नयाँ वर्षको पहिलो दिनको अघिल्लो रातलाई प्रायः
‘न्यु इयर्स इभ’ भनेर मनाउने चलन छ । अर्कोतिर त्यसलाई ‘गएको
वर्षको रात’ अर्थात् ‘ओल्ड इयर्स नाइट’
भनेर
पनि कतिपय मुलुकहरूमा मनउने चलन रहेछ । यसरी एउटै पर्व वा उत्सवलाई कस्तो रङले
पोत्ने भन्ने कुरा सँस्कार लगायतका विविध विषयसँग जोडिएको छ । प्रश्न विगत सम्झेर
रमाउने कि आगतलाई कल्पेर खुशी हुने भन्ने हो । अवकाश लगायतका कतिपय सवालमा यो ‘आगत’
र ‘विगत’
को
शृङ्खलासँग जोडिएका गहन विषयहरू छन् ।
मेरा अभिन्न मित्र कुन्दनदास श्रेष्ठले केही
दिनअघि एक रोचक प्रसङ्ग सुनाउनुभयो ।
एकान्तको एक कार्यालयमा सधैँ ढोका ढप्क्याइएको
हुन्थ्यो । कार्यालय खुल्ने समय भएपछि एउटा किशोर हातमा पत्रिका च्यापेर ढोकामा
देखा प¥यो । उसले ढोकामा टक् टक् आवाज दियो ।
‘को हो ?’ भित्र कोही थियो
। झर्केको बोली सुनियो ।
‘मन्त्रीज्यूले हजुरलाई मिटिङमा बोलाउनु भएको छ
।’ किशोरले खबर भन्यो ।
‘त्यो मूला मन्त्री ! मलाई बोलाउने ! आउँदैन रे
भन्दे । हा.. हा. हा. ।’ भित्रबाट अट्टाहसपूर्ण आवाजमा जवाफ आयो
।
किशोरले यो काम निरन्तर गथ्र्याे । यी तिन
क्रियाहरू सधैँका नियति थिए– दश बजे ढोकाको ढक् ढक्, मिटिङको
खबर र भित्रबाट आक्रोशित जवाफ । एक दिन कसैले यो उदेकलाग्दो हर्कतका बारेमा चाल
पायो र किशोरलाई प्रश्न ग¥यो ।
‘के को तमासा हो यो ?’
‘मलाई केही थाहा छैन तर मैले ढोका ढक्ढक्याएर
खबर भने वापत महिनाको ४ हजार तलब पाउँछु ।’ किशोरले गम्भीर हुँदै जवाफ दियो ।
त्यो कृत्रिम कार्यालय एक अवकाशप्राप्त सचिवको
थियो रे ! उनलाई अति नै पीडा दिएका एक मन्त्रीसँग बदला लिनका लागि उनले त्यो
प्रपञ्च रचेका थिए रे !
कुनै पदीय दायित्वको समायावधि सकिएपछि अवकाश
पाइन्छ तर अवकाश कसरी लिने ? आफू कार्यरत संस्था वा निकायबाट
बहिर्गमन हुँदा कस्तो रणनीति अपनाउने ? राष्ट्रसेवक, व्यावसायिक
प्रतिष्ठानको कर्मचारी वा राजनीतिक नियुक्ति पाएर सार्वजनिक निकायमा पदवहाली गरेको
प्रमुख कार्यकारी जो कोही भए तापनि सेवा प्रवेश गर्दा जुन किसिमको महत्वकाङ्क्षा,
उत्साह
या कार्ययोजना हुन्छ, सेवानिवृत्त
हुँदा त्यो किसिमको रौनक प्रायःजसो हुँदैन । सरकारका उपल्ला निकायका
पदाधिकारीहरूको हकमा त पहिलो एकसय दिनको मूल्याङ्कनसमेत गरिन्छ । यो अवधिलाई ‘हनिमून
पिरियड’ को सङ्ज्ञा समेत दिइन्छ तर सबै हनिमून अवधि एकैनासका हुँदैनन् ।
यस्तै सबै बहिर्गमनका पदचिहृनहरू पनि उस्तै हुँदैनन् । विभिन्न किसिमका सेवाप्रवेश
र सेवानिवृत्त हुने तौरतरिका प्रतिविम्बित गर्ने विषयमा कुन्दनजी र मेरो थप
वार्तालाप भयो ।
मैले कुन्दनजीको मनासाय बुझ्न प्रश्न गरेँ–
‘कुनै ठूलै समारोह वा कार्यक्रममा सयौँ
व्यक्तिहरूको सहभागिता हुन्छ । ती सहभागीहरू सबै विभिन्न समयमा कार्यक्रमको थलोमा
आउँछन् र विभिन्न समयमा प्रस्थान गर्छन् । कार्यक्रममा सामान्यतयाः सबैभन्दा ढिलो
प्रवेश गर्ने सहभागी को होला ?’
‘त्यो व्यक्ति हो– प्रमुख अतिथि ।’
‘अनि, सबैभन्दा चाँडो प्रस्थान गर्ने नि ?’
‘त्यो पनि प्रमुख अतिथि नै हो ।’
कुन्दनजीका जवाफ सही थिए ।
रोचक कुरा के छ भने प्रमुख अतिथि समारोहमा
प्रवेश हुँदा र उनको प्रस्थान हुँदा सबै सहभागीहरू गडगडाहट ताली बजाउन लालायित
हुन्छन् । कतिपय कार्यक्रममा उनीहरूले उठेर प्रमुख अतिथिको स्वागत तथा बिदाइ
गर्छन् ।
‘अर्कोतिर तोकिएको अवधिको अन्तिम समयसम्म
कार्यक्रम स्थलमा को बस्छ होला ?’
‘आयोजक ।’
कुन्दनजीको लागि त्यो प्रश्नमा कुनै खास चुनौती
थिएन । वहाँको सहज प्रस्फुटित जवाफ थियो त्यो ।
आयोजक वा सेवाप्रदायकको अलावा पनि त्यहाँ दुई
तीन अन्य समूहहरू हुन्छन् जसलाई ‘कार्यक्रम सकियो’ भन्ने
जानकारी समेत दिनुपर्छ । ती हुन्– माइक, कार्पेट वा
कुर्सी आदि उपलब्ध गराउने सेवाप्रदायकका कर्मचारीहरू, मदिराले लठ्ठ
परेर होश गुमाएकाहरू र अझै केही पाइन्छ कि भनेर आस गर्नेहरू । वृत्तिविकास वा
अवकाशका जानिफकारहरू भन्छन्– कुनै पनि कर्मचारीको आगमन वा
बहिर्गमनको शैली समारोहमा आएका प्रमुख अतिथिको जस्तो हुनुपर्छ । आगमन र बहिर्गमन
दुवै समयमा सम्मानित हुने । यहाँ त अवकाश हुने अधिकांशको समारोहको अन्त्यसम्म
बस्ने ‘आसे’ हरू वा मदिराले लठ्ठ परेर होश गुमाएका
हुस्सुहरूको जस्तो हुन्छ । कतिपय त जन्ममिति वा जागिरबहाली मिति सच्याएर अवकाश हुने मिति पर सार्न समेत उद्यत हुन्छन् ।
कोही कोही कुर्सीमा टाँसिन आफ्नै पिँधमा खोटो दल्ने काम गर्न शक्तिकेन्द्रको
द्वारमा लम्पसार पर्छन् । कतिपयचाहिँ अवकाश हुँदा आफूसँग राखेका सवारीसाधन वा अन्य
सरसामानहरू गायब पार्ने ध्याउन्नमा लाग्छन् । मन्त्रीनिवास जस्ता सरकारी सुविधा त
पर्दा च्यात्ने, बैठक कोठामा दिसापिसाब गर्ने र हुनेसम्मको
उपद्रो गरेरमात्र आवासगृह छोड्ने कार्य भएका छन् ।
तीस वर्षअघिको अतीतको सम्झना हुन्छ । लोकसेवा
आयोगको परीक्षा उत्तीर्ण गरी म जाजरकोटको खानेपानी कार्यालय मार्फत श्री ५ को
सरकारको सेवामा म हाँजिर भएको थिएँ । जाजरकोट बसाइमा मैले तीन जना हाकिम
व्योहोर्ने मौका पाएँ– दामोदर भट्टराई, रामलखन मण्डल र
हरिश्चन्द्र शाह । अहिले वहाँहरू तीनै जनाको अवकाश भइसकेको छ । दामोदर भट्टराईका
घतलाग्दा फेसबुक पोस्टहरू पढ्न पाउँछु । रमाइलो लाग्छ । अरू दुई भूतपूर्व हाकिम सा’बहरूसँग
भने सम्पर्क छैन । मण्डलसरको भने अवकाशसँग जोडिएको एक प्रसङ्ग छ । खानेपानी विभागवाट सेवानिवृत्त हुनुअघि विभागकै
अर्का इन्जिनियर दीपक पुरीसँग वहाँले यस्तो वातमार्नु भएछ–
‘पुरीजी, ल भन्नुहोस् त
अवकाशपछि के गर्ने होला ?’
‘बजारमा परामर्शदाताको कामको लाइन लागेको छ नि त
सर !’
‘मलाई त्यस्तो केही त आउँदैन । अहिलेसम्म रिपोट
सिपोटको काम गरिएकै छैन । कसरी होला र !’
मण्डलसरको अभिव्यक्तिमा ठूलो सन्देश लुकेको
मैले पाएँ । कतिपयले ‘आ.. सकिहालिन्छ नि ! त्यो कन्सल्टेन्सी भनेको
रकेट साइन्स होइन क्यारे भन्ने ठानेर जीवनभरिकै ठूलो दुःख व्यहोरेका छन् ।
मैले काठमाडांै तराई द्रुतमार्ग लगायत केही
परियोजनामा अन्तर्राष्ट्रिय परामर्शदाता डेभिड ग्रीनसँग सहकार्य गर्ने मौका पाएको
थिएँ । एशियाली विकास बैङ्क (एडिबी) लगायतका दातृ संस्थाहरूका लागि परामर्श
सेवासम्बन्धी कार्य गर्दा ‘के गर्न हुन्छ’ वा ‘के
गर्न हुँदैन’ भन्ने विषयमा मैले डेभिडबाट धेरै सिकेको छु । म
संलग्न नभएको एडिबीकै एक परियोजनामा नेपाल सरकारको सेवावाट अवकाशप्राप्त एक
वातावरण विज्ञ डेभिडसँग काम गर्थे । तिनको कार्य सम्पादनबाट डेभिड खुशी थिएनन् ।
‘टाइफाइड भएको बहानामा उनले हप्तौँसम्म कुनै
सम्पर्क गरेनन् । इमेल पनि आफू लेख्न सक्दैनन् । छोरालाई लेख्न लगाउँछन् । उनको
भाषाको स्तर पनि निम्न कोटीको छ । त्यस्तो पाराले काम हुन्छ त ?’
यस्तै विश्व बैंकको सहयोगमा सञ्चालित वृद्ध
भत्ता बैङ्कमार्फत भुक्तानि दिने एक अध्ययन गर्ने कार्यका लागि परामर्शदाताहरूको
टोलीमा राष्ट्र बैङ्कबाट अवकाश प्राप्त दुई अधिकृतहरू पनि रहेछन् । उनीहरूलाई
दिइएको काम पार लगाउन महाभारत भएछ । तथ्याङ्क विश्लेषण गरेर ग्राफ र चार्ट
बनाउनेजस्ता सामान्य प्राविधक कामहरूका लागि पनि उनीहरूले खेताला लगाउनु परेछ । जीवनभर
आदेश दिएर वा निर्णयात्मक सहीछापमात्र गरेकाहरूका लागि जीवनको उत्तराद्र्धमा आएर
इमेल र इन्टरनेटको भरमा सम्पूर्ण काम गर्नु भनेको फलामको च्युरा चपाउनुजस्तै हो ।
कतिपयले रहरले वा कतिपयले ‘लक्ष्मी भित्रायाउने’ मनसायले
नदुखेको कपाल डोरी लगाएर दुखाएका छन् ।
केही छट्टुहरूले फाइदा पनि लुटेका छन् । कुनै
प्राविधिक मन्त्रालयमा काम गर्ने एक विशिष्ट श्रेणीका कर्मचारी अवकाश हुनु दुई
वर्षपूर्वदेखि कार्यालयको आधिकारिक इमेलभन्दा आफ्नो व्यक्तिगत जिमेल प्रयोग गर्थे
। मैले एक दिन उनीसँग यसको औचित्यको बारेमा जिज्ञासा राखेँ ।
‘सरकारी इमेल प्रयोग गरेर अवकाश भएको भोलिपल्ट
के हामीले घोघो खाने ? डलरखेती गर्नु परेन ?’ यस्तो जवाफ आयो
।
म जाजरकोट खानेपानी कार्यालयमा हुँदा क्षेत्रीय
निर्देशक थिए, राजधानीका रैथाने । उनले मलाई एकपटक पुरानो
मितिमा खानेपानीको पाइप खरिद गर्ने कार्यमा संलग्न गराउन खोजेका थिए । त्यस्ता
कामको के दुरगामी प्रभाव पर्दथ्यो मलाई जानकारी थिएन । उनले मलाई गुन पनि लगाएका
थिए । नेपालगन्जमा खानेपानीको एक परियोजना कार्यालय थियो । ती हाकिम पप्लुका शौखिन
थिए । उनी र अरू केही वरिष्ठ इन्जिनियरहरूसँग बसेर मैले जीवनमा पहिलो पटक दश
रुपियाँ प्वाइन्ट पप्लु खेलेको थिएँ । पछिसम्म पनि काठमाडौंको आफ्नो निवासमा
साथीभाइ र वहालवला इन्जिनियरहरूसँग बसेर उनी पप्लु जमाउँथे । अवकाशप्राप्त जीवन
भने उनको पदमा आसीन भएजस्तो रसिलो भएन ।
‘आजभोलि त मकहाँ कोही पनि तास खेल्न आउँदैन ।’
यसरी उनले विरक्तिभाव पोखेको अझै पनि स्मरण
गर्नेहरू छन् । दौँतरीहरूको तुलनामा उनी चाँडै बिते । बित्नुभन्दा केही अघिसम्म
पनि परिवारमा केही असामान्य व्यवहार गर्थे रे ! उनलाई नजिकबाट चिन्नेहरू भन्छन्–
उनको
अवकाश जीवन सहज हुन सकेन ।
नेपाल प्रशासनिक प्रतिष्ठानले गरेको एक
अध्ययनमा पूर्वकर्मचारीहरूले अवकाश भएको औसत सात वर्षमा इहलिला समाप्त हुने उल्लेख
छ । यसको मतलब ७० काट्ने भाग्यमानीहरू कमै हुन्छन् । छोराछोरी विदेशमा हुनेहरूलाई
झन् सकस छ । नातिनातिनाको मुख हेर्दै समय बिताउने अवसर समेत छैन ।
सुभद्रा पन्तले राष्ट्रिय वाणिज्य बैङ्कबाट एक
वर्षअघि अवकाश प्राप्त गर्नुभएको रहेछ । केही दिनअघि योगसाधना केन्द्रमा वहाँसँग
भेट भयो । साइत पारेर वहाँलाई सोधेँ–
‘के अन्तर छ त जागिरमा हुँदा र अहिलेको जीवनमा ?’
‘लगाइराखेको हीराको हार अकस्मात लुछेर धमिलो
दहमा फ्याँकिदिएको अवस्था हुँदो रहेछ ।’
‘अर्थात हीराकै हारको के कुरा ! कानको मुन्द्री
भनौन, थुतेर लगिदियो । हजुर चैँ बुच्चे कान लिएर हिँड्ने बाध्यता छ होइन त ?’
‘हो त ।’
यसरी जागिरलाई नै सर्वस्व ठानेकाहरू जमात पनि
ठूलो छ । जागिरसँग आफ्नो दिनचर्याको नङ र मासुको सम्बन्ध बनाएकाहरूले जागिरको
अन्त्यलाई एक विकराल सङ्कटको रूपमा लिएका छन् । अझ त्यसमा अवकाशपश्चात के गर्ने
भन्ने प्रश्नको उत्तर नखोजेका, आफ्ना सन्तान विदेश पठाएका र कुनै इलम
नजानेका वा विशेष रुचि नपालेका अवकाशेहरूको सेवानिवृत्त भएपछिको जीवन सकसपूर्ण
भएको छ ।
गतसाल वेत्रावती किनारमा नब्बे काटेका एक वृद्ध
फेला परेका थिए । उनी हाम्रो साहित्यिक जमघटमा अतिथि भएर मिसिएका थिए । दौड
प्रतियोगिता गरेमा हामी जस्तालाई सहजै पछार्लान् जस्तो उनको जिउडाल थियो । यस्ता
फूर्तिला सज्जनलाई मैले सोधेँ–
‘तपाईंको दीर्घ जीवनको रहस्य के हो ?’
उनले दिएको जवाफमा अवकाशेहरूलाई काम लाग्ने गहन
सन्देश पाएको थिएँ ।
उनले भनेका थिए–
‘मलाई लाग्छ, म नपुगे कुनै
कार्यक्रम नै हुँदैन । यसैले यस्ता कार्यक्रम म छोड्दिनँ । कुनै बाधा अड्चन आए
मेरा अनुभव सुनाइदिन्छु । त्यसैका भरका कति गाँठा आफैँ फुक्छन् । सबैले मलाई मान
पनि दिएका छन् । मलाई लाग्छ मेरो बुढ्यौलीको खाँबो यही हो ।’
जापानका पूर्व राजदूत केदारभक्त माथेमाका
पिताश्रीसँग पनि नब्बेकै हाराहारीमा जापानमा भेट भएको थियो । वहाँको पनि दिनचर्या
र फूर्ति देखेर मैले माथेमा सरलाई सोधेको थिएँ–
‘के हो हजुरका पिताश्रीको यो तन्नेरीपनको गाँठी
कुरो ?’
‘विशेष रुचि ।’
नौ दशक काटेका बुढा त्यस बेलासम्म पनि घरका
नातिनातिना वा बुहारीहरूसँग फिल्म हेर्न जान्थे रे ! कोही खाली बसेको देख्यो कि
किताब पढ्न लगाएर सुन्थे रे ! अनि भित्री लुगाहरू सकेसम्म आफैँ धुन्थे रे !
यसरी बाँकी जीवनलाई हेर्ने आँखा नभएकाहरूका
लागि अवकाशे जीवन एक बोझ बन्न पुग्छ । यसकारण अवकाश हुनुपूर्व नै ‘मैले
जे पाएको छु, यथेष्ट छ । अब बाँकी जीवनमा यो गर्छु’ भन्ने
धारणा उमार्ने हो भने जो कोहीले पनि नवजीवन पाउनसक्छ । विगत जति लम्ब्यायो, आगतको आयु अझै घट्छ । यो सामान्य
सिद्धान्त हो । अन्य केही गर्न नसके आफ्नो जीवनको गाथा लेख्न त पक्कै सकिन्छ ।
किनभने कलमकापी लिएर लेख्न नजान्ने अहिलेको जमाना मा को पो छ र !
बुद्धजयन्ती, २०७४
१२६ जनकल्याण गल्ली
कोटेश्वर, काठमाडौं
लिङ्क : http://ehimalayatimes.com/bichar-sahitya/12094
Well written
ReplyDelete