Monday, January 22, 2018

पोखरामा साक्षात देवी

नेपाली नारीको औसत उचाई भन्दा अग्लो कद । कदको धारणशक्ति अनुरुप जत्रो आकारको देखिँदा शौन्दर्यको चरम बिन्दु छुन्छ त्यत्रै जिउडाल । कालो रंगको कोट र पाईन्ट मिश्रित औपचारिक पहिरन ।

कोटको शिरान तिरका खुलै छोडिएकाले टाँकले छातीमा 'भि' आकारको डिजाईन बनाएका । वाह्य आवरणको त्यो आकर्षक डिजाइनले उघारेको भु-भाग छोप्न सेतो रंगको भित्री । कोटको माथिको गोजी रहने स्थानमा एयरलाईन्सको लोगो र नामथर स्पष्ट लेखिएको ट्याग । दबेका जस्ता देखिने सम्याइएका शालीन वक्षस्थल । हरेक मान्छेमा विद्दमान सबैभन्दा अर्थपूर्ण गहना कपालको भने पछाडि लगेर आकर्षक जुरो बनाइएको । मैले गहिरिएर उनको तस्विर हेर्नुको विशेष कारण थियो । 'दक्षताको उडान' शीर्षक दिईएको एक विज्ञापन बुद्ध एयरकै उडान पत्रिकामा छापिएको थियो । निलो आकाशमा रुमल्लिएको सेतो बादलको पृष्ठभूमिमा सहकर्मीहरुका साथमा उनको मन्द मुस्कानको आभा पस्किएको फोटो विज्ञापनको एक आकर्षण बनेको थियो । मनले भन्यो- मैले यी नमूना हवाई सुन्दरीलाई कहिँ देखेको छु । 

"अघि प्रवेशद्वारमा यात्रुहरुलाई स्वागत गरेर उभिने क्या त !"

आफैले सोधेको प्रश्न आफैले उत्तर दिनुको मजा छुट्टै छ । आफ्नै अन्तष्करणबाट उत्तर उदायो । पानी बाँड्न आउँदा फेरी नियालेर तस्विर र उनलाई पालै पालो हेरेँ । निश्चित भयो-तस्विर उनकै थियो । पत्रिकाको तस्विरमा देखिएको व्यक्ति उही पहिरनमा आफ्नै आँखा अघि भेटिनु एक सुखद सँयोग थियो । निमेषभरमा नै बुद्ध एयरको पोखरा-काठमाण्डौ उडान नम्बर ६०४ को सबैभन्दा विशेष यात्रु हुने योजना परिकल्पना गर्न मैले भ्याईसकेको थिएँ ।
 
जाहाजवाट ओर्लने यात्रुको लाममा मैले आफूलाई सबैभन्दा अन्तिममा पारेँ । अनि उनको विदाईको अभिवादनलाई थाँती राखेर मैले प्रश्न गरेँ । 

"फ्लाइट म्यागेजिनमा दक्षताको उडान शीर्षकको विज्ञापनमा भएको तस्विर तपाईको हो ?"
 
"हो ।"
 
"सुन्दर लाग्यो ।"

शिष्टाचारको अभिवादन पस्किरहेको मुस्कानले कित्ता परिवर्तन गर्यो । अनुहारको आभाको तेज अझै गाढा भयो ।  पात्रहरुको परिचय फेरियो । हवाई सुन्दरी र यात्रुको स्थानमा साक्षात आकाश देवी र उनका प्रशँशक विराजमान भए । यात्रुलाई गरिने सामान्य विदाई विनोदप्रीय वार्तालापमा परिणत भएको थियो ।  

हवाई सुन्दरीलाई 'साक्षात देवी' को उपमा दिनु को पछि उनको सुन्दरता प्रमुख कारण थियो । यसमा मुल्य थप गरेको थियो- यात्रा गरिएको दिनमा परेको नौरथाको तृतिया तिथीले । नौ पचासको पूर्वान्हको उडान भए पनि मैले आठ बजे नै हामी बसेको पोखराको नामी होटेल माउन्ट कैलाश बाट प्रस्थान गर्ने योजना बनाएको थिएँ । कुनै ठोस कार्य नहुँदा त्यतिकै हल्लिएर वरालिनु भन्दा म आजभोली समय अगावै विमानस्थल आईपुग्न रुचाउँछु । यसको एक विशेष फाईदा छ-म केही लेखपढ गर्न पाउँछु । तर आज दिउँसो भने मलाई रामबाबु-ज्ञानु समाजसेवा पुरस्कार समारोहमा मन्तव्य ज्ञापन गर्नु थियो । मैले त्यसलाई सँस्कारी भाषणको कित्तावाट बाहिर निकालेर एक प्रस्तुतीमा परिवर्तन गर्ने निधो गरेको थिएँ । त्यसको स्लाईड बनाउन बाँकी थियो । 

तर बुद्ध एयरको काउन्टरमा पुग्दा अर्कै नौलो परिदृष्य उदायो ।
 
"हजुरको कति बजेको उडान हो ।"
 
"नौ पचासको हो ।"
 
"अहिले त नौ विसको लागि जाँच भै रहेको छ नि त सर !"
 
डेनियल कानेम्यानले भने जस्तो मेरो मष्तिष्कको प्रणाली-२ सचेत भयो । मैले पलभरमा नै एक निर्णय लिएँ । 
 
"हजुरहरु त चमत्कार गर्न सिपालु हुनुहुन्छ । नौ विसको उडानमा नै पठाईदिनुस न मलाई ।"
 
मैले शब्द चमत्कार देखाएँ । विधाताले बनाएको विधानको धारा लागु भयो । अर्थात क्रियाको प्रतिकृया भयो । काउन्टरका कर्मचारीले पनि चमत्कार देखाए । मैले नौ विसको उडानकै बोर्डिङ् पास पाएँ । 

होटलवाट हिँड्नु अघि पनि आतिथ्य सत्कारको अग्र भूमिकामा खटिएका देवीहरुले मलाई विदाई गरे । काउन्टरमा दुई हल्का हरियो रगँको साडीमा सजिएका दुई अधवैसेँ कर्मचारी थिए । मैले उनीहरुलाई म एक वर्ष अघि आउँदाको एक प्रसगँ सुनाएँ ।   

म यही होटलमा एक गोष्ठीमा सहभागी हुन आएको थिएँ । रात्री भोजको मूल खानाको कर्म सके पछि म मिठाई फिँजाईएको टेबल तिर लाँगे । दुई किसिमका केकहरु राखिएका थिए । कुन चहिँ रोज्ने भन्ने दोधार भयो । ‘विना तर्क हचुवामा निर्णय नगर्ने’ प्राविधिक बानीले कहिले कही मलाई हैरान पारेको छ । त्यसैवेला एक सेविका नजिकै आईपुगिन । 

“यी कुन कुन जातका केक हुन ।” मैले ठट्यौली पारामा सोँधे ।
 
“ब्ल्याक फरेष्ट र ह्वाईट फरेष्ट ।”
 
“उ त्यो ताल पारीको जँगल चहिँ कुन फरेष्ट ?” मैले जुनको उज्यालोमा टल्किएको थुम्कोमा फैलिएको हरियो वन देखाउदै भने । हाम्रो समूहमा अरु सेवक र सेविका पनि थपिए । रोचक कुरा सुनेर ति लोभिए ।
 
“त्यो त क्विन फरेष्ट ।” अहिले भने गोष्ठीमा सहभागी एक मित्रले उछिने ।
 
“अनि खै त यहाँ त क्विन फरेष्ट छैन ?” मैले विस्कुन जस्तै गरी राखिएका केक देखाँउदै भने ।
 
“क्विन फरेष्ट अर्थात रानी वनमा दिँउसो मात्र जान मिल्छ । राती मिल्दैन ।” गोष्ठीमा सहभागी अर्का एक मित्रले हाम्रो छलफलमा मिसिँदै भन्नु भयो । हामीलाई केन्द्रविन्दु पारेर उभिएका एक हुल होटल कर्मचारी गलल हाँसेका थिए । 

जुन स्थानमा मैले एक बर्ष अघि 'क्विन फरेष्ट' केकको प्रसँग निकालेर रमाईलो पस्केको थिएँ, म यस पटक पनि विहानको सात बजे ब्रेकफास्ट लिन त्यही स्थानमा पुगेँ ।

हाम्रो गोष्ठीमा बैँककबाट सहभागी हुन आएका दुई 'जापानी देवी' हरु पनि थिए । उनीहरुको पनि ब्रेकफास्ट लिने समय सात बजे नै तय भएको रहेछ । आगन्तुक कक्षमा नै भेट भयो । अब यिनीहरु सँग रमाईलो हुने भयो भन्ने मैल लख काटेँ । नभन्दै हामी तीन जना मात्र एउटै टेबल लिएर बस्यौ । लगभग एक घण्टा हामी तिन जना मात्र गफियौँ। हामी बसेको ठाउँबाट फेवाताल किनारको सडक र नेपाली सेनाको क्याम्पको पर्खाल देखिन्थ्यो । पछाडि भिर्ने झोला भिरेका एक हुल पर्यटकहरु होटेल छोडेर पैदलै लेक साईड तिर लागे । देवीहरुको ध्यानाकर्षण भएछ । 

"आर दे गोईङ टु क्लाईम्ब दि माउन्टेन ?" अकिको सानले सोधिन् ।
'सान' को नेपाली रुप 'जी' हुन्छ । नामको पछिल्तिर जोडिने यो जापानी सम्बोधन बडो प्रिय लाग्छ मलाई । जापानीहरुले मलाई भने 'नावाराजी सान' भन्छन् । मेरो जापानीकरण गरिएको नामको चर्चा मैले अन्य लेखहरुमा गरेको छु ।

उनीहरुले पोखराका वरपर भेटिने हिमालहरु सराङ्ककोट वा शान्ती स्तुपा भएको डाँडो जस्तै नजिकै छन होला भन्ने ठानेका रहेछन । मैले आधारभूत भूगोलको व्याख्यावाट शुरुवात गरि पोखराबाट 'बेस क्याप' सम्मको विवरण बताएँ । त्यहाँ सम्म पुग्न लाग्ने समय बताईदिएँ । नोरिको सानले जापानको सबैभन्दा अग्लो टाकुरो माउन्ट फुजी को प्रसँग निकालीन ।

"म तीन बर्ष जापान बसेँ तर फुजि हिमाल हेर्न जाने अवसर जुराउन सकिन ।" मैले अँग्रेजीमा भने ।
सामान्य तयारीले पनि फुजी पर्वतको टाकुरैमा नपुगे पनि अलि तल सम्म पुग्न सकिन्छ । पोखराको माछापुच्छ्रे वा अन्नपूर्ण भने जस्तै जापानको एक पर्यटकिय गहना हो । हाम्रो वार्तालाप अघि बढ्यो ।  

"पोखरा छेउछाउ भएका अग्ला हिमालको उचाई कति छ ?"
 
"केहीको ८००० मि भन्दा पनि बढी छ । अर्थात फुजी पर्वत भन्दा दुई गुणाले बढी ।"
 
म यो उचाईको विषयको उठानको साईत पर्खिरहेको थिएँ । जापानी वा अन्य विदेशीहरुसँग गफ गर्दा नेपाल सम्बन्धित तथ्यपरक विषयहरुको चर्चा होस, अनि तिनलाई उनीहरुको मुलुकका समकक्षी विषयहरु सँग तुलना गर्न पाईयोस, नेपाली हुनुको अर्थ त्यसवेला खुल्छ ।  

"ए……… हो न तो (साँच्चै हो त )?"
 
अकिको सानले आश्चर्य व्यक्त गरिन ।
 
'फुजी पर्वतको ३७७६ मिटर छ ।' अकिको सानले तथ्य नै उजागर गरिन । हामीलाई सगरमाथाको उचाई ८८४८ मिटर भन्ने कण्ठ भए जस्तै उनलाई फुजीको उचाई थाहा रहेछ ।  

त्यति अग्ला त सयौँ चुचुरा छन् नेपालमा । तर अफसोच फुजी पर्वत एउटै भए पनि जापानीहरुले हुनु सम्मको विकास गरेका छन् । पर्यटकहरु रेलमार्ग, सडकमार्ग वा हवाईमार्गबाट फुजी पर्वतको नजिकै सम्म यात्रा गर्न सक्छन् । हामीले धेरै गर्न बाँकी छ । केही हप्ता अघि धुलिखेलमा एक कफि क्याफेमा पुगेको थिएँ । जापानमा सात वर्ष काम गरेर फर्केका एक काभ्रेली भाईले जापानको अनुभवलाई वीउ बनाएर आफ्नै माटोमा रोपेका रहेछन । परिवारका सदस्यहरु नै कामदार भएर सम्हालेको त्यो चमेनागृहले म र मेरा केही साथीहरुलाई निकै प्रभाव पार्यो । मैले त्यस दिन एउटा सपना देखेँ- विदेशवाट फर्केका हरेक नेपालीले यस्तो इलम समात्ने हो भने हामी केही वर्षमा नै सम्पन्न देशका नागरिक हुन्छौ ।  

अघिल्लो दिन हाम्रो एक दिवसिय गोष्ठीको कार्यक्रम थियो । नेपाल जेयसपियस अल्मुनाई एशोशिएसन अर्थात एन्जाको आयोजनामा वार्षिक साधारण सभा सँगै यो गोष्ठीको आयोजना गरिएको थियो । एन्जालाई हामीले केही वर्ष अघि स्थापना गरेका थियौ । जापान सोसाईटि फर प्रोमोशन अफ साईन्स नामक जापानको एक प्रतिष्ठित सँस्था सँग एन्जाको आबद्धता रहने प्रावधान छ । यसले खासगरी उत्तर विद्यावारिधिको विद्वत वृतिमा जापानमा अनुसन्धान गर्ने अवसर प्रदान गर्छ । गोष्ठीमा मेरो जिम्मेवारी थियो- उद्घोषण गर्नु ।

प्राय: जसो हाम्रा यस्ता कार्यक्रमहरुमा औपचारिकता निभाउने परम्परा रही आएको छ । वक्ताहरुले रगँ न ढँगका लामा लामा भाषण गर्छन् । यसकारण श्रोतालाई जगाएर कार्यक्रम अवधि भरी उनीहरुको रुचि यथास्थितिमा कायम राख्न सक्नु लरतरो काम होईन ।  म यस विषयमा सचेत थिएँ । तर मेरो काम भीर मौरीको मह काड्नु जस्तै थियो । विविध पृष्टभूमि भएका श्रोता । सामान्य कृषक देखि प्राध्यापकहरु सम्म । अँग्रेजी नबुझ्ने देखि नेपाली नबुझ्नेहरुको उल्लेख्य उपस्थिति । तर कार्यक्रममा मैले केही रोचकता थप्ने भरभग्दुर प्रयास गरेँ । केही प्रसँग ताजै छन् ।   

गोष्ठीका मुख्य वक्ता बैँककबाट आएका प्रा.डा. कुनियाकी यामासिताको प्रस्तुतीको लागि परिचयका साथ मन्चमा वोलाउनु थियो । "यामासिता सेन्से, तपाईको हिजो जहाज एक घण्टा ढिलो भए जस्तै आज भने प्रस्तुतीको समय पनि एक घण्टा नै ढिलो भएको छ ।"सबै गलल हाँसे । जापानी अध्येता पनि हाँसे । अतिथी प्राध्यापकलाई समेत त्यसरी हसाँउन सकेँ । सबैले राम्रै मानेको जस्तो लाग्यो । 

कृषि तथा वन विश्वविद्यालयका रजिष्ट्रारको थर भने 'कोलाछापति' रहेछ । उनी गोष्ठीका प्रमुख अतिथि थिए ।  मैले उनको थरको उच्चारण अन्यथा हुन गएछ । सबै हाँसे । 

"यो अंग्रेजी - के- अक्षर बाट शुरु हुने थर जति एकै हुन कि के हो ? मेरो थर –खतिवडा- पनि त्यस्तै छ । कतिजनाले  - कतिवटा- भन्छन ।"
 
त्यसले फेरी श्रोतालाई प्रफुल्ल बनायो ।

नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठानका सदस्य सचिव डा. बुद्धिरत्न खड्गीलगायतले मेरो उद्घोषणको तारिफ गर्नु भयो । म दङ्ग परेँ । कार्यक्रम सकेर म कोठामा आएँ । चार्जरले काम नगरेकोले मोवाईल बन्द भयो । घरमा हालखबर आदान प्रदान हुन पाएन । म वैकल्पिक उपायहरु खोज्न थालेँ । रात्री भोजमा जान अबेर भयो ।  

म रात्रीभोज-कक्षमा पुग्दा सबैजना जमिसकेको पाएँ । एक युवतीले जँगे तरल पदार्थमा कोक मिसाउँदै गरेको देखेँ । आखिर आधुनिक देवीहरु पनि के कम ? मैले गमे । म भने बजारमा नयाँ आएको 'नरम अर्ना' अर्थात अर्ना लाईट वियर तिर लागेँ । कता बसौ भनेर आँखा डुलाउन थालेँ । त्रिदेवी बसेको एक टेवलमा मेरो ध्यान गयो । म त्यतै लम्किएँ । 

"नौरथा अर्थात नवरात्रीमा तीन देवीहरुलाई मात्र एक ठाउँमा बस्न दिनु हुन्न रे ।"
 
"किन होला त्यस्तो ?"
 
"भैरवीको रुप धारण गर्न वेर लाउँदैनन रे !"
 
"यहाँलाई हार्दिक स्वागत छ । आज राम्रो उदघोषण गर्नु भयो ।" बीचमा बसेकी देवीले स्वागत र प्रशँशा दुई फुलले मेरो स्वागत गरिन । देवीहरु प्रसन्न हुनु भनेको शुभ सँकेत थियो । 
 
"धन्यवाद ।"
 
उनीहरुसँग मिसिँदै परिचयको आदान प्रदान भयो । पोखराको एक मेडिकल कलेजमा पढाउने डाक्टर साहिवाहरु रहेछन् ।
 
"डाक्टरसँग त औपचारिक मात्रै कुराकानी हुन्छ । त्यो पनि विरामी भएको वेला । यसैले जीन्दगीमा अहिलेसम्म खुलेर कुरा गर्न पाईएको छैन ।"
 
"ल आज पाउनु भयो । धक फुकाएर बोल्नु होला ।" देवी नम्बर दुईले भनिन् ।  

तीनै जना छिमेकी मित्र राष्ट्र चीनवाट चिकित्सा विज्ञामा उच्च डिग्री लिएर फर्केका रहेछन । उनीहरु त निकै फरासिला रहेछन् । विरामीको नारी छाम्ने परम्परागत चिकित्सा पेशाधर्मभन्दा अन्य विधा अँगालेर वृत्तिविकास गर्ने सोच पालेका रहेछन् । इलम गरेर सर्वाधिक धन कमाएका नेपालका नामी ईन्जिनियर र चिकित्सकहरुको प्रसंग निस्कियो । सुई डाक्टर र फुँई डाक्टरका भेदको चर्चा मैले चलाएँ । चिकित्सकले विरामीको संवेदना र मानवीय मूल्यलाई कसरी लिएको हुन्छ भन्ने विषयमा पनि बहस भयो । गम्भीर विषयले प्रवेश पाएर श्यामश्वेत हुँदै गएको छलफलमा रंग थप्न मैले विरामी र डाक्टरको एक चुटकिला पनि सुनाएँ ।  

चुट्किला यस्तो थियो-

एक श्रीमानले श्रीमतीलाई लिएर प्रसुति तथा स्त्री रोग विशेषज्ञकहाँ गएछन् । उनीहरु त्यस दिनका अन्तिम ग्राहक बन्न पुगेछन् । नर्सले नाम दर्ता गरेर विरामीलाई भित्र पठाइदिइछन् । डाक्टरले विरामीलाई बेडमा पल्टने आदेश दिएछन् । उनले जाँच शुरु गर्नैलाग्दा विरामीले अनौठो माग राखिछिन ।
 
"डाक्टरसाहेब कृपया मेरो श्रीमानलाई भित्र बोलाउनु होस् ।"
 
"तपाईँलाई मेरो विश्वास छैन र ! म एक आदर्श र नियमले बाँधिएको पेशाकर्मी हुँ । "
 
"हजुरसँग मेरो पूर्ण विश्वास छ ।"
 
"अनि किन हजुरको श्रीमानलाई भित्र बोलाउने ?"
 
"मलाई मेरो श्रीमानप्रति एक रत्ति विश्वास छैन । किनभने बाहिर की नर्स विछट्टै राम्री रहिछिन् ।"

उनीहरु उच्च स्वरमा हाँसे । मेरो निवास रहेको स्थान कोटेश्वरमाथिबाट ठूला जहाजहरु उड्दा भुँईका आवाजहरु एकै छिन ओईलाउँछन् । त्यस्तै भयो । हाम्रो टेबलको संयुक्त हाँसोको आवाज वोईङ् भएर निस्कियो । अन्य टेवलका ध्वनी भुँईका आवाज भएर विलाए । अब केही दूरीमा उभिरहेका केही पुरुष श्रोता हाम्रो समूहमा थपिए । आजको उद्घोषकले तीन/तीन जना देवीहरुसँग एक्लै रजाईँ गरेको देखेर उनीहरुको मन सायद कुँडियो ।  देवीहरुसँग परिचय गर्ने र आफ्ना गफले उनीहरुलाई मोहित पार्नेमा प्रतिस्पर्धा बढ्यो । यस्तो बेला जँगे पेयपदार्थले उत्प्रेरकको भूमिका खेल्छ । मैले भने आफ्नो गियर घटाउन श्रेयकर सँझे ।  

गोष्ठी सम्पन्न भएको दिनमा म बिहान चार बजे नै उठेको थिएँ । सुखद संयोग जुरेको थियो । नौरथामा पोखरामा बास बसेको थिएँ । बिहान कुनै औपचारिक संलग्नता थिएन । विन्द्यवासिनीको दर्शन गर्नका लागि यो भन्दा उत्तम समय अर्को हुन सक्दैनथ्यो । म पौने पाँच बजे होटल परिसरवाट बाहिर निस्किएँ । कसरी पुग्ने त विन्ध्यवासिनी मन्दिर ? पाए बस नपाए ट्याक्सी भन्ने त थियो नै । तर प्रवेशद्वारका सुरक्षाकर्मीसँग सूचना संकलन गरेँ । उनले पृथ्वीचोकमा गएर बस परिवर्तन गर्ने सुझाए । फर्किँदा सजिलो होस् भनेर त्यो ठाँउको नामसमेत सोधेँ । "आम्पोट" रहेछ । मैले फेवातालको पुछारतिर जाने सडक समातेँ । ट्याक्सी चढेर मन्दिर परिसरमा पुग्दा मान्छेहरुको लर्को देखियो । तर अचम्म लाइनमा देवीहरु मात्रै थिए । म पनि मिसिएँ । 

"हजुरले त्यता उभिन मिल्दैन । पुरुषको लाइन यता हो ।"सुरक्षाकर्मीले मलाई सचेत गराएँ । लाममा उभिएका देवीहरु मुस्कुराए । अचेतन मनको निर्णयले अधिकांश समयमा धोका दिन्छ । "यो लाममा पुरुष किन छैनन् ?" यो प्रश्नको जवाफ खोज्न घोत्लिएको भए हाँस्य पात्र हुने थिइन । 

"जति नै दर्शन गरे पनि मन्दिर भित्रकी देवी मुस्कुराउँदिनन् । दर्शन गर्दा देवी मुस्कुराएको अनुमान गरी आफ्नै मन मुस्कुराउने हो । तर यहाँ त मन्दिरमा उभिएका साक्षात देवीहरु मुस्कुराएका छन् । त्यो मेरो क्रियाकलापले हो । यसमा हर्षित नहुने कारण छैन ।"

आफूले आफूलाई सान्त्वना दिएँ । घुमेर अर्को दिशातिरको लहरमा मिसिँए । पुरुष एक दुई जना मात्र । देवीको थानमा सरफाई भैरहेकोले एक चलायमान मूर्तिलाई ढोका बाहिर ल्याएर राखिदिएँ । यो तरिका नौलो लाग्यो । नरिवल फुटाउने पनि देवीस्थान बाहिर एउटा साँचो राखिएको रहेछ । अक्षताको टिका र ‌भित्तामा टाँसिएको ऐना खोज्न भने मुश्किल भयो । होटेल फर्किँदा भने बसमा पृथ्वीचोक हुँदै फर्किएँ ।     

पोखरा जाँदा हाम्रो सात जनाको समूह थियो । समूहमा आधा दर्जन फुँई डाक्टर थिए । सबैले जापानवाट उत्तरविद्यावारिधि शोधको कार्य गरेका अर्थात छ जना नै एन्जाका सदस्यहरु । पुष्प अधिकारी, तारा पाण्डे र  युमेद पुनको कृषिक्षेत्रसँग सम्बन्धित ज्ञाता भने रिजनभक्त कायस्थ,   कुन्दनलाल श्रेष्ठ र मेरो वातावरणसँग । 
अघिल्लो दिन मेरो ताराजीसँग यात्राबारे फोनवार्ता भएको थियो । वहाँले एक अविष्मरणीय यात्रा मन्त्रको ज्ञान दिनु भयो । "खै ! जाने त भनियो । मादल र महिला बिनाको यात्रा के रमाइलो होला र ? "

तर अलिअलि भए नि मादलको काम भने थियो । मेरो मोबाइल, ब्लुटुथ र गाडीको स्पिकरले । मैले केही व्यङ्य प्रधान श्रवण सामाग्री सुनाएँ । हाम्रो मिनिबसमा मलेखुबाट एक अधवैसेँ महिला पनि चढेकी थिइन् । उनी गाडिमा चढ्दा पनि रमाइलो सिर्जना भयो । 

"विमला नानी सर हरुलाई नमस्ते गर ।"ताराजीले आगन्तुकलाई आदेश दिनु भयो । उनले लजाउँदै भनिन्- गरिसकेँ त । "नमस्ते गर । अब अलिकता माइत लैजान लागेको कोसेली पनि निकाल । अनि सरहरुलाई बाँड ।"
मैले मौका छोपेँ । प्रत्युत्पन्न शैलीमा अभिव्यक्ति उमारेँ । त्यो तारा सरतर्फ लक्षित थियो । "हजुरले नौरथामा चेलीबेटीलाई भन्ने यही त होला, होइन र तारा सर ? "

मेरो निशाना अचुक भयो । त्यसले विमलाको लज्जा मिश्रित मुस्कानलाई तन्काएन मात्र त्यसमा रहेको गाम्भिर्यको बरफ पगालेर त्यसलाई ठट्टाको बाफसमेत बनायो । फुईँ डाक्टरसाहेबहरुको हाँसोले गाडी भरियो । विमलाको घर मलेखुबाट नजिकै रहेछ । उनी घर नजिकको एक विद्यालयमा पढाउँदी रहिछन् । 

"घटस्थापनाको दिनमा भेटिएकी देवीलाई त हामीले पो नमस्ते गर्नु पर्ने हो । या देवी सर्वभूतेषु लज्जा रुपेण संस्थिता । नमस्तस्यै । नमस्तस्यै । नमस्तस्यै नमो नम: ।"

मैले कुरोको कुलो वनाएर देवी स्तुतीसँग जोडेँ । कुरिनटारमा खाना खाएर अघि बढेपछि हामीले गर्मी महसुस गर्दै एसी चलाउने आदेश दियौँ । तर चालकले बाङ्गा कुरा निकाल्यो ।   

"हजुरहरुले साहुसँग एसी चलाउने गरी भाडा तय गर्नु भएको हो र ?"

नेपालमा रु १०० पर्ने कुनै सेवा लिन चाहनु भयो भने रु ६० सम्मको मात्र पाउनु हुन्छ । बाँकी ४० प्रतिशत सेवा लिन चाकडी गर्नु या विशेष पहल गर्नु पर्ने हुन्छ । कसैले कतै भनेको सम्झिएँ । 

"एसी नचलाउने, एसी चलाउने तर चिसो नपार्ने, एसी चलाउने अलिअलि चिसो पार्ने अनि पसिनै सुकाउने गरी एसी चलाउने गरी चार किसिमको दररेट हुन्छ होइन त गुरुजी ?"

"भाडाको शर्त निर्धारण गर्दा गाना बजाउने कि नबजाउने भन्ने पनि निर्णय भएको हुनुपर्छ ! साहुजीलाई गाना चैँ सरहरुकै मोबाइलवाट बजाउनु भएको छ भन्न नबिर्सनु ।"

हामीलाई परिस्थितिले पस्केको नयाँ विषयवस्तु अर्थात "एसी चलाउने" का बारेमा यस किसिमका एक दुई ठट्यौली सुनाए पछि गुरुजी गले । उनले चिसो हुने गरी मजैले एसी चलाए ।  

हाम्रा जापानिज अतिथीहरु थाई विमान सेवाबाट काठमाडैं ओर्ले लगत्तै आन्तरिक उडानवाट पोखरा आउने योजना थियो । तर अन्तराष्ट्रिय टर्मिनलवाट आन्तिरकमा आउनका लागि कुनै व्यवस्था नभएकोले हामीलाई चिसो पसेको थियो । फेरि फोन गरेर बुझ्दा पोखरा विमानस्थल मौसमको कारणले नखुलेको हुनाले पोखराको उडान प्रभावित हुने पक्का थियो । कथमकदाचित उनीहरुको उडान रद्द भएमा अर्को वैकल्पिक व्यवस्थाको खोजी गर्ने जिम्मासमेत हाम्रो हुन जान्थ्यो ।

हामीले अपनाउन सक्ने कुनै सजगता नभएका कारण हाम्रा अतिथिहरुले दु:ख पाउनु भनेको हाम्रा लागि लाज लाग्ने विषयवस्तु हुन सक्थ्यो । जापानिजहरु भनेका संसारकै पूर्णप्राप्तिमा रमाउने जाति हुन् । अपुरो काम गर्ने वा मिहिनेत नपुर्यापई काम अधुरो राख्ने भन्ने कुराहरु उनीहरुका कार्यसूचिमा नहुने कुरा हुन् । जापानका सार्वजनिक सेवा सुविधाहरु यिनै निर्देशक सिद्धान्तका आधारमा निर्धारित गरिएका छन् । उमेदजीले आफ्नो सन्जालको माध्यमवाट हामीलाई विकसित घटनाक्रमका बारेमा जानकारी दिन सक्ने व्यक्तिहरुसँग सम्पर्क स्थापित गरेरै छोड्नु भयो । तर भाग्यवश उडानमा एक घण्टामात्र ढिलाई भयो । हामी पोखरा पुग्नु र अतिथिहरु पुग्नु लगभग एउटै समयमा भयो ।        

यसपटकको पोखरा यात्रा घटस्थापनाको दिनमा भएको थियो । रिजनजी र मेरो कोटेश्वरमा भेट हुने र भाडाको सवारीसाधन पनि त्यहीँ बोलाउने निधो भएता पनि त्यसो भएन । कोटेश्वर आएको मात्र २००० रुपैयाँ बढी लिने माग गाडीको साहुले राखेको रहेछ । रिजनजिले ल्याएको ट्याक्सी प्रयोग गरी हामी ठमेल पुग्दा युमेदजी र कुन्दनजी भने हामीलाई पर्खिरहेको पाइयो । सवारीसाधन आउन केही बेर लाग्ने देखियो ।

हामी त्रिदेवी मार्गमा हिमालयन वैँक अघि उभिएका थियौँ । यात्राको आरम्भमा "देवी" को झझल्को सडकको नामले दिनु पनि एक सुखद संयोग थियो । सडक पारीको कफी पसलमा एक देवी देखिइन् । बिहानको समय । फुक्का भएको मन । पसलमा पाइने स्वादिलो अर्ग्यानिक कफी । अनि पसलमा अरु कोही ग्राहक नभएको अवस्था । प्राय विदेशी जाने ठमेलको पसलमा त्यहाँकी देवीले मलाई दिल खोलेर पस्कने आतिथ्यता । मेरो मन मानेन । साथीहरु पनि मानेनन् । तर म पसलतिर लम्किएँ । 

"म किन आएँ होला तपाईँको पसलमा ?"
 
"कफि पिउन त होला नि । अरु के होला र ?"

उनले मुस्कानको धर्को मजैले तन्काइन् । मान्छेले मन खुशी भएपछि नराम्रो काम गर्दैन । अरुको अहित चिताउँदैन । सकेको राम्रै गर्छ ।  मैले उनको विशिष्ट सेवा पाउने पक्का थियो । उनको घर रामेछाप रहेछ । अहिले स्नातक पढ्दै रहिछिन् । यसरी परिश्रम गर्दै अध्ययन गर्नु भनेको सर्वोत्कृष्ट हो । 'अब पढिसकेर आफ्नै पसल खोल्नु' भनेर अर्ति दिएँ । उनले ज्ञानी शिष्य झैँ मुन्टो हल्लाइन् । यो नै पोखरा यात्रामा देवी हर्षित भएको पहिलो संकेत थियो । 

आश्विन २१, २०७४
तीनकुने, काठमाण्डौ      
साभार :  http://ujyaaloonline.com/news/85501/pokharama-sakshat-devi/

No comments:

Post a Comment