचित्रको पुरै कथा नमरेको कुनै प्रहर हुँदैनभन्ने विषयमा केन्द्रित रहेछ ।
मलाई भने मैले अर्थ्याएको अभौतिक मृत्युमा अझै मन गाडिएको थियो । मृत्युको आधिकारिक परिभाषा जान्ने ईच्छा जाग्यो । शब्दकोष पल्टाएर हेरेँ-
मृत्यु : १. देहावसान, निधन, मरण
२. प्राणीको शरीर सदाको निमित्त चेतनाहीन भई लाश हुने प्राकृतिक नियम
३. अन्त्य, समाप्ति
यसरी यो लेखोटको पनि भौतिक मृत्युभएको छ । शब्दकोशका अनुसार मृत्युको समानार्थी शब्द अन्त्यभएकोले यसो भनेको हुँ । मेरो विचार सर्वमान्य अवधारणा अनुरुप नहुन सक्छ । नमिल्ने जस्तो लागेमा सच्याएर यो लेखलाई कृपया जीवन दान दिन नविर्सनु होला ।
प्रकाशक : तरुण खबर डट कम
मिति : अगष्ट ०५, २०१५ 
http://tarunkhabar.com/2015/08/05/1914/


No comments:

Post a Comment