प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पारित गराइँदा सभामुख कृष्णबहादुर महराले ‘हुन्छ’ को साटो ‘हुन्न’ भन्ने शब्द उच्चारण गरे । अन्यथा हुनगयो भनी सम्बन्धित कर्मचारीले भन्दासमेत सभामुखले गल्ती सच्याउन तत्परता देखाएनन् ।
त्यसको भिडियो टेप भाइरल भयो । विधेयकलाई पारित गराउने जस्तो विशुद्ध प्राविधिक काममा समेत असक्षमता प्रदर्शन हुनु सामान्य घटना होइन ।
नेता र उनका अनुयायीमा हुने एउटा तात्त्विक भिन्नता ‘प्रत्युपन्न बुद्धि’को अंश धेर र थोर हुनु हो । भैपरी आएको परिस्थितिमा दूरगामी प्रभाव छाड्न सक्ने निर्णय बिजुलीको चमकमा गर्ने नेताले नेतृत्वको ठाडो भर्याङ चढ्न सक्छ । सभामुखको कमजोरीले अर्थको अनर्थ हुनगयो । यो अनर्थ घटनाबाट नेपाली राजनीतिका मियो हुनचाहनेले के सिक्न सक्छन् ? यस्तो संकट वा आकस्मिकता सामना गर्न अपनाइने नेतृत्व विज्ञानसँग जोडिएका केही रणनीतिबारे जानकारी राख्न जरुरी हुन्छ ।
न्युयोर्क सहरका पूर्वमेयर र हाल अमेरिकाका राष्ट्रपतिका लागि महान्यायाधिवक्ता रुडी जुलियानीले ‘संकटमा नेतृत्वको भूमिका’ शीर्षकको आलेख लेखेका छन् । उनका अनुसार हरेक नेतामा जोखिम मोल्ने र काममा गल्ती भए जिम्मेवारी लिने इच्छाशक्ति हुन जरुरी छ । संकटको घडीमा नेताले दिएको प्रत्युत्तरले कस्तो नतिजा निकाल्छ भन्ने विषयले विधि र प्रक्रियामा गरिएको अभ्याससँग सिधा सम्बन्ध राख्छ । नेपालमा नेतृत्व पङ्क्तिमा यस्तो संस्कार बसेको छैन ।
‘जोखिम पूर्वानुमान’, ‘गल्ती स्वीकारोक्ति’, ‘क्षति न्युनीकरण रणनीति’, ‘अपेक्षित नतिजाका लागि विधि–प्रक्रियामा अभ्यास’ जस्ता रणनीतिक महत्त्वका सवालमा न नेता, न तिनका सल्लाहकार नत कर्मचारी जानकार छन् । उनीहरू यस्ता विषयमा विज्ञसँग सल्लाह लिन पनि अघि सर्दैनन् ।
नेपालका प्रधानमन्त्रीले एक लाख डलर बराबरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ पुरस्कार पाए । पुरस्कार विवादास्पद एसिया प्यासिफिक शिखर सम्मेलनमा वितरण भएको थियो । म्यानमार र कम्बोडियाका सरकार प्रमुखहरूको समेत सहभागिता भएको उक्त सम्मेलनमा नेपालका पूर्वप्रधानमन्त्री लगायत ठूलो संख्यामा उच्च तहका नेतागण उपस्थित थिए ।
सार्क वा बिमस्टेकजस्ता क्षेत्रीय महत्त्वका सम्मेलनहरू आयोजना हुँदा महिनौंदेखिको पूर्वतयारी र प्रचार–प्रसार देखेसुनेका जनताले विश्व शान्ति स्थापनाको हौवा पिटेर आयोजना गरिएको सम्मेलनको औचित्य र आधिकारिकतामा औंलो ठड्याउनु स्वाभाविक थियो । विश्व शान्ति, जलवायु परिवर्तन र शासकीय सुधारजस्ता विषयमा छलफल चलाएको भनिएको उक्त सम्मेलनको औपचारिक गठनादेशमा प्रश्नचिन्ह लाग्यो ।
जलवायु परिवर्तनजस्ता विश्वव्यापी रूपमा वैज्ञानिक र राजनीतिक कित्ता ओगटेका विषयहरूमा सम्मेलन गर्ने र सर्वमान्य अवधारणा सिर्जना गर्ने काममा वर्षौंदेखि संयुक्त राष्ट्र संघजस्ता वैधानिक निकायहरू संलग्न छन् । नेपालका कतिपय सरकारी निकायमा यस्ता कार्यका लागि औपचारिक एकाइहरूसमेत गठन गरिएका छन् ।
‘प्रधानमन्त्रीलाई १ करोडको पुरस्कार दिलाउन राज्यकोषबाट १५ करोड खर्च गरियो ।’ ‘होली वाइन पिएर नेताहरूले क्रिस्चियन धर्म अँगाल्ने दिशामा पहिलो चरण पार गरे ।’ यस्ता हल्ला र आशंका निवारण गर्न औपचारिक पहल भएन । सम्मेलनमा सहभागी भएका उच्चपदस्थ नेतागण र प्रधानमन्त्रीका सल्लाहकारले सम्मेलन आयोजनाले ‘विश्वमा सकारात्मक सन्देश गएको’ भनी ठाडो बचाउ गरे ।
यहाँनिर विख्यात नेता अब्राहम लिंकनको भनाइ सान्दर्भिक ठहर्छ, ‘सबै जनतालाई केही समय मूर्ख बनाउन सकिन्छ, केहीलाई सधैंका लागि । सबै जनतालाई सधंैका लागि मूर्ख बनाउन सकिन्न ।’
जनतालाई मूर्ख बनाउन खोज्ने नेताको ढिलो–चाँडो राजनीतिक अवसान हुन्छ । यसकारण सफलताको शिखर चुम्ने नेताले ‘कौशलताको अस्त्र’ प्रयोग गरी सदैव राजनीतिक पुँजी वृद्धि गर्ने दिशामा अहोरात्र ध्यान केन्द्रित गर्छन् ।
विगत केही दशकमा ‘नेतृत्व कौशलता’ विषयमा बृहत अनुसन्धान भएको छ । व्यवस्थापन लगायत धेरै विधामा उच्चशिक्षाको तहमा यी विषयको अध्यापनसमेत हुन्छ । लाखौं जनतालाई प्रेरित गरेर चामत्कारिक काम कसरी गर्न सकिन्छ, कस्तो व्यक्तिले अर्बौंको कारोबार हुने व्यापार व्यवसाय र हजारौंको संख्यामा कर्मचारी भएको प्रतिष्ठान हाँक्न सक्छ, उसले ‘गर्न हुने’ र ‘गर्न नहुने’ कामकारबाही के–के हुन् जस्ता विषयको अन्तरवस्तु विश्लेषण गरी विभिन्न सर्वमान्य सिद्धान्त निर्माण गरिन्छ ।
अध्ययनले भन्छ, सर्वोच्च नेता वा प्रमुख कार्यकारीले गर्नुपर्ने दुई प्रमुख कार्य हुन्– परिणाम निकाल्ने र अनुयायी वा कर्मचारीलाई प्रेरित गर्ने । यी दुवै काममा विशिष्टता हासिल गर्न लरतरोले सक्दैन । यसकारण विभिन्न किसिमका नेतृत्वको वर्णक्रममा निरंकुुशदेखि उदारवादी नेतासम्म पर्छन् । परिणाममुखी नेताको कित्तामा सैनिक प्रमुख वा इमानदार तानाशाह पर्छन् भने उदारवादीको कित्तामा जननेता वा सार्वजनिक संघ–संस्थाका प्रमुख पर्छन् ।
चीनका नामुद व्यपारी ज्याक माको सम्पत्ति ३६ अर्ब अमेरिकी डलर छ, जुन नेपालको अहिलेको कुल गार्हस्थ्य उत्पादनभन्दा डेढ गुणा बढी हो । मा स्नातक तहको पढाइ सकेपश्चात अंग्रेजी पढाउने शिक्षकका रूपमा काम गर्थे । कसरी गरे उनले यो चमत्कार ? सामान्य शिक्षकबाट चीनको सबभन्दा धनी व्यक्ति बनेका मा लगायतका सफल नेताहरूको नेतृत्व यात्रालाई पाठ्य–पुस्तकमा ‘लिडरसिप लेबिरिन्थ’को उपमा दिएर व्याख्या गरिन्छ । लेबिरिन्थ भनेको भुलभुलैयाजस्तो प्रतित हुने कठिन मार्ग हो, जसको अन्तिम बिन्दुमा उच्चकोटीको सफलता हुन्छ ।
‘नेतृत्व यात्रा’ सामान्यजनको ‘चियाको कप’जस्तो विषयवस्तु होइन । आइफोन र आइप्याडजस्ता आधुनिक विद्युतीय उपकरण भित्र्याउने व्यापारिक क्षेत्रका वादशाह स्टिभ जब्स वा आधुनिक सिंगापुर बनाउने ली क्वान युलाई पनि चामत्कारिक नेताका रूपमा विश्वले चिन्छ ।
अर्को दृष्टान्त विवेकशील साझा पार्टीको फुट हो । ‘विवेकशील साझा’का उच्चपदस्थ नेतागणले मतभेद हुनमा फुटेर गएको समूहको दोष भएको जनाएका छन् । फुटेर ‘विवेकशील नेपाली’को नाम दर्ता गरेको नयाँ दलका अगुवाले माउ समूहको दोष देखाएका छन् । कुनै पनि समूहले ‘यो हाम्रो नेतृत्व असफलता हो’ भनी स्वीकारेका छैनन् । विश्लेषकहरूले समेत पार्टी फुट्नुको कारणमा राजनीतिक विचार नमिल्नु र सत्ताको बाँडफाँडमा चित्त नबुझ्नु आदिमात्र उल्लेख गरेका छन् । विवेकशील साझा फुट्नुको चुरो कुरो नेतृत्व कौशलसँग जोडिएको छ । वैकल्पिक शक्तिका रूपमा उदाएका दुई दलको समायोजनपछि दुई संयोजकले नेतृत्व सम्हालेका थिए ।
नेतृत्व विज्ञानमा एकैपटक एकभन्दा बढी व्यक्तिले वा पालैपालो संगठन वा संस्थाको प्रमुख हुने पद्धतिलाई ‘साझेदारी नेतृत्व’को सिद्धान्तले व्याख्या गरिन्छ । एकल नेतृत्वमा व्यक्तिगत स्वार्थ प्रधान भए पनि सफलता हात पर्न सक्छ । बहुल नेतृत्वमा साझा गन्तव्य वा उद्देश्य प्रधान भएन भने अन्तिम नतिजासम्म पुग्ने कार्य असम्भवप्राय: हुन्छ । ‘साझा उद्देश्य’लाई केन्द्रभागमा राखेपछि व्यक्तिको व्यक्तित्व गौण हुनजान्छ र त्यो उद्देश्य प्राप्तिका लागि जो तुलनात्मक रूपमा बढी सक्षम छ, उसले अगुवाइ गर्नुपर्ने हुनसक्छ । विवेकशील साझाका दुई संयोजकका आआफ्नै किसिमका सबल पक्ष थिए ।
एकले आफ्नो हतियारका रूपमा कलम अघि सारेका थिए भने अर्कोले ‘तन्नेरी हाँक्ने कौशलता’ । तर उनीहरूमा साझा दुर्बलताका रूपमा ‘आफ्नोजस्तो कौशल अर्कोमा नहुँदा अगुवाइ गर्न सकिन्न’ भन्ने भ्रम सिर्जना भयो । यो समस्याको जड भएर निस्कियो । ‘साझेदारी नेतृत्व’को महत्त्वपूर्ण पाटो भनेको अर्काको दोषलाई होचो बनाएर उसको गुणवत्ताको कवच सिर्जना गरी संगठन हाँक्ने शक्ति निकाल्नु हो ।
उल्लिखित तीन घटनाक्रममा एक साझा वस्तु छ– सामान्य परिस्थितिमा दुर्घटनामा परेको नेतृत्व ।
हरेक दिन नयाँ प्राविधिक चमत्कार हुने अहिलेको जुगमा नेतृत्वको सगरमाथा आरोहण गर्न चाहने व्यक्ति वा दलका केही महत्त्वपूर्ण विषय छन् । अगुवाइ गर्न चाहनेमा ‘सम्बन्धित विषयमा मभन्दा जानिफकार धेरै छन्’ भन्ने स्वीकारोक्ति हुन जरुरी छ । परम्परागत सोच र आफ्नैमात्र अहंकारले अहिलेको जमानामा जननेताको कुरै छोडौं, निरङ्कुश तानाशाहसमेत हुन असम्भव छ ।
लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग आबद्ध छन् ।
फाल्गुन ८, २०७५ ०८:०८
कान्तिपुर दैनिक
No comments:
Post a Comment