एकसुरले हिँडिरहेको थिएँ । एकाएक टक्क रोकिएँ । सिधै अघिल्तिर देखिएको दृष्यमा
एक निमेष पनि नबिराई हेरीरहेँ ।
उ एकाग्र भएर लेखिरहेको थियो । काखमा अस्ति हाम्रो वैवाहिक जीवनको रजत
महोत्सवमा उपहार आएको नयाँ डायरी थियो ।
ढोकाको छेउको प्लगमा जोडेर मोबाईल चार्जमा राखिएको रहेछ । भवन बाहिर निस्कन
लागेको व्यक्तिले सजिलै देख्न सक्ने, लेख्न पनि मिल्ने र मोबाईल चार्ज गर्न पनि मिल्ने
बेन्च खोजेर उ त्यसमा बसेको रहेछ । एक भन्दा वढि कामहरुलाई एकैसाथ गर्न विशेष
बुद्धि लगाउनु पर्छ । उसको हाउभाउ र गतिविधिले मैले निचोड निकालेँ-उ विशेष बुद्धि लगाएरै केही
लेख्दै छ ।
वरिपरि बाक्लो भीड थियो । धुलिखेल सामुदायिक अस्पतालको तहखानाको विवरण सँकलन
केन्द्रवाट म रगत परीक्षणको कागजात लिएर फर्कदै थिएँ । उ गाडीको पाङ्ग्रामा हावा
भर्ने काम सकेर मलाई पर्खन त्यो बहुआयामिक बेन्चमा आसिन थियो । उसको पर्खने शैलीको
मैले मनमनै मुक्त कण्ठले प्रशँसा गरेँ ।
"के भै रहेको छ ?"
मेरो प्रश्नले उसको ध्यान बिथोलियो । पुलुक्क मतिर हेर्यो । विशेष ध्यान दिएर
कुँदिएका राम्रा हस्तलिपीले डायरीको आधा पृष्ठ भरिएको थियो । उत्कृष्ट कलमले
उत्कृष्ट कापीमा लेख्नु पर्छ भन्ने मैले अपनाएको एक 'सरस्वती-मन्त्र' उसले सर्लक्कै टिपेको छ ।
मेरा परिवारका दुई सदस्यलाई मिहिनेत गरेर कुँदिएका राम्रा अक्षरले लेखिएका चिठ्ठि
पठाएर हस्तलिपी उत्कृष्ट बनाउने प्रेरणा दिन म सफल भएको छु । एउटा पनि केरकार नगरी
एउटै आकारका अक्षर सिर्जना गरेर आफ्नो भावना कापिमा उतार्नु भनेको वास्तवमा एक
किसिमको तपस्या नै हो । शास्त्रले पनि राम्रा अक्षरको परिभाषा दिएको छ-अक्षराणी वाटुलानी घनानिच
पृथक: पृथक: ।
"समय पाएको वेलामा लेखिहाल्न मन लाग्यो । तात्तातो लेखाईमा ठूलो ज्यान हुन्छ ।"
उसले आज भोली मलाई पनि घत लाग्ने गरी उत्तर दिन्छ । कहिले कहि त म ट्वाल्ल
पर्छु । कहिले मन्त्रमुग्ध हुन्छु । तर प्रायजसो समयमा मेरो भाव भित्रै लुँकाउँछु
। व्यक्त गर्दिन । आज भने मैले अनुमान गर्न भ्याँए, उसले के लेखिरहेको छ भनेर ।
एक छिन अघि मात्र हामी काठमाण्डौ विश्वविद्यालयका पूर्व उपकूलपति प्रा.डा. सुरेशराज शर्माको निवासमा
थियौँ । वहाँ सँग लगभग एक घण्टा विताएर फर्केका थियौँ ।
"नेपालमा यस्ता पनि मान्छे रहेछन ।" सुरेश सरसँग विदा भएर
कारमा बस्दै गर्दा सिरिनले पहिलो प्रतिकृया दिएको थियो ।
सिरिन मेरी धर्मपत्नी रीता र मेरो एक मात्र पुत्ररत्न हो । अहिले चौबिस बर्षको
लक्का जवान भएको छ । मुम्बईको ईन्दिरा गान्धि विकास अनुसन्धान सँस्थानमा
अर्थशास्त्र विषयमा स्नातकोत्तर गर्दैछ । छुट्टिमा घर आएको मौकामा मैले 'एक पन्थ दो काज' उखान चरितार्थ हुने
अभिप्रायले उसलाई लिएर धुलिखेल गएको थिँए ।
यसपटक घर आए देखि उसले मलाई एउटै प्रश्न तारन्तार सोधिरहेको थियो ।
"बाबा अव म के गरौ ?"
अर्थात "अव म कुन वाटोमा पाईला राखौँ ?" उस्को प्रश्नको मैले अर्थ
लगाएको थिँए ।
वयस्क उमेरका आफ्ना
सन्तानले सोधेको यो प्रश्नको चपेटामा अहिले धेरै बाबुआमा परेका छन । आफ्नै कोखमा
जन्मेर हुर्केका सन्तानले सोधेका यस्ता प्रश्नका दुईवटा सपाट अर्थ निस्कन्छन्
भन्ने मेरो मत छ ।
पहिलो अर्थ हो- प्रश्नकर्ताहरु अझै
सम्म पनि कुनै ठोस निर्णय लिनु अघि आफ्ना बुबाआमाको राय सल्लाहा लिन्छन । आफ्ना रगतको
नातालाग्ने मान्यजनहरुलाई महत्व दिन्छन् । यस्ता कठिन प्रश्नका सहज उत्तरहरु बा
आमा सँग छन भन्ने उनीहरुलाई लाग्छ ।
दोस्रो हो-प्रश्न सोधिने
व्यक्तिको 'श्री' को उचाई घटेको छैन । अहिले
सूचना प्रविधिको अभूतपूर्व विकासले गर्दा नयाँ पुस्ताको जो कोही पनि सामाजिक
सन्जाल लगायत अन्य सन्चार सुविधाहरुको प्रयोग सहजै गर्न सक्छ । त्यो नगर्नेले वृति
विकासका अवसर र बजारको स्थिति आँकलन गर्न कठिनप्राय हुन्छ । यसकारण उच्च शिक्षा
हासिल गरिरहेको आफ्नो सन्तानले यो जमानामा 'मेरो अभिभावक' समय सापेक्ष हिँड्छ । सन्ततिको लागि आवश्यक सूचनाको आवधिक ज्ञान
राख्छ । उ सँग मेरो वृतिविकासको लागि पनि काम लाग्ने जानकारी हुन सक्छ भन्ने ठानेर
राय माग्नु भनेको अझ ठूलो कुरो हो ।
खाना खाएको दुई घण्टा पछि पनि अस्पतालमा रगतको नमूना दिनु पर्ने भएकाले हामी
सँग एउटा राम्रै बैठक गर्न सकिने समय थियो । मैले सोचेँ-यो मौकामा सुरेश सरलाई
भेट्न किन नजाने ? मेरो सोच कार्यमा परिणत हुन बेर लागेन । हामी काठमाण्डौ विश्वविद्यालयका चित्रकारको
धुलिखेलको सिरानमा अवस्थित निवासमा पुग्दा आगन्तुक कक्ष निर्जन थियो । सहयोगीको
माध्यमवाट भित्र खबर पठाईयो । म भने आगन्तुक कक्षमा राखिएको सानो पुस्तकालयको अवलोकन
गर्न थालेँ । एकै छिनमा सुरेश सरको आगमन भयो । हामी भाग्यमानी यस अर्थमा ठहरियौ कि
त्यस वेला वहाँका श्रोता हामी दुई मात्र थियौँ र हामी बसुन्जेल वहाँलाई भेट्न अन्य
कोही देखा परेन ।
मेरो मष्तिष्कमा सिरिनको प्रश्न "बाबा अव म के गरौ ?' गुन्जिरहेको थियो । मलाई लाग्यो-यो यक्ष प्रश्नको उत्तर दिन सक्ने हाम्रो
जीवनकालको युधिष्ठिरको साक्षात रुप हाम्रा सामुन्नेमा प्रसन्न मुद्रामा आसिन छ ।
सम्भवत नेपालको शिक्षासँग जोडिएका कुनै पनि विषयको मिहिन विश्लेषण गर्न सक्ने
धरोधर वहाँ वाहेक अर्को नहोला । जसरी गीतामा अर्जुनका कुनै
पनि प्रश्नको कालजयी उत्तर भगवान श्रीकृष्णले दिनु भएको छ । त्यसरी नै म पनि
सिरिनको प्रश्नको कालजयी उत्तरको खोजिमा थिँए । यो हिरा फोर्ने मौका थियो । मैले
प्रसँग मिलाएर सुरेश सरको ध्यानाकर्षण गराएँ ।
'सरको पालामा नेपालमा
गर्नु पर्ने महत्वपूर्ण काम मध्ये एउटा नयाँ विश्वविद्यालयको स्थापना थियो । जुन
यहाँको अगुवाईमा पूरा भयो । नेपालमा अबको पुस्ताले
गर्नु पर्ने त्यस्तै विराट महत्वको काम के हुन सक्ला ?' मैले 'अबको पुस्ता' भन्दा सिरिन तिर हातले ईशारा गरेँ ।
मेरो कौतुहलताको पारो बेजोडले आकाशियो । सिरिनको अनुहारमा पनि त्यही भाव देखेर
मेरो खुशीको सीमा रहेन । मैले दिनु पर्ने एक जटिल प्रश्नको उत्तर भुँईमा खस्न
लागेको थियो । हामी दुवै श्रोताको पूर्ण ध्यान सुरेश सरको उत्तर तिर थियो ।
'नअराएको काम गर्ने ।'
"अहिले मलाई धेरै मान्छेले प्रश्न गर्छन- तँपाईलाई यो विश्वविद्यालय निर्माण गर्ने काम
कस्ले अराएर गर्नु भयो । मेरो उत्तर रहने गरेको छ-कसैले पनि अराएको होईन ।"
"मेरो ब्रम्हज्ञानले भन्छ- अबको पुस्ताले पनि नअराएको काम गर्नु पर्छ । त्यस्त कामको
विस्कुन नेपालमा बाक्लो छ । काम सम्पन्न भए पछि सयौ त के हजारौ मान्छेले सोधुन-यो काम कस्ले अराएर गर्नु
भयो ?"
भविष्यमा सुरेश सरलाई सँझदा मष्तिष्कमा अवतरण गर्ने विषयहरु मध्ये उच्च स्थान ओग्ट्ने
यो कर्म मन्त्र हामीलाई प्राप्त भै सकेको थियो । वास्तवमा 'नअराको' काम फत्ते गरेर नै कुनै
सामान्य अभियन्ता नेतृत्वको ईन्द्रासनमा पुग्न सक्छ । नअराको कामको प्रकृति
असामान्य हुन्छ । असामान्य कामले नै अलौकिक लोकप्रियता वटुल्न सक्छ ।
धुलिखेल अस्पतालमा विवरण सँकलन गर्ने कार्य सकिएको थियो । हामी अरनिको
राजमार्ग हुँदै काठमाण्डौ विश्वविद्यालयको केन्द्रिय क्याम्पस आउँदै थियौ । चालकको
सीटमा सिरिन थियो । म उसँगै अगाडिको सीटमा थिएँ ।
"यसपटकको मेरो बिदा धेरै उत्पादनमूलक भएको अनुभुति भएको छ ।" उसले पृष्टभुमिको गाडिको
नबुझिने आवाजलाई मिचेर हामी वीच विद्यमान मौनतालाई चिर्ने पहल गर्यो ।
सिरिनले सोधेको जटिल प्रश्नको उत्तर सुरेश सरले दिएको "कर्म मन्त्र" ले समेटेको थियो । उसको डायरीमा
त्यो तात्तातो अभिव्यक्ति 'आजको सिकाई' रुपमा प्रवेश
गरिसकेको थियो भन्ने निचोड मैले निकालेँ । मेरो रणनीतिले राम्रै काम गर्यो ।
कहिलेकहीँ यस्तै जुर्छ । आफ्नो थाप्लोमा अनुत्तिर्ण हुने प्रावधान नभएको परीक्षामा
बस्नु पर्ने क्षण आईलाग्छ । तर यसपाला भने मलाई अभूतपूर्व सफलता हासिल गरेको
अनुभूति भयो ।
सिरिन छुट्टिमा आएको वेला मैले पनि उ वाट धेरै नौला जानकारी र सूचना पाउने
अवसर जुटेको छ । यस पटक उसले मलाई प्राध्यापक जोन कावात जिनको भिडिओ उपहार दिएर
गयो । 'विपस्यना ध्यान' विधालाई विज्ञानको मूलधारमा समाहित
गर्ने व्यक्ति रहेछन- जोन कावात । भिडिओमा उल्लेखित उनका केही टिप्पणीहरु रोचक र
आजको पुस्तालाई समेत प्रभाव पार्ने किसिमका रहेछन ।
"जतिसुकै पारगँत साधक किन नहोस ? जतिसुकै महँगो र जटिल बाजा किन नहोस ? सँगित सिर्जना गर्नु अघि वा
बाजा बजाउनुपूर्व ताल मिलाउनु पर्छ । मनको ताल मिलाउने काम विपासना ध्यान हो ।"
"डुईङ (कर्म गर्नु) र विईङ् (अस्तित्व हुनु) मा धेरै फरक छ ।"
"भविष्य र विगत भनेका दुवै अवधारणा हुन ।"
"चेतनामा हुनु भनेकै ध्यान हो । चेतना असिमित छ ।"
भिडिओमा जोनले अगाडि भनेका रहेछन-हामी 'त्यहाँ' सम्म पुग्ने भनेर
गन्तव्यको तय गर्छौ । कसरी पुग्ने भनेर 'मोडलिङ्' पनि गर्छौ । तर समस्या हामीलाई 'यहाँ' नै थाहा हुँदैन । यस्तो अवस्थामा गन्तव्य तय गर्नु र 'त्यहाँ' पुग्ने बाटो रोज्नुको कुनै
अर्थ हुन्छ र ? '
भिडिओ सिफारिश गर्दा सिरिनले आश्चर्य व्यक्त गरेको थियो-"यो जोन भन्ने प्रवचन दिने व्यक्ति
घण्टौ सम्म एउटै आसनमा उभिएर वक्तव्य दिन सक्दो रहेछ । वक्तव्य दिँदा न त उ पानी पिउँछ । न त उस्को शरीरमा कतै चिलाउँछ । न त उ विश्राम नै लिन्छ । हामी
भने एक छिन पनि धैर्य भएर कुनै काममा लाग्न सक्दैनौ । कुनै विषयमा केही मिनट सम्म
पनि एउटै सोच पाल्न सक्दैनौ ।"
अक्षर शिरोमणि भनेर चिनिने
नेपालका अध्येता मदनमणि दीक्षितले "अनन्त चैतन्य" नामक उहाँको पछिल्लो कृतिमा महाभारतको एक
श्रलोक उद्धृत गरेका छन्-
ईष्टँ दत्तँ तपोअधितम
ब्रतानी नियमच्च ये
सर्वमेतविज्ञानियात् ज्ञानस्यान्तो न विद्यते ।
अर्थात मित्रता दान धर्म पठन-पाठन, ब्रत र अनुशासनका नियमहरुका विनाश र अन्त्य हुन्छन तर
ज्ञानको कुनै अन्त्य छैन ।
दीक्षितले लेखे-
'मानिसको चेतना बेगर
ब्रम्हाण्डको अस्तित्वसमेत रहँदैन ।'
दीक्षितका "ज्ञान" र "चैतन्य" सम्बन्धित टिप्पणीहरु जोनका "अवेरनेस" सँग सम्बन्धित निचोडसँग
समानान्तर हिँडेको पाएँ । तर मलाई लाग्दैन- दीक्षित र जोन एक अर्कामा परिचित छन वा एकले
अर्कालाई पढेका छन । तर आ-आफ्नो कित्तामा उत्तिकै उचाईमा छन । उत्तिकै लोकप्रिय छन । लाखौ नरनारीलाई
आफ्ना श्रोता वनाउन सकेका छन ।
मैले सहज निचोड निकालेँ - सुरेश सरले भने झै पक्कै तिनीहरुको प्रसिद्धि पनि "नअराको" काम फत्ते गरेरै नै भएको
होला ।
भाद्र ०३, २०७३
सिनेट हल
काठमाण्डौ विश्वविद्यालय
साभार : http://ujyaaloonline.com/news/category/25/blog/
साभार : http://ujyaaloonline.com/news/category/25/blog/
No comments:
Post a Comment