हामी सात जनाको समूहमा थियौँ । आधा दिनका
लागि सवारीसाधन भाडामा लिएका थियौँ । चारमिनारको बिसौनी पुगेपछि चालकले
छैठौँ इन्द्रिय सतर्क गराए । उनले टुटे फुटेको हिन्दीमा भने– होश गर्नू,
पाकेटमारले सफाचट पारिदिन सक्छ ¤
चालकको
आहृवानले मेरो ध्यान साथमा भएका बहुमुल्य सामानमा गयो । भर्खरै ‘एस बैँक’
को एटिएमबाट दश हजार दाम निकालेको थिएँ । मेरो आधुनिक थैली अर्थात वालेटमा
तीनवटा बैँकका भिसा कार्ड थिए । मैले पछाडिको खल्तीबाट वालेट अगाडि सारेँ
।
रात्रिको आठ बजेको थियो । बत्तीको
झिलिमिलीमा जगमगाएको चारमिनार हाम्रो सामुन्ने थियो । चारमिनार दक्षिण
भारतको तेलंगना प्रदेशको राजधानी हैदरावादको प्रसिद्ध पर्यटकीय स्थल रहेछ ।
चारमिनारको अर्थ ‘चार स्तम्भ’ रहेछ, चारवटा विशाल खम्बामा उभिएको भवनजस्तो
विशाल संरचना । भवनका चार कुनाबाट उम्रिएर आकाशिएका चारवटा स्तम्भ यो भव्य
स्मारकका आकर्षण रहेछन् । चारवटा सडकको मिलन बिन्दुमा बनाइएको यो स्मारकको
पहिलो तलामा एक मस्जिद रहेछ । हामी चारमिनारलाई दाहिने पारेर एक फन्को
मार्न अघि बढ्यौँ ।
‘सूर्यसरको पछि चन्दा, चन्दाको पछि निर्मल गर्दै सबै एक लहर बनाएर हिँड्ने । यसो गरे हराइँदैन ।’
मेरो आदेशको पालना भयो ।
सूर्यसर
र मबाहेक टोलीका अरू पाँच जनाका लागि भारत भ्रमण नौलो थियो । समूहका
सुवास, निवेश र पुष्पाले भारतमा केही लामो यात्रा गरेका रहेछन् । बाँकी
रक्सौल र जोगबनीसम्म पुगेका रहेछन् । यो जानकारीले कुनै जमानामा सुनेको
संसार घुम्ने एक सुत्र सम्झायो– हिन्दुस्तान एक्लै घुम्न सक्ने आँटीले ससार
सजिलै घुम्न सक्छ ।
घुमेकै भए पनि
नयाँ ठाउँ र नयाँ परिवेशमा सतर्क हुनै पर्छ । पाकेटमारले ‘यो घुमेको रहेछ
वा लालबुझक्कड रहेछ, यसको पाकेट अहिलेलाई नचलाऊँ’ भन्दैन ।
हामी
चारमिनार वरिपरि जम्मा भएका हजारौँ नरनारीको हुलमा मिसिएका थियौँ । कालो
बुर्का लगाएरका मुस्लिम महिलाहरू बाक्लै देखिन्थे । काला पहिरनले छोपिएका
ती नारीहरूतिर संकेत गर्दै चन्दा र पुष्पालाई भनेँ– कति भाग्यमानी तिमीहरू ¤
टाइट पाइन्ट र बुट लगाएर हिँड्न पाएका छौ, तिम्रा समकक्षीसँग आफूलाई तुलना
गर र जीन्दगीमा गर्व गर ।
सडक किनारा
खुद्रा पसलले भरिएका थिए । मैले बिहान विकिपिडियामा चारमिनारबारे पढेको
थिएँ । प्लेगको माहामारीले आक्रान्त भएको शहरलाई हैदराबादको नयाँ नाम दिँदै
सुल्तान कुतुव शाहले चारमिनारको जग शिलन्यास गरेका थिए अरे । ग्रेनाइट,
चुनढुंगा र सिंगमरमरले बनाइको यो प्राचीन स्मारक लगभग चार सय वर्ष पुरानो
मानिँदो रहेछ । सम्राट कवि पनि भएकाले शिलान्यास गर्दा उनले कविताको रूपमा
यस्तो भनेका थिए अरे– हे अल्लाहा ¤ यो मेरो शहरलाई नदीलाई माछाले भरिदिए
जस्तै मान्छे मान्छेले भरिदिनू ।
सूर्यसर
एकाएक मूल बाटो छोडेर दाहिने मोडिनुभयो । हामीले पिछा ग¥यौँ । अव हामी
मान्छेको कम घनत्व भएको ठाउँ मूल सडक र चारमिनारको मध्यवर्ती क्षेत्रमा
थियौँ । अचम्म भयो । हामी त एक भव्य मन्दिरअगाडि आइपुगेका थियौँ । मन्दिरको
सिरानमा हिन्दीमा लेखिएको थियो– श्री भाग्यलक्ष्मी मन्दिर, चारमिनार ।
अंग्रजी
र अन्य एक भाषामा पनि यो शीर्षक लेखिएको थियो । शीर्षकको दाहिनेतिर
गणेशजीको तस्विर थियो, देब्रेतिर सरस्वतीको र बीचमा लक्ष्मीको । यो मुस्लिम
समुदायको तीर्थस्थलमा एकाएक उदाएकी लक्ष्मी देख्दा सयपत्री टिप्न वगैँचामा
जाँदा पारिजात भेटिएको अनुभूति भयो । म दर्शन गर्न तम्सिएँ । फूलै फूलले
सजिएकी, आँखामा गाजल, ओठमा रातो लिपिस्टिक, देब्रे नाकमा कालो फुली, नाकमा
दाहिनेपट्टि नत्थी, कानमा सुनका झुम्का, आज्ञाचक्रमा वृत्ताकार रातो टीका,
निधारमा अर्को रातो टीका र शीरमा मुकुट– यस्ती साक्षात देवीको दर्शन
पाउनुलाई मैले आफ्नो अहोभाग्य सम्झेँ । भाग्यलक्ष्मीको दर्शन मेरो जीवनकै
पहिलो अवसर थियो । मैले झल्याँस्स काठमाण्डू विश्वविद्यालयको प्रांगणकी
सरस्वतीदेवी सम्झेँ । जसको अनुहारमा देवीको रूपअनुरूपको आभा नभएजस्तो लाग्छ
। ती मूर्तीकारलाई यहाँ ल्याएर भाग्यलक्ष्मीको मुस्कान देखाउन मन लाग्यो
।
मैले सूर्यसरलाई सोधेँ– भाग्यलक्ष्मी देवीको यो मुस्कान सरलाई कस्तो लाग्यो ?
‘भव्य, मोनालिसा मुस्कान जस्तो ।’
यसो भनेर वहाँ पनि भाग्यलक्ष्मी देवीझैँ मुस्कुराउनु भयो ।
झट्ट
हेर्दा गम्भीर मुद्रा जस्तो र अलिक गहिरिएर हेर्दा मधुर मुस्कान देखिने यो
मूर्तिका शिल्पकारलाई मैले नमन गरेँ । वास्तवमा मेरो अगाडि उनको कल्पना
मुस्कुराइरहेको थियो ।
चारमिनारको
नामले नयाँ दिल्लीको कुतुवमिनारको झल्कोसँगै आगराको ताजमहलको पनि सम्झना
दिलाउँदो रहेछ । मुगल सम्राट साहजाँहले मुमताजको सम्झनामा प्रेमको प्रतीक
निर्माण गरे । त्यसलाई ताजमहल भनियो । यस्तै, सुल्तान कुतुव शाहले हरिजन
समुदायकी चेली भाग्यवतीको सम्झनामा चारमिनार निर्माण गरेका रहेछन् । कुतुव
शाहले भाग्यवतीको दर्शन पाएकै ठाउँमा चारमिनार बनाएका हुन् भन्ने किंवदन्ती
रहेछ । धर्म परिवर्तन गरेर हरिजन युवती मुस्लिम भइछन् । सम्राटकी रानी
हुने शौभाग्य पाएकाले ती नारीलाई भाग्यवतीको नाम दिइएको हुनसक्ने अनुमान
गरेँ । मुसलमानको आस्थाको केन्द्रमा यसरी हिन्दु मन्दिर हुनु अपत्यारिलो र
अनौठो हुने नै भयो । नेपालमा पनि कतिपय धार्मिक स्थलमा हिन्दु देवीदेवता र
बुद्धका मूर्तिहरू एकै परिसरमा राखिएका छन् ।
‘ठोस
फोहोरमैला व्यवस्थापन’ विषयमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा
सहभागी हुन सूर्यसर र म (सुनजोडी) स्नातकोत्तर तहका छ जना विद्यार्थी लिएर
हैदरावाद गएका थियौँ । सम्मेलनमा विद्यार्थीका चार र सुन जोडीको एक गरी
पाँच प्रस्तुति नेपालको तर्फबाट थिए । नेपालको सीमाबाहिर नटेकेका
विद्यार्थीहरूका लागि संसार भरका अध्येताहरूसँग भेट गर्ने यो सुनौलो अवसर
थियो । सम्मेलनका गतिविधमा कसरी परिणाममुखी हुने भन्ने विषयमा हाम्रो
निर्देशन पाएकाले उनीहरूको हौसला बढेको थियो । विद्यार्थीलाई हँसाई हँसाई
ब्रहृम खुल्नेगरी ज्ञान दिने सूर्यसरको शैलीले त्यहाँ पनि अवसर पायो ।
हाम्रो समूहका एक प्रस्तोताले सबै श्रोतासँग आँखा जुधाउन सकेनन् । अधिकांश
समय उनी एक दुई जनामा केन्द्रित भए । उनको प्रस्तुति सकिएपछि सूर्यसरले
सोध्नुभयो– तिमीले किन एउटी युवतीलाई मात्र हेरेको ?
प्रस्तोताले चुप रहे । सूर्यसरको पारो अलिकति चढ्यो ।
‘एउटीलाई मात्र हेरेपछि त्यसले मानिन भने तेरो गति के हुन्छ ?’
हामी सभाकक्षै थर्किने गरी हाँस्यौ ।
हामीले
ढाकाकपडाले बनेका केही उपहार लगेका थियौँ । सम्मेलन आयोजक प्राध्यापक
सज्जन घोष, बंगालादेशको खुल्ना विश्वविद्यालयका उपकुलपति प्राध्यापक
आलमगिर, थाइल्याण्डका प्राध्यापक भिसु लगायतलाई हार्दिकता साथ लगाइदियौँ ।
‘तपाईंको लागि र यो तपाईंको उपल्लो आधा अर्थात बेटर हाफका लागि यो ।’ मैले अंग्रेजीमा भने ।
सूर्यसर धुरा पस्दै भन्नुभयो– यु मेड अ मिस्टेक । इट इज नट बेटर हाफ, इट इज नाइन्टी परसेन्ट ।
आफ्नो
अर्धाङ्गिनीको प्रशंसा कसलाई राम्रो लाग्दैन र ¤ एक हिसाबले हेर्दा हाम्रा
धर्मपत्नीहरू हाम्रालागि आधाभन्दा बढी नै हुन् । सूर्यसरको हस्यौलीभित्रको
मर्म जसले पनि बुझ्न सक्थ्यो । उपहार पाउनेहरू दंग परे ।
त्यस
दिन दिउँसो हैदरावादको प्रसिद्ध संग्रहालय भ्रमणबाट अनौपचारिक गतिविधि
शुरू भयो । राजा महाराजा अर्थात नाजिमहरूले उनीहरूका हुकुमतमा प्रयोगमा
ल्याएका सरसामान, हतियार र आभूषणहरूको संग्रह रहेछ । गिनिज बुकमा सूचीकृत
सुल्तानकी बेगमको लुगा राख्ने दराज पनि देखियो ।
संग्रहालयपछि
हैदराबादका प्रसिद्ध खरिद केन्द्रहरूमा गयौँ । मैले मोतीका दुईवटा हार
किने । सूर्य सरले त्यहाँ पनि रमाइलो सिर्जना गर्नुभयो । साहुजीले हाम्रो
समूहका केटाहरूलाई भने– आप लोग भी कुछ ले लिजिए ।
‘इन लोगोँका शादी नहि हुआ है ना । इसीलिए ये लोग खालि फोटो लेगेँ ।’ सुवास रयुगदीतिर देखाउँदै सूर्य सरले भन्नुभयो ।
क्यामेरा जडित मोवाइल फोन त जोसँग पनि हुन्छ तर सुवाससँग साँच्चै राम्रो क्यामेरा नै थियो ।
हाम्रा
पथप्रदर्शक चालकले अत्तर पाइने पसललाई हाम्रो दोस्रो गन्तव्य बनाइदिए ।
किसिम किसिमका अत्तर र आवश्यकताअनुसार सानो बोतलमा खन्याएर पनि बेच्ने चलन
रहेछ । स्प्रे गर्ने सुविधा पनि राख्न मिल्ने रहेछ । कोसेली स्वरूप केही
किनेँ ।
मोती पसलमा सामानको न्युनतम र
अधिकतम मूल्यको जानकारी लिएको थिएँ । भारु एक हजारदेखि लिएर १५–२०
लाखसम्मका सामान उपलब्ध रहेछन् । चारमिनारमा हात हातमा बोकेर ल्याएका
मोतीहारको दाम सुनेर म छक्क परेँ । मोल मोलाई गर्दा एउटाको भारु सयमा पनि
पाइयो । मैले आँखा चिम्लेर तीन वटा हार किने ।
सूर्यसरले एउटा मोती व्यपारीलाई तानेर साउती गर्नुभयो ।
‘दो बिबियाँ हैँ, थोडा और कम करो ।’
व्यापारी मजैले हाँस्यो । उसको कालो अनुहारमा सेता दाँत टल्किए । अर्को व्यापारी आयो । हारको दाम घट्न थाल्यो ।
चन्दाले भनिन्– लौ सर ¤ हजुरले सयमा लिएको हार त यसले सयको तीनवटा दिन्छु भन्छ ।
चन्दा
र पुष्पाले पछिल्लोसँग किने । पहिलोले मलाई एउटा थपिदियो । यो मेरो लागि
नौलो अनुभव थियो । चारमिनारको बजार अर्थशास्त्र बुझ्न हामीलाई हम्मे परेको
थियो ।
हैदरावादमा सम्मेलनस्थल
त्यहाँको प्रसिद्ध कृषि विश्वविद्यालय परिसरमा थियो । परिसरको फैलावटले
मलाई आश्चर्यचकित बनायो । धेरै मुलुकका विश्वविद्यालय भ्रमण गरेको छु तर
घुमेका मध्ये यो अहिलेसम्मकै विशाल लाग्यो । त्यहाँको अतिथि गृह मैले
स्नातक तह पढेको राँचीको विरला प्राद्यौकिक अध्ययन संस्थान जस्तै रहेछ ।
मलाई तीन दशकअघिको सम्झनाले भावुक बनायो ।
हाम्रा विद्यार्थीहरू फर्कने टिकट रेलकै थियो । सूर्यसर र म भने हवाई मार्गबाट कलकत्ता आउने योजना थियो ।
कलकत्तामा
हामी हिन्दुस्तान पार्कको ५५ बी नामको अतिथि गृहमा बस्यौँ । भोलिपल्ट एउटा
उबर लिएर विमानअड्डाका लागि प्रस्थान ग¥यौँ । ब्रिटिशको समयदेखिको
प्रख्यात यो शहरका सडकमा अम्बेस्याडर कार र प्राचीन युगीन ट्रामले हाम्रो
ध्यानाकर्षण ग¥यो ।
सडक खुला थियो,
गाडीको लहर पालतो । म पछाडि बसेर ल्यापटपमा टाइप गर्न थालेँ । सूर्यसर र
चालकको संवाद जस्ताको तस्तै उतार्ने विचार आयो । सूर्यसर बोल्न थाल्नुभयो–
मेरे पास भी अम्बेस्याडर जैसा ही पुराना मारुती कार है ।
‘हाँ जी ।’
‘एक
बार मेरी बिबी बोले– गाडी पुराना हो गया, नये खरिद क्यो नही करते हो ।
मैने जवाफ दिया– बात तो सही है लेकिन क्या करुँ, पुराना चिज तो मेरे पास और
भी है ।’
चालक हाँस्यो । सूर्यमान शाक्यसरसँग प्रत्युपन्न बुद्धिको खानी छ । मैले यो वाक्य मनमा दोहो¥याएँ । कुराकानी जारी रहृयो ।
‘ये क्या बन रहा है ?’
‘मेट्रो बन रहा है, साहब ।’
‘उपर क्यो बन रहा है ?’
‘कलकत्तामे तो अन्दर नदी है ना साहब ।’
मैले अनुमान गरेँ । भूमिगत मेट्रोको अनुभवले होला अहिले आकाशे मेट्रो बनेको । चालकले ठीकै भनेको थियो ।
हामीले
आधा बाटो तय गरिसकेका थियौँ । मुख्यमन्त्री ममता बेनर्जीले हात जोडेर
अभिवादन गरेको ठूलो कदको तस्विर देखियो । अब संवादमा ममताको कार्यसम्पादन
क्षमताले प्रवेश पायो ।
‘दिदी ने गरिबका हक मार दिया ।’
चालकले
गम्भीर भएर भन्यो । उसको इशारा टाटा स्टिल र मारुतीको कम्पनीले पश्चिम
बंगालमा स्थापना गर्ने योजना बनाएका कारखानाहरूतर्फ थियो । जसलाई ममताले
अस्वीकार गरेकी थिइन् । त्यसपछि तिनले भारतका अन्य राज्यमा त्यस्ता ठूला
कारखाना खोलेका थिए । त्यस्तो एउटा कारखानाले मात्र हजारौँलाई रोजगारी दिन
सक्छ र अर्थतन्त्रलाई ठूलो टेवा दिन्छ ।
सफा
सडक, निर्माण पूरा भएको हवाईअड्डा र म्यारिबोट जस्ता अन्तर्राष्ट्रिय
होटलको आगमनले कलकत्ता निद्राबाट बिउँझेको अनुमान मैले गरेँ ।
सूर्यसरले
अध्यागमनमा पनि एक जना सुरक्षाकर्मीलाई मजैले हसाउँनुभयो । वहाँ मभन्दा
अघि हुनुहुन्थ्यो । हाम्रा हातमा बोर्डिङ कार्ड थिए । बोर्डिङ कार्डको
पछाडिको भागमा पहेँलो सारीमा सजिएकी चर्चित भारतीय नायिक प्रियंका चोपडाको
तस्विर रहेछ । हट्टाकट्टा शरीका सुरक्षाकर्मी गम्भीर मुद्रामा थिए । वहाँले
प्रियंकाको तस्विर माथि पारेर कार्ड दिँदै भन्नुभयो– दुसरी तरफ नही इस तरफ
देखो ना ।
सुरक्षाकर्मी मुस्कुराए । मैले कल्पना गरेँ– मैले पनि यो तरिका सोच्न सक्थेँ तर बुद्धि आएन ।
यसपालिको
भारत यात्राको अन्तिम चरणमा थियौँ हामी । सुन जोडीको अर्को सुन्दर विदेश
यात्राको कल्पना गर्दै म प्रष्ट देखिएका हिमालमा हराएँ ।
No comments:
Post a Comment