काठमाण्डौ विश्वविद्यालयको नयाँ उपकुलपति छनौटको प्रकृया आम चासो र वहसको विषय भएको छ । छापाहरुमा उल्लेख भए अनुरुप काठमाण्डौ विश्वविद्यालयको कल्पनालाई मूर्त रुप दिने तथा शून्यको स्थितिवाट अहिलेको वर्तमान स्वरुप सम्म डोर्याउने नायक प्रा. सुरेशराज शर्मालाई अप्रत्याशित रुपमा बाध्यात्मक वहिर्गमनको परिस्थिति सिर्जना गरियो । केही विश्लेषकहरु अन्य शैक्षिक सँस्थाहरुमा देखिएका उपकुलपतिको राजिनामा सम्बन्धित ताण्डव नृत्यहरुको तुलनामा यो त सभ्य नै हो भनि तर्क गर्लान् । तर सभ्य खेलको नियम सिर्जना गर्न सिकाउने थलोमा भएका यस्ता गतिविधिमा भएको अशोभनियताको लेखाजोखा ईतिहासले नै गर्ला । यस अर्थमा पनि नँया उपकुलपतिको चयनलाई काठमाण्डौ विश्वविद्यालयको ईतिहासमा एउटा कुईनेटोको रुपमा स्थापित गर्नु पर्ने आवश्यकता सम्पूर्ण सरोकारवालालाई खट्केको हुनु पर्छ । यस्तै विभिन्न दृष्टिकोणवाट हेर्दा समग्रमा अब्बल देखिएको काठमाण्डौ विश्वविद्यालयको नँया उपकुलपतिको चयन प्रकृया नेपालको प्राज्ञिक क्षेत्रमा एउटा दृष्टान्त भएर रहने हुँदा यो विषयमा गम्भिरतापूर्वक विचार विमर्श गर्नु जरुरी देखिन्छ ।
कस्तो उपकुलपति ? यो प्रश्नको उत्तर खोज्नु पूर्व उपकुलपतिको कार्यसूचि के हुनु पर्छ भन्ने सवालको जवाफ आवश्यक पर्दछ । विश्वविद्यालयको उपकुलपतिको भनेको पूर्णकालिन प्रमुख कार्यकारी अधिकृत हो । विश्वविद्यालय एक सार्वभौम सम्पन्न निकाय भएकोले अधिकार र उत्तरदायित्व दुवैको हिसावमा उपकुलपति अझ विशिष्ट हुन्छ । यसर्थ कुलपतिको कार्यसूचिको सबैभन्दा महत्वपूर्ण पाटो भनेको विश्वविद्यालयका लाभान्वित वर्गलाई सवल र सक्षम नेतृत्व प्रदान गर्नु हो ।
विश्वविद्यालयको दैनिक प्रशासन र नियमित गतिविधि सन्चालन सम्बन्धित सर्वोपरी अधिकार प्रयोग र निर्दिष्ट उत्तरदायित्व वहन गर्नु कार्य सूचिको दोस्रो महत्वपूर्ण पक्ष हो । यस अनुरुप पठनपाठन, परीक्षा सन्चालन जस्ता प्रत्येक दिन समयतालिकाबमोजिम सन्चालन हुनु पर्ने कृयाकलाप तोकिएको मापदण्ड वा नियम मुताविक भईरहेको छ/छैन भनी निश्चित गर्ने जिम्मा पनि उनको कार्यक्षेत्रमा पर्छ ।
तेस्रो, विश्वविद्यालयमा विद्यमान थिती र प्रणालीको सूक्ष्म अध्ययन गरी त्यसमा भएका विसँगति र अप्ठ्याराहरुको पहिचान गर्ने हो । जडसुत्रवादी प्रवृति र विद्यमान सँरचनामा अन्तरनिहित जड तत्वहरुलाई चिरेर त्यसलाई अग्रगामी दिशामा डोर्याउने कार्य पक्कै पनि कठिन हुन्छ भन्ने सवाललाई आत्मसात गरी यस दिशामा सशक्त दृष्टिकोण, रणनीति र कार्यनीति निर्माण गरी त्यसै अनुरुप अघि वढ्नु अत्यावश्यक हुन्छ ।
चौथो, आफ्नो मातहतका वेतनभोगी सेवकहरु सँग सम्बन्धित छ । अब्बल दर्जाका सक्षम शिक्षक र कर्मचारीको पहिचान गर्ने, खुला प्रतिस्पर्धा मार्फत नियुक्ति गर्ने, तिनीहरुको क्षमता अभिवृद्धि गर्ने र अक्षमलाई पदवाट हटाउने दायित्व पनि उपकुलपतिकै हो । राजनैतिक सँरक्षण, स्थानिय समुदायको वा युनियनको दवावमा विश्वविद्यालयको दुरदृष्टि विपरीत स्वार्थ केन्द्रहरुको निहित फाईदाका लागि काम गर्ने वा निकम्मा र अनुत्पादक कर्मचारी भर्ना नगर्ने र तिनलाई पोषण नगर्ने, जागिरे मनोवृतिले समय कटाउन विश्वविद्यालय धाउनेहरुलाई प्रश्रय नदिने नीति वनाई त्यसको अक्षरस पालना गर्ने उपकुलपतिको कार्यसूचीभित्रै पर्छ ।
कार्य सूचिको पाँचौ विषय विश्वविद्यालयको दिगो विकासका लागि सवल आर्थिक सँयन्त्रको खोजी गर्ने हो । खासगरी विद्यार्थीको शुल्क र दाताको अनुदानमा सिमित भएको विश्वविद्यालयको आयश्रोतलाई कर्पोरेट क्षेत्र र पूर्व विद्यार्थीको सन्जाललाई प्रयोग गरी थप आयश्रोतहरुको खोजी गर्नु अपरिहार्य हुन आउँछ ।
छैँटौ, उत्तराधिकारीहरुको चयन प्रकृयालाई वस्तुनिष्ट वनाउने । उपकुलपति लगायत अन्य विशिष्ट पदाधिकारीहरुको चयन र नियुक्तिमा हाल देखिएको अनिश्चितता र पूर्वानुमान गर्न नसकिने परिस्थितिलाई अन्त्य गर्नका लागि उत्तराधिकारीहरुको छनौट गर्ने, उनीहरुको क्षमता अभिवृद्धि गर्ने र पदभार हस्तान्तरण पूर्व निश्चित समयावधि सम्म समानान्तर कार्य गर्ने प्रणालीको विकास गर्ने कार्य पनि उपकुलपतिकै दायित्वभित्र पर्दछ ।
अव प्रश्न के उब्जिन्छ भने कार्यसूचीका यी माथी उल्लिखित विषयहरुलाई सहजताकासाथ सम्बोधन गर्न सक्ने उम्मेदवारमा कस्ता कस्ता विशेषताहरु हुन जरुरी छ ?
सामान्यतया विश्वविद्यालयमा प्राप्त हुने सबैभन्दा विशिष्ट उपाधि विद्यावारिधिको डिग्री हासिल गरेको र आफ्नो विधामा उत्कृष्टता हासिल गरेको व्यक्ति मात्र उपकुलपतिको उम्मेदवारको रुपमा चयन गर्नु जरुरी छ । तर यहाँ स्मरणिय प्रसँग के छ भने जागिर खाने मनोवृति भएको वर्षौ देखि एउटै पाठ्यक्रममा केन्द्रित भई आफूलाई “कर्मकाण्डिय दर्शन” मा सिमित राखेको व्यक्ति पनि उपयोगी हुदैन् ।
पौराणिक कथाहरुमा उल्लेख भए झै तत्कालिन परिस्थितिमा उत्पन्न प्रलयलाई नाश गर्न या एउटा विशिष्ट प्रकृतिको एतिहासिक अनुष्ठान सम्पन्न गर्न अवतारको प्रार्दुभाव भए जस्तो उपकुलपति पनि निर्धारित समयमा विश्वविद्यालयलाई एउटा निश्चित कोशेँढुगामा पुर्याउन सक्ने एक आदर्श व्यक्तित्व हुनु जरुरी छ । उपकुलपति भनेको विश्वविद्यालयको राजनेता हो, अगुवा हो, नाईके हो जसको मार्गदर्शनलाई अनुयायीहरुले अनुसरण गर्छन् ।
अनुयायीहरुका लागि आदर्श व्यक्ति भनेको आफू सँलग्न भएका गतिविधिमा अग्रपङ्कतिमा देखिएका अगुवाहरु हुने हुनाले सकेसम्म विश्वविद्यालयका गतिविधिमा उपकुलपतिले आफूलाई औपचारिक रुपमा प्रदर्शन गर्न सक्नु पर्छ । सार्वजनिक समारोहमा उपस्थिति भई वा ईमेल, नियमित प्रकाशन, वा सार्वजनिक वक्तव्य मार्फत विश्बविद्यालयका दृष्टिकोण वा उपलब्धिहरुलाई प्रसारण गर्नु पर्छ । उपकुलपति जति नतिजामूखी वा उत्पादनमुलक हुन्छ त्यसले अनुयायीहरुलाई प्रेरणा मिल्छ । यसकारण यसो गर्नकालागि उपकुलपतिको व्यक्तिगत समय व्यवस्थापन चुस्त र दुरुस्त हुन जरुरी छ ।
अवको उपकुलपति हुने व्यक्तिको लागि काठमाण्डौ विश्वविद्यालयको चार वर्षको पदावधि भनेकै उस्को जीवनकालको सवैभन्दा गरिमामय कालखण्ड हुन सक्छ । त्यसकारण उसमा विशिष्ट ईच्छा शक्ति, उच्च आत्मविश्वास वा नतिजामुखी सँकल्प गर्न सक्ने सामर्थ्य हुन जरुरी छ । म कुनै पनि परिवेशमा पलायनवाद तिर लाग्दिन् । पेशागत आदर्शलाई मुल मन्त्र मानेर काम गर्छु । व्यक्तिगत स्वार्थ, नीजि फाईदा र थिति विगार्ने पहलका विपक्षमा उभिन्छु भन्ने सँकल्प गर्न सक्ने व्यक्तित्व हुनु पर्छ । कुनै पनि समस्या वा चुनौतिको सामना गर्नका लागि मौलिक समाधानको कल्पना गर्न नसक्ने र शक्ति केन्द्रहरुको आडमा विवेकहिन उन्मादको प्रदर्शन गर्ने व्यक्ति उल्लेखित पदको लागि घातकसिद्ध हुनेछ ।
उपकुलपतिमा चामत्कारिक हिसाबको सर्वमान्य अवधारणमा आधारित निर्णय लिन सक्ने क्षमता हुन जरुरी छ । जस्तोसुकै प्रतिकुल अवस्थामा होस या सामान्य अवस्थामा होस उसमा यस सन्दर्भमा विलक्षण प्रतिभाको नै रुप हुन जरुरी छ । आवश्यक परेमा आफ्ना परामर्शदाताहरु वा पेशाविदहरु सँग तुरुन्नै सम्पर्क गरी निचोडमा पुग्ने कला पनि उसमा हुनु जरुरी छ । समस्या पर्दा वा चुनौतिको सामना गर्दा प्रतिकृयात्मक टिप्पणी व्यक्त नगर्ने, नैराश्यले छोएको या हतोत्साही भएको झलक कहिले पनि नदिने, आगन्तुकका कुरा सुन्ने वा मर्का बुझ्ने, औपचारिक वा अनौपचारिक भेटघाटलाई उत्पादनमुलक र वस्तुनिष्ठ वनाउने खुबी भएको उपकुलपतिका लागि सुहाउँछ । आफूले विश्वविद्यालयमा अर्पेको समयको कुनै पनि अवसर मुल्य वारे सचेत हुने पनि हुनु पर्छ ।
उपकुलपतिमा व्यक्तित्व चिन्ने गुण हुनु पर्छ । साझा लक्ष्य प्राप्तिका लागि के काम गर्नु आवश्यक छ र त्यो कसले के गर्न सक्छ भन्ने प्रश्नको उत्तर निमेषभरमानै दिने र कसैलाई कार्यादेश दिई सकेपछी उसबाट उच्च गुणस्तरको नतिजा प्राप्त गरेरै छोड्ने कौशलत समेत उनमा हुनुपर्छ । विश्वविद्यालयको प्रणाली भित्र प्रवेश गरीसकेका कामचोर र नीजि स्वार्थको पछि हिड्ने व्यक्तिहरुको पहिचान गरी तिनीहरुको प्रवृतिमा समेत व्यापक सकारात्मक परिवर्तन ल्याउन सक्ने विशेषता उपकुलपतिमा हुनु जरुरी छ ।
भावनात्मक स्थायित्व अर्को महत्वपूर्ण विशेषता हो । एउटा राजनेता जसरी भावनात्मक रुपमा अविचलित हुन्छ र आफ्नो विचार प्रवाहमा चिन्ता, पिडा, नैराश्यता, वैरभाव वा ईर्ष्या का अँशहरुलाई प्रदर्शन गर्दैन त्यस्तै विशेषता पनि उपकुलपतिमा हुनु जरुरी छ । शास्त्रले यस्तो व्यक्तिलाई स्थितप्रज्ञ सन्तको रुपमा कल्पेको छ ।
दु:खेष्वनुद्विग्नमना: सुखेषु विगत स्पृह: ।
वीतरागभयक्रोध: स्थितधीर्मुनिरुच्यते ।।
( गीता २/५६)
यसको विपरित कुनै प्रसँग या परिस्थितिमा सन्दर्भ मिलाएर रमाईलो पन थप्न सक्ने कौशलता उपकुलपतिमा हुनु जरुरी छ ।
उल्लेखित कार्य सूचिमा सँलग्न गरिएका वुँदाहरु र तीनका आधारमा प्रस्तुत गरिएका विशेषताहरु पक्कै पनि एउटै व्यक्तिमा पूर्ण रुपमा उपलब्ध नहुन सक्छन् । तर यसका आधारमा हाल चर्चामा रहेको वहसको विषय “काठमाण्डौ विश्वविद्यालयको उपकुलपति चयन” मा पाठक वर्गले एक अवधारणा वनाउन सक्ने छन् भन्ने विषयमा दुई मत नहोला । यस्तै अन्य विशेष दायराको वा छनौट प्रकृयाका सन्दर्भ ग्रन्थ या सर्वमान्य दस्तावेजहरुको उपलब्धता नहुँदा छनौट समितिले समेत यस लेख वाट केही सहयोग लिन सक्ने छ भन्ने अपेक्षा गरीएको छ ।
(डा. खतिवडा काठमाण्डौ विश्वविद्यालयका सह प्राध्यापक हुन भने डा. आचार्य टोकियो स्थित नेसनल ग्रयाजुयट इन्स्तीत्युत अफ पोलिसी स्टडिज (ग्रीप्स)का अतिथी प्राध्यापक हुन् । )
लेखक: डा. नवराज खतिवडा / डा. सूर्यराज आचार्य
प्रकाशक : कान्तिपुर दैनिक
प्रकाशित मिति: बिहिवार, १४ मँसिर २०६९
practical reflection
ReplyDelete