Monday, April 9, 2018

कमिला र फट्याङ्ग्रा (नेपाली सँस्करण)



कथाको मूल रुप

कमिलाले बर्खामा धेरै मिहिनेत गरेर घर बनाउँछ र हिउँदको लागि रसद जम्मा गर्छ । फट्याङ्ग्रालाई लाग्छ- यो मूर्ख कमिलो ! उ हाँस्छ, नाच्छ र खेलकुद गरेरै पुरै बर्खा बिताउँछ । हिउँद लागे पछि कमिलो सुरक्षित हुन्छ र भण्डारण गरिएको रसदपानीले गुजारा गर्छ । उता फट्याग्राको न त वासको ठेगान हुन्छ न त गाँसको । यसैले उ पानी समेत जम्ने जाडोमा कठ्याङ्ग्रिएर मर्छ ।

कथाको नेपाली सँस्करण

बर्खा लागेपछि कमिलो अनवरत काम गर्छ, घर बनाउँछ, खाद्द सामाग्रीको जोहो गर्छ । फट्याँग्रो भने रसरगँमा हराउँछ । तर उ हिँउद शुरु भए पछि दशैँ तिहारको छुट्टी अघि नै पत्रकार सम्मेलन गर्छ । 

सम्मेलनमा उसको माग हुन्छ-

आजको यक्ष प्रश्न हो- किन कमिलाहरु आनन्दको जीवन विताईरहेका छन ? फट्याङ्ग्रा पनि यही धरतीका सन्तान हुन तर हामी लगायत अन्य जीवहरु भने चिसो र भोकले आक्रान्त छौँ । यो विभेद हो कि होईन ?”

सिएनएन, विविसी, भारतीय सन्चार माध्यम र एउटै समाचारले सँसारमा भाईरल तरङ्ग सिर्जना गर्ने आधुनिक सामाजिक सन्जालहरुले एकातिर लुगलुग कामेको फट्याङ्ग्राको र अर्कोतिर आलिशान महलमा भोज भतेर र मोज मस्तीमा रमेको कमिलाको तस्विर र भिडिओहरु सार्वजनिक गरिदिन्छ्न । नेपालमा देखिएको यो विभेदले सँसारमा नै तहलका ल्याउँछ । राजा विरेन्द्रको हत्याकाण्ड हुँदा जस्तै मुलुक फेरी एक पटक चर्चाको शिखरमा पुग्छ ।  

डा. गोविन्द के. सी. लाई विर्साउने गरी नेपालका चर्चित मानवअधिकारवादी कमिलाको घर वाहिर आमरण अनसन वस्छन् । कृष्ण पहारीको नेतृत्वमा फट्याङ्ग्रालाई न्यानो मौसम भएका शहरहरु धरान र हेटौडा आदिमा सारिनु पर्ने माग राख्दै जुलुस, आमसभा र विरोधका कार्यक्रमहरु तय हुन्छ्न् । कतिपय राजनैतिक पार्टीहरु अवसरको सदुपयोग गर्ने भन्दै भूमिगत भएको घोषणा गर्छन् ।   

सरकारकै पूर्व मन्त्रि र सचिवहरु फट्याङ्ग्रा लगायत अन्य जीवलाई अन्याय भएकै होभन्ने लाईनमा भाषणहरु गर्छन् ।

युरोपियन युनियन, नर्वेजियन सँघसँस्था, यु यस एआईडि र डिफिड आदि विकास साझेदारी सँस्थाहरु यो विषयमा अनुसन्धान गर्न र फट्याङ्ग्रा हितकारी कार्यक्रम ल्याउन आतुर हुन्छन् । समाज कल्याण परिषदमा फट्याङ्ग्राकै  समुदायको हितैषीलाई कार्यकारीमा नियुक्त गर्ने दवाव सिर्जना हुन्छ ।

गैससलाई प्रतिवन्ध लगाएको कर्णाली प्रदेशको कम्युनिष्ट सरकारले गर्मि मौसममा कमिलालाई कडा परिश्रम गर्न रोक लगाउने कानून सर्वसम्मतले पारित गर्छ । किनभने यसो गर्दा कमिला र अन्य जीवहरुको वीचको विभेदको खाडल पुरिने दाताको सल्लाहा हुन्छ ।     

वस व्यवसायी महासँघले राज्य भरिका यातायातमा फट्याँग्राको आवत जावतमा गर्दा भाडादरमा ५० प्रतिशतको छुट आह्वान गर्छ ।

सँसदमा फट्याङ्ग्रा हकहित र अधिकार सँरक्षण गर्न बनेको ‌ऐन २०७४पेश हुन्छ । त्यसमा कुनै खास बहस हुँदैन ।  ऐन सहजै पारित हुन्छ ।

फट्याङ्ग्रा हकहित ‌ऐन २०७४ कै मर्म अनुरुप नेपालका मन्त्रिहरुले  आईयलओ १६९ लगायतका आदिवासी जीवको हकहितको वहस पैरवी गर्ने अन्तर्राष्ट्रिय सँझौताहरुमा सही गरेका समाचारहरु छापिन्छन् ।  ऐन पालना गर्दै सरकारले कमिलालाई दण्ड जरिवाना गर्छ । कमिलाको वासस्थानमा भारी कर लाग्ने नियम समेत पारित गर्छ । कमिलाले कर तिर्न सक्दैन र अन्तत: कमिलाको घर सरकारले अधिग्रहण गर्छ । एक भब्य समारोहका वीच अधिग्रहण गरिएको घर सित्तैमा फट्याङ्ग्रालाई हस्तान्तरण गरिन्छ । समारोहको प्रत्यक्ष प्रसारण सियनयन, विविसि र स्वदेशी नेटिभि र कान्तिपुरले समेत प्रत्यक्ष प्रसारण गर्छन् ।    

नेपालको ईतिहासमै फट्याङ्ग्रा अभियानले एक युगान्तकारी परिवर्तन भएको आभास दिन्छ ।

ऋषि धमलालाई विर्साउने नेपालका सर्वाधिक सफल पत्रकारले मेडिया क्लवमा निमुखा र पिडितहरुको जीत भनी कार्यक्रमको आयोजना गर्छन् ।

खगेन्द्र सँग्रौलाको धुँवाधार लेख कान्तिपुर दैनिकमा छापिन्छ ।

विप्लव ढकालले भूपिको सपुत मरेर नगए लाई विर्साउने कविता लेख्छन् ।

प्राध्यापक कृष्ण खनाल र डा. पिताम्बर शर्माले यो सामाजिक रुपान्तरणको व्याख्या गर्न नयाँ सिद्धान्त प्रतिपादन गर्छन् ।

केन्द्रिय सरकारले पाठ्यक्रम विकास केन्द्रलाई उल्लेखित युगान्तकारी परिवर्तनको वारेमा आगामी शैक्षिक सत्र देखि लागु हुने गरी शैक्षिक सामाग्रीमा उल्लेख गर्ने निर्णय लागु गर्न सर्कुलर पठाउँछ ।

नेपालका वामघटकहरु यसलाई शोषित र पिछडा बर्गको हितमा गरिएको युगान्तकारी परिवर्तन को सँज्ञा दिँदै विजय सभा र दिपावलीहरुको आयोजना गर्छन् । यसले बामहरुलाई गठबन्धन गर्ने मार्ग प्रसस्त गर्छ । काँग्रेस र अन्य दक्षिणपन्थी दलहरु समयको यस्तै माग भएकोले परिवर्तनको विरोध नगर्ने रणनीति अख्तियार गर्छन् । धमिलो पानीमा माछा मार्ने धेयले विदेशको आकर्षक नोकरी छोडेर रबिन्द्र मिश्र र डा. सूर्यराज आचार्यहरु नयाँ पार्टी खोल्छन् ।

क्रान्ति भएको धेरै वर्षपछि-

कमिलाले अमेरिकाको सिलिकन भ्यालीमा बसाईसराई गरेर अरबौँ लागतको एक कम्पनी स्थापना गर्छ ।

आरक्षणको कानून लागु भएता पनि यता नेपालमा भने अझै सयौँको सँख्यामा फट्याँग्राहरु अनिकाल लागेर मरिरहेका हुन्छन् ।

…….अनि

कडा मिहिनेत र परिश्रम गर्न सक्ने लाखौँ कमिलालाई गुमाएर फट्याँग्रालाई पालनपोषण गर्ने राज्य भने गरिबीको दलदलमा भासिएको भासियै हुन्छ ।

नोट: मलाई थाहा छैन यो सिर्जनात्मक मष्तिष्क कस्को हो ? तर यो लेख भने उल्कापात राम्रो लाग्यो । अरुलाई बाँडनु भयो भने त्यसलाई हार्दिकताका साथ सराहना गरिने छ । 

नोटको पनि नोट : बिआईटी ह्वाट्स अपमा सँप्रेषण गरिएको यो भारतिय सँस्करणको नेपाली भावानुवाद मैले गरेको हुँ । मन परे अरु साथीभाईलाई बाँडी पुण्य कमाउन नभुल्नु होला ।  

1 comment: