करिव १२ वर्षअघि जापान बस्दाको प्रसंग हो
। विद्यावारिधि गरेका एक जना डाक्टरसाहेब र म (हलुका स्नायुमा भन्दा दुई
फुइँ डाक्टर) टोकियोमा अवस्थित संयुक्त राष्ट्रसंघ विश्वविद्यालयमा एउटा
प्रवचन सुन्न गएका थियौँ । उमेर र डाक्टर उपाधि हासिल गरेको सालका हिसाबले
उनी मेरा अग्रज थिए । कार्यक्रममा विभिन्न राष्ट्रका प्रबुद्ध व्यक्ति
उपस्थित थिए । वक्ताहरूले प्रस्तुति दिइरहँदा डा. साहेब पटक पटक सभाकक्षबाट
निस्कने र भित्र आउने गरे ।
‘तपाईंलाई सन्चो भएन कि के हो ?’
कार्यक्रम सकिएपछि मैले सोधेँ ।
‘किन र ?’
‘धेरै पटक शौचालय गएजस्तो लागेर सोधेको ।’
‘शौचालय गएको त हो तर विसन्चो भएर होइन ।’
अब दिमाग रन्थनिने पालो मेरो थियो । कुरोको चुरो भेउ पाउनै सकिनँ । मैले विनम्रताका साथ उनैलाई पटक पटक बाहिर निस्कनुको कारण सोधेँ ।
‘ठूला मान्छेसँग परिचय गर्ने र विजिनेश कार्ड हाता पार्ने अपूर्व अवसर त्यहाँ हुन्छ नि ! त्यस्तो एकान्त अन्यत्र कहाँ भेटिन्छ र !
उनको जवाफले म चकित परेँ ।
शौचायल किन गइन्छ, जोसुकैलाई थाहा छ । बच्चादेखि बूढापाकासम्म, भोगीदेखि जोगीसम्म सबलाई हरेक दिन र हरेक ठाउँमा यो सुविधा चाहिन्छ । तर, शौचालयभित्र यस्तै अनेक अतिरिक्त क्रियाकलाप पनि गरिन्छ । यसमा धेरैको ध्यान नगएको हुनसक्छ । घरको शौचालय सामान्यतयाः पुरुष र स्त्रीका लागि एउटै हुन्छ । सार्वजनिक स्थल वा धेरै प्रयोगकर्ता हुने ठाउँमा पुरुष र महिला कक्ष अलग अलग हुन्छन् । अहिले त अपांगका लागि विशेष कक्ष, महिलाका लागि स्यानिटरी प्याड फेर्ने कक्ष र दुधेबालक काखमा भएका आमाहरूका लागि स्तनपान कक्ष गरी शौचालयका विस्तारित संरचनाहरू पनि अत्यावश्यक सुविधाको रूपमा सूचीकृत छन् ।
यी शौचकक्षभित्र हुने क्रियाकलापमा पनि लिंगअनुसार भिन्नता हुन्छ । महिला शौचालयमा अधिकांश प्रयोगकर्ताले ऐनामा रूप नियाल्छन् । बिहे वा कुनै समारोहमा औपचारिक पहिरनमा सजिएका महिला साडी र लिपिस्टिक मिलाउन चनाखो भइरहन्छन् । मेकअप जाँच पनि गर्ने हुन्छन् । पश्चिमा मुलुकहरूमा त आफ्नो नितम्ब या वक्षस्थल नियाल्ने काम हरेकजसोले गर्छन् अरे । कतिपयले नङमा पालिस लगाउँछन् । जोडिएका शौचकक्ष भए कुनै आवाज अर्को प्रयोगकर्ताले नसुसोस् भनेर मोबाइलमा पानीको धारो बजेको आवाज बजाउँछन् अरे । पुरुष शौचालयमा पनि ऐना हेरेर कपाल कोर्ने वा मिलाउने काम हुन्छ । सुटको पहिरनमा भएकाले टाईको गाँठो मिलाउँछन् । यी हुन् शौचालयमा हुने अतिरिक्त क्रियाकलापका केही नमूना ।
मोबाइल फोन आविष्कार हुनुअघि लामो समय शौचालय प्रयोग गर्नुपर्दा पत्रिका वा कुनै पुस्तक पढ्ने गरिन्थ्यो । खासगरी निजी निवासमा कुनै मासिक वा पाक्षिक पत्रिका वा कुनै पुस्तक शौचालयभित्रै सानो दराज बनाएर राख्ने गरेका हुन्थे । १०–१५ मिनटमा जति पढ्न भ्याइन्छ त्यति पढेर त्यहीँ थन्क्याउने र अर्को दिन उसै गर्ने । आजभोलि भने पाठ्यसामग्रीको स्थान मोबाइल फोनले लिएको छ । धेरैका लागि शौचालय जाँदा अपरिहार्य भएको छ मोबाइल फोन । नयाँ मेसेज जाँच गर्ने, कसैलाई मेसेज पठाउने, फेसबुक या ट्वीटरका अपडेटहरू पढ्ने या समाचार पढ्ने काम शौचालयमा मोबाइल फोनमै हुन्छ । प्रेमी वा प्रेमिकाका सन्देशहरू पढ्नु पर्यो वा आफूले सन्देश पठाउनु पर्यो भने शौचालय छिर्ने पनि हुन्छन् ।
‘बदमासी गरिस् भने तँलाई ट्वाइलेटमा थुन्दिन्छु’ भनेर केटाकेटी नतर्साउने अभिभावक थोरै होलान् । केटाकेटीलाई मात्र होइन, सत्ता र शक्ति हातमा भएका उपल्लै ओहोदाका व्यक्तिले पनि मातहतका कर्मचारीलाई पनि यस्तो सजाय दिएका दृष्टान्त छन् ।
बाह्र वर्षअघि यस्तै एउटा घटना भएको थियो । तत्कालीन वन तथा भूसंरक्षण मन्त्री मातृका यादवले ललितपुर जिल्लाका स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेको घटनाले चर्चा पाएको थियो ।
शौचालयमा थुनेर दण्ड सजाय दिने मनोविज्ञानले भन्छ– शौचालय फोहोर फाल्ने दुर्घन्धित ठाउँ हो ।
स्कूले विद्यार्थीहरूलाई सजाय दिनुपर्दा शौचालय सफा गर्न लगाउने चलन पनि छ कतै कतै । विकसित मुलुकहरूमा भने यो मनोविज्ञानको ठ्याक्कै विपरित धार छ । जापान, कोरिया आदि देशमा शौचालय अति सफा राखिन्छ । जापानीका घरमा हाम्रोजस्तो स्नानकक्ष र शौचकक्ष एकै कोठामा हुँदैन । हामी कहाँ यी दुवै एकै ठाउँमा हुँदा शौचकक्ष सधैँ पानीले भिजेको हुन्छ । खासगरी कमोड भएको र स्नान कक्षबाट अलग राखिएको शौचकक्ष सधैँ सुख्खा राख्न सकिन्छ । पश्चिमा मुलुकमा शौच गरिसकेपछि पानीको सट्टा टिस्यु पेपर प्रयोग गर्ने चलन भएकोले पनि सुख्खा राख्न सकिएको हो । शौचालय शीत–ताप नियन्त्रित हुने भएकोले घर या कार्यालयमा आनन्ददायक ठाउँ पनि मानिन्छ । यसकारण हाम्रो भन्दा ठीक विपरित, कसैलाई शौचालयमा थुन्नु उसलाई आराम गर्न छोडिदिनु हो भन्ने अर्थ लाग्छ । कतिपय जापानी कूटनीतिज्ञहरू त कुनै ठोस निर्णय दिनु पर्यो भने केही बेरका लागि शौचालयतिर जान्छन् भन्ने कसैले सुनाएको थियो ।
रुढीवादी संस्कारले गाँजेका नेपाली घरपरिवारमा अझै पनि परिवारको कुनै खास सदस्यलाई हेलाको दृष्टिले हेर्ने चलन छ । यसरी हेपिने सदस्यहरूमा विधवा, अपांग, बुहारी वा काम सघाउने सहयोगीहरू पर्दछन् । यिनीहरू भावनामा चोट पुगे रुनका लागि खुसुक्क शौचालय छिर्छन् । यसरी शौचालयले मानवीय संवेदनाको चोटमा मलमपट्टी पनि लगाउँछ ।
शौचालयमा शौच गर्दा होस् या बाथरूममा नुहाउँदा, कतिपयलाई त नयाँ सोच पनि फुर्छ । त्यहाँ एकान्त हुन्छ । एकाग्र हुन पाइन्छ । कसैले विरोध गर्दैन । सिर्जनात्मक कामका लागि एकान्तस्थान चाहिन्छ । शौचालय र बाथरूम एकछिनका लागि साँच्चै गज्जबको एकान्तस्थान हो । कविका लागि केही हरफ फुर्नु चानचुने कुरो हुँदैन । शौच गर्दा चुरोटको आनन्द लिने बानीका मान्छे पनि हुन्छन् ।
भित्रीलुगा मिलाउने र महिलाहरूले स्यानिटरी प्याड फेर्ने ठाउँ पनि शौचालय नै हो । अहिले विद्यालय, कलेज वा अन्य सार्वजनिक स्थानका शौचालयहरूमा स्यानिटरी प्याड फेर्ने कक्ष अनिवार्य गरिएको छ । स्तरीय होटलका कोठाहरू महिला–पुरुष दुवैले प्रयोग गर्नसक्ने भएका हुनाले त्यहाँ स्यानिटरी प्याडको बारेमा विशेप सूचना राखिएको हुन्छ ।
‘कृपया कमोडभित्र स्यानिटरी प्याड विसर्जन नगरिदिनु होला ।’ यस्तै ।
प्रयोग गरिएको स्यानिटरी प्याड ठोस फोहोरमा पर्छ । सिद्धान्ततः यसलाई ठोस फोहोरमैला विसर्जन गर्ने टोकरीमा फाल्नुपर्छ । कतिपयलाई ठोस र तरल फोहोर विसर्जनको यो चेतना हुँदैन । सूचना भएता पनि ‘आ के फरक पर्छ र’ भन्ने मानसिकताका कारण फोहोर मिसमासले व्यवस्थापन कठिन हुन्छ ।
शौचालयको गलत प्रयोग पनि हुनेगर्छ मौका अनुसार । तस्करीका सामान लुकाउने वा मिल्काउने ठाउँ पनि हुने गरेको छ शौचालय । शौचालयको अर्को रोचक प्रयोग स्कुल कलेजको परीक्षामा हुन्छ । परीक्षामा बसेको परीक्षार्थीका लागि चिट चोराउन अभिभावक, नातेदार वा दौँतरीहरूको भीड लागेको हुन्छ । शौचालयलाई माध्यम बनाएर चिट चोराउने वा परीक्षार्थी शौचालयमा गएर चिट हेर्ने गर्छन् । कतिपयले पुस्तक, नोट वा गाइड पहिल्यै शौचालयमा लुकाएका हुन्छन् । मौका पाउनसाथ शौचको निहुँमा परीक्षार्थी शौचालयमा पुग्छ । यस्तो बेलामा शौचालय खालि गोप्य स्थान भइदिन्छ । परीक्षापछिको शौचालय छरपस्ट कागजले भरिएको हुन्छ ।
स्कूल, कलेजका सार्वजनिक शौचालयका भित्ताहरूमा हातले कोरिएका सन्देश वा चित्रहरू बाक्लै भेटिन्छन् । शिक्षकलाई व्यंग्यका तुक्का वा तिनका छड्के नाम (निक नेम) लेख्ने वा कसैका माया परितीका संकेत भित्तामा कोर्ने, यौन सम्बन्धका स्थिति जनाउने चित्र कोर्ने ठाउँ पनि शौचालय नै हो ।
शौचालय प्रयोग गर्दागर्दै भित्तामा सन्देश कोर्ने वा चित्र बनाउने गरिएको हुनुपर्छ । सम्भवतः चित्रै बनाउने वा केही लेख्नेमात्रै उद्देश्यले कोही पनि शौचालय जाँदैन । कहिलेकाँही शौचालय संक्षिप्त यौन क्रियाकलापमा पनि प्रयोग हुन सक्छ ।
तोकिएको नियम विपरीत गरे दण्ड सजायँको भागिदार हुने जतिसुकै कडा नियम बनाएर ‘आधिकारिक सूचना’ टाँसे पनि त्यस्तो प्रावधानले शौचालयमा हत्तपत्त काम गर्दैन । यो समस्या विकसित मुलुकमा पनि उत्तिकै देखिन्छ । शौचालय पसेपछि प्रयोगकर्ताको व्यवहार उदण्ड हुनसक्छ । यही विषय ध्यानमा राखेर सन् २०१७ मा अर्थशास्त्रका नोवेल पुरस्कार विजेता रिचर्ड थेलरले ‘नज’ सिद्धान्त प्रतिपादन गरेका छन् । ‘नज’ नामकरण गरिएको उनको पुस्तकमा यो सिद्धान्त अवलम्बन गरेर चिताएको लाभ लिएको एक दृष्टान्त प्रस्तुत गरिएको छ । नेदरल्याण्डमा पुरुष शौचालयका पिसाबदानीको केन्द्र भागमा झिँगाको चित्र बनाइयो । शौच गर्नेहरूको ध्यान झिँगाको चित्रले तान्यो । यसले गर्दा उनीहरूले पिसाब गर्दा झिँगालाई निशाना बनाए । निशानामा पर्ने गरी पिसाबको धारो पारेपछि पिसाबदानी बाहिर फोहोर भएन । यसले शौचालय सफाइको खर्च १५–२० प्रतिशतले कटौती भयो । यसले आदेश वा निर्देशनको साटो प्रयोगकर्ताको आचरण र व्यवहारअनुसार संरचना बनाउन संसारको ध्यानाकर्षण गरेको छ । यो विधा ‘विहेभियर इकोनोमिक्स’ अर्थात ‘आचरण अर्थशास्त्र’ को कित्तामा राखिएको छ ।
यसरी शौचालयमा हुने अतिरिक्त क्रियाकलापको अनुसन्धानले झन्झटविहीन र अझ सुविधायुक्त संरचनाहरू निर्माण गर्न सघाउ पुर्याउनेछ । नेपालका नीतिनिर्माता र सम्बन्धित पेशाकर्मीहरूको यस विषयमा ध्यानाकर्षण हुनेछ भन्ने अपेक्षा छ ।
हिमालय टाईम्स
मँसिर ०३, २०७५
लिङ्क
https://ehimalayatimes.com/samaj/28544
No comments:
Post a Comment