एकाएक छैठौँ इन्द्रिय सचेत भयो । लाग्यो,
केही ठूलो गडबड भएको छ । सधैँ साथमा हुने सामान कतै छुट्यो । पाइन्टको
दाहिने खल्ती जाँचेँ, छैन । देब्रे जाँचेँ, छैन । कोटका चारवटै खल्ती
छामेँ, छैन । सटको खल्तीमा पनि छैन । निष्कर्ष निस्कन बेरै लागेन ।
‘ए ! भाइ ! मेरो मोबाइल छैन त ?’
म
ट्याक्सीमा थिएँ । चालक भाइलाई मेरो स्थिति अवगत गराएँ । सिँहदरबारको
पूर्वी दक्षिण कुनोमा अवस्थित हनुमान स्थानबाट पुल्चोक जाँदा यो घटना भयो ।
घडीको सुइले अपराहृनको ४ः१५ देखाएको थियो । नेपाल विकास अनुसन्धान
प्रतिष्ठानमा ४ बजे शुरु हुने एक गोष्ठीमा सहभागी हुन म ट्याक्सीमा
हुइँकिएको थिएँ । केही कार्यक्रम त छुटिसकेको थियो । साढे चारका लागि तय
भएको प्रा.डा. माधवप्रसाद पोखरेलको ‘वक्तृत्व कला’ विषयको प्रस्तुति छुट्ला
भन्ने पिर थियो । पन्ध्र मिनटअघिसम्म दुईवटा सिमकार्ड भएको मेरो सामसुङ
ग्यालाक्सी जे सेभेन मोबाइल साथमै थियो । दुर्भाग्य ! अहिले त्यो छैन ।
आफ्नो
प्रिय वस्तु एकाएक गायब हुँदाको यो क्षणले मलाई एक दिव्य ज्ञान दियो ।
हराउनु र हराएको थाहा पाउनु दुई सम्बन्धित तर अलग अलग विषय रहेछन् ।
हामीसँग भएका कैयन वस्तुहरू, विचारहरू या सम्झनाहरू हराएका होलान् । ती
हराएका छन् भन्ने हामीलाई थाहासम्म नहोला । जब हराएको थाहा हुन्छ अनि पीडा
हुन थाल्छ । जति चाँडै हराएको थाहा हुन्छ, भेटिने सम्भावना पनि त्यति नै
प्रबल हुन्छ ।
हराउँदाको क्षण कस्तो
हुन्छ ? यो प्रश्नले रामायणको एक प्रसंग स्मरण गराउँछ । कुटीबाट सीता गायब
भएको क्षणलाई पण्डित सोमनाथ सिग्देलले आदर्श राघव काव्यमा यसरी व्यक्त
गरेका छन्–
हा ! हा ! डाहा दिई हृदयको हार कहाँ हरायो
संसार–श्री गुम हुन गयो, शान्ति–धारा बिलायो ।
प्रेमी साथी अलप हुनगयो, अस्त भो भव्य तारा
हाहा पारी सहज हरियो प्राण सर्वस्व सारा ।।
पछाडि
भिर्ने झोला पनि जाँचे । मोबाइल त्यहाँ पनि छैन । थापाथलीको पुलमा पुग्दा
शतप्रतिशत यकिन भयो २५ हजार रुपियाँ परेको मोबाइल फोन हराएकै हो ।
कहाँ छोडियो त !
दुई
वटा प्रबल सम्भावना सतहमा आए । पहिलो, बिजुलीबजारको एन्फो कार्यालयमा,
जहाँ मैले आधा घण्टा बिताएको थिएँ । दोस्रो, बिजुलीबजारमा चढेको ट्याक्सी,
जसले मलाई हनुमानस्थानसम्म ल्याइदिएको थियो । त्यसको चालकले ‘घट्टेकुलोतिर
जानुछ’ भनेर मलाई सडकमा छोडेको थियो ।
‘ट्याक्सी फर्काऊँ त सर ?’
चालकले
मलाई गर्न सक्ने सबभन्दा ठूलो सहयोग त्यही थियो । नाटकीयरूपमा मेरो
गन्तव्यमा १८० डिग्रीको परिवर्तन आयो । मैले ट्याक्सी फर्काऊ भने । उसले
ट्याक्सी कानदेवता स्थानबाट थापाथलीतिर मोड्यो । पहिलो ट्याक्सीमा छोडिएको
भए भेटिने सम्भावना झिनो थियो । एन्फोमा छोडिएको भए भेटिन सक्थ्यो । मलाई
एकाएक संकट आइलागेको थियो । घटनाक्रम सम्झन थालेँ । जब म हनुमानस्थानमा यो
ट्याक्सीमा चढेको थिएँ, चालकभाइ मोबाइलमा कुनै खेलमा व्यस्त थिए । मैले
उनको ध्यानाकर्षण गरेको थिएँ ।
‘पुल्चोक जाने हो भाइ ?’
‘जाने हो तर पचास रुपियाँ थपिदिनू है ।’
‘म
त मिटरमा जान्छु । चालकले त सेवा दिएर पो कमाउने हो त । यसरी ठाडै माग्नु त
भएन नि ¤ माग्ने काम त चोकमा उभिएका मगन्तेले पो गर्छन् ।’
ढोका
खोलेर पछाडिको सिटमा बसेँ । ऊ थप केही नबोली गाडी स्टार्ट गरेर अघि बढ्यो ।
मेरो ट्याक्सीयात्राको परम्परागत संवादशैली सुरु भयो ।
‘भाइलाई युधिष्ठिर भनेको को हो थाहा छ ?’
‘छैन त !’
‘पाँच पाण्डव भनेको थाहा छैन र ?’
‘छैन त !’
‘पोखरीको पानीमा हेरेर आकाशमा निशाना लगाउने धनुर्धारी अर्जुन क्या त ¤’
‘थाहा भएन ।’
‘पाँच जना लोग्नेमान्छेकी एउटै श्रीमती द्रौपदी क्या त !’
‘ए ! कता कथामा सुनेको जस्तो लाग्यो ।’
उसले
दिक्क भएर पनि यो सकारात्मक जवाफ दिएको हुनसक्थ्यो । अथवा म उसको ज्ञान
भण्डारमा अस्तित्वमै नभएको कित्तामा बाली लगाउने प्रयास गर्दै थिएँ । हामी
माइतीघर हुँदै थापाथलीतिर लाग्यौँ । मैले युधिष्ठिर र यक्षको प्रश्नोत्तरको
प्रसंग निकालेँ ।
‘संसारमा सबैभन्दा हलुका के हो ?’
यक्षले मुर्छा भएका भाइहरूलाई व्युँताउने शर्तमा युधिष्ठिरलाई यी दार्शनिक प्रश्न गरेका थिए । मैले त्यही प्रश्न चालकलाई सोधेँ ।
‘तपाईंको विचारमा यो संसारमा सबैभन्दा हलुका के हो ?’
‘कागज त होला अरू के होला र !’
अहिले भने उसले स्नायु कडा पारेको थियो ।
‘कागज भन्दा त कपास हलुका हुन्छ । युधिष्ठिरले त्यस्तो साधारण उत्तर दिएनन् ।’
‘के दिए त सर ?’
‘माग्नु सबैभन्दा हलुका हो रे ! तपाईंले पनि ५० रुपियाँ थपिमाग्नु भयो नि ! मगन्तेले गरेको जस्तो हलुका भयो क्या !’
उसँग
कुरा गर्दाको मेरो हलुका स्नायु गियर कित्ता परिवर्तन गरी कडा भइसकेको
थियो । म मोबाइल हराएको त्रासको दास भएको थिएँ । ट्याक्सी वाग्मतीको पुल
काटेर थापाथली तिर लाग्यो । मैले फेरि खल्ती छामेँ । पाइन्टका अगाडिका दुई,
कोटका चार र सटको एक गरी सात वटा खल्ती खाली थिए । एकाएक मेरो हात
पाइन्टको पछाडिको खल्तीमा गयो । पछाडिको खल्तीमा म वालेटमात्र राख्छु ।
सार्वजनिक यातायातमा हिँड्दा म त्यसलाई विशेष ध्यान दिन्छु । खल्तीको टाँक
लागे नलागेको विचार गर्छु । बसमा ज्यादै भिड छ भने वालेट कोट वा सटको
खल्तीमा राख्छु । यहाँ अचम्म भयो । जगदीश घिमिरेले भनेजस्तो अन्धकारमा
भेटिएको अप्रत्यासित उज्यालोले आँखा तिरमिराए । वालेटको खल्तीभित्रको बीचमा
मोबाइल थियो । हत्तपत्त झिकेँ ।
‘मेरो मोबाइल भेटियो...... !’
मनमनमा आफैँलाई मात्र भनेँ । मोबाइल हातमा खेलाउन थालेँ । यतिबेला हामी थापाथली क्याम्पसछेउ पुगेका थियौँ ।
‘ए भाइ ! अचम्म भयो । मेरो मोबाइल भेटियो । पछाडिको खल्तीमा र’छ !’
‘ए ! लौ ! तपाईं पनि घरि हरायो भन्नुहुन्छ घरि फेला प¥र्यो भन्नुहुन्छ ।’
‘भाइ ! तपाईंको इच्छा पूरा हुने भयो, पचास होइन त्यो भन्दा बढी नै थप पाउनु हुने’भो ¤’
उसले
माइतीघर मण्डला परिक्रमा गरेर ट्याक्सी रोक्यो । मैले उसले मागेजति दाम
थपिदिएँ । ‘माग्नु हलुका हो’ भनेर युधिष्ठिरको दर्शन छाँट्ने म आफैँ हलुका
भएको थिएँ । आफ्नो सिद्धान्तमुखी टिप्पणीलाई व्यवहारको उकेरा दिन सकेको
थिइनँ ।
मोबाइल प्रकरणको घटना
शुक्रबार अपराहृन भएको थियो । उक्त हप्ता अरू दुई अमूल्य सामग्री मेरो
संसारबाट हराएका थिए । पहिलो थियो– नागरिकताको प्रमाणपत्र ।
छत्तीस
सालको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भएको थियो । म मोरङको
उर्लावारीस्थित राधिका माध्यमिक विद्यालयबाट उत्तीर्ण भएको थिएँ । उक्त
विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने म पहिलो विद्यार्थी थिएँ । म
कलेज पढ्न जाने सुरसारमा थिएँ । नागरिकताको प्रमाणपत्र बनाउने कुरा आयो ।
नैसर्गिक थलो पाँचथरको स्याबरुम्बा भएकोले फिदिमबाटै नागरिकता लिने
घरसल्लाहअनुसार बडाबापुत्र गोपालदाइसँग फिदिम पुगेँ । ‘भोट हाल्न चाँडै
पाओस्’ भनेर मेरा कान्छा काकाले नाम दर्ता गर्दा उमेर तीन वर्ष बढाइदिएका
रहेछन् । सोह्रको उमेरमा १९ वर्षको उमेर भएको नागरिकताको प्रमाणपत्र मैले
पाएँ । यता विद्यालयको अभिलेखमा पनि मेरो जन्ममिति असली थिएन । प्रवेशिका
परीक्षा दिन १६ वर्ष पुगेको हुनुपर्ने नियमका कारण मेरा बुवाले फागुन ११
लाई मंसिर ८ बनाइदिनुभएछ । यसरी असली जन्ममितिबाहेक दुई नक्कली जन्ममिति
बुवा र काकाले दिएको बक्सिसमा पाएको थिएँ ।
स्नातकोत्तर
अध्ययनका लागि म २०५० सालमा थाइल्याण्ड जाने भएँ । विदेश जान राहदानी
चाहियो । अब विद्यालयको चारित्रिक प्रमाणपत्र र नागरिकताको जन्ममितिहरूको
द्वन्द्व भयो । पहिलोले बाजी जित्यो । नागरिकताभित्रको नक्कली जन्ममितिको
भारी मैले केही वर्षअघि बिसाएँ । नागरिकता र अन्य कागजातको जन्ममिति मिलाएँ
। आमाले दिएको जन्ममिति भने जन्मदिन मनाउन र फेसबुकमा शुभकामना लिन
प्रयोगमा छ । बुवाले राखिदिएको जन्ममिति आधिकारिक भयो ।
मलाई
‘नेपालको नागरिक’ बनाउने यो अमूल्य कागज केही दिनअघि हरायो । लब्धांकपत्र र
राहदानी लगायतका महत्वपूर्ण कागजात राख्ने गरेको स्थानमा त्यो पाइन । मेरो
राखनधरन म आफैँ गर्छु । उमेरको कारणले हो कि मेरो निजी व्यवस्थापन क्षमता र
स्मरण शक्तिमा केही ह्रास आएको महसुस भएको छ ।
‘तपाईंको नम्बर यस पटक स्वाट्टै घट्यो ।’
परिवारका
सदस्यहरूको टिप्पणी थियो । कहिले पनि अनुत्तीर्ण नभएको विद्यार्थी यो पटक
गर्लम्मै ढलेजस्तो भयो । घरमा भुइँपाताल खोजेँ, फेला परेन । ‘तिते करेलालाई
निमको थाँक्रो’ त्यसबेला भयो जब त्यही हराएको वस्तु नभई नहुने भयो ।
दक्षिण कोरिया जान राहदानी कोरियन राजदुतावासमा बुझाएको थिएँ । त्यसैवेला
नयाँ दिल्ली जानुपर्ने भयो । भारत जाँदा राहदानी चाहिँदैन, नागरिकताले काम
चल्छ तर मेरो त नागरिकतै हराएको छ । अब के गर्ने ¤ आफूसँग भएका अन्य
कागजातले काम गर्ला कि भन्ने सोचेँ ।
‘तपाईंको छुट्टै सुटकेस ठीक पार्नू । विमानस्थलबाटै फर्किनुपर्ने हुन सक्छ ।’
नागरिकता भेटिने ठाउँमा नराखेको रोष मिसाएर श्रीमतीले आदेश जारी गरिन् ।
‘पुरानो राहदानीले काम गर्ला । आखिर इन्डिया जाँदा चाहिने परिचय पत्र न हो !’
‘हो,
हो, हजुरलाई दिन्छ । कोदारीपारिको चीनको बजार जाँदा पनि विश्वविद्यालयको
परिचयपत्रले भइहाल्छ भनेको होइन ! चिनियाँ पुलिसले सातो बोलाएको बिर्सनुभो
?’
त्यसवेला नागरिकता नहुने ममात्र थिएँ । सीमावारि नै झोक्राएर बसेको थिएँ ।
म भएभरका अन्य प्रमाण बोकेर हिँडे । जेट एयरको जाँच कक्षमा श्रीमती र छोरीको सँगै मेरो पुरानो राहदानी दिएँ ।
‘यो पासपोर्ट त पुरानो हो । भएन नि त हजुर !’
‘परिचय खुल्ने प्रमाणमात्र चाहिने होइन र ?’
‘हो, तर यसको वैधता छैन नि त सर !’
म खङग्रङ्ग भएँ । यसरी मैले किन सोचिनँ भन्ने बुद्धि बंगारो बल्ल उम्रियो ।
श्रीमतीतिर
हेर्दै हेरिनँ । मेरो नम्बर अझै घट्ने प्रमाण थपिएको थियो । जाँचकक्षकी
कर्मचारी विराटनगरकी ‘खतिवडा’ वंशकै चेली परिछिन् । मैले नागरिकता नहुँदाको
वैकल्पिक उपाय सोधेँ ।
‘मतदाता परिचयपत्रले हुन्छ ।’
काम
भयो । विमानस्थलबाट फर्कनु परेन । यसपटक पहाडकी बडीआमा बितेकी हुनाले
तिहारमा टीका लगाउनु थिएन । यसैले तिहारकै समयमा दिल्लीको भ्रमण तय भएको
थियो । पुत्ररत्न सिरिनसँग गुरगाउँमा केही दिन बिताएर काठमाण्डौ फर्केपछि
पनि नागरिकता खोज्न थालेँ । यहीबीचमा कोरियाबाट प्राध्यापक जिउङको एउटा
इमेल आयो । एक वर्षअघि सम्पन्न एक अनुसन्धान परियोजनाका सक्कल बिलभरपाई
मागिएको थियो । अन्यथा खर्च गर्ने व्यक्तिले बिलभरपाईमा उल्लिखित रकम
फिर्ता गर्नुपर्ने जानकारी थियो ।
मैले
त्यो परियोजनामा डा. अनिश घिमिरे र शीला डंगोेललाई अनुसन्धानकर्ता बनाएको
थिएँ । परियोजनाको काम उनीहरूले हेर्थे । एक चरण खोजी हेर्दा ती कागजातहरू
फेला परेनन् । अनिशसँग सम्पर्क भयो ।
‘म हिँड्नु अघि फाइलमा राखेर सबै कागजात मैले सरको टेबलमा छोडेको थिएँ ।’
म
सन् २००२ मा जापानबाट स्वदेश फर्केपछि मेरो टेबलमा व्यवस्थित तरिकाले
कागजात र फाइलहरू राखिएका हुन्थे । अहिले यी बिलभरपाई र नागरिकताको हराएको
प्रकरणले के जनायो भने त्यो व्यवस्थापनको इन्द्राशन ‘भताभुङ्गे राजाको
लथालिङ्ग दरबार’ जस्तो भएको थियो । मान्छेले आफूलाई जहिले पनि इन्द्राशनमै
राख्छ । आफ्नो बानीव्यहोरा र शैली उत्कृष्ट नै ठान्छ । बहाना बनाएरै भए पनि
आफ्नो तरिका नै उत्तम भन्ठान्छ । अथवा ‘मेरो बानी नै यस्तो हो’ भन्छ ।
विभिन्न विधाका समकालीन सन्दर्भ लेख्ने विश्वप्रसिद्ध पत्रिका ‘दि
इकोनोमिस्ट’ का स्तम्भकारहरूको पनि कार्यकक्ष भद्रगोल नै हुन्छ भनेर त्यही
पत्रिकामा पढेको स्मरण ताजा भयो ।
यहाँ
पीडा हराउनुको थियो । आफूसँग हुँदा त्यही वस्तु माटो बराबर हुन सक्छ तर
हरायो भने त्यो सुन वा हिराको रूपमा चित्रित भइदिन्छ । भारतका चर्चित गजल
गायक जोडी जगजित सेन र चित्रा सेनले ‘ये दुनियाँ जादुका खिलौना है’ गाएका
छन् ।
‘मिल जाये तो मिट्टी है, खोजाये तो सोना है ।’
यस अर्थमा हराएको नागरिकताको मूल्य अझ बढेको थियो । त्यसमा विवरण भर्ने कर्मचारीले बढो राम्रा अक्षर लेखेका थिए ।
नयाँ
दिल्लीबाट फर्केपछिको कुरा हो । एक दिन नेपाल विकास अनुसन्धान
प्रतिष्ठानमा बिहानको बैठक सकेर म कोटेश्वर गएँ । त्यहाँबाट बैंकमार्फत
केही रकम पठाइदिनु थियो । काम सकेर सार्वजनिक बसमा काठमाण्डौ विश्वविद्यालय
गएँ । केन्द्रीय क्याम्पस धुलिखेलमा सिँढी चढ्ने र ओर्लने काम मनग्यै
हुन्छ । विज्ञान संकायतिर जाने सिँढी ओर्लदै थिएँ । एक पत्र भाँचेर भुईंमा
फालिएको पाँच रुपियाँको नोटमा मेरो आँखा प¥यो । टिपेर हेर्छु त रातो रङ
पोतिएको रहेछ । पक्कै पनि कसैले दशैँ वा तिहारमा पूजा गरेको हुनुपर्छ
भन्ठान्दै देवीको प्रसाद मानेँ ।
‘मेरा हराएका कागत आज भेटिन सक्छन् । साइत राम्रो छ ।’
यस्तो
कल्पना मनमा आयो । यसले मलाई एक पटक जमेर खानतलासी गर्ने ऊर्जा दियो ।
कार्यकक्षमा गएर पहिलो काम त्यही गरेँ । फाइलको पत्रपत्र हेरेँ ।
प्लास्टिकका खाममा हेरेँ । एक–एक कागजात केलाएँ । अनिशले कालो मसिले ‘बिल
भरपाई‘ लेखेको छ भनेका थिए । रोटरी क्लबका बिलहरू भएको प्लास्टिकको खाममा
ध्यान गयो । खोलेर बिल पन्छाउँदै हेरँ ।
आम्मैइइइ.... !
लौ ! नागरिकता भेटियो ! विश्वकप मैदानमा खेलाडीले गोल गरेको खेलाडी कुदेझैँ कुदौँ जस्तो भयो । मेरो हिरा मेरै हातमा थियो ।
‘यो
नागरिकता भेटिनेगरी राखिएको होइन । यो तेरो सोहै्रआना लापरबाही हो ।’
नागरिकता हराउने मलाई भेट्ने मले यसरी गाली ग¥यो । खोजेको बिलभरपाई भेटिएन ।
अहिले सोचिरहेको छु– एकपटक हराएर भेटिएका नागरिकता र मोबाइल प्रकरणहरूमा
के समानता होला ! आखिर हराउने र भेटिने सिद्धान्त त विधाताले एउटै न बनाएका
छन् !
साभार : https://ehimalayatimes.com/sahitya-bibidh/19553
पुनह पढेर मनमा पुनर्ताजगी थपियो । नयां ग्यान प्राप्त भयो,"माग्ने काम सबैभन्दा हल्का हो" । अब म पनि ट्याक्सी चालकलाइ आगामी दिनमा मौका मिलाएर सोही उत्तर दिने प्रयास गर्छु किनकी यो निकै प्रतिनिधि प्रस्न मान्छु म । नागरिकताको प्रसंग पनि निकै रोचक छ । अति सुन्दर ।
ReplyDelete