Monday, October 4, 2021

प्रविधिले उजिल्याएको आमाको संसार

 

कोरोना कहरका कारण लामो दूरीको यातायात फेरि बन्द भयो। हवाई उडानहरू पनि लामो समयसम्म ठप्पै भए। केही समयका लागि काठमाडौं आउनुभएकी आमा पनि परिस्थितिको यो भुँमरीमा पर्नु भयो। उहाँ इलामको फुयतप्पा जन्मेर त्यहीँ हुर्कनु भएको हो। ‘चारखोला’ भनेर समेत चिनिने त्यो ठाउँको भुगोल जता हेरे पनि दृष्टि नछेकिने खुला किसिमको छ। यसर्थ काठमाडौंको जता हेरे पनि घरैघर मात्र देखिने परिवेशले उहाँलाई पूर्णबन्दी बनायो। हवाई यातायात सुचारु भएपछि आमाले उर्लाबारी जाने निधो गर्नुभयो। विराटनगरको हवाई टिकटको व्यवस्था गरिदिएँ। विराटनगरबाट उर्लाबारी जान पनि समय लाग्ने भएकाले बिहान १० बजेको उडान चयन गरेको थिएँ। बिहीबार बेलुका घर आइपुगेपछि आमालाई सोधें– ‘ट्राभल एजेन्सीले टिकट मोबाइलमा पठाइदिएको छ। तपाईंलाई कसरी पठाइदिउँ ?’ ‘मेसेन्जरमा पठाइदे।’

समकक्षीहरूको तुलनामा आमाले मोबाइल राम्ररी चलाउन सक्नुहुन्छ। फेसबुक पेज छ। आफन्तसँग मेसेन्जरमा कुरा गर्नुहुन्छ। आमाले सहज र सपाट उत्तर दिनुहोला भन्ने लागेको थिएन। गएको आमाको मुख हेर्ने दिनमा मोबाइल आमालाई उपहार दिएको थिएँ। केही महिनाअघि बहिनीले अर्को मोबाइल किनिदिएकी रहिछ। आमासँग दुईवटा स्मार्ट मोबाइल फोन देखेर केही हप्ताअघि सोधेको थिएँ, ‘आमा, तपाईंका त दुईवटा पो मोबाइल छन् ?’ ‘एउटामा भजन सुन्छु। अर्कामा अरू काम गर्छु।’ चकित परें। आमाका उमेरका महिलासँग भेट हुनासाथ मोबाइल चलाउने प्रसंग निकाल्छु। सिद्धान्तकै रूप धारण गरेको मेरो प्रश्न आमाहरूलाई तेर्सिन्छ।

‘मोबाइल फोन चलाउनु हुन्छ ?’ केहीको उत्तर हुन्छ– ‘आएको फोन उठाउन मात्र सक्छु।’ थप केहीको अलि फरक हुन्छ। ‘चलाउँछु तर सहयोगी चाहिन्छ।’ अधिकांशले असमर्थताको संकेत दिन्छन्। ‘सक्दिनँ त।’ बुबा र आमाका बारेमा कुराकानी हुँदा साथीभाइलाई पनि यही प्रश्न सोध्छु। ‘स्कुल पढ्न जान पाउनु भएन र ?’ ‘पाएको भए किन यो हविगत हुन्थ्यो त ?’ प्रायःको उत्तर यस्तो हुन्छ। अनि विद्यालय जान नपाएका कारणहरू छताछुल्ल हुन्छन्। ‘घाँसदाउरा र मेलापात गर्दै ठिक्क भो। सानैमा बिहे गरेर पठाइदिए। नजिकमा विद्यालय थिएनन्। छोरीलाई पढाउने चलन थिएन। आदि।’ यसरी अनिवार्य प्राथमिक शिक्षाको महत्त्व अकासिन्छ।

भाग्यवश मेरी आमा भने अपवादको सानो समूहमा पर्नुभयो। हजुरबुबा राणाशासनकालको उत्तरार्धमा मुखियाको पदको जागिर खानु हुन्थ्यो रे। मेरी आमा कान्छी छोरी। आमाभन्दा पछिको कान्छो मामा नाबालक हुँदै हजुरआमा बित्नु भएछ। अनि हजुरबुवाले फेरि विवाह गर्नुभएछ। नजिकै विद्यालय भएको र माथि उल्लेखित त्यसबेलाको परिस्थितिका केही अनुकूल कारकहरूका कारण आमाले ५ कक्षासम्म पढ्ने मौका पाउनु भएछ। केही समयअघि खप्तड बाबाद्वारा लिखित ‘धर्म विज्ञान’ नामक पुस्तकको एक खण्ड आमाको हातमा राखिदिएँ। केही दिनपछि भन्नुभयो– ‘यो किताब राम्रो लाग्यो। आधाउधी पढेर सकें।’

उहाँ गीता पाठ गर्नुहुन्छ। रामायण, महाभारतका पुस्तक पढ्नु हुन्छ। उहाँको बैंकमा निजी खाता पनि छ। आफैं सञ्चालन गर्नुहुन्छ। यसरी शिक्षाको अलिकति मात्र भएनि उज्यालोले भेटेका कारण आमाको जीवनयापन सहज भएको छ। विद्यालय गएर ५ कक्षासम्म अध्ययन गरेको पृष्ठभूमिले अन्य धेरै विषयमा महत्त्वपूर्ण योगदान छ। यीमध्ये पहिलो थियो, मलाई बाह्रखरी चिनाउने काम। मैले अक्षर चिन्ने बेलामा पिताजी घरमा हुनुहुन्थेन। उहाँ तराईमा जागिरे हुनुहुन्थ्यो। आमाले काठको पाटीमा माटो हालेर छेस्को ठिक पारिदिनु हुन्थ्यो। त्यसबेला आमालगायत घरका महिला सदस्यहरूको नियमित गतिविधि हुन्थ्यो– घाँस काट्न वा अन्य कामका लागि झिसमिसेमै हिँड्ने। उहाँ आइपुग्दा मैले मेरो कापीरूपी पाटीमा अक्षर लेखेर ठिक्क पार्नुपथ्र्यो। कुनै कारणले नलेखेमा दण्ड सजाय पाइन्थ्यो। लेखेको मिलेमा आमाले वनबाट ल्याएका मौसमी फलफूल खान पाइन्थ्यो। त्यसरी पुरस्कारको रूपमा ऐंसेलु खाएको अझै स्मरणमा छ।

दोस्रो, नयाँ नौलो ठाउँमा जाने आउने काम। यो पनि कतिपय बा आमाका लागि कठिन कार्य हुन गएको छ। आफ्नै बलबुतामा गन्तव्यमा पुगेर काम फत्ते गरी घर आइपुग्नु ठूलो कार्य हो। आमा काठमाडौंको अपरिचित कुनामा पुगेर पनि एक्लै फर्किन सक्नुहुन्छ। हुन त हामीले वृद्धवृद्धा या बालबालिकामैत्री यातायात व्यवस्थाको परिकल्पना नै गरेका छैनौं। गौंडागौंडामा नक्सा राखेर वरिपरिका मुख्य ठाउँहरू, आस्थाका केन्द्र या सार्वजनिक स्थलहरूको विवरण राखेका छैनौं। यसकारण सार्वजनिक यातायात चढेर निर्धारित समयसीमामा कुनै ठाउँमा पुगेर फर्कन वयस्कलाई पनि कठिन हुन्छ। सीमान्तकृतको त के कुरा भयो र ?

आमा घर गएको दुई दिनपछि अर्थात् भदौ ६ गते विद्यालय शिक्षासँग जोडिएको एकअर्को प्रसंग सिर्जना भयो। साँझको समय थियो। पुल्चोकस्थित कार्यालयबाट कोटेश्वर आउन ‘पठाओ’ ट्याक्सी मगाएँ। उनी जीपीएस खोलेर ठ्याक्क मेरो कार्यालयभित्र छिर्ने मुख्य गल्लीमा आइपुगे। उनको विवरणमा ‘व्यावसायिक’ भनेर लेखेको थियो। सदाझैं वार्तालाप सुरु गरें। ‘कता पर्‍यो नि तपाईंको घर ?’ ‘बर्दिवास हो।’ ‘पुरानो घर नि ?’ ‘म त बर्दिवासमै जन्मेको हुँ। बाउबाजेहरूको रामेछाप हो रे।’ ‘तपाईंले सही तरिकाले ‘पठाओ एप’ चलाउनु हुँदोरहेछ।’ विषयान्तर गर्न चाहें। उनको शैक्षिक पृष्ठभूमिबारे जान्ने इच्छा पलायो।

‘चार वर्ष विदेशमा ट्याक्सी चलाएँ। यहाँ चलाउन थालेको पनि चार वर्ष पुग्न लाग्यो।’ ‘त्यही भएर होला सिपालु हुनु हुँदोरहेछ। कतिजनालाई लोकेसनमा आउन नै महाभारत हुन्छ।’ ‘पठाओ’ सेवा दिने चालकहरूका अनुभव सुनाएँ। नपढेका कारण नक्सा हेर्न नजान्ने र अंग्रेजीमा भनेको पनि नबुझ्ने बाध्यता कतिपयमा छ। कतिपयलाई विद्यालय वा कलेजमा पढ्ने छोराछोरीसँग सिक्ने सल्लाह दिएको कुरा सुनाएँ। कतिपयलाई सडकमा हिँड्दा वा बिसौनीमा रोकिएका बेला वरिपरिका विज्ञापनका वा अन्य बोर्डमा लेखिएका कुरा पढ्न सल्लाह दिएको बारे भनें। उनलाई मेरो पछिल्लो कुराले छोएछ।

‘हामीलाई अंग्रेजी पढाउने सर पनि त्यही भन्नुहुन्थ्यो। बाटोका वरिपरि देखिए जति र भेटिए जति सूचना सबै पढ्नू।’ यूएनपार्क हुँदै शंखमूल भएर बागमती र मनोहरा दोभानतिर हुइँकिएका थियौं। देब्रेतिर गुरु रविशंकरको आर्ट अफ लिभिङको परिसर देखियो। लेखेको थियो– दि आर्ट अफ लिभिङ, नेपाल। ‘ल हेर्नुहोस्। यही त हो अंग्रेजी नजान्ने चालकहरूको सामग्री। ‘आर्ट अफ लिभिङ’सम्बन्धी गतिविधि हुने ठाउँ पनि यहाँ रहेछ भन्ने थाहा भयो। अर्को घरमा गएर यसको अर्थ के हो भनेर छोराछोरीलाई सोधे भयो।’ ‘हो सर। सही भन्नुभयो।’

भक्तराज आचार्यले एक समर्पण भजनमा गाएका छन्– शब्द ब्रह्माको नाद नभइकन ज्ञान बुद्धिको मेल हुँदैन। ज्ञान बुद्धिको मेल नभइकन महाज्ञानको उदय हुँदैन। यहाँनेर हाम्रो शिक्षा नीति र मौजुदा पद्धतिसँग जोडिएको एक बडो महत्त्वपूर्ण विषय छ। के हाम्रो शैक्षिक पद्धतिले ज्ञान र बुद्धिको मिलन गराएको छ ? किनभने आफूसँग भएको ज्ञानलाई आवश्यक परेको बेलामा बुद्धिमा परिणत गरी त्यसबाट परिणाम निकाल्ने क्षमताको विकासका लागि नै शिक्षा आर्जन गरिन्छ। व्यवहारमा प्रयोग गर्न नसकिने ज्ञान अधुरो र अपुरो हुन्छ।

कोरोना कहर कालखण्डमा मोबाइल फोनकै प्रयोग गरी वैकल्पिक विधिवाट कसरी विद्यार्थीलाई पढाउन सकिन्छ भन्ने विषयमा धेरै कार्यक्रम गरिए। देश–विदेशमा रहेका अध्येताहरूले समेत यो पुण्य कार्यमा अथक योगदान गरे। हाल जापानमा कर्मक्षेत्र बनाएका डा. वेद काफ्लेले जापानमा प्रचलित शिक्षण विधिसम्बन्धी घतलाग्दो विषय सुनाउनु भयो। ‘पहिलो पटक किलोमिटरको बारेमा पढाउँदा विद्यार्थीलाई एक किलोमिटर हिँडाइन्छ।’ दूरी मापन गर्ने विषयको बारेमा पढाउन ज्ञान र बुद्धि मिसाएको यो तरिका सायद संसारमा नै उत्कृष्ट होला। पूर्व–पश्चिम राजमार्ग बनिसकेपछि सबैभन्दा रोमाञ्चित गर्ने वस्तु थियो– उर्लावारी चोकको पश्चिममा राखिएको किलोमिटर स्तम्भ। यसको पूर्वी पाटोमा लेखिएको थियो– इटहरी, ३६। पश्चिम पाटोमा थियो– दमक, ७। अर्थात् यसले बोकेको सूचना थियो– यो स्तम्भबाट इटहरी ३६ किलोमिटर पश्चिममा पर्छ भने दमक ७ किलोमिटर पूर्वमा। दमक पुग्न मावा खोलाको पुल काटेर चिया बगान हुँदै जानु पथ्र्यो। यता इटहरी जान भने बक्राहा, सोल्टी, चिसाङ र लोहन्द्रा आदि खोला काटेर जानु पथ्र्यो। लामो दूरीलाई भाँचेर टुक्राटाक्रीको पनि अन्दाज गर्न सकिने गरी भौतिक तथा प्राकृतिक संरचना बाक्लै थिए।

आज पनि एक किलोमिटर दूरी कति हुन्छ होला ? भन्ने प्रश्न कुनै कारणले मनमा उब्जियो। उर्लाबारी चोकबाट पश्चिममा रहेको त्यो किलोमिटर स्तम्भ सम्झिन्छु। अनि डा. काफ्लेले दिनुभएको दृष्टान्तसँग ठोकिन्छु। जापानिजहरूले विद्यालय शिक्षामा ठूलो अनुसन्धान गरेका छन्। उनीहरूका पाठ्यपुस्तक पनि ज्ञान र बुद्धिलाई जोड्ने सेतुमार्गलाई सकेसम्म समेट्ने गरी तयार गरिएका छन्। ‘पठाओ’ ट्याक्सीका चालकहरूसँग ठट्टा गर्ने गर्छु। गन्तव्यमा पुग्न चालकलाई मोबाइल एपमा महिला आवाजले निर्देशन दिन्छ। ‘कति हजार होलान् त पठाओमा दर्ता भएका ट्याक्सी ?’ प्रायःको उत्तर ‘दस हजार’को आसपासमा हुन्छ। ‘ल ! हेर्नु त यो एउटी केटीले हजारौं चालकलाई फनफनी घुमाएकी ?’ मोबाइल एपमा बोल्दै गरेकी युवतीतर्फ संकेत गर्दै भनें। ‘हो हजुर सही भन्नु भो।’ यसो भन्ने चालक मुस्कुराउँछ। म फेरि उसलाई उधिन्छु।

‘तपाईंको विचारमा यो एउटै केटीले कसरी गरेकी होला यो काम ?’ ‘खै हजुर त्यता त सोचिएकै छैन।’ कम्प्युटर प्रविधिमा भएको अभूतपूर्व प्रगतिले यो सम्भव भएको हो। आधा शतकअघि पाटीमा माटो हालेर ‘क’ ‘ख’ चिनेको म र समकक्षीहरूले यो भेदनकारी प्रविधिको रस चाख्न पाएका छौं। अहिलेका पुस्ताले कल्पना पनि गर्न सक्दैन– अबको ५० वर्षमा उनीहरूले कस्तो सुविधाको प्रयोग गर्न पाउँलान् ! मेरा लागि योभन्दा पनि गहन चिन्ताको विषय अर्को छ। मानौं ! मलाई बाह्रखरी चिनाउने आमाले कुनै दिन यस्तो प्रश्न सोध्नुभयो– ‘हाम्रा पालामा यस्तो सुविधा थिएन। ल भन त बाबु यो मेसेन्जरले कसरी काम गर्छ ?’

अल्बर्ट आइन्सटाइनलाई उनैले प्रतिपादन गरेको सापेक्षतावादको सिद्धान्त भनेको के हो भनेर कुनै सामान्य व्यक्तिले सोध्यो रे। उनले ती व्यक्तिले बुझ्ने गरी सामान्य भाषामा प्रश्नको उत्तर दिए रे। विज्ञान र प्रविधिले दिएका यस्ता पछिल्ला सुविधाले कसरी काम गर्छन् भनेर सामान्य भाषाशैलीमा बुझाउन सक्ने संयन्त्रहरूको निर्माण भएको छ कि छैन ? मलाई यकिन छैन। तर अहिलेसम्म आमाले मलाई यो प्रश्न सोध्नु भएको छैन। सोध्नुभए आमाको प्रश्नलाई थाँती राखेर कुनै आईटीविज्ञलाई सोध्नुपर्ला भन्ने धारणा बनाएको छु।

 साभार :

https://annapurnapost.com/news/186339

No comments:

Post a Comment