Friday, May 18, 2018

‘सिसिटिभी’ ! कसको समस्या ?

डा. नवराज खतिवडा र सूर्यमान शाक्य

यही फागुन ३ गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदभार ग्रहणका क्रममा घोषणाको एउटा लिखित फाइल पल्टाएर पढ्नुभयो । अन्तिम बुँदातिर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (अंग्रेजीमा ः काउन्सिल फर टेक्निकल एजुकेशन एण्ड भोकेशनल ट्रेनिङ) को संक्षिप्त रूप उच्चारण गर्दा  ‘सिसिटिभी’ भन्नुभयो । भन्नुपर्ने थियो ‘सिटिइभिटी’ । प्रधानमन्त्रीले लिखित सामग्री पढ्नुभएको थियो । प्रधानमन्त्रीका रूपमा पहिलो घोषणामै त्रुटि हुनगयो । प्रधानमन्त्रीले उच्चारण गरेको ‘सिसिटिभी’ लाई ‘क्लोज सर्किट टिभी’ संक्षिप्त रूप ‘सिसिटिभी’ को अर्थमा धेरैले खिसीट्युरी गरे । उडाउनसम्म उडाए ।

त्यस्तो अप्रत्यासित उच्चारणलाई प्रधानमन्त्रीबाट भएको मानवीय त्रुटी वा प्राविधिक समस्याको संज्ञा दिन सकिन्थ्यो । तर दुर्भाग्यको क्षण त त्यसबेला सिर्जना भयो जब सम्माननीय प्रधानमन्त्रीका नजिकै उभिएका एकजना सहयोगी उहाँको त्रुटी सच्याइदिने आशयले नजिकै गएर फुसफुसाए । उनलाई त्यसो गर्ने निर्देशन सम्भवतः थिएन । उनले स्वविवेक प्रयोग गरेका हुनसक्थे । तर, यसले ‘करेलालाई निमको थाँक्रो’ को काम गरेको भान तात्कालीन दर्शक र पछि सामाजिक सञ्जालमा भिडियो हेर्नेहरूलाई पर्न गयो । प्रधानमन्त्रीले ती सहयोगीलाई प्रतिप्रश्न गर्नुभयो ।

‘के भनेर मैलै ?’

‘सिसिटिभी ।’ सहयोगी फेरि फुसफुसाए । भिडियो भाइरल हुनुमा यो सच्याउने काम नै मूल कारक बन्यो । प्रधाननन्त्रीले शब्द सच्याउनु भयो तर भिडियो दोहो¥याएर हेर्नेले फेरि पनि प्रमले 

‘सिसिटिभि’ नै भनेको सुने । 

फेसबुकका भित्तामा यो विषयमा केही प्रतिक्रिया आए । प्रम ओलीका समर्थक र दलका कार्यकर्ताहरूले मानवीय त्रुटि भने । मनोरञ्जनका अन्य साधनमा सोख नभएका तर राजनीतिक हास्यव्यंग्य मन पराउनेहरूले यो घटनाबाट भरपुर आनन्द लिए । भाषण र शब्द संयोजनको शिखर नेता ओलीलाई आंैलो ठड्याउन नपाएका विपक्षीले ‘पहिलो गाँसमा ढुंगा’ को संज्ञा दिएर उनको उछित्तो काड्ने प्रसंग बनाए । यस्ता प्रकरण सामान्य हुन् भनेर प्रमका सल्लाहाकार वा रणनीतिकारहरूले समस्याको जड पत्ता लगाउनेतिर ध्यान दिएनन् । शब्द चयन एवं उच्चारण र उखान टुक्का प्रयोगमा नेपालका अहिलेसम्मकै प्रधानमन्त्रीको तुलनामा केपी शर्मा ओलीको प्रस्तुति शिखरमा छ । उनका विपक्षीहरू यसमा असहमत हुँदैनन् । तर, यस्तो अनर्थ किन भयो त ? यसका पछि बहुल कारणहरू देखिन्छन् । 

पहिलो कारण हो, भाषण पत्रमा ‘सिटिइभिटी’ शब्द अंग्रेजीमा लेखिनु । यदि त्यो शब्द भाषणको अन्य अंशजस्तै देवनागरी लिपीमा र प्रत्येक अक्षरका पछि थोप्लो राखेर ‘सी.टी.इ.भी.टी.’ लेखिएको भए यस्तो नहुन सक्थ्यो । अहिले पूरै राज्य अंग्रेजीको आतंकमा छ । बच्चादेखि बूढासम्म र सडक किनाराको विज्ञापनदेखि राजनेताको भाषणपत्रसम्म अंग्रेजी अतिक्रमणको शिकार भएका छन् । देवनागरी लिपीमा मात्रै लेखिएका कागजात अब पुराताŒिवक महŒवका दस्तावेज भएका छन् । यो रचना तयार पारिएको दिनसम्म प्राविधिक शिक्षा तथा तालिम परिषद्को वेबसाइट अंग्रजी भाषामा मात्र थियो । अंग्रेजी आतंकको यो समयमा नेपाली भाषामा वेबसाइट नहुनु कुनै अनौठो कुरो भएन । 

यस्तै नेपाल सरकार मातहतका कतिपय कार्यालयका साइनबोर्डमा पनि अंग्रेजी भाषा मात्र प्रयोग भएको पाइन्छ भने अधिकृतदेखि मन्त्रीसम्मका विजनेस कार्डसमेत अंग्रेजीमा छन् ।  

दोस्रो, भाषण लेख्ने व्यक्तिले भाषणपत्र वाचन गर्दा के समस्या आउनसक्छ भन्ने विषयमा पूर्वानुमान गरेर सावधानी नअपनाउनु । यो आलेखका एक लेखक सूर्यमान शाक्यलाई कुनै समयमा नेपालका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भाषणपत्र तयार गर्ने अवसर परेको थियो । भाषण तयार गर्ने अक्षरको आकार दुई हरफबीचको अन्तर र कहाँ रोकिने हो आदि विषयमा गहन विचार गरी तयारी गर्नुपर्छ । रोकिनुपर्ने ठाउँमा थोप्लाको लहर बनाउन सकिन्छ । 

सन् १९९४ को विश्व वातावरण दिवसमा राष्ट्रका नाममा सन्देश दिने कार्यक्रम थियो । गिरिजाप्रसाद प्रधानमन्त्री भएकाले वातावरण संरक्षण परिषद्का पदेन अध्यक्षसमेत हुनुहुन्थ्यो । सन्देशको लिखत तयार पार्ने मूल जिम्मा सदस्य सचिवको हैसियतले शाक्यको थियो । सन्देशका प्रमुख आकर्षणमा पेट्रोलले चल्ने सवारी साधनले फ्याक्ने धुँवामा कार्वन मोनोअक्साइडको अंश ३.५ र डिजेलले चल्ने सवारी साधनको हृयुज स्मोक युनिट अर्थात् यच यस यु को अंश ६५. ५ हुनुपर्ने थियो । सन्देशमा यी प्राविधिक शब्दहरू राख्नाले प्रमलाई कठिनाइ हुनसक्थ्यो । नराख्नाले सन्देशले अपेक्षित गरिमा नपाउन सक्दथ्यो । प्राविधिक र राजनीतिक सीमाको यो लक्ष्मणरेखा नबुझी भाषण लेख्ने वा अरू काममा अपनत्व लिने प्रथा नै समकालीन नेपालको सबैभन्दा ठूलो दुर्गुण हो । ‘सिसिटिभी’ दुर्घटनाले यही शिक्षा दिएको छ । 

नेपालमा भाषण लेख्ने काममा या त अयोग्य सावित भएर विषादग्रस्त मनस्थिति बोकेको कर्मचारी वा आफ्नो विश्वासपात्र नातेदार सहयोगीलाई खटाइन्छ । यस्ता पात्रलाई भाषण कलाको वा लेखनको ज्ञान हुनु त परै जाओस् यस्तो विषयमा विज्ञताको जरुरी पर्छ भन्ने चेतसमेत हुँदैन । 

पञ्चायती व्यवस्थाकालको भाषणपत्र लेखनको एक रोचक प्रसंग लोकप्रिय लेखक धनुषचन्द्र गोतामेले उल्लेख गरेका छन् । गोतामे प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालका सहयोगीका रूपमा काम गर्थे । राजा वीरेन्द्रले संविधान दिवसमा बोल्ने भाषण लेख्न रिजाललाई अहराएका रहेछन् । रिजालले कलमजीवीका रूपमा ख्याति कमाएका गोतामेलाई यो कामको जिम्मा दिएछन् । राजदरबारले नेपाली राजनीतिका अर्का खेलाडी तुलसी गिरीलाई पनि त्यही भाषण लेख्न लगाएको रहेछ । तलकाले राजाको यो चलाखीपनको भेउ पाउने कुरो थिएन । 

गोतामे लेख्छन्न् ‘त्यो दुईपाने लिखत तयार पार्न मलाई जुन परिश्रम गर्नुप¥यो र जति मथिंगल हुडल्नु प¥यो त्यति गाह्रो मलाई चारसय पानाको उपन्यास लेख्दा पनि परेको थिएन ।’

त्यसबेला यदि राजाले तात्कालीन प्रमले तयार गरेको भन्दा अन्यको भाषण पढ्नुको अर्थ प्रमको पदरिक्तताको संकेत मिल्ने रहेछ । धन्य ¤ उनको लेखनले धर्म थामेछ । राजाले रिजालले दिएको भाषण नै पढेछन् ।

तेस्रो, प्रवचनका क्रममा कर्मचारी वा निकटतस्थ व्यक्तिले क्षति न्यूनीकरण गर्ने उद्देश्यले गरेको अनियोजित हस्तक्षेप । भाषण सकिएपछि प्रमको अनुमति लिएर उद्घोषकले ‘प्रमको सम्बोधनमा सिटिइभिटीको उच्चारणमा अन्यथा हुन गएको’ भनी दर्शकसँग याचना गर्नसक्थे । यसो हुँदा यो सामान्य मानवीय त्रुटीको कित्तामा मात्र सीमित हुन्थ्यो र यत्रो खैलबैला हुने थिएन । हाम्रो समाजमा या राज्य सञ्चालनको कित्तामा भएका यस्ता दृष्टान्तले श्रीमद्भागवत गीतामा भगवान् कृष्णले भनेको एउटा भनाइको संस्मरण गराउँछन् । 

‘जतिसुकै अनुष्ठान गरिएको अरूको धर्मभन्दा आफ्नै धर्मपालना जाती हुन्छ । बरू आफ्नो धर्म पालना गर्दागर्दै निधन भयो भने त्यो श्रेयकर हुन्छ तर अरूको धार्मिक कित्ताको प्रवेश भयाभय हुन्छ ।’ 

यहाँ त अधिकांश परिवेशमा गीतामा भनिएको भन्दा उल्टो हुन्छ । सहयोगीलाई पदासीन प्रमुखभन्दा जान्ने भएको अभिनय गर्नुपर्छ । कनिष्ठ कर्मचारी आफ्नो पदीय जिम्मेवारीभन्दा हाकिमको कर्तव्यमा बढी सजग हुन्छ । यसरी ‘खुकुरीभन्दा कर्द लाग्ने’ भनेजस्तो हुन्छ र राजनेतासमेत असफल बन्ने गरी भड्खालोे सिर्जना हुन्छ । 

प्रम ओलीलाई भाषणमा त्रुटी भयो भनेर बिथोल्ने कर्मचारीको राजाको कार्यकालमा भएको भए हरिबिजोग हुने थियो । प्रथमतः यदि राजाले भाषण गर्दा कुनै गल्ती गरेका भए पनि कानमा गएर फुसफुसाउने हिम्मत कसैको हुने थिएन । राणाकालमा झन् के हुन्थ्यो होला ? राजसंस्थामा राजनीतिगत कमजोरी अवश्य थिए होला तर पदीय जिम्मेवारी बोध र सार्वजनिक समारोहहरूको गरिमा अहिलेको तुलनामा उच्च कोटीको थियो । 

बहुदल आइसेकपेछिको प्रसंग हो । विश्व पानी दिवसको उपलक्ष्यमा एक समारोहको आयोजना गरिएको थियो । प्रमुख अतिथि थिए तात्कालीन भौतिक योजनामन्त्री बलबहादुर राई । उनलाई पनि लिखित भाषण पढ्न दिइएको थियो । उनले ‘खानेपानी’ लाई ‘र वा ने पानी’ भनेर पढे । यसले त्यहाँ मात्र हाँसो सिर्जना भएन अहिले पनि त्यो भाषण सम्झेर हाँस्नेहरू छन् । 

प्रश्न त्यो प्रकरणमा भाषण गर्ने वक्ताको त्रुटि कति हो ? के त्यो त्रुटि रोकथाम गर्ने उपाय थियो ? के भाषण लेख्ने वा समारोहको आयोजना गर्ने पदाधिकारीहरूलाई यस्तो हुनसक्छ भन्ने चेत थियो ? आजभोलि नेताका भाषण लेख्नेहरूले यस्ता विषयको अध्ययन गर्ने गरेका छन त ? के यस्ता सम्भावित जोखिमको आकलन गरी भाषणकर्तालाई सचेत गराउनु जरुरी हुन्छ ? 

यो लेखका सहलेखक डा. नवराज खतिवडाले एकपटक स्विस फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजीका पूर्वअध्यक्षसँगको भेटमा एक जिज्ञासा राखेका थिए । लेखकसँग विश्व प्रसिद्ध त्यस शैक्षिक संस्थामा दुई कार्यकालको अनुभव थियो ।  

‘तपाईंले बृहत् सभाहरूलाई सम्बोधन गर्ने भाषण पत्रको तयारी कसरी हुन्थ्यो ?’
उनले जवाफमा भनेका थिए । 

‘चामत्कारिक भाषण भनेको कुशल नेतृत्वको एक ब्रहृमास्त्र नै हो । मैले यो बुझेको थिएँ । यसैले मैले यो कामका लागि लेखनकलाका उस्ताद एक प्राध्यापकलाई जिम्मा लाएको थिएँ ।’

नेपालकै सन्दर्भमा पनि राम्रा भाषण नभएका होइनन् । हरेक वर्ष गरिने अर्थमन्त्रीहरूका भाषणलाई उदाहरणको रूपमा लिन सकिन्छ । अर्थमन्त्रीको भाषण केही मिनेट नभएर झण्डै दुई घण्टा लामो हुन्छ । तर, अहिलेसम्म फेसबुकमा भिडिओ भाइरल हुनेगरी कुनै अनर्थ भएको अभिलेख छैन । अर्थ मन्त्रालयमा महिनौंदेखि गरिने तयारी, पूर्वाभ्यास र परम्परागत संस्कारले यसो भएको हुनसक्छ ।  

अवश्य नै हो, पदीय जिम्मेवारी बोकेको एक कर्मचारीले टिप्पणी उठाएको जस्तो शब्दको थुप्रोले दर्शक या श्रोताको मन जित्न सक्दैन । यसैले विशिष्ठ भाषणमा सुन्नेको हृदय छुने आवेग पनि हुनुपर्छ । यो मनोभाव बुझ्नका लागि लाखौं श्रोतालाई घण्टौं एउटै थलोमा मन्त्रमुग्ध पार्नसक्ने शैली र समकालीन परिप्रेक्ष्यको गहन अध्ययन हुनु जरुरी छ । जीवनमा एक शब्द पनि नकोरेका व्यक्तिबाट राष्ट्रलाई सम्बोधन गर्ने र लाखौं जनतासम्म पुग्ने सारगर्वित भाषणको अपेक्षा गर्नु भनेको मुर्खताबाहेक अरू केही हुन सक्दैन् । 

अर्थशास्त्रका नोवेल पुरस्कार डेनियल कानेम्यानले मान्छे कुनबेला यान्त्रिक भएर सोच्दछ र कुनबेला सतर्कताका साथ आफ्ना क्रियाकलाप गर्छ भन्ने विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार लामो समयसम्म बानी परेको या रटेको या कुनै जोखिमको अनुमान नभएको अवस्थामा यान्त्रिक भएर काम गर्छ । यस्तोबेला उसले शतप्रतिशत ध्यान आफूले गरेको काममा नदिएको हुनसक्छ । 

भर्खरै पदभार ग्रहण गरेर मन्त्रिमण्डल पनि विस्तार गर्न नसकिरहेका र माओवादीसँग राजनीतिक गठबन्धनको गृहकार्यमा रहेका प्रधानमन्त्रीलाई परिषद्को कुनै झिनोमसिनो सभामा सम्बोधन गर्दा उनले उच्च सतर्कता नअपनाउनु स्वाभाविक थियो । यसलाई उनले आफूलाई गर्नुपर्ने कामको मिहिनेतका रूपमा लिनु कुनै अनौठो होइन । प्रधानमन्त्रले पढ्ने सामग्री वा भाषण लेख्ने कर्मचारी वा सहयोगी र सच्याउने व्यक्तिको भने प्रवृत्तिमा शंका गर्नु स्वभाविक हुनजान्छ । प्रश्न यो प्रकरणबाट कसले कति आनन्द लियोभन्दा पनि कसले कति शिक्षा लियो भन्ने हो । 

 http://ehimalayatimes.com/bichar-sahitya/22245

No comments:

Post a Comment