Wednesday, June 21, 2017

पानी सँसारमा बाघको खोजी



नेपालबाट पूर्व उड्दा देब्रेतिरको झ्यालको सिट र पश्चिम उड्दा दाहिनेतिरको झ्यालको सिट रोज्ने मेरो बानी यसपटक पनि कायम रहृयो । यसकारण मेरो टिकट मिलाउने ट्राभल एजेन्सीलाई यो कुरा स्पष्ट भनेको थिएँ । टिकट जाँच कक्षमा तीनजनाको एकैसाथ कागजात बुझाउनुपरेकोले मेरो माग जोखिममा परेको आभाष मलाई भएको थियो । यसैले सामान जाँच गराउन अगुवाइ गरिरहेकी सहयात्री शिलालाई सिट रोजाइका विकल्प पनि उल्लेख गर्न लगाएँ ।

तीनै जनालाई देब्रेतिर झ्यालका अलगअलग सिट ।

नभए,

एक जनालाई देब्रेझ्यालतिर पारेर तीनै जनालाई एउटै लहरमा ।

नभए,

जता भए पनि तीनै जनालाई एउटै लहरमा ।

दुर्भाग्यवश नतिजा नचिताएको चैँ आयो । विकल्पहरूले काम गरेनन् । शिला र म दाहिने तिरको लहरमा परर्यौं । सूर्यमान सर भने हाम्रो भन्दा पछाडिको सिटमा ।

जहाजमा कुनै उल्लेखनीय प्रसंग सिर्जना भएन । मैले एउटा पुस्तक पढेर अधिकांश समय बिताएँ । हाम्रो गन्तव्य थियो बंगालादेशको दक्षिण समुद्री किनारा नजिकमा अवस्थित व्यापारिक केन्द्रको खुलना इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालय (अर्थात् छोटकरीमा कुयेट) । त्यहाँ आयोजना गरिएको फोहोर मैला व्यवस्थापन विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन हामी छ जना नेपालीहरूको समूह जाँदै थियो । समूहको केन्द्रमा थियो सुनजोडी । वातावरण व्यवस्थापन र पूर्वाधार विकासमा जुग बिताएका पूर्वमन्त्री एवं अभियन्ता गणेश शाहले जुराई दिएको नाम होसुन जोडी । तर यसपटकको यात्रामा मह जोडीको भाइ सुनजोडीमा हिरा जडिएर दि सुनभएको थियो । किनभने सूर्यमान शाक्य, म र डा. दिनेशराज मानन्धर एकै साथ थियौं र केही दिनको हाम्रो बाससमेत एकै थलोमा हुने वाला थियो । यो यात्रामा दिनेशजीको साथ दिनु भएको थियोआरती भाउजुले । अर्का सहभागी डा. अनिश घिमिरेको भने दिल्ली भएर उडान भएकाले उनीसँग ढाकामा भेट गर्ने सल्लाह थियो ।

हाम्रो अन अराइभलअर्थात आगमन भए पछि दिइने भिसा लिने योजना थियो । सूर्यमान सरको रणनीति मुताविक मैले एक सामूहिक निमन्त्रणा पत्र पनि मगाएको थिएँ । वास्तवमा नै यसले हाम्रो काम धेरै सहज बनाएको थियो । अध्यागमन भिसा दिन पाँचजना प्रहरी अधिकृतले काम गरिरहेका थिए । हामी पाँचजना नेपालीबाहेक त्यहाँ अरू विदेशी पनि थिए । दाहिनेतिरका अधिकृतले एक गोरो वर्णका विदेशीलाई र्याख र्याख्ती पारेको सुनियो ।

हृवाई आर यू कमिङ टु बंगालादेश ?’

टु मिट माई फ्रेन्ड ।

विदेशीले उनको साथीको नाम ठेगाना बताए । ती एक बंगाली महिला रहिछिन् ।

इज सि युर फ्रेन्ड अर गर्लफ्रेन्ड ?’

केरकार गरिरहेका अधिकृतको प्रश्न सुनेर विचारा विदेशीले रातो मुख बनाए । हामीले मुखामुख गर्यौं । सूर्यमान सरले मौकाको फाइदा उठाउनुभयो । वहाँले दिनेशजीको कानमा खुसक्क भन्नुभयो ।

तयार हुनुहोस् । अब तपाईंलाई पनि आरती भाउजू तपाईंकै श्रीमती हो भन्ने प्रमाण देखाऊ भन्न सक्छन् ।

यो प्रसंगमा हामी पछिसम्म हाँस्यौँ । हुर्मत काढिएका विदेशीको ठाउँबाट हेर्दा व्यक्तिगत कित्ताका प्रश्न सोध्ने ती बंगाली अधिकृतले लक्ष्मणरेखा काटेकै ठहरियो । बंलादेशको अध्यागमनको काम प्रहरीमा रहेछ । अन्य कतिपय मुलुकमा पनि यस्तै छ । नयाँदिल्लीमा पनि अग्रिम भुक्तानी ट्याक्सी सेवा सञ्चालनको काम प्रहरीले गर्छ । नेपालको अध्यागमन विभाग गृह मन्त्रालयअन्तर्गत छ । लोकसेवा पास गरेका कर्मचारी त्यहाँ काम गर्छन् । राज्य सञ्चालनक यो असल पक्ष हो ।

सामान बुझेपछि अनिशसँग भेट भयो । दिनेशजी र आरती भाउजुको भोलिपल्टको आन्तरिक उडानको टिकट भएकोले वहाँहरू होटलतिर लाग्नुभयो । बाँकी हामी चारजना रात्रिबसबाट खुलना जाने तय थियो । विमानस्थलमा हामीलाई लिन आएका बंगाली सहयोगीको मद्दतले खुलना जाने बस चढ्ने ठाउँमा गयौं । बस यातायातको कार्यालयमा सामान राखेर चियाको खोजीमा निस्कियौं ।

बंगालादेशमा नेपालमा जस्तो दुग्ध पदार्थ सर्वसुलभ छैन । चिया कफीका लागि प्रायः आयातित पाउडर दूध प्रयोग हुन्छ भन्ने जानकारी मैले विगतका भ्रमणमा पाएको थिएँ । नेपालमा पाइने गोठको दूधले बनेको चिया पिउने तलतल पाउडर दूधले मेटिने कुरो थिएन ।

चिया बेचिरहेको पसलमा मैले सोधेँ ।

गोरु दूध चिया आसे ?’

डेनिस अर्थात् पाउडरको मात्र रहेछ । अरू एक दुईवटा पसल चहारेपछि गोरु दूध अर्थात् हाम्रो भाषामा गाईको दूध पाइयो । गाईलाई गोरु भन्ने ठाउँमा गोरुलाई चै केभन्दा हुन् भन्ने कौतुहल जाग्नु स्वाभाविक भयो । पछि थाहा भयो, साँढेभन्दा रहेछन् ।

अर्को दिन बिहान सात बजे कुयेट नजिकैको फूलबारी चौकमा ओर्लियौं । रात्रिबसको थकाइ । गन्तव्यको खानपिनको व्यवस्थापनको शून्य जानकारी । हामी ओर्लेको चोकको छेउछाउमा लोभलाग्दा चिया पसल । यी कारण नै पर्याप्त थिएएक एक कप गोरु दूधको चिया पिउन । हामीले चिया र गफ मजैले मिसायांै । हाम्रो आतिथ्यताका लागि सम्मेलनका सचिव डा. इस्लामले कुयेटको अतिथि आवास गृहका सम्पर्क अधिकृत राजीवलाई खटाएका थिए । उनी फोन गर्नासाथ आइपुगे । हामी भुइँ रिक्सा चढेर अतिथि गृहतिर पुग्यौँ ।

विश्वविद्यालयको नयाँ अतिथि गृहमा हामी सबै नेपाली सहभागीहरूको गाँस र बास दुवैको व्यवस्था गरिएको रहेछ । हाम्रो सम्मेलन भोलिपल्ट बिहान मात्र सुरु हुने भएकोले त्यस दिन हामी फुर्सदिला थियौं । अपराहृन कुयेटका उपकुलपति तथा सम्मेलन आयोजक समितिका अध्यक्ष प्राध्यापक आलमगिरसँग भेट भयो ।

तपाईंहरूलाई भिसा लिन त समस्या परेन ?’ वहाँले पहिलो प्रश्न गर्नुभयो । हामीले सँगै भिसा लिएका एक विदेशीलाई गरिएको केरकार सम्झियांै । सम्मेलनमा आउने तय भएका भारतका प्राध्यापकलाई कलकत्तामा रहेको बंगालादेशको राजदुतावासले भिसा नदिएको रहेछ । सम्भवत संसारभरि नै प्राज्ञिक प्रयोजनका लागि तुलनात्मकरूपमा सहजै भिसा पाइन्छ । मलाई एकपटक फेरि नेपालको प्रतिनिधित्व गरेर नेपाली राहदानीले विदेश घुम्दा पाइने प्रतिष्ठा र मानमा गर्व गर्न मन लाग्यो । अफ्सोच ¤ हामीले यसको भ¥याङ लगाएर अहिलेसम्म कुनै उचाइमा पुग्ने काम गर्न सकेनाँै ।

दुईदिने सम्मेलनमा पनि हामी सबै नेपाली सहभागीले उच्चस्तरको सम्मान पायौँ । मैले त प्लेनरी सत्रकै अध्यक्षता गरेँ । सूर्यमान सर र दिनेशजीले पनि एक एक प्राविधिक सत्रको अध्यक्षता गर्नुभयो । अनिश र शीलाले कार्यपत्र प्रस्तुत गरे ।

हामी पुगेकै दिन कुयेटको मूलद्वार बाहिरको सानो बजार केही बेर घुमेका थियौं । त्यहाँ सडकमा हिँड्ने महिला चार किसिमका पहिरनमा सजिएका पाइए । पूरै शरीर ढाक्ने कालो वा रंगीन बुर्का, सलवार कुर्ता र साडी चोलो । यीमध्ये कालो बुर्काले मेरो ध्यानाकर्षण ग¥यो । स्त्रीले लगाउने यो लुगा सबैभन्दा रुढीवादी होला । यसर्थ मेरो मनमा कालो बुर्कासम्बन्धी एक प्रश्न पहाड बनेर उभिएको थियो ।

आखिर किन लगाउँछन् कालो रङको बुर्का ?

आज म यो प्रश्नको उत्तर सकेसम्म कालै बुर्का लगाएकी युवतीलाई सोध्छु भन्ने निर्णय लिएँ । यो काम सजिलो थिएन । दिवा भोजको क्रममा मेरो टेबलको छेउमा एक हुल युवा बसे । त्यस समूहमा एक युवतीले कालो बुर्का लगाएकी थिइन् । शौभाग्यवश, उनको अनुहार भने छोपिएको थिएन । त्यही टेबलमा बसेकी अर्कीले सलवारकुर्ता लगाएकी थिइन् । साथमा केही केटाहरू थिए । मेरो काम अलि सहज भएको अनुभूति भयो । म छेउमा गएँ । उनीहरूले मलाई चिनिसकेका थिए । स्वागत गरे ।

मसँग एउटा प्रश्न छ । सम्बन्धित व्यक्तिले नै उत्तर दिए राम्रो ।

उनीहरूले स्वीकृति दिए ।

हाम्रो नेपालमा पनि अहिले धेरै युवा युवती कालो रङको पहिरन लगाउन थालेका छन् तर उनीहरूको उद्देश्य फेसनसँग जोडिएको छ । यहाँ बंगालादेशमा पनि महिलाहरूले शरीरै ढाक्ने गरी कालो लगाएको देखेँ । यसको कारण के होला ?’

मैले पृष्ठभूमिमा नेपालको सन्दर्भ जोडेकोले प्रश्न अप्रिय भएन होला मेरो अनुमान थियो । उनीहरूको अनुहारको गाम्भीर्यमा कुनै परिवर्तन देखिएन । मतलब मेरो प्रश्नले सहज गोल गरेको थियो ।

ध्यान विकर्षण गर्न ।

मेरो मस्तिष्क चकरायो । ध्यान आकर्षण गर्नु भनेको प्राकृतिक हो । भवँराको ध्यान आकर्षण गर्नु नपर्ने भए फूल रंगीन हुने थिएन । इन्द्रेणीमा पनि कालो रङ हुन्थ्यो होला । आकर्षणले आवेग पैदा गर्छ । आवेगले प्रेम । सँसार चल्ने प्रेमले नै हो तर यो कालो संसारको बुझाइ मेरोभन्दा फरक निक्ल्यो । केही दिनअघि कम्बोडियाको भ्रमणमा नोम पेन्ह विमानस्थल पार्किङमा हेलमेट लगाएकी एक युवतीको पाइन्टले ध्यानाकर्षण गरेको थियो । उनले जिन्स पाइन्ट र पहेँलो ज्वारीकोट लगाएकी थिइन् । ट्याक्सीको झ्यालबाट उनको पाइन्टमा लेखिएका अक्षर स्पष्ट देखिन्थे । मैले फोटो पनि खिच्न भ्याएँ । त्यसमा लेखिएको थियोसेक्सी गर्ल । कस्तो अचम्म ¤ एकातिर पहिरनको यो उदारवाद ¤ अर्कोतिर बुर्काको कालो संसार !

दुई दिनको सम्मेलन सकेर सुन जोडी इटालियन र जर्मन सहभागीहरूसँग मिसिएर सुन्दरवनको यात्रामा निक्लियो । लगभग दस हजार वर्ग किलोमिटरमा फैलिएको यो संरक्षित क्षेत्र भारत र बंगालादेश दुवै देशमा फैलिँदो रहेछ । युनेस्कोको विश्व सम्पदासूचीमा राखिएको सुन्दरवन वास्तवमा टापुहरूको समूह रहेछ । बाघ पाइने भएको हुनाले यो विश्वमै नामी पर्यटकीय स्थल रहेछ । दुई रात पानी संसारम बिताउने हाम्रो योजना थियो ।

जलयात्राको कल्पनाले होला मलाई साढे तीन बजे नै निद्राले छोड्यो । हाम्रो यात्राको चाँजोपाँजो मिलाउने सहयोगी राजिव नै परेछन् । साढे पाँच बजे त हामी प्रस्थान गरिसकेका थियौँ । अतिथिगृहदेखि घाटसम्म कुयेटकै भ्यानमा गयौँ । घाटमा रहेको सानो डुंगा चढेर लगभग आधा घण्टाको पानीयात्रापछि क्रुज सिप अर्थात् सानो जहाजमा सर्यौं । त्यो सानो जहाज वास्तवमा हाम्रो लागि होटल र सवारीसाधन दुवै थियो ।

जहाज पासुई नदीमा लगभग २० किमि प्रतिघण्टामा थियो । नन्दावाला भन्ने ठाउँमा पुगेपछि हामी सेइया नामको शाखा नदी पछ्याउँदै अघि बढ्यौँ । जहाजको अगाडिपछाडि, दायाँबायाँ चारैतिर आँखाले देख्न भ्याउनेसम्म पानी नै पानी । अर्थात् यो पानीको संसार । त्यसपछि पानीमै उभिएका रूखले बनेको जंगल । मैले सोचेँ, एक किसिमले यो पानी जंगल हो । नदीहरू एक आपसमा जोडिएर जहाजको बाटो बनाएका छन् । यो प्रकृतिले बनाएको बाटो हो । मान्छेले त जहाज मात्र बनाएका हुन् । जमिनको भूभागको यातायात र यसमा मैले एक भिन्नता पाएँ ।

क्रुज सिपको भुइँतलामा सुत्ने कोठा थिए । बीचमा भान्सा र भोजन कोठा । छतमा भने दृश्यावलोकन गर्ने कौसी जस्तो संरचना । साँझपख म छतमा गएँ । इटालिकी फ्रान्सिस्का र भेरोनिकालगायत अन्य केही साथी थिए । नेपालमा नदीहरू प्रशस्त छन् तर बगिरहेको नदी हेरेर जो कोहीले पनि कल्पना गर्न सक्छ, यो नदी कहाँसम्म जाने होला !

नदीको गन्तव्य आफ्नै आँखाअघि अनुभूति गर्ने ठाउँमा आइपुगेको थिएँ म । मैले नदी र समुद्रको एउटा प्रसंग सम्झेँ । फ्रान्सिस्कालाई सुनाएँ ।

नदी र समुद्रको वार्तालाप भएछ ।

किन तिमी वर्षौंदेखि यसरी मलाई भेट्न आएका छौ ?’

म गुलियो छु । तिमी नुनिलो छौ । म तिमीलाई पनि गुलियो बनाउन चाहन्छु ।

तर तिमी त लाखौं करोडौं वर्षदेखि बगिरहेछौ ।

जबसम्म मेरो लक्ष्य पूरा हुँदैन । म बगिरहनेछु । तिमीलाई गुलियो बनाइरहने छु ।

उपस्थित सबैजनाले ताली पिटे । फ्रान्सिस्काले यो कथा फेसबुकमा राख्छु भनी । नेपाल आएपछि थाहा भयो, उसले भनेको काम गरिछे । मैले उसको कामको प्रशंसा गरेँ । अहिले पनि कहिलेकाहीँ म उसको त्यो पोस्ट हेरेर रमाउँछु र पानीसंसार सम्झन्छु, फ्रान्सिस्कालाई सम्झन्छु । फ्रान्सिस्का मैले जीवनमा भेटेका विदेशीमध्येकै राम्री र फरासिली तरुनी थिई । साल्सा नृत्य गर्छु भन्थी । अनि घरिघरि लेट्स डु समथिङ् वन्डरफूलभनेर सबैको ध्यानाकर्षण गर्थी । पहिलो दिनको वास कालकामा भयो । वास्तवमा यो एक अनकन्टार ठाउँ थियो । भोलिपल्ट बिहान हाम्रो जहाजले घिसारेर ल्याएको सानो डुंगा लिएर घुम्न जाने योजना बन्यो । नभन्दै हामी सबैजना मिर्मिरेअघि नै सानो डुंगामा सर्यौं। डुंगाले हामीलाई जंगलभित्र लिएर गयो ।

मैले डायरीमा नोट गरेँ । पूर्वाहृन ६ः१२ । चलिरहेको धमिलो पानी । पानीमाथि डुंगा । डुंगामाथि कुर्सी । कुर्सीमाथि म । लगभग १५ मिटर चौडाइको नदी । पानीलाई छोएको लेदो माटो । नहरको जस्तो किनारा । किनाराले जंगललाई छोएको छ । आठदश मिटर अग्ला रूखहरू । चराचुरुंगीको आवाजचिउ चिउ चिउ, कुखुरी काँ, हु चिउ । पर उडेका चरा केही देखिए ।

हाम्रा यात्रा प्रदर्शकको नाम थियोकिंगसन । किंगसनले मौन रहन आदेश दिए । हामी कुनै जनावर देखिने आशामा थियौं । नभन्दै डुंगाको यात्रामा हामीले हरिण र बनेल देख्यौं । केही चरा पनि देखिए । तर बाघको भने अत्तोपत्तो थिएन ।

सूर्यमान सरका जुँगा फुरफुर गर्न थाले । वहाँले किंगसनलाई सबैका अघि सोध्नु भयो

अनि खै त बाघ ?

भोलि माल्ग्रुमको जंगलमा भेटिन्छ ।

ऊ पनि के कम । समयको सहारा राम्रैसँग लियो ।

हाम्रोभन्दा केही ठूलो आकारको डुंगामा केही बंगालादेशी पर्यटकहरू पनि हामीलाई पछ्याउँदै आए । डुंगा चालकले मोटर बन्द गरेर हातले नै डुंगा खियाउन थाले । केही समय पछि डुंगा त स्थिर भयो ।

डुंगाले भुइँ छोयो ।चालकले घोषणा गरे ।

ल मार्यो  । अब के हुन्छ ?’

म भित्रभित्रै आत्तिएँ । चितवन राष्ट्रिय निकुन्जभित्र चलिरहेको गाडी एक्कासि रोकिएको जस्तो भान भयो । त्यो अनकन्टार ठाउँमा उद्धार गर्न पनि को आउला र !

तर कोही पनि आत्तिएको देखिएन । पानीको गहिराइ तीन फिट जति मात्र थियो । हामी चुपचाप थियौँ । केही बेरमा किंगसनले भन्यो

टाइड आएपछि पानीको सतह बढ्छ । अनि डुंगा फेरि चल्छ ।

रोकिएको डुंगा चल्ने यस्तो अनौठो सूत्रको जानकारी अहिलेसम्म मैले सोचेको थिइनँ । सुनेको त थिएँबंगालादेशजस्तो समुद्रीकिनारका भूभागमा नदीको बहाव दुईतर्फी हुन्छ । यो हुनुको कारण ज्वारभाटा अर्थात् टाइडको कारणले हो । आफैंले त्यो भोग्दा नयाँ अनुभूति भयो ।

अर्को दिन बिहान हामीले जमिन टेक्ने मौका पायौं । डुंगाबाट जेटी हुँदै जमिनमा टेकियो । माल्ग्रुम नामको जंगलभित्र तीन घण्टाको पैदल यात्रा ग¥यौँ । पानीमा अडिएको जंगललाई म्याग्रुभ भनिन्छ । तर हामी हिँडेको जंगल भने नेपालकै जस्तो थियो । ठउँठाउँमा आली बनाएर उठाइएको बाटोमा पैदल यात्रा गरियो । त्यहाँ घाँस जातका वनस्पतिको नामो निशाना थिएन । हरिणले उभिँदा जहाँसम्म भेट्छ त्यो उचाइसम्म पातको नाम निशाना नभएका रूख । परबाट हेर्दा भने औजार प्रयोग गरेर एकनासले छाँटिएको जस्तो । पूरै जंगलमा एउटा तहभन्दा माथि मात्र पात । बडो मनमोहक दृश्य अवलोकन गर्न पाइयो ।

एक दुई ठाउँमा जमिनको सतह केही माथि उठेको पाइयो । किंगसनले अर्थायो ।

यो बाघले हरिण खाने ठाउँ हो ।

अनि खै त बाघ ?’

सूर्यमान सरका जुँगा फेरि फुरफुर गर्न थाले ।

आज बेलुकासम्म बाघ नभेटिए तिम्रो ज्यान जोखिममा पर्ने छ ।

हाम्रो साथमा भएका वन सुरक्षाकर्मीको बन्दुक देखाउँदै सूर्यमान सरले किंगसनलाई आतंकित पार्ने अभिनय गर्नुभयो । सबै गलल्ल हाँसे । बाघ नेपालमै पनि सजिलै भेटिने जन्तु होइन । हाम्रो यात्राको तेस्रो तथा अन्तिम दिनमा भने डल्फिन देखिए । चार नदी मिसिएका स्थानमा पानीको सतहबाहिर उफ्रेका डल्फिन देखेर हामीले बाघको न्यास्रो मेट्नु पर्यो 

दुई रात तीन दिनको यात्रा सकेर हामी खुलना आएर बस्यौं । फर्किंदा भने हामीले जोहोरढाकाको हवाईयात्रा गर्यौं । जोहोर विमानस्थलमा फेरि इटालियन र जर्मन टोलीसँग भेट भयो । सुन्दरवनमा बाघ नभेटिएको प्रसंग फेरि चर्चामा आयो ।

ढाकाबाट दिउँसो तीन बजेको उडान थियो । हतारहतार केही किनमेल पनि गर्यौं । त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्यो ।

अध्यागमनमा म संयोगले एक महिला कर्मचारीको भएको लाइनमा परेछु । लाइन लामो थिएन । मेरो पालो आएपछि उनले पुलुक्क हेरेर भनिन् ।

गुड आफ्टरनून सर !

गुड आफ्टरनून ।

मेरो बीस वर्षको विदेश आईजाईको क्रममा भएको यो पहिलो घटना थियो । अध्यागमनका अधिकृतले मलाई अभिवादन गर्ने । मैले उनको प्रशंसा गरेँ ।

म विगत बीस वर्षदेखि विदेश यात्रा गर्दैछु । आज दुईवटा अनौठा घटना भए । पहिलो, मैले कुनै महिला अधिकृतको सेवा पहिलोपटक लिन पाएँ । दोस्रो, त्यो सेवामा मुस्कानसहितको अभिवादन थियो । म अत्यन्त खुसी छु ।

उनी मजैले मुस्कुराइन् । उनको मुस्कानले मलाई एउटा स्पष्ट सन्देश दियो ।

अध्यागमनलगायतका अन्य कतिपय सेवा दिने क्षेत्रमा नेपालले फड्को मारेको छ । किनभने अब त्यहाँ मलामी गाम्भीर्यको ठाउँमा मुस्कानको मूल फुट्न लागेको छ ।

मैले नोट गरेँ । बंगालादेश भ्रमणको सबैभन्दा ठूलो उपलब्धि यही सन्देश थियो ।

१६ चैत, २०७३

चौतारा, सिन्धुपाल्चोक

प्रकाशक : हिमालय टाईम्स
लिङ्क : http://ehimalayatimes.com/bichar-sahitya/10099

No comments:

Post a Comment