Sunday, February 25, 2018

सूर्यले निम्त्याएको धर्मसंकट


दुईवटा उत्तिकै महत्व र विशेषताका विकल्पहरू दाउमा छन् । एक से एक विज्ञको सहारा लिएर पनि वा उपलब्ध वैज्ञानिक पद्धतिहरूको प्रयोग गरेर विश्लेषण गर्दा पनि दुई उम्मेदवारको क्षमता र सम्भावनामा तात्विक फरक पाउन सकिन्न । सामान्य जिब्रोले भन्छ– तराजुमा दुईतिर राख्दा रौँ पनि फरक छैन । यस्तो बेलामा दुईमध्ये एक छान्न अरायो भने उसले पुर्पुरोमा हात राखेर भन्नेछ– म त धर्मसंकटमा परेँ ।

मलाई अहिले त्यही भएको छ । आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र न २ बाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उम्मेदवार छन् । उनको चुनाव चिहृन सूर्य हो । अर्कोतिर त्यही क्षेत्रमा डा. सूर्यराज आचार्य पनि उम्मेदवार छन् । म यो क्षेत्रको मतदाता हुँ । यसैले मैले यी दुई सूर्यमध्ये एक छान्ने दिन अब नजिकिँदै छ । राजनीतिक हिसाबमा म एक तटस्थ व्यक्ति हुँ । म शिक्षक हुँ, विज्ञानको विद्यार्थी । मेरो मुख्य काम विद्यार्थीहरूलाई पढाउनु हो । मैले दिने ज्ञानको कुनै राजनीतिक धार हुँदैन । यस अर्थमा म राजनीतिक दलको पृष्ठभूमिलाई आधार बनाएर मत दिन सक्दिनँ । यो सर्वमान्य सिद्धान्तका आधारमा मैले अरू उम्मेदवारलाई किनारा लगाइदिएँ । किनभने अरू दललाई चिने पनि तिनका उम्मेदवारलाई व्यक्तिगत रुपले चिन्दिनँ । माधव र सूर्य दुवैलाई म व्यक्तिगतरूपले चिन्छु । यसर्थ अहिले म यी दुई सूर्यको रापले रन्थनाएको छु ।

अब के आधारमा कसरी निर्णय लिने त ?

यो प्रश्नले केही दिन देखि मेरो मथिङ्ग खाएको छ । म उत्तर विद्यावारिधि गरेको एक नेपाली नागरिक हुँ । मैले पनि आफ्नो विवेक वस्तुगत विश्लेषणका आधारमा गर्न सकिनँ भने अरू सामान्य मतदाताले कसरी सक्लान् ¤ मलाई धर्मसंकट परेको छ भन्ने कुरा कतिपयलाई हास्यास्पद पनि लाग्न सक्छ तर सत्य यही हो ।

केही महिनाअघि काठमाडाँै विश्वविद्यालयका भौतिकशास्त्रका प्राध्यापक दीपक सुवेदीले ‘गुरु’ भनेको को हो भन्ने प्रश्नको उत्तर दिँदा एक दृष्टान्त प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार मूर्तिकार र गुरु उस्तै पात्र हुन् । पहिलोले, एउटा पत्थरको टुक्रा ताछेर मूर्ति बनाउन सक्छ । यसो गर्दा उसले मूर्तिको काल्पनिक चित्र मस्तिष्कमा कोरेर पत्थरको सतहमा भएका ससाना अंशहरूलाई सावधानीपूर्वक उप्काउनु पर्छ । एउटै घनत्व र मणिक संरचना भएका सम्भाव्य टुक्राहरूमध्ये कुन मूर्तिको शरीरमै छोड्ने र कुनलाई उप्काउने भन्ने निर्णय गर्नुपर्ने हुन्छ । यसमा शूक्ष्म विश्लेषण र अतिशय सावधानी चाहिन्छ । जति मिहिन तहमा निर्णय हुन्छ त्यति नै राम्रो मूर्ति बन्छ । काभ्रेको पलाञ्चोक वा काठमाडौँको नक्सालमा अवस्थित दशौँ हात भएकी भगवतीको मूर्ति बनाउँदा कति सावधानीपूर्वक निर्णय गर्नु प¥यो होला ¤ सामान्य जनलाई त कल्पना गर्दा नै सकस हुन्छ ।

यस्तै मिहिन तहको निर्णय गुरुले पनि गर्नुपर्छ । कुनै विशेष ज्ञान मेरो शिष्यलाई आवश्यक छ कि छैन वा त्यसले उसलाई असल मार्गमा लगाउँछ कि लगाउँदैन भन्ने विषयको निक्र्याैल गर्ने काम गुरुको हो । यस अर्थमा मेरो मत कुन उम्मेदवारलाई दिने भन्ने निर्णय गर्ने काम पनि मूर्तिकार वा गुरुको जस्तै मिहिन तर महŒवपूर्ण छ । मेरो एक मतले हार्नेको एक भोट काटिनेमात्र होइन त्यसले जित्नेलाई एक भोट थपिदिन्छ । त्यो विजयी नेताले मुलुकको कायापलट गर्न सक्छ । भोलि प्रधानमन्त्री पनि बन्न सक्छ । अहिलेको मेरो एक सुत्रीय चाहना विजयी हुने उम्मेदवार चयन हो ।

यस विषयमा मेरो चिन्तन अघि बढ्यो । मेरो ध्यान गुगलको खोजी इन्जिनतिर गयो । यी महारथीहरूलाई गुगलले कसरी तुलना गर्दो रहेछ त ? यो प्रश्नको उत्तरले मेरो काम पक्कै सजिलो हुन्छ भन्ने लाग्यो ।

माधवकुमार नेपालको २००९ को जन्म भएकोले उमेर ६५ वर्ष रहेछ । डा. आचार्यको उमेर ५७ वर्ष । नेपालले गौरको जुद्ध माध्यमिक विद्यालयवाट प्रवेशिका परीक्षा दिएका रहेछन । वीरगन्जको ठाकुरराम क्याक्पसबाट बिकमसम्म पढेका रहेछन् ।

डा. आचार्यले चाहिँ चितवन पटियानीको अमर माध्यमिक विद्यालयबाट पढाइ सुरु गरी सिभिल इन्जिनियरिङमा स्नातक, एआइटी बैँककबाट स्नातकोत्तर र टोकियो विश्वविद्यालयवाट विद्यावारिधिसम्मको अध्ययन गरेका रहेछन् ।

शिक्षा आर्जनको हिसाबले माधवलाई सूर्यले पहलमानले नक आउट गरेजसरी पछारे । गिरिजाप्रसाद कोइराला र केपी ओलीजस्ता नेताको नजीरलाई ध्यानमा राख्दा शिक्षालाई मात्र उम्मेदवार छनौटको आधार बनाउन सकिएन ।

‘जनता कहिल्यै हार्दैन’ र ‘जनताको बहुदलीय जनवाद’ जस्ता माधवका विचार समेटिएका पुस्तकहरू विष्णु रिजालको सम्पादनमा प्रकाशित भएका रहेछन् । कम्युनिष्ट आन्दोलनमा यी कृतिले महत्वपूर्ण योगदान गरेको अनुमान गर्न सकिन्छ । कतिपय नेताको कलम हस्ताक्षर गर्नेभन्दा अन्य लेखपढको काममा चल्दैन । गुगलले

माधवको कलम चलेको पुष्टि ग¥यो ।

अर्कोतिर डा. आचार्यले सहलेखन र सम्पादन गरेका ‘ट्रान्सपोर्ट पोलिसी इन एशिया’ र ‘राज्य पुनरसंरचानका वैज्ञानिक आधार’ जस्ता प्राविधिक कित्ताका महŒवपूर्ण पुस्तकहरू रहेछन् । केही वर्षयता छापाहरूमा डा. आचार्यका विकास र पूर्वाधार विषयमा धेरै लेख रचनाहरू प्रकाशित भएको पुष्टि गुगलले गरिदियो ।   
मस्तिष्क मन्थनको क्रममा थिएँ । यही साताको एकदिन बिहानै साढे पाँच बजेतिर यही उम्मेदवार छनौटको विषयलाई लिएर एकजना मित्रसँग तातो बहस भयो । कोटेश्वर महादेवस्थानबाट घर फर्किने क्रममा मेरा एकजना मित्रसँग भेट भयो ।

‘के छ खबर ?’ उनको स्वाभाविक प्रश्न थियो ।

‘धर्मसंकटमा छु ।’ मैले अस्वाभाविक उत्तर दिएँ ।

उनले कारण जान्न चाहे ।

‘दुई सूर्यले सिर्जना गरेको अन्यौलको फेर समातेर हिँडेको छु ।’

मैले माधवको सूर्य र सूर्यराज आचार्यमध्ये एक छनौट गर्ने सोच भएको कुरो बताउनसाथ उनको आक्रोश आकाशियो ।

‘के कुरा गर्नुभको । माकुनेलाई मत दिने । किन दिने ? के लछारे तिनले ? ल भन्नुुस् कति वर्ष सत्ता खाए तिनले ? तपाईंलाई थाहा छ ? यी सबै खाडीका कामदार हुन् । माकुनेले यिनलाई रोक्ने तगारो बनाए ? सिन्को पनि बनाएनन् ।’

उनले सडकमा कोटेश्वर बहुमुखी कलेजतिर जान लागेका युनिफर्ममा सजिएर फटाफट हिँडिरहेका विद्यार्थीलाई देखाउँदै सडक नै थर्काएर आक्रोश पोखे ।

‘अनि अर्को तपाईंको उम्मेदवार सूर्य आचार्य । अहिलेसम्म कुन दुलामा लुकेका थिए उनी । सक्रिय जीवन जति अर्कै मुलुकमा अर्पेर बुढेसकालमा वृद्ध भत्ता खान आएका हुन् ? के लछार्न सक्छन् तिनले ? किन हाल्ने तिनलाई भोट ?’

‘उसो भए के गर्ने त मित्र ?’

‘कुनै पानीमरुवालाई पनि नहाल्ने । मैले त माथिका कोही पनि मेरो छनौटमा पर्दैन भन्ने कुरा जनाउने मतचिहृन राख्नुपर्छ भन्ने वहस पैरवी गर्दै आएको छु ।’

‘त्यस्तो प्रावधान राख्नुपर्छ भन्ने मेरो पनि मान्यता हो तर अहिले त त्यो सुविधा छैन, भोट त दिनैपर्छ ।’ मैले मेरो निचोड सुनाएँ ।

मित्रले उठाएका सवाल सम्भवत गहन प्रकृतिका हुन् । उम्मेदवारहरूसँग उनका प्रश्नका सहि जवाफ होलान् । बाराक ओबामाले चुनाव जितेर पदभार ग्रहण गरेको वेला दि इकोनोमिष्ट पत्रिकाले लेखेको थियो–

कार्यान्वयन गर्ने क्षमता र वैदेशिक कूटनीतिको मामलमा ओबामाको धरातल कमजोर छ ।

राज नेतामा हुनुपर्ने प्रमुख गुण भनेको कार्यान्वयन क्षमता हो । यही भएर कुनै पनि संस्था वा निकायको बागडोर ‘प्रमुख कार्यकारी’ को जिम्मामा हुन्छ । प्रमुख कार्यकारी वा राजनेताले अनुयायी वा कार्यकर्तालाई परिचालन गरेर निर्धारित समयमा अपेक्षित परिणाम हासिल गर्नसक्नु पर्छ ।

मैले गुगलबाट प्राप्त जानकारीको आधारमा र अन्य स्रोतको सहाराले वहसको केन्द्रबिन्दुमा राखिएका दुई नेताको ‘नेतृत्व कौशल’ को यो कडीको पनि तुलना गरेँ ।

विपक्ष्ीा दलका नेता, उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेको हुनाले माधव नेपालको कार्यान्वयन क्षमता समकक्षीहरूको दाँजोमा उत्कृष्ट भएको अनुमान सहजै गर्न सकिन्छ । अर्कोतिर लोकसेवाको परीक्षा उत्तीर्ण गरेर जिल्ला सिँचाइ कार्यालयको प्रमुख भई कार्यअनुभव हासिल गरेका डा. आचार्यले बैँककको युनको एक निकायमा र जापानको प्रमुख थिङ्क ट्याङ्क इन्स्टिच्युट फर ट्रान्सपोर्ट पोलिसी स्टडिजमा वरिष्ठ कर्मचारीको जिम्मेवारी निर्वाह गरेका छन् । यस अर्थमा उनको पनि कार्यान्वयन क्षमता अब्बल श्रेणीको रहेको देखिन्छ तर नेपालको जस्तो राजनीतिक परीक्षामा कहिले फेल र कहिले पास भएको अनुभव आचार्यसँग छैन ।       
नेपालमा पछिल्लो पटकको महाभूकम्पको एक वर्षपछि नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको ‘अमर मातृत्व’ शीर्षकको नाटक सर्वनाम थिएटरमा प्रदर्शन भएको थियो । त्यसको उद्घाटनका प्रमुख अतिथि थिए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । निम्ता गर्ने जिम्मेवारी मैले पाएको थिएँ । यस क्रममा म उनको निवासमै गएको थिएँ । यस्तै, उनी प्रधानमन्त्री भएको वेला एक पटक म शिक्षा क्षेत्रका केही अगुवाहरूको साथ लागेर सिंहदरवारमा ज्ञापनपत्र बुझाउन गएको थिएँ । वातावरण दिवसमा प्रज्ञा प्रतिष्ठानमा आयोजित अधिकांश श्रोता विद्यार्थीहरू भएको एक समारोहमा उनको भाषण सुन्ने मौका पनि पाएका थिएँ । यसरी मैल केही पटक माधव नेपाललाई नजिकबाट नियाल्ने अवसर पाएको थिएँ ।

अर्कातिर डा. सूर्यराज आचार्यलाई म एआइटी बैँककमा स्नातकोत्तर तहको विद्यार्थी हुँदादेखि चिन्छु । नेपालमा यश कमाएका नेता डा. बाबुराम भट्टराई जस्तै डा. आचार्य पनि कक्षामा दोस्रो हुन नजान्ने मेधावि विद्यार्थी थिए ।  नेपाल फर्केर एक थिङ्क ट्याङ्क अर्थात सोच केन्द्र स्थापना गर्ने धेयले म र डा. आचार्य जापानका लागि तात्कालीन नेपाली राजदूत तथा त्रिभूवन विश्वविद्यालयका पूर्वउपकूलपति केदारभक्त माथेमासँग राय मस्यौरा गर्न गएका थियौँ । माथेमाले हामी दुवैलाई धाप मार्दै हाम्रो सोचको प्रसंशा गर्नुभएको थियो । नेपाल विकास अनुसन्धान प्रतिष्ठान अहिले एक अगुवा संस्थाका रूपमा नेपालमा स्थापित भएको छ ।

यसरी विगतमा दुवै उम्मेदवारसँग जोडिएका मेरो संलग्नताहरू केलाउँदा पनि मैले निर्णय लिन सकेको छैन । निर्वाचनको समय अझै केही दिन बाँकी भएकोले म थप मन्थन गर्ने र समय किन्ने उपक्रमतिर लाग्छु । यसै बीचमा मैले दुवै उम्मेदवारलाई एक एक प्रश्न यही लेखमार्फत सोधेको छु ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मेरो प्रश्न छ–

तपाईंका प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका उमेदवार डा. सूर्यराज आचार्यलाई भोट दिनु नपर्ने एक सुत्रीय कारण के होला ?

डा. सूर्यराज आचार्यलाई यस्तै प्रश्न छ–

तपाईंका प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार माधवकुमार नेपाललाई भोट दिनु नपर्ने एक सुत्रीय कारण के होला ?

यो प्रश्नको उत्तर पाए मलाई धर्मसंकट टार्न सजिलो हुने थियो ।

हिमालय टाईम्स
मँसिर ०२, २०७४

No comments:

Post a Comment