Sunday, June 25, 2017

झोलाको बार भत्किदाँ



पूर्वी नेपालमा प्रचलित केही शब्दहरु मध्ये एउटा हो-लोदर । यसपटकको पश्चिम नेपालको यात्रामा मलाई पनि नराम्रो सँग लोदर लाग्यो । तर सृष्टिको सिद्धान्त छ- कुनै परिस्थिति जति तल खस्छ त्यसले उतिकै नापोमा राम्रो हुने सँभावना पनि बोकेर ल्याउँछ । लिङ्गे पिङ् एकातिर जति मचिन्छ त्यतिकै उचाईमा अर्को तिर पनि मचिन्छ । एउटै पहाडमा उकाली र ओराली उस्तै प्रकृतिका हुन्छन् ।

बुद्ध एयरको अपरान्हको अन्तिम उडानबाट म नेपालगन्ज जान लागेको थिएँ । नेपालगन्जमा नेपाल र भारतका राप्ती नदी सरोकार समूहलाई वातारणीय प्रभाव मूल्याङ्कन विषयमा तालिम दिनु थियो । बुद्ध एयरका हवाई सुन्दरीहरुको कालो पहिरन मलाई कत्ति पनि जँचेन । बँगालादेशमा कालो बुर्का किन लगाउँछन ? भन्ने विषयलाई  जोडर लेखिएको नियात्रा छापिएको पत्रिकाको अँक झोलामा थियो । मैले आफूलाई जानी जानी जहाजबाट ओर्लने अन्तिम यात्रु बनाएँ । नेपालथरकी हवाई सुन्दरीलाई त्यो पत्रिका दिँदै भने ।

बँगालादेशमा कालो बुर्का किन लगाउँछन ? यसमा लेखिएको छ । तँपाईहरुको पहिरन पनि कालो भएछ । पढेर व्यवस्थापनलाई केही सुझाव दिनु होला ।
उडानमा निति फाउन्डेशनका सौमित्रजी र म सँगै थियौ । वास्तवमा नेपालगन्जमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा मलाई पण्डितजी को भूमिका दिनै उनै थिए । म यस्ता गोष्ठीलाई हलुका स्नायूमा भन्नु पर्दा विकासे रुद्रिको सँज्ञा दिन्छु । गोष्ठी नेपालगन्जको अहिले नयाँ खोलिएको होटेलमा आयोजना गरिएको रहेछ ।

    म तोकिएको कोठामा पुग्ना साथ रुद्रि वाचनको तयारीमा जुटेँ । मिनि बार खोलेर हेरेँ । क्यान वियर र जुस आदि देखिए । मलाई भने एकाएक वोतलको वियर पिउँदै स्लाईडमा काम गर्ने सुर चढ्यो । रुम सर्भिसलाई फोन गरेर वियर मगाएँ । तर वियरको आगमनले एउटा अचम्म लाग्ने परिस्थिति सिर्जना गर्यो । वियर ल्याउने केटाले त्यसको विल पनि साथमा ल्यायो र नगद भुक्तानी गर्नु पर्ने नियम भएको जिकिर गर्यो । यो नौलो काईदा मलाई पचेन । मैले वियर फिर्ता गरेँ । एकैछिनमा फोन आयो ।

आपने दारु मगाया था ना । उसके लिए आपको क्यास देना पडेगा ।

वो दारु नही था । वो तो वियर था ।

मैले पनि भित्तैमा पुग्ने गरी जवाफ दिएँ । जवाफको पहिलो वाक्य हिन्दी बोलेर मैले भाषाको गियर परिवर्तन गरेर अँग्रेजी बोल्न थालेँ । आफ्नै मुलुक भित्र भएको भाषिक गन्जागोल मलाई बिझाईरहेको थियो । मगाएको सामान पनि फिर्ता गर्नु पर्ने स्थिति लोदर लाग्नुको पहिलो प्रमाण भयो ।

रुद्रिमा पनि भाषाको ठूलो समस्या सिर्जना भयो । भारतका सहभागी गोरखपुर तिरका बासिन्दा थिए । उनीहरु हिन्दिमा बोल्थे । नेपालीहरु मध्ये केही हिन्दि नबुझ्ने थिए । अँग्रेजी दुवैलाई समस्या थियो । मलाई केही हिन्दी आँउथ्यो । तर औपचारिक कार्यक्रममा मैले हिन्दिमा बोल्ने जमर्को नगर्ने मान्यता राखेको थिएँ । अन्ततोगत्वा मैले कठिनाईका साथ तिनवटै भाषा प्रयोग गरि रुद्रिवाचनलाई विट मारेँ । तर श्रोताका भावशून्य अनुहार, पूर्व वक्ताका रुखा प्रस्तुती,  

सहभागीहरुको असमान स्तर र निरस विषयवस्तु आदिको कारण रुद्रि वाचनमा पनि मजैले लोदर लाग्यो ।
मेरो अपरान्ह ५:१० को बुद्धकै उडानबाट काठमाण्डौ फर्किने टिकट थियो । सौमित्रको अरु दुई दिन बस्नु पर्ने काम भएकोले यो फिर्ती यात्रामा म नितान्त एक्लो थिएँ । विमानस्थलका लागि तिन बजे तिर प्रस्थान गरेँ । होटल परिसर वाहिर के निस्कनु थियो, नेपालगन्जको गर्मीले हार्दिक स्वागत गर्यो । सडकमा रिक्साको सवारीको नामोनिसाना थिएन । रिक्सालाई तिन पाङ्ग्रे टेम्पोले विस्थापन गरेछ । तराईका शहरमा यो रिक्सा हटाउ अभियानले अभूतपूर्व सफलता प्राप्त गरेको छ ।
राँझा विमानस्थलमा पुगेर सामान जाँच गराएँ । कार्यशालामा आफ्नो प्रस्तुतिमा रङ् भर्नका लागि मैले वातावरणीय प्रभाव मुल्याङ्कन सम्बन्धित एक कार्टुन सामाग्री ल्याएको थिएँ । त्यसले गर्दा सूरक्षा जाँचको ट्याग लगाउनु पर्ने मेरा दुई पोका भए । हातमा पछाडि भिर्ने झोला थियो । विमानस्थलमा असामान्य चहल पहल देखियो । मनमा चिसो पस्यो । सामान जाँच गर्ने प्रहरी जवानहरुले नै नचिताएको सूचना प्रवाह गरे ।

पाँच बजेको उडान सात बजेलाई सरेको छ ।

नभन्दै काउन्टरमा बुझ्दा पनि त्यहि जानकारी पाईयो । मौसमको खराबीका कारण चौतर्फी उडानहरु प्रभावित भएका रहेछन । मेरो निर्धारित उडान भन्दा अघि काठमाण्डौ जानु पर्ने जहाजकै अत्तो पत्तो रहेनछ । बुद्धकै कार्यालयमा सामान राखेर म हाते झोला च्यापेर टर्मिनल भवनवाट बाहिर निस्किएँ । हिजो वियरपान गर्न नपाएको रनाहाको अवशेष बाँकि नै थियो । म विमानस्थल परिसरको चमेना गृहमा पुगेँ । त्यहाँ पनि अत्यधिक भीड थियो । ग्राहक धेरै भएको ठाउँमा सेवा निम्छरो हुन्छ । यसैले मैले टर्मिनल भवन वाहिर गएर केही खाजा पनि खाने सोच बनाएँ ।

लगभग एक घण्टा बाहिर विताएर फर्किँदा चहल पहल अझ बढेको पाएँ । बस्ने ठाउँ पनि मुश्किलले भेटियो । चिनजानका साथीभाई कोही भेटिन्छन कि भनेर आँखा डुलाएँ । कोही पनि भेटिएन ।  हाम्रो भन्दा अघिल्लो जहाज त आयो तर त्यो विमानस्थलमा नै थला पर्यो भन्ने सुनियो । जहाज पनि थला पर्दो रहेछभन्ने ज्ञान मलाई अस्ति बँगालदेश बाट फर्किदाँ भएको थियो ।

त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्दा बँगाली हवाई सुन्दरीले उदघोषणमा भनेकी थिईन-

विमान पूर्ण रुपले थला पर्छिन ।

जहाज पूर्ण रुपले नरोकिए सम्म मोवाईल फोनको प्रयोग नगर्नु होलाभन्ने वाक्यलाई बँगालीमा भन्दा जहाज थला पर्ने कुरो आएको थियो । यो अविष्मरणिय प्रसँग फेरी एक पटक ताजा भयो ।

    साँझको छ बज्यो । न त थला परेको जहाजले उड्ने सुरसार गर्यो न त हाम्रो जहाजको टुङ्गो लाग्यो । शौर्य एयरले उडान रद्द भएको घोषणा गर्यो । हामीलाई भने अझै टुङ्गो नलागेको जानकारी दिईयो । अनिश्चयका बादलहरु बुर्कुसी मार्दै रमाउन थाले । उडान रद्द हुने लगभग पक्का भयो । तर मौषम विदले घनघोर बर्षा हुने भविष्यवाणी गरे जस्तै बुद्ध एयरका सम्पर्क कर्मचारीले आज रद्द भएको उडान भोलि सुचारु हुन सक्ने झिनो सँभावना मात्र व्यक्त गरे । मेरो मानसपटलमा भैपरिआएको परिस्थिति सँग जोडिएको यक्ष प्रश्नको जन्म भै सकेको थियो ।

अब के गर्ने ?

सौमित्रजीलाई फोन गरेर स्थिति अवगत गराएँ । उनले मेरो लागि लोदर लागेको होटेलमा कोठा आरक्षण गराईदिने बचन दिए । तर चिन्ता बस्ने भन्दा पनि कहिले फर्कने भन्ने थियो । मेरो जस्तै अनिश्चयको आँधीले सातो उडाएका यात्रुहरुको सक्रियता एकाएक बढ्यो । कसैले नयाँ जानकारी ल्याउला कि ? वा कुनै वैकल्पिक व्यवस्था होला कि ? भन्नेमा सबैले चासो राख्न थाले । म पनि चनाखो भएँ । नेपालीहरुले त नेपालीको भाषा बुझ्दथे । के भई रहेको छ भन्ने सहजै अनुमान गर्थे । तर नेपाली भाषा नबुझ्ने र एक्लै यात्रा गरिरहेका विदेशीहरुका लागि भने यो सन्त्रासको छेउ टुप्पो थाहा हुने कुरो थिएन । मेरो मनमा यो भाव मडारिनुको एक कारण थियो । मँगोलियन मूलका एक विदेशी मोवाईल चलाई रहेका थिए । म उनी छेउ गएँ ।

एक्सक्युज मि, आर यु अल्सो टेकिङ बुद्ध एयर ?”

उनले होभने । जापानिज रहेछन । मैले जापानी भाषामा अभिवादन गरेँ । उनलाई स्थितिको अवगत गराएँ । मैले उनलाई दिएको जानकारी सुखद थिएन । तर त्यसले उनको अन्यौललाई चिरेको थियो । यसकारण भनिएको छ-  

अनिश्चयको साँझमा रुमल्लिनु भन्दा अब झन अन्धकार हुन्छ भन्ने थाहा पाउनु जाती हुन्छ। किनभने यसो हुँदा जडताको शिकार भएको व्यक्तिले अन्धकार सँग सामना गर्न आफूलाई तयार गर्ने अवसर पाउँछ ।

आई हाईली एप्रिसिएट युर हेल्प । थ्याङ्क यू सो मच ।

उनले मेरो जानकारीको प्रशँशा गरे । तर त्यो कष्टकर थियो । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । यसले कुनै व्यक्ति वा पद्धतिलाई जडताको शिकार हुन वाट बचाउँछ । हाम्रो स्थितिमा पनि त्यस्तै भयो ।

हजुर नवराज सर हुनुहुन्छ, होईन ।एक पुरुष पात्रले मलाई औल्याएर सोधे ।

हो । तर, कसरी चिन्नु हुन्छ मलाई ?” मेरा आश्चर्य र हर्षका ढोका एकाएक खुले ।

मलाई रीता म्याडमले पढाउनु भएको हो । फेसबुकमा देखेको हजुरको तस्विर सँझिए ।

उनी सुवेन्द्र ताम्रकार रहेछन । पोखरामा शिक्षकको काम गर्दा रहेछन । उनी मेरा लागि भुँईचालो गएर भत्केको घरले थिचिएको व्यक्तिलाई उद्दार गर्न पुगेको उद्दारकर्मि जस्तै भएर उदाए । विलखबन्दमा एक अर्का यात्रुसँग उनको केही क्षण अघि परिचय भएको रहेछ । उनी भने मोवाईलमा कसैसँग कुरा गर्दै थिए । जीप भाडामा दिने साहुसँग कुरा गर्दै रहेछन । जीप पाईयो भने टिकट रद्द गरेर त्यसमा जाने उनको सोच रहेछ । केही समय अघि एक आपसमा परिचय भएका दुई युवती पनि त्यो अवसर छोप्ने दाउमा रहेछन । यसरी म सहित पाँच जनाको समूह भै सकेको कुरा सुवेन्द्रले भने ।
मैले पनि त्यो विकल्पलाई नगुमाउने विचार गरेँ । आखिर एउटा स्कर्पियो पाईयो । मैले सुवेन्द्रसँग सल्लाह गरि जापानिजलाई पनि हामीले सडकमार्गवाट जाने निधो गरेको र एउटा सिट खाली भएको व्यहोरा अवगत गराएँ । उ दँग पर्यो र हाम्रो प्रस्तावलाई सहर्ष स्विकार गर्यो ।

जे होस,  हवाई यात्रामा पूर्ण विराम लागे पनि सतहमार्गको यात्राको तयारी भएको थियो । हामी ६ जनाको शशक्त दस्ताको निर्माण भएको थियो । साढे सात बजे हामी राँझाबाट काठमाण्डौको लागि प्रस्थान गर्यौ । जिपमा दुई युवतीहरु बीचको सीटमा बसे । मैले पछाडिको सिट रोजेँ । कारण थियो जापानिज मित्रलाई साथ दिनु । सन्दिपजी, जसले गाडि मिलाउनु भएको थियो वहाँ अगाडि चालक सँगैको सिटमा बस्नु भयो । सुविन्द्रजी युवतीहरुको देब्रेतिर झ्यालपट्टि बस्नु भयो ।

नेपालगन्जवाट कोहलपुर आउने सडक स्तरोन्नति गरिएको छ । रात्रीको समय । स्तरीय सडक । सडकमा नगण्य सवारी साधन । तय गर्ने निर्धारित दुरी ५०० किमि भन्दा पनि बढी । स्कर्पियो लाई बतासिनका लागि यि कारणहरु काफि थिए । यात्राको शुरु भएर होला गफ गर्ने हाम्रो तीन समूह बन्यो । जापानिज मित्र र म उस्का र मेरा पेशागत सँलग्नताका कुरा खोतल्न थाल्यौ । सुवेन्द्र र सन्दिपजी सवारी साधनका कुरा गर्न थाले । दुई युवतिहरु आ-आफ्ना भूगोलका ।
केही बेर पछि मैले सबैको ध्यानाकर्षण गर्दै भने-

हाम्रा गफ गर्ने पार्टि धेरै भए । अब एउटै पार्टि गर्ने । तर गफमा लैङ्गिक समानता हुनु पर्छ । सबै भन्दा पहिला चेलिहरुको पुरा परिचयवाट शुरु गरे कसो होला ?”

मेरो प्रस्तावमा पुरुषवर्गले सहमति जनाएँ । चेलिहरु भने मौन बसे ।

घर कहाँ पर्यो त नि चेलिहरुको ?”

मेरो कपिलवस्तु हो ।

झ्यालतिर बसेकी चेलीले रँगमन्च सम्भालिन ।

अनि बीचमा बस्ने चेलीको ?”

सोधेर फटाफट उत्तर दिनु भन्दा हजुरहरुले नै यस बारेमा अनुमान गरे कसो होला ?”

उनको भने गफको रँगमन्चमा प्रवेश घुमाउरो थियो ।

हामीले धानखोलामा खाना खायौ । त्यतिन्जेलमा हामी एक अर्कामा धेरै खुलिसकेका थियौ । घुमाउरो जवाफ दिने चेलीको नाम करिश्मा रहेछ । उनी मध्य-पश्चिमान्चल क्षेत्रमा आधारशिविर बनाएको एक गैरसरकारी सँस्थाको कार्यक्रम सँयोजक पदमा काम गर्दिरहिछन । एक दिने अभिमुखिकरण तालिमका लागि राजधानी जाँदै रहिछन । सन्दिपजी भने पेशाले ईन्जिनियर हुनु हुँदो रहेछ । लगनखेलमा वहाँको आफ्नै फर्म रहेछ । रँगमन्चमा सहज प्रवेश गर्ने चेलीको नाम शर्मिला रहेछ । उनी भने काठमाण्डौमा वसेर परीक्षा दिने तयारी गर्दै रहिछन । उनको अमेरिका जाने निधो भै सकेको रहेछ ।

किन जान लाग्नु भो त नि अमेरिका ?”

नर्स अमेरिका किन जान्छन ?  सर पनि कुरा बुझ्न ट्युबलाईट जस्तै हो कि क्या हो ?”

शर्मिलाले मलाई फूलको जवाफ काँडाले दिईन । सबै गलल हाँसे । करिश्मा र शर्मिला दुवैले नर्सिङ्को स्नातक तहको अध्ययन सकेका रहेछन ।

नारायणघाट सम्मको यात्रामा कुनै लोदर लागेन । दु:ख सुख हामी निधायौ । रात्रीको दुई बजे तिर हामी फेरी गफको रँगमन्चमा प्रवेश गर्यौ । स्कर्पियो सयौँ सवारी साधनको वीचमा चेपिएको थियो । नारायणघाट-मुग्लिन खण्डको सडकको स्तरउन्नति गर्ने कार्य बर्षौ पुरानो भएको थियो । कतिपयले नेपालमा किन पूर्वाधारका यस्ता काममा अनपेक्षित ढिलाई हुन्छ भन्ने विषयमा सिधा सपाट धारणा बनाएका छन । निर्माण कार्यमा नगद फल्छ । काम जति लम्ब्यायो उती धेरै नगदको बाली लाग्छ । लोडसेडिग हुँदा पनि यस्तै भन्थे । आखिर कुलमान भ्रमभन्जक भएर निस्किए । सडक निर्माणमा पनि कुलमान जस्ता भ्रमभन्जक अवश्य निस्केलान । म अरु चुपलागेका बेला यस्तै कल्पना गर्दै थिएँ ।

गाडीको सँकेत सुईले हुने सम्मको कम स्पिड देखाउँछ ।चालकले भने ।

हुन पनि हामी दश किमि प्रति घण्टाले पनि गुडेका थिएनौ । यस हिसाबले मुग्लिन पुग्न मात्रै पाँच घण्टा लाग्ने भो । चालिस किलोमिटरको दुरीलाई पाँच घण्टा लगाउनुको एउटा पिडा एकातिर थियो । अर्कातिर मेरो दाहिने घुँडो एकाएक दु:ख्न थाल्यो । पछाडिको सिट अलि अप्ठ्यारो नै थियो । फेरी मेरा दाहिनेतिरका झोला शत्रु वनेर उदाएका  थिए । घरि घरि तिनले मलाई ठेलेर मेरो बसाई झन असहज बनाउँथे । मैले साथीहरुलाई मेरो पिडा भने । विहानको तिन बजे तिर हामीले सिट साट्यौ । म अगाडिको सिटमा गएँ । जापानिज मित्रलाई चेलीहरु सँगैको सिट दियौँ । सुविन्द्रजि र सन्दिपजि पछाडिको सिटमा बस्नु भयो ।

सात बजे मुग्लिन पुगियो । सुविन्द्रजीको पोखरा जानु पर्ने भएकाले वहाँ त्यहाँवाट छुट्टिनु भयो । मुग्लिनमा हामीले चिया नास्ता सेवन गर्यौ । मैले हाम्रो यात्रा खर्चको फेरीहस्त निकालेँ । सुविन्द्रजीसँग नगद कम रहेछ । जापानिज सँग डलर मात्र रहेछ । मुग्लिनको एटियमले काम गरेन । यी भने झिना मसिना लोदर थिए । तिनलाई हामीले मिचमाच पार्यौ ।
मुग्लिनबाट प्रस्थान गर्दा मैले जापानिजलाई अगाडिको सिटमा बस्न अनुरोध गरेँ । अब भने म चेलिहरुको साथमा थिएँ । मैले देब्रेतिरको झ्यालकै सिट पाएँ  । वीचमा करिश्मा थिईन । तर उनको र मेरो बीचमा एउटा पछाडि भिर्ने झोला थियो । यात्राको शुरुवात देखि नै त्यो झोलाले मेरो ध्यानाकर्षण गरेको थियो । सबैका झोला पछाडि राख्ने वेलामा करिश्माको पनि पछाडि राख्न सोधिएको थियो ।

मलाई सजिलो हुन्छ । म यसलाई साथ मै राख्छु ।

    उनी रक्षात्मक भएकी थिईन । नचिनेका पुरुषहरुसँग गाडीमा सँगै बस्दा पक्कै पनि उनलाई असजिलो भएको हुँदो हो । त्यो असजिलोको आयतन घटाउन उनले झोलाको सहारा लिएकी थिईन । कुरो स्पष्ट थियो ।
करिश्माजी, यो झोलाको बार हाम्रो विदेशी मित्रलाई पनि लगाईयो ?” मैले उनको मन चोर्ने प्रयास गरेँ ।

विदेशी त झन पराई भएन र ?”

चिनजान भै सक्यो । उज्यालो पनि भयो । अब त यो बार भत्काए हुँदैन ?”

हाम्रो गफको रगँमन्चमा झोलाको बारले विशिष्ट स्थान पायो । सार्वजनिक स्थलमा सेक्सुवल ह्यारासमेन्ट अर्थात यौनजन्य उत्पिडनका दृष्टान्तहरुको पनि वहस भयो ।

मलेखु र गल्छीको बीचतिर गाडि रोकियो । राजमार्गको देब्रेतिर शौचालय र एक किराना पसल थिए । पसलको नाम तिर मेरा दृष्टि परे । सटरको शीरमा लेखिएको थियो: साला-भेना किराना पसल । पसलमा दुई जना अधवैसे पुरुषहरु थिए ।

यो पसलको नाम किन साली-भेना भएन ?” मैले मुस्कुराउँदै सोधेँ ।

शायद राम्रा साली नभएर होला ।उत्तर दिने व्यक्ति शायद मूल साहुजी थिएनन् ।

मैले उनीहरुलाई केही समय अघि सुनेको राम्रा सालीको चुटकिला सुनाएँ ।

असाध्यै राम्रा साली भएको एक भिनाजु ससुराली पुगेछ । गफगाफको सिलसिलामा सासु र ससुरालाई भनेछ ।

हजुरहरु सँग रसबरी र लालमोहन हुँदा हुँदै मलाई कसार किन भिडाईदिएको ?”

त्यो क्षणसम्म आफ्नै काममा ध्यान दिएका साहुजी एकाएक हाँसोको धर्को पुरै तन्काएर हाँसे । उनका साथी पनि बेजोडले नै हाँसे ।

हाँसो थामिए पछि साहुजीले भने-

हो सर । त्यस्तै भएको हो । रसबरीको स्वाद लिने अरु नै जौडै निस्किए ।

रसबरी र कसारको यो चुटकिला मैले मेरा सहयात्रीलाई पनि सुनाएँ । मलाई लाग्यो-लोदरलाई परास्त गर्ने यी अस्त्रहरु प्रस्फुटन हुन समूह मिल्नु पर्दो रहेछ । परिस्थित अनुकुल हुनु पर्दो रहेछ । यस पटकको भैपरि आएको सडक यात्रामा यस्तै भयो । तर लोदरको सिलसिला भने घर नपुगुन्जेल सम्म कायम नै रह्यो ।

जापानिज मित्रलाई त्रिपुरेश्वरमा छोडेर ठमेल पुग्दा दिनको एघार बजेको थियो । ठमेलको मर्स्याङ्दी होटेलमा करिश्माको तालिम चलेको रहेछ । उनलाई त्यहाँ पुर्याएर शर्मिलालाई छोड्न चावहिल गयौँ । चावहिलमा हामी गणेशस्थान तिर लागेछौ । चावहिल चोक वाट गौशाला हुँदै आउने ध्येयले गाडि चक्रपथमा के पुगेको थियो त्यहाँ त भीमकाय जाम देखियो । फेरी फर्केर गएकै बाटो आउदाँ लगभग आधा घण्टा जाममा परियो । मलाई कोटेश्वरमा छोडेर सन्दिपजीको बालकुमारी जाने योजना थियो । मेरो घरमा भने एक जना मित्र मलाई भेट्न आई सक्नु भएको थियो । यसैले गृहमन्त्रिको फोन तारन्तार आईरहेको थियो । कोटेश्वर पुलिस चौकीवाट भित्र छिरेका मात्र के थियौ-भेटियो मेलम्चिको खाडल । गाडि घुमाएर महादेवस्थान मार्ग हुँदै वीचको सानो गल्ली भएर श्रीशान्ती मार्ग निस्कने प्रयास गरियो । सानो गल्लीमा फेरी विपरित दिशाबाट आएको सानो मालबाहक टिपरले बाटो छेक्यो । टिपर चालकको अनुहारमा बेफ्वाँकको आक्रोस देखियो । बाटो उस्कै बाउको सम्पति हो झै गरी आखाँ रातो पारेर हामीलाई हेर्न थाल्यो । हामी सँयमित भयौँ । त्यसले फेरी  २० मिनटको लोदर थप्यो । यसरी नेपालगन्ज-काठमाण्डौको ढोका देखि ढोका सम्मको २२ घण्टे लोदर यात्राको समापन भयो ।  मैले घर पुगेर निचोड निकालेँ । मच्चिएको लिङ्गे पिङ्को जस्तै यो यात्राका चरम सीमाहरुको खोजी गरेँ-एकातिर लोदर भेटियो भने अर्को तिर भत्केको बार

चैत्र ३०, २०७३
सिद्धार्थ होटेल, सुर्खेत
शुक्रवार, बैशाख १, २०७४ मा मिर्मिरे अनलाईनमा प्रकाशित
लिङ्क:   http://www.mirmireonline.com/2017/04/archives/60506

No comments:

Post a Comment