मेरो साथमा
‘जदौका निबन्ध’ शीर्षक भएको पुस्तक थियो । केही दिनदेखि मैले यो कृति बोकेर
हिँडेको छु । फुर्सद पाउँदा वा कतै एक्लै यात्रा गर्नु पर्दा म प्रायः
पुस्तक पढ्ने वा ल्यापटपमा लेख लेख्ने वा दैनिक पत्रिकाका शनिबासरीय
परिशिष्टांकहरू पढ्ने गर्छु । उल्लिखित पुस्तकका लेखक रेडियो नेपालमा कुनै
जमानामा ‘साहित्य संसार’ नामको अति लोकप्रिय कार्यक्रम सञ्चालन गरेर ख्याति
कमाएका चर्चित साहित्यकार दाहाल यज्ञनिधि हुन् ।
म
कोटेश्वरबाट तीन पांग्रे सवारी साधनमा चढेको थिएँ । गन्तव्य थियो
कृष्णगल्ली । आजभोलि पुस्तक पढ्दा घत परेको शब्द वा वाक्यमा चिनो लगाउने
बानी लागेको छ । आज भने साथमा पुस्तक मात्र थियो, न झोला थियो न त कलम । म
चालकतिर कुनामा थिएँ । कुनाको सिट राजकीय हुन्छ । अमेरिकामा कुनाको जग्गा
वा घर राजकीय मानिन्छ रे । शायद अरूको दखल कम पर्ने भएर होला ।
‘बहिनीसँग कलम छ ?’
मेरो देब्रेतिर बसेकी युवतीलाई सोधेँ ।
उनी
किशोरीवय भर्खरै पार गरेकी जस्ती देखिन्थिन् । पछाडि भिर्ने झोला काखमा
राखेर बसेकी थिइन् । केही नबोली झोलाबाट डट्पेन निकालिन् र मतिर बढाइन् ।
मैले चिनो लाउने काम सकेँ । उनको नासो फिर्ता गरेँ । थापाथली पुगेपछि मेरो
सामुन्नेको लहरमा तीनवटा सिट खाली भए । म त्यता सरेँ । अब मलाई गुन लगाउने
युवती मेरो सामुन्नेमा भइन् । म भने निबन्धमै हराएँ । कृष्णगल्ली पुग्न
लाग्दा ओर्लने ठाउँको भेउ नपाएको झैँ गरेर तिनले दायाँ–बायाँ हेरिन् । म
कृष्णगल्लीमा ओर्लिएँ । उनी पनि ओर्लिन् । म केही कदम अघि थिएँ । उनी मेरै
पछि लागिन् । म उभिएँ ।
‘जाने ठाउँ अलमल भयो कि के हो ?’
‘लबिम मल भनेको थियो । यतै होइन र ?’
‘हो, यतै हो । अब अलमल हुँदैन । म पनि त्यतै जाने हो ।’
‘ए.., हो ¤’
‘तात्तातै पर्म तिर्न पाउने भएँ नि त मैले ¤’
अब
भने हामी पैदल यात्री हिँड्ने पेटी ढाकेर सँगसँगै हिँड्न थाल्यौँ । पेटीमा
हिँड्ने मान्छे पातला थिए । मैले ‘पर्म’ लाई नै हाम्रो कुराकानीको शीर्षक
बनाउने विचार गरेँ । उनलाई बोल्ने समय नै नदिई प्रश्न गरेँ– ‘पर्म भनेको
थाहा त होला नि ?’
‘छैन त ।’
‘तिम्रो घर कहाँ हो र ? तिमी भने हैँ अन्यथा नलिनू ।’
‘चितवन हो । भइहाल्छ नि ।’
‘एउटा घरपरिवारको सदस्य खेताला भएर अर्को कहाँ गएर काम गर्ने । अनि पर्म लाग्छ ।’
‘ए..., बुझेँ । उसो भए अघि मैले हजुरलाई कलम दिएको पर्म भयो, हैन त ?’
‘हो, अनि मैले लबिम मल देखाइदिएर पर्म तिरेँ । अनि तिमी अहिले कहाँ के गर्दै ?’
‘भर्खर लोकसेवा पास गरेर सरकारी सेवामा प्रवेश ।’
‘प्रशासनिक कि प्राविधिक ?’
‘प्राविधिक, ईन्जिनियर पद हो ।’
म
आश्चर्यमा परेँ । मलाई हाई फाईभ अर्थात पाँच औंले बधाई दिनका लागि यो
भन्दा राम्रो साइत अर्को कुर्नुपर्ने थिएन । उनलाई उभिने इशारा गरेँ ।
दाहिने हात आकाशमा पु¥याएँ । धिमा गतिमा उनीतिर बढाएँ । कहिल्यै पनि एक
अर्काको स्पर्श नगरेका हाम्रा हातहरूले आकाशमा ताली पिटे । दुवैका अनुहारमा
आश्चर्य र खुशीका भावहरूले आकाशिने मौका पाए ।
‘लौजा
¤ बधाई दिनु त यस्तो । म पनि इन्जिनियर हुँ । कुनै जमानामा म पनि लोकसेवा
पास गरेर इन्जिनियरिङ सेवामा प्रवेश गरेको थिएँ । बडो आनन्दको अनुभूति भयो ।
तिम्रो कार्यालय चैँ कुन हो ?’
‘खानेपानी तथा ढल निकास विभाग ।’
‘हे भगवान...¤ यो त चमत्कारै भो ¤’
मैले
त्यही विभागमा पाँच वर्ष स्थायी दरबन्दीमा काम गरेँ । यसरी सामान्य
भेटघाटमा पनि एउटै कित्ता फेला पर्नु । अनि कित्ताको खलोसमेत एउटै हुनु एक
सुखद संयोग थियो । मैले फेरि सशक्त पाँच औले बधाई दिएँ । मैले उनको नाम
सोधेँ । मेरो बिजिनेस कार्ड दिएँ । अति नै आनन्दको महसुस गर्दै हामी
छुट्टियौँ ।
यात्रामा पुस्तक पढ्ने
कार्यले सिर्जना भएको यो रोचक प्रसंग थियो । यात्रा गर्दाको वा पर्खने
समयलाई लेखपढमा लगाउन सकिँदो रहेछ भन्ने बुद्धि जापानमा हुँदा पलाएको हो ।
हाम्रो समाजका अधिकांश नरनारीको यो बुद्धि बङ्गारो उम्रन बाँकी नै छ ।
कसैले केही भन्ला कि ¤ वा लेखपढ त स्कुल कलेजमा पो गर्ने हो, जहाँ पायो
त्यहीँ गर्ने हो र भन्ने संकोचको भकारी बोक्नेहरूको भीड भएकाले यस्तो भएको
हो भन्ने मेरो मान्यता छ । मैले भने यो संकोचको भारी जापानको रेल यात्रामा
बिसाएँ ।
त्यसबेला म साइतामा
जिल्लाको मिसातो शहरमा बस्थेँ । मेरो निवासबाट टोकियो विश्वविद्यालय पुग्न
९० मिनट लाग्थ्यो । यो समयावधिको मुख्य अंश अर्थात ७० मिनेट मैले रेलयात्रा
गर्नुपथ्र्याे । आउने र जाने गरेर हरेक दिन लगभग साढे दुई घण्टाको समय म
रेलयात्रामा बिताउँथे । सुरुका केही दिनहरू त मैले बाहिर हेरेर वा विभिन्न
रङका सुकिलामुकिला जापानिज यात्रुहरूलाई हेरेर बिताएँ । केही दिनमै मैले
यात्रा सँस्कारको एक सूत्र फेला पारेँ । सहयात्रीलाई हेर्नु भनेको अशोभनीय
मानिँदो रहेछ । रेलमा यात्रा गर्ने जो कोहीको पनि हातमा एउटा एउटा पुस्तक
हुँदो रहेछ । रेलमा उभिएर पनि मज्जाले पढ्न मिल्दो रहेछ ।
मैले आफूले आफूलाई प्रश्न गरेँ– यी अधिकांश जापानिजले यात्रामा पढ्न हुन्छ भने तैँले पढ्न किन हुँदैन ?
त्यस
दिन मेरो कुण्ठाको बरफ पग्लिएर पानी भएको थियो । बरफ ठोस पदार्थ हो । आफँै
हिँड्दैन तर पानी ओरालोतिर बग्छ । ‘अरूले देख्ने गरी लेखपढ किन गर्ने’
भन्ने मेरो कुण्ठा तरल भएर शायद जापानको वरिपरि रहेको सागरमा मिसिएको थियो
।
जापानमा म नेजु स्टेसनबाट मिसातो
स्टेशनसम्म नियमित यात्रा गर्थें । यो पनि अर्को सुखद संयोग भएको छ– अहिले
म कहिलेकाहिँ धुलिखेलबाट सार्वजनिक बसमा काठमाडांैसम्मको यात्रा गर्छु ।
यात्रा गर्दा प्रायः विद्यार्थीहरू सँगै पर्छन् । अनुकूल परिस्थिति पर्दा
उनीहरूको भाडा म तिरिदिन्छु । अनि ‘पर्म’ को प्रसंग निकाल्छु ।
‘तिमीलाई पर्म भनेको थाहा छ ?’
टेम्पो यात्रामा भेटिएकी इन्जिनियरलाई जस्तै सोध्दछु ।
अधिकांशलाई थाहा हुँदैन । एकले अर्कोका लागि आलोपालो गरी काम गरिदिने चलन नै पर्म हो भनी अथ्र्याउँछु ।
‘त्यसको मतलब मैले हजुरको भाडा कुनै दिन तिर्नुपर्ने भयो होइन त ?’
पर्मको मर्म बुझेर उनीहरू मलाई सोध्छन् । हाम्रो वार्ता अघि बढ्छ ।
‘सही हो तर त्यो मेरो भाडा होइन अरू कसैको हुनेछ ¤’
‘अरू कसको होला त ?’
यहाँनिर
म उनीहरूलाई त्यो सम्भाव्य पात्रको बारेमा सोच्न बाध्य पार्छु । त्यो
पात्र को हुन सक्ला भन्ने प्रश्नले उनीहरूको मथिंगल खैलाबैला हुन्छ । मैले
एकजनाको ३० रुपियाँ भाडा तिरिदिएको हुन्छु तर त्यो खैलाबैलाको मूल्य
हजारौँको भए झैँ लाग्छ ।
‘तिम्रो
कुनै विद्यार्थीको वा तिम्रो मातहतमा काम गर्ने कर्मचारीको तर त्यसबेला
तिमीले आजको यो प्रसंग कोट्याउनु पर्नेछ र उसलाई पनि तिमीले लगाएको पर्म
सार्ने तरिका बताउनुपर्ने छ ।’
मैले मेरो कवितामा लेखेको छु–
मलाई पर्म लगाउनुहोस् असल कर्महरूको
म उत्तम फर्काउने प्रण गर्छु ।
मैले
आजका सन्तति अर्थात भोलिका कर्णधारलाई लगाएको पर्म उनले उनका पनि
सन्ततिलाई अवश्यै तिर्नेछन् भन्ने मेरो आशा छ । त्यो समयको गर्भमा रहेको एक
बहुमूल्य गाडधन हो । त्यसको श्रीवृद्धिले स्नोबल अर्थात हिउँको भकुण्डो
सिर्जना गर्नेछ । हिउँ नै हिउँ भएको ठाउँमा त्यो भकुण्डो जति गुड्कियो
त्यति नै त्यसको आयतन ठूलो हुनेछ । यसो हुँदा नेपाली धरतीले मलाई सुम्पेको
अभिभारा केही मात्रामा भए पनि तिरिन्छ । यसरी नै नेपाली समाजका सन्ततिलाई
अहिलेका गुरु, अभिभावक, नेता र पेशाविद्हरूले पर्म लाउने हो भने समृद्ध
नेपालको गन्तव्यको दूरी केही कदमले भए पनि घट्ने छ भन्ने मेरो मान्यता छ ।
पर्म लाउने मात्र होइन शास्त्रले त एक आदर्श गुरुको वा एक असल अभिभावकको
कर्तव्य आफ्ना शिष्य वा सन्तानलाई शिक्षादीक्षा दिँदा ‘यिनले एक दिन मलाई
पराजय गरून्’ भन्ने इच्छा भावले दिनुपर्छ भनेको छ । शास्त्रको ‘पुत्र’ वा
‘शिष्य’ भन्ने शब्दलाई ‘नेता’ ले विस्थापित गरेर मैले यस्तो वाक्य बनाएको
छु–
‘नेतात इच्छेत पराजयम्’
यसको
आशय आफूले उत्पादन गरेका वा प्रशिक्षण दिएका भविष्यका नेताहरूले आफूले
भन्दा पनि विशिष्ट योगदान दिऊन् भन्ने हो । अहिलेको मात्रै ज्ञान र
क्षमताले भविष्यका चुनौती सामना गर्न असम्भव हुन्छ ।
शास्त्रले
मात्र होइन ‘नेतृत्व कौशल’ को आधुनिक पढाइमा पनि ‘लिडर्स डेभलपिङ् लिडर्स’
अर्थात एक असल नेताले गर्नुपर्ने सबैभन्दा महŒवपूर्ण काम आफ्नो शेख पछिका
नेता उत्पादन गर्ने हो भनिन्छ । एक जमाना थियो नेपालीहरू बैठक कोठामा वा
आफ्नो कार्यकक्षमा राजारानीका तस्विर राख्थे । राजारानीको रंगमञ्च इतिहास
भएपछि बीपी कोइराला वा मनमोहन अधिकारीका तस्विर राख्न थाले ।
यो कालखण्डले तलको एक गम्भीर प्रश्न जन्माएको छ ।
‘के
अहिले रंगमञ्चमा उदाएका नेताहरूले पर्म लगाएको कर्म विशिष्ट छ ? के
भविष्यमा उनीहरूको पनि तस्विर बीपी वा मनमोहनको जस्तै पूजनीय हुनेछ ?’
साहित्यमा कठोर विम्ब प्रयोग गर्न सक्ने उनै धरतीपुत्र दाहाल यज्ञनिधिले ‘सेरिएकाको जदौ शेरबहादुरलाई’ शीर्षकको निबन्धमा भनेका छन्–
भुँईकुरुवालाई नागरिकलाई ससम्मान ‘देश’ दिन सक्ने नेता हामीलाई चाहिएको छ ।
हामीलाई
कस्तो नेता चाहिएको छ ? यो प्रश्नको यस्तो कालजयी उत्तर दिनसक्ने वाक्य
अहिलेसम्म मैले कतै पढेको थिइनँ । उनका निबन्ध पढ्दा मलाई लाग्यो उनी एक
कर्मठ धरतीपुत्र मात्र होइनन् एक व्युत्पन्न सरस्वती पुत्र पनि हुन् ।
उनीसँग म सहमत छु । वास्तवमा अहिलेसम्म कुनै पनि भुँईकुरुवा नेपालीले
ससम्मान ‘देश’ फेला पारेका छैनन् । पारेका भए यति धेरै संख्यामा
भुँईकुरुवाहरू विदेशिने थिएनन् । यस हिसाबमा दाहाल यज्ञनिधिले दिशानिर्देश
गरेको बाटोमा कि त अहिलेका नेताहरू हिँडून्, सक्दैनन् भने कम्तीमा आफ्ना
अनुयायीलाई उनीहरूले भनून्–
यो देशका नागरिकलाई ससम्मान देश दिने जिम्मेवारी अब तिम्रो काँधमा आएको छ ।
आश्विन २६, २०७४
No comments:
Post a Comment