Sunday, August 6, 2017

४५ त्रासदी

केही महिनाअघि एक वाणिज्य बैंकको शाखा कार्यालयमा गएको थिएँ । बैंकका व्यवस्थापक र मेरो केही वर्षअघिदेखि नै चिनजान थियो । यसकारण मेरो काम अग्रभागमा रहेकी एक कर्मचारीको जिम्मा दिएर म व्यवस्थापकको कोठामा पसेँ । ‘मेनेजर साहिबा’ लाई मेरा कुरा रोचक लाग्छन् । मलाई पनि हतार थिएन । उनले मेरो सत्कार गर्दै कफी मगाइन् । हामी कफी पिउँदै गफमा रत्तिन थाल्यौं । ढोकामा एक अधबैँसे महिला देखा परिन् । उनले ढोकामा उभिएरै व्यवस्थापकको ध्यानाकर्षण गरिन् ।

‘हजुरसँग केही कुरा गर्नु थियो ।’

‘एकै छिन बाहिरै पर्खनु ल ।’

‘भइहाल्छ नि !’

महिला ओझेल भइन् । हाम्रो कुरा फेरि सिरु भयो । केही मिनटमै उनलाई फेरि खबर आयो । नगद कक्षमा कुनै सानोतिनो बिघ्नबाधा आइलागेको रहेछ । उनी मलाई पर्खन अनुरोध गर्दै बाहिरिइन् । मैले आफूलाई कफीमै अल्झाएँ । उनले मैले अनुमान गरेभन्दा बढी समय लिइन् । मेरो मन छटपटिन थाल्यो । मैले ढोका सँगैका सीसाका भित्ताबाट चिहाएँ । मेनेजर साहिबा तिनै अधबैँसे महिलासँग माथ्लो तला जाने सिँढीमा उभिएर कुरा गर्दै थिइन् । दुवैको मुद्रा र अनुहारको भावले महिलाको समस्या गम्भीर प्रकृतिकै होला भन्ने लख काट्न मलाई बेर लागेन ।

व्यवस्थापकभित्र आइन् । हाम्रो कुराकानीले निरन्तरता पायो । मैले कफीको अन्तिम घुट्कोको स्वाद लिइसकेको थिएँ । यसैबीच फेरि एक पटक तिनै अधबैँसे आगन्तुक ढोकामा प्रस्तुत भइन् ।

‘हवस् त, बहिनी म लाग्छु ।’

‘हुन्छ, कामको चिन्ता नलिनू । बरु शरीरको ख्याल गर्नू । हेर्नु त कस्तो दुब्लो देखिनुभएको छ !’
व्यवस्थापकको अभिव्यक्तिले मेरो छैटौं इन्द्रिय सक्रिय भयो । सोचेँ– जीउ दुब्लाउनुसँग बैंकको कामको केही सम्बन्ध छ ! शंका निवारण गर्ने सुर झिकेँ ।

‘मामला के हो म्यानेजर साहिबा ?’

व्यवस्थापकले मलाई सुनाएअनुसार बैंकबाट ती महिला र उनका श्रीमान् दुवै मिलेर केही ऋण लिएका रहेछन् । केही महिनाअघि उनीहरूको सम्बन्धविच्छेद भएछ । त्यो घटनापछि श्रीमान्ले बैंकका कागजातहरूमा सही गर्न आलटाल गर्न थालेछन् । उनीहरूका छोराछोरी विदेश पसिसकेकाले भई परिआएका पहिरो पन्छाउँदै एक्लै जीवन संघर्ष गर्दै रहिछन् ती अवला नारी ।

‘ती महिलाको उमेर कति होला ?’

‘त्यही पैँतालीसको आसपास होला ।’

म झसँग भएँ । कारण थियो उमेर जनाउने संख्या अर्थात् ४५ । यो ४५ वर्षको आसपासका उमेरका महिला र पुरुष दुवैको जीवनमा विशेष प्रकृतिका विचलन आउँदा रहेछन् । खास गरी ४० र ५० को बीचको कुनै कालखण्डमा ती महिलाले जस्तै प्रत्येक नरनारीले जीवनका अप्ठ्यारा घुम्ती र ठाडा भीरपहरा भएका बाटाहरूको यात्रा गर्नुपर्ने रहेछ । म विगत दश वर्षदेखि यस विषयमा सूक्ष्म अध्ययन गर्दैछु ।
विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती उपन्यासको सुरुवात नै यो ‘४५’ बाट गरिएको छ ।

तीन घुम्तीको पहिलो अनुच्छेद भन्छ–
४५ वर्षको उमेर पुगेपछि सायद स्वास्नीमानिसलाई कुनै निश्चित थलोमा पुगेजस्तो लाग्छ, जहाँबाट अगाडिको सफर गर्नुपर्ने आवश्यकताको अनुभव हुँदैन, मानौं जीवनले भार बिसाएर विश्रामको शान्ति पाउँछ । शरीरमा पहिलेको जस्तो चाञ्चल्य रहँदैन, वाद्र्धक्यको स्थूलताले चञ्चलतालाई सम्भव हुन दिँदैन शरीरमा । कञ्चटतिरका केश पनि एकाएक सेतिँदै जान्छन् र तिनलाई चिम्टाले टिपेर उखेल्ने जाँगर पनि अब रहँदैन ।
उपन्यासकी मूल पात्र एक अधबैँसे नारी छिन् । उनको अन्तर्मन उजागर गर्न विश्वेश्वरप्रसादले स्वास्नीमानिसको उदाहरण दिएका हुन् । विधिको विधान हो– यो अनुभूति वा त्यस उमेरमा स्त्री–पुरुषले देखाउने व्यवहार वा उनीहरूका चरित्रको लिंग भेद हुँदैन । पुरुषलाई पनि विश्वेश्वरप्रसादले भनेजस्तो स्त्रीलाई जस्तै हुँदो हो । लोग्नेमानिसको तुलनामा स्वास्नीमानिसको जीउले बढी जटिल जैविक परिवर्तनहरूको सामना गर्नुपर्ने हुन्छ । मासिकधर्मको ुसुरुवात र अन्त्य, गर्भधारण र प्रसूति केही प्रमुख जैविक अवस्थाहरू पार गर्नुपर्छ । पैँतालीसकै हाराहारीमा मासिक धर्मको अवसान पनि हुन्छ । यी जैविक परिवर्तनहरू व्यक्तिको मानसिक स्थिति, दाम्पत्य जीवन र पारिवारिक बन्धनको जटिलतासँग पनि जोडिएका छन् ।

६ वर्षअघि अर्थात् २०६८ सालमा म भारतको आसाम राज्यको विद्युत प्रसारणसम्बन्धी एउटा परियोजनामा काम गर्थें । त्यसबेला काठमाडौं–गुवाहटीको सिधा उडान नभएको र कलकत्ता भएर जाने उडानहरू पनि धेरै पातला भएका कारण म नयाँदिल्ली भएर आउने जाने गर्थें । नयाँदिल्लीमा मेरा स्नातक गर्दाका एक मारवाडी साथी थिए । उनले इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि जागिर खाएनन् । आफ्नै कम्पनी खोले । अरू साथीहरूबाट सुनेको थिएँ– उनले तरक्की गरेका छन् । वर्षेनी आठ दस करोडको कारोबार गर्छन् । दक्षिण दिल्लीमा आफ्नै कार्यालय छ । भारतका अन्य शहरहरूमा शाखा पनि खोलेका छन् ।

म उनको कार्यालयमा पुग्दा उनको दिवा भोजनको समय भएको रहेछ । मेरा मित्रले मारवाडीको नैसर्गिक परम्परालाई निरन्तरता दिएका छन् भन्ने कुरा बुझ्न उनको जिउडाल र पस्केको भोजन दुवै पर्याप्त थिए । दुई दशकपछिको पहिलो भेट थियो तैपनि बात मार्न लामो समय हामी दुवैसँग थिएन । उनले मेरा लागि १५–२० मिनेट समय छुट्याएको बताए । तर बोल्दैजाँदा अनौठो घटना भयो । हाम्रो कुराकानीमा कुनै कारणवश
‘डिप्रेसन’ ले प्रवेश पायो ।

‘म भर्खरै समस्याको यो भुमरीबाट फुत्कन सफल भएँ ।’

मैले मेरा मित्रलाई यो अभिव्यक्ति दिनासाथ उनको अनुहारको भाव एकाएक बदलियो । २०६८ सालमा म ४६ वर्षको उमेर पूरा गरेर ४७ मा हिँड्दै थिएँ । पैंतालीसको संकटकाल बडो कष्टपूर्ण तरिकाले काटेको थिएँ । मसँग
यो त्रासदी व्यहोरेको ताजा अनुभव थियो ।

उनी जुरुक्क उठेर म बसेको सोफामा आए । मेरो हात समाते । एकदम निरीह भएर भने–
नवराज ¤ मेरो प्रिय मित्र, तिम्रो बित्ने काम छैन भने मसँग अरू केही बेर बस । म पनि यो असाध्य रोगको शिकार भएको छु ।

मलाई थाहा थियो– डिप्रेसन वा दुव्र्यसनका समस्यामा जति अरूलाई मद्दत गरिन्छ उती आफ्नो रोग निको हुन्छ । मेरो त्यस्तो बित्ने काम केही थिएन । किनभने गुवाहटीका लागि मेरो उडान भोलिपल्ट मात्र थियो । मैले उनको अनुरोध स्वीकारेँ ।

उनले स्वागतकक्षमा फोन गरे–

मेरो आजको सबै पूर्वनिर्धारित बैठकहरू रद्द गरिदिनू । फोन आयो भने सन्देश टिपोट गरेर राख्नू ।
उनले उनकी धर्मपत्नीलाई पनि हाम्रो कुराकानीमा सहभागी हुन बोलाए । उनलाई आइलागेको समस्याका कारण व्यवसाय खस्कन थालेकाले श्रीमतीलाई कम्पनीका निर्देशक बनाएका रहेछन् ।

उनले आफूले भोगेका आर्तनादका क्षणहरू सम्झिए–

जुन तरिकाले म निर्णय लिन्थेँ । अहिले फिटिक्कै सक्दिनँ । मैले तालिम दिएका राम्रा कर्मचारीहरू मेरो सेलाएको नेतृत्व र निर्णयात्मक क्षमतामा आएको ह्रासका कारण लाखापाखा लागे । मेरो कम्पनी ओरालो लागेको छ । म जीवनकालकै विकराल संकटको सामना गरिरहेको छु ।  

मेरा सखाको समस्या बुझ्न बेर लागेन । उनको दिनचर्याको फेहरिस्तले नै उनको विषादको पोको सजिलै खोल्यो । उनी बिहान ढिलो उठ्थे । उठ्नासाथ  खाजा खाएर आफ्नै गाडीमा कार्यालय जान्थे । एउटै कार्यकक्षमा बसेर बेलुका छ–सात बजेसम्म काम गर्थे । दिउँसोको खाना पनि कार्यालयमा एक्लै बसेर खान्थे । बेलुका घर आएर खाना खाएपछि पनि कार्यालयकै पेचिला र जटिल विषयमा चिन्तन मनन गर्थे ।
मैले यी सब कुराको जानकारी लिएँ । मेरा अनुभवहरू पनि सुनाएँ ।

एक तमासले हाम्रा कुरा सुनिरहेकी मित्रकी धर्मपत्नीले मेरो उपस्थितिलाई अनियमित आकस्मिकताको संज्ञा दिँदै भनिन्–

मुझे तो लग रहा है आज भगवानले हमारी सुनली और आपको दुत के रूपमे भेज दिया ।
मेरा भारतीय मित्रसँगको वार्तालाप र मेरो अहिलेसम्मको अनुभवले सिकाएको छ– ‘डिप्रेसन’ को एक समाधान सूत्र आफ्ना दौँतरी वा नजिकका आफन्तसँग खुलस्त कुरा गर्नु हो ।

इकोनोमिष्ट पत्रिकाले केही वर्षअघि एक लेखमा हरेक मान्छेको जीवनमा ‘खुसी आयाम’ ले अंग्रेजीको यू अक्षरको निर्माण गर्छ भन्ने रोचक विषयवस्तु प्रस्तुत गरेको थियो ।  संसारकै औसत निकाल्ने हो भने ४६ वर्षको उमेर सबैभन्दा ‘बेखुसी’ हुने उमेर हो अरे ! यू को पहिलो हात ओरालो झर्छ । भुइँमा पुगेर उपत्यका बनाउँछ । अनि फेरि अर्को हात उकालो लाग्छ । यसैगरी युवा अवस्थामा जो कोही सर्वाधिक खुसी हुन्छ । रंगिन सपना देख्छ । महत्वाकांक्षाको मचानमा उक्लिन्छ । तीसदेखि पचासको उमेरमा मान्छेको जीवनमा खुसीको मर्करी सबैभन्दा तल हुन्छ । पचास पुगेपछि फेरि ‘यू’ को अर्को हात ठडिन थाल्छ । साठी या सत्तरीको उमेरमा मान्छेको जीवनमा युवा अवस्थाकै जस्तो अधिक खुसीका क्षण प्राप्त हुन्छन् ।      

किन ४५ वा ४६ को उमेरमा जो कोही पनि बेखुसीको पराकाष्टा व्योहोर्न पुग्छ ? बीस–पच्चीस वर्षसम्म एउटै बिछ्यौनामा रात कटाएको जीवन साथीमा एकाएक किन खोट देख्न थाल्छ ? घर छ । जागिर छ । छोराछोरी स्नातक गरिरहेका छन् । खान लाउनको दुःख छैन तर ऊ अहिले भोगचलन गरिरहेको कित्ताभन्दा अर्को उर्बर देख्छ । अथवा एउटा उही उमेरको व्यक्तिसँग नाता तोडेर अर्को उही उमेरको व्यक्तिसँग नाता जोड्न किन उद्यत हुन्छ ?

चिकित्सा मनोविद् अञ्जनकुमार ढकाल यो यक्ष प्रश्नको सपाट जवाफ दिन्छन् । उनको निचोड छ– ४५ को उमेरताका ‘व्यक्तित्व विचलन’ अर्थात पर्सनालिटि डिसअर्डर हुन्छ । यो समस्या बहीर्मुखी स्वभावको व्यक्तिलाई अलि कम र अन्तर्मुखीलाई बढी हुन्छ । दैनिक जीवनमा आइपर्ने तनाव र व्यावहारिक उतारचढावको व्यवस्थापन गर्न नसक्दा मान्छे एक्लिँदै जान्छ । उसको मनमा विषादको आयतन बढ्दै जान्छ । चालै नपाइकन ‘भुसको आगो’ ले जस्तो भित्रभित्रै खरानी बनाइदिन्छ । अन्त्यमा व्यावसायमा टाट पल्टने, आत्महत्या गर्ने, परपुरुष वा परस्त्रीसँग सम्बन्ध स्थापित गर्ने, पारपाचुके गर्ने, जोगी बन्ने आदि परिणामहरू निस्कन सक्छन् ।    

शास्त्रमा पनि यो विषय महत्वका साथ उल्लेख गरेको पाइन्छ । श्रीमद्भागवत गीताको पहिलो अध्यायको शीर्षक नै ‘अर्जुनविषादयोग’ राखिएको छ । यो शीर्षकको नेपालीमा सिधा अनुवाद ‘अर्जुनविरक्ति  सन्दर्भ’ हुन्छ । अर्जुन पनि ‘व्यक्तित्व विचलन’ को समस्याले ग्रसित भएका थिए । त्यस्तो बलशाली व्यक्तित्वले लडाइँको मैदानमा भगवान् श्रीकृष्णसँग भावविहृवल भएर पुकारा गरे–

कार्पण्य दोषका कारण मेरो स्वभावमा परिवर्तन आएको छ । मेरा लागि अब यो लडाइँ अर्थविहीन छ ।
गर्न लागेको काममा कुनै अर्थ नभेटिनु वा त्यो महत्वहीन लाग्नु भनेकै समस्याको सुरुवात हो । कुनै पनि व्यथा सुरु भएपछि त्यसको चाप बढ्दै जानु स्वाभाविक हुन्छ । व्यथा बल्झिँदै गएर परकाष्ठामा अन्त्य हुनसक्छ । यसकारण कतिपयले जीवनलीलामा आफंैले पूर्णविराम लगाउँछन् । अर्थात एउटा गन्तव्य निधो गरेर हिँडेको मान्छे बीच बाटोमा पुगेर हल न चल भएर थलिन सक्छ । वा, मति अझ बिग्रियो भने गएको दिशाको उल्टो अर्कोतिर फनक्क फर्कन पनि सक्छ । पूर्व दिशामा जानुपर्ने व्यक्ति पश्चिमतिर पनि जान सक्छ । वास्तवमा ‘विषाद’, ‘विरक्ति’, खिन्नता’, ‘नैराश्य’, र ‘दिक्दारी’ जस्ता शब्दहरू समानार्थी हुन् ।  

शास्त्रजस्तै प्रचलित अन्य दर्शनले पनि यस विषयमा आफ्नै कित्ताको निर्माण गरेका छन् । विषादजन्य समस्या लिएर भौँतारिएका निरीह मनुवाहरूलाई ज्योतिषीले चिनाटिपन हेरेर विरक्त लाग्नुको वा मति बिग्रनुको कारण सहजै भनिदिन्छ । ज्योतिषीले भन्ने कारण यस्ता हुन सक्छन्– ग्रहको चलखेल, साढेसाती शनिदशा वा उल्काको आक्रमण ।

मेरो आफ्नै ४५ त्रासदीमा म पनि विरक्तिएर ज्योतिषी कहाँ पुगेको थिएँ । उनले उल्काले उखपात गरेको तर्क दिएका थिए ।    

अर्थशास्त्रका नोबेल पुरस्कार विजेता डेनियल कानेम्यानले आफ्नो विश्वप्रसिद्ध पुस्तक ‘थिंकिङ् फास्ट एण्ड स्लो’ मा एक सिद्धान्तको व्याख्या गरेका छन् । मानिसलगायत सबै प्राणीमा लागू हुने त्यो सिद्धान्त हो– नोक्सान पन्छाउने प्रवृत्ति । जसअनुसार नयाँ लाभ लिनभन्दा नोक्सानी हुनबाट जोगाउन मानिस वा प्राणीले बढी संघर्ष गर्छ । टोलको कुकुर बाहिरिया शत्रुसँग ज्यानै जोखिममा पारेर भए पनि लडाइँ जितेरै छाड्छ । पतिपत्नी वा प्रेमी प्रेमिकाबीचको सम्बन्ध यथास्थितिमा राख्ने यो प्रवृत्ति एक अत्यन्तै प्रभावशाली रुढिवादी शक्ति हो । यसैले सौता हाल्ने लोग्नेहरू कमै हुन्छन् । पोइल जाने स्वास्नी पनि कमै हुन्छन् । तर ४५ को उमेरको सेरोफेरोमा पुगेपछि विश्वेश्वरप्रसादले भने जस्तो वा अर्जुनलाई कार्पण्य दोष लागेजस्तो नरनारीमा ‘व्यक्तित्व विचलन’ आउने सम्भावना बढेर जान्छ । जसको कारण ऊ पुरानो संसार छोडेर नयाँको लाभ लिने हर्कतसमेत गर्न सक्छ ।  यस्तो बेलामा सतर्कता अपनाउन नसक्ने वा यो त्रासदीको व्यवस्थापन गर्न सजग नहुने हो भने यसले विकराल विपत्ति निम्त्याउन सक्छ भन्ने विषयमा दुईमत नहोला ।    

जेठ ३१, २०७४
कोटेश्वर, काठमाडौं
प्रकाशक : हिमालयन टाईम्स
मिति :जुन १७, २०१७
लिङ्क : http://ehimalayatimes.com/bichar-sahitya/13764

No comments:

Post a Comment